मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पुग्यो भ्यागुताको धार्नी– अनि भयो नुवाकोटे पिकनिक

पुग्यो भ्यागुताको धार्नी– अनि भयो नुवाकोटे पिकनिक

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोटका पुराना पत्रकार साथीहरुसँग कहिलेकाँही कुराकानी हुँदा उनीहरुको जिज्ञासा हुन्छ–‘टेक्ससमा कति नेपाली छन् ? धेरै नै छन् भन्ने सुनिन्छ नि ?’

मसँग टेक्ससमा नेपालीको एकीन तथ्यांक त छैन । त्यसैले झण्डै एकलाख नेपालीभाषी होलान् भन्ने मेरो अनुमान साथीहरुलाई सुनाउँछु । नेपालीभाषी भन्नाले नेपालीमात्र पर्दैनन् । अमेरिकी सरकारले तेस्रो देश पुनर्स्थापना कार्यक्रम अन्तरगत ल्याएका नेपालीमुलका भुटानीहरु पनि त्यसमा पर्छन् । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र ६० हजारको हाराहारीमा नेपाली छन् भन्ने मेरो अनुमान छ ।

कोभिडको आतङ्क अघिसम्म अमेरिकामा न्यूयोर्क सबैभन्दा धेरै नेपाली बसोबासको राज्य थियो । तर अहिले त्यो संख्या टेक्ससतिर सरेको छ । अमेरिकामा कोभिडको सबैभन्दा चर्को प्रहार न्यूयोर्कमा भएपछि धेरै नेपालीहरु फराकिलो र एफोर्डेबल (पहुँचयोग्य) बसोबासको सिलसिलामा एकहजार ६ सय माइल (दुईहजार पाँचसय किलोमिटर) दुरी पार गरेर टेक्सस झरेका छन् ।

नेपालीको अनुमानित संख्या सुनिसकेपछि पुराना साथीले फेरि सोध्छन्–‘नुवाकोटे कति छन् नि ?’

यो प्रश्नले चाँही मलाई बाह्र बजाउँछ । नेपालीकै संख्या अनुमानका आधारमा बताउन परिराखेको समयमा ब्रेकडाउन गरेर नुवाकोटेको संख्या निकाल्नु अर्को महाभारत हो । ‘लौ यो त थाहा भएन । तर टेक्ससमा मुख्य चार सिटीहरु मध्य एक ड्यालस फोर्टवर्थमा भने संख्यात्मक रुपमा पहिलो नम्बरमा चितवनका छन् । दोस्रोमा झापामा पर्छन् ।

नुवाकोट तेस्रोमा छौँ । पाइला पाइलामा भेटिने नुवाकोटेहरु, मन्दिर, बिवाह, ब्रतबन्धदेखि बेबीसावरमा देखिने अनुहार र संख्याले पछिल्लो समयमा नुवाकोटेहरुको प्रभाव निकै बढेको अनुमान गर्न कठिनाई पटक्कै छैन ।

नुवाकोटबाट टेक्सस आएर बसेकाहरुको संख्या निकाल्नुको खासै अर्थ त छैन । तर एक आपसमा परिचय नहुँदा कतिपय अवस्थामा अप्ठेरोको सामना समेत गर्नुपरेको छ मैले । ‘तपाईलाई चिन्छु । तपाई नुवाकोटमा त्रिशूली प्रवाह साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो होइन’ भनेर जब कसैले भन्छन् मलाई असाध्यै कठिन हुन्छ । त्यस्तो अवस्थामा नाम र ठेगाना सोध्न निकै लाज लाग्ने मेरो व्यक्तिगत अनुभव छ ।

जिल्लामा एक दशक पत्रकारिता गरेपछि अवसरका दायरालाई बढाउन राजधानी छिरेको मैले काठमाडौंमा अर्को एक दशक पत्रकारिता गरेँ । संयोगले म सम्पादक भएर प्रकाशन सुरु भएको त्रिशूली प्रवाह साप्ताहिकले यसै हप्ताबाट रजत जयन्ति मनाएको छ ।

