जीवन एक नदी हो । हामी बग्ने हो । जसरी नदी स्वयंलाई थाहा हुँदैन कुन कुन दिशा भएर बग्ने हो र कसरी बग्ने हो ! त्यसैगरी हामीलाई पनि थाहा हुँदैन हामी यो जीवनमा कहाँ कहाँ र कसरी बग्छौ, पुग्छौ । नदी जसरी समयसङ्ग सम्झौता गर्दै बग्छ , हामी पनि त्यसैगरी समयसङ्ग सम्झौता गर्दै बग्छौ । सतही रुपमा धेरैलाई लाग्न सक्छ नदीले पलपल बिद्रोह गरेको हुन्छ । तर सुक्ष्म दृष्टिले हेर्दा त्यो तथ्य नभएर नदीले सम्झौता गरेको हो र समय अनुसार र समयको निर्देशनमा बगेको हो । यस अर्थमा हामी पनि नदी नै हौं । समय हाम्रो निर्देशक हो।
माथि दार्शनिक कुरा उद्देश्य सहित गरिएको हो । म स्वइच्छ्याले होइन समयको निर्देशनमा परदेशिएको हो । मलाई मेरो धरती, मेरो उच्छवास प्यारो छ, मेरो समाज प्यारो छ । समयले मलाई बगाएर अमेरिका पुर्याएको हो । घनघोर वर्षाले नदीलाई दिशा परिवर्तन गर्न बाध्य पारे झैं मलाई पनि समयले आफ्नो लन्चरबाट हुत्याएर आकाशबाट पाताल पुर्याएको हो। आकाश पातालको सन्दर्भलाई पनि प्रष्ट पारौं । नेपाल भूगोल अनुसार माथि छ भने अमेरिका ठ्याक्कै नेपालको मुनि छ । यसरी नेपाल आकाश हुन पुगेको छ भने अमेरिका पाताल हुन पुगेको छ।
तर यहाँ मैले गर्न खोजेको कुरा भने पृथक छ । कुरा पृथक भएता पनि यसले समयले मानिसलाई कहाँकहाँ पुर्याउँछ भन्ने यथार्थसङ्ग सम्बन्ध राख्छ ।
आफ्नो सम्पूर्ण परिवार सहित मेरो पिता देवराज उपाध्याय जागिर भएको स्थान रौतहट जिल्लाको सिम्रा भवानीपुर पुग्दा मेरो उमेर केवल पाँच वर्षको थियो । यो घटना २०२१ सालतिरको हो । त्यसबेला हाम्रो स्थायी घर भने सर्लाही जिल्लामा पर्ने छतौना गाउँमा थियो । पाठकवृन्द! मैले मेरो पारिवारिक गन्थन सुनाउन खोजेको भने होइन, है । मेरो पिता त्यहाँ पुगेपछि केही रोचक प्रशंग मात्र प्रस्तुत गर्न खोजेको हो।
हामी सिम्रा भवानीपुरमा स्थायी रुपमा बस्न थाल्यौ । २०२१ सालपछि छतौना हाम्रो लागि गृह-गाउँ रहेन ।
सिम्रा भवानी गाउँ भरिमा केवल हाम्रो परिवारमा मात्र नेपाल भाषा बोलिन्थ्यो । हाम्रो मातृ भाषा नेपाली थियो तर गाउँका बाँकि सबै बासिन्दाहरूको बोलचाल र मातृभाषा बज्जिका भाषा थियो । हामी केवल परिवार भित्र मात्र नेपाली बोल्थ्यौ भने बाहिर बज्जिका बोल्थ्यौ । स्कूलमा पनि बज्जिका भाषा नै बोल्ने गरिन्थ्यो। संक्षेपमा भन्दा हामी पनि एक किसिमले बज्जिकाभाषी नै थियौ।
हामी बाजी संस्कार वा भनौ मधेसी संस्कारमा रंगिएका थियौं , कुनै कपडामा रंग लगाएझै । हामी पहाडे होइन मधेसी थियौं , बाजी थियौं ।
बाजी सस्कृतिमा हुर्केको हुनाले मलाई दशैं, टिका, जमरा भन्ने कुरा राम्रो गरी ११ वा १२ वर्षको उमेरपछि मात्र बोध भयो । यो कारणले गर्दा हामीलाई दशैंको बोध भन्दा पनि दुर्गापूजाको बोध बलियो गरी हुन्थ्यो।