एक दशक अघिमात्र अमेरिका आएको मलाई भन्दा पनि २० वर्ष, २५ वर्ष अघि आएका अग्रजहरुलाई झनै चर्को रुपमा परिरहेको छ । ‘जिल्लाका छाडौं आफ्नै गाउँकालाई चिन्न गाह्रो पर्ने भएछ’ गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले केही महिना अघि अनुभव शेयर गर्नुभयो । उहाँ जन्मिएको, हुर्किएको माझीटार कुनै समय गाउँ थियो, पिपल्टारदेखि बट्टारसम्मका घरघरमा को को बस्छन् ? परिवार संख्या कति छ सबै थाहा हुन्थ्यो।

तर अहिले परिस्थिती बदलिएको छ । गाउँकै नयाँ पुस्तालाई चिन्न गाह्रो छ । बसाई सरेर आएकालाई चिन्ने कुरा त दुर्लभै भयो ।

सन् २०१६ अघि म ओक्लोहामा राज्यमा बस्थेँ । २०१६ मा टेक्सस सर्नु अघि मैले नुवाकोटे अग्रजहरुका बारेमा धेरै सुनिसकेको, पढिसकेको थिएँ । विशेषगरि सन् १९९० कै दशकमा अमेरिका आएर व्यबसायमा स्थापित बासु भण्डारी, कपिल अधिकारी, गोकर्ण दाहाल लगायत अग्रजहरुका बारेमा धेरै सुनेको थिएँ । उहाँहरु नुवाकोटकै हुनुहुन्छ ।

भेटघाट, परिचय बाक्लो हुन थालेपछि एक दिन सामरीका अमृत सापकोटा, जो नेविसंघ नुवाकोटको पूर्ब अध्यक्ष पनि हुनुहुन्छ । उहाँले प्रस्ताव राख्नुभयो–‘नुवाकोटेको पिकनिक राख्नुपर्ने भयो । अहिले त व्यापकै भएछौँ । चिनजान, परिचयनै गर्नुपर्ने पो भयो ।’

पिकनिक राख्ने कुरामा सबै सहमत भयौँ । तर बिरालोको घाँटीमा कस्ले घण्टी बाँध्ने ? आर्थिक स्रोत संकलन, सबै नुवाकोटे सम्म जानकारी, सूचना पुर्याउन यो व्यस्त अमेरिकी समुदायमा प्रायः कसैलाई फुर्सद नहुने ।

वर्थडे पार्टीदेखि लिएर बेबी सावर, बिहेदेखि ब्रतबन्धमा जतिखेर सात जना नुवाकोटे जम्मा हुन्छन् तब फेरि पिकनिक गर्ने कुरा व्युँतिन्थ्यो । भोलीपल्टदेखि उही छेपारोको उखान जस्तै । रातभरि जाडोले कठ्यांग्रिएको छेपारो भन्छ रे–‘भोली त गुँड नबनाई कहाँ छोड्छु र ।’ भोलीपल्ट पारिलो घाममा सुतेपछि छेपारोले घर बनाउने कुरा बिर्सन्छ । फेरि राति जाडो भएपछि भोली घर बनाइछाड्छु भन्छ रे । तर कहिल्यै घर बनाउँदैन ।

नुवाकोटे पिकनिक पनि छेपारोको उखानकै हविगतमा बस्यो धेरै वर्षसम्म । तर यसपटक पिकनिक गरिछाडियो ।

झण्डै दुई महिनाको तयारी पछि अप्रिल ७ तारिक आइतबार टेक्ससको आर्लिङ्गटन सिटीको मिडोब्रुक पार्कमा नुवाकोटेहरुको ऐतिहासिक जमघट सहितको पिकनिक भएको छ । पिकनिकमा यस्ता व्यक्तिहरु भेटिनुभयो जस्को योगदान नुवाकोटको शिक्षा, स्वास्थ र सुरक्षाको क्षेत्रमा निकै अग्रणी थियो ।