दुर्गापूजा तराइ , मधेसमा धुमधामका साथ मनाइन्थ्यो । अहिले पनि उस्तै किसिमले मनाइन्छ तर केही परिवर्तन सहित ।
त्यसबेला रौतहट जिल्लाका विभिन्न गाउँहरूमा दुर्गादेवीको माटोका मूर्तिहरू बनाउने गरिन्थ्यो । दुर्गादेवी लगायत अन्य देवी देवताहरूका मूर्तिहरू पनि बनाइन्थ्यो । खास सिप भएको व्यक्तिले मात्र त्यस्ता माटाका मूर्तिहरू बनाउँथे।
दुर्गादेवीको मूर्तिको पूजा अष्टमी, नवमी र दशमीको दिन विशेष किसिमले हुन्थ्यो । दशमीको दिन ठूलो मेला लाग्थ्यो । मूर्ति निर्माण भएको गाउँमा मेला हेर्न अन्य विभिन्न गाउँहरूबाट मेला हेर्नेहरू आउँथे । मेलामा कचरी, जिलेबी, सेबइ, बलसाही खुब बिक्री हुन्थ्यो।
हाम्रो गाउँ सिम्रा भवानीपुरमा पनि दुर्गादेवीको माटोको मूर्ति बन्थ्यो । दुर्गादेवीको मूर्ति बनाएर दुर्गापूजा मनाइन्थ्यो। दुर्गापूजामा हाम्रो गाउँमा ठूलो मेला लाग्थ्यो । मेला हेर्न अनेक गाउँहरूबाट विभिन्न व्यक्तिहरू आउँथे भने विक्रेताहरू पनि ठूलो संख्यामा मेलामा आफ्नो सामान बिक्री गर्न आउँथे । एक दिन लाग्ने सो मेलामा लुगाफाटा देखि, सिन्दूर, चुरा, खाद्य सामाग्री, खेलौना आदि बिक्री हुन्थ्यो ।
आफ्नो गाउँ (सिम्रा भवानीपुर) को मेला हेरिसकेपछि हामी छेउका गाउँहरूम पनि मेला हेर्न जान्थ्यौ र सोही दिन फर्केर आफ्नो गाउँको मेला रातिसम्म हेरेर खुब रमाउँथ्यौ । छेउको गाउँ डुमारियामा दुर्गापूजा-मेला हेर्न गएको मलाई अलिअलि याद छ ।
मैले मेरो वाल्यकालमा यसरी दुर्गापूजा मनाएको थिएँ । टिका र जमरा लगाएर हाम्रो परिवारले दशैं मनाएको बोध भने मेरो उमेर १३ वा १४ वर्ष भएपछि मात्र भएको हो । हामीलाई दशैं होइन दुर्गापूजा बलियो गरी अनुभूत हुन्छ ।
गएको पन्ध्र , बिस वर्षदेखि अमेरिकामा छु । यहाँको दशैं भोगाइको पनि आफ्नै विशेषता छ। यहाँ दशैं कहिले हो ? कुन दिन अष्टमी, कुन दिन नवमी अनि कुन दिन दशमी (टिका) हो भन्ने कुरा क्यालेन्डर हेरेपछि मात्र थाहा हुन्छ । परिवेशबाट दशैं आएको थाहा हुँदैन । नेपालमा हुँदा भने दशैं आरम्भ भएको परिवेशबाट , बजारमा हुने भीडबाट , सवारीका साधनमा पर्ने चापबाट थाहा हुन्थ्यो । परिवेशले नै ‘दशैं आउँदै छ है’ भने झै भान हुन्थ्यो । गाउँ, शहर नै दशैंमय भएको देखिन्थ्यो ।
पछिल्लो समय , म काठमाडौ बस्दा (२०४२ देखि २०६३ सालसम्म) दशैं आएको नयाँ सडक, इन्द्रचोक र असनमा हुने भीडले नै दशै आएको बोध गराउँथ्यो ।
आज, अहिले यो समय बिन्दुमा , यो संस्मरण लेख्दा दशैं लागेकोसम्म थाहा छ तर आज फूलपाती हो वा अष्टमी हो भन्ने थाहा छैन् । घरमा एक्लो छु । पर परसम्म न त मान्छेहरू बोलेको वा हिंडेको नै सुन्छु ।
खोला जस्तै बगिरहेको छु। समयले जताजता लगिरहेको छ उतैउतै बगिरहेको छु, खोलाझैँ , नदीझैँ । यो जीवन नदी त हो !
ओक्लोहमा
प्रतिक्रिया