कुनै समय जिल्लाका माध्यामिक विद्यालयहरुका प्रधान अध्यापकहरु मध्य सबैभन्दा युवा अनि जोश जाँगरले भरिएका माधब पाण्डे आफ्ना दर्जनौ विद्यार्थीहरु माझ निकै खुशी हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेर अवकाश जीवन बिताइरहनुभएका प्रोफेसर डाक्टर रामशरण पाठक नुवाकोटे थान्सिङ्, थानापतिको आफ्नो रनबन र त्यतिखेरका यादहरुलाई शेयर गर्दै हुनुहुन्थ्यो ।

लामो समय युएनडिपी लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत रहेर हाल अमेरिकामै रहनुभएकी गीता पाठक पाण्डे निकै रमाइलो मान्दै नाचेको देख्दा यस्तो कार्यक्रमले सामाजीक एकतामा कति सघाउ पुर्याउँदो रहेछ सहजै अनुमान गर्न सकिन्थ्यो ।

गोरखाकी चेली र नुवाकोटकी बुहारी कमला अधिकारी लोहनी पेशाले नर्स हुनुहुन्छ । धेरै पटक पिकनिक, पार्टीमा गएपनि कर्मजिल्ला नुवाकोटको पिकनिकले निकै रमाइलो महसुस गराएको प्रतिकृया व्यक्त गर्दै हुनुहुन्थ्यो । त्यतिका सहभागीहरूलाइ घरमै सेलरोटी बनाएर ल्याउने उहाँको सकृयतालाइ जति प्रशंसा गरेपनि कमै हुन्छ ।

कृष्ण भण्डारी पेशाले टेक्ससमा निकै सफल व्यबसायी हुनुहुन्छ । नुवाकोट नर्जाका उहाँको दुई दशक नाघिसक्यो अमेरिका बसाई । पिकनिक गर्नुपर्छ भनेर बारम्बार झकझकाउने भण्डारी आइतबार निकै महत्वपूर्ण अन्य काम भएर पनि दिनभरि सहभागी हुनुभयो ।

अर्का सहभागी कृष्ण कुसुम । कुसुम पेशाले इन्जिनियर । नुवाकोटमा समेत केही वर्ष सेवा गरेका उहाँ परिवार सहित पिकनिकमा रमाइलो गर्न कुनै कोणबाट पनि पछि पर्नुभएन ।

खरानीटारका भीम उप्रेतीदेखि लिएर राजेन्द्र उप्रेतीसम्म, पुरानो मनकामनाका सूर्य मोक्तानदेखि लिएर मदानपुरका सिपिए दिपक सिलवालसम्मको सकृयता र सहभागिताले पिकनिक रमाइलो अनि व्यबस्थित बनेको थियो ।

कुनै समय जिल्लामा हुने हरेक फुटबल प्रतियोगितामा बट्टारको युनाइटेड युथ क्लबले शिल्ड हात पार्थ्यो । त्यसमा सबैभन्दा कुशल खेलाडी हुन्थे –दिपेन्द्र भट्ट । लामो समय नेपाली सेनाको लेफ्टिनेन्ट पदमा रहेर काम गरिसक्नुभएका भट्ट डेढ दशकदेखि अमेरिकामा हुनुहुन्छ । ड्यालस फोर्टवर्थबाट दुई घण्टा टाढा रहेको विचिटाफल्सदेखि पिकनिकमा सहभागी हुनका लागि उहाँ आइपुग्नुभएको थियो ।

जे काम गर्न पनि तत्पर खरानीटारकै ज्योति पाण्डेले आफै मादल बजाएर हुन्छ कि गीत गाएर हुन्छ सहभागीलाई चुपचाप बस्नुपर्ने वातावरण दिँदै दिनुभएन । पेशाले रियल्टर अनु तामाङ्गको तामाङ्ग सेलोको नृत्यले दर्शक र सहभागीलाई भरपुर मनोरञ्जन मिलेको थियो ।

पिकनिक सफल बनाउन मरिमेटेर सकृय दुई पात्र हुनुहुन्थ्यो । पिकनिकलाई सफल बनाउन हरेकले केही न केही योगदान गरेपनि दुई हप्तादेखि रातदिन खट्ने पात्रमा उत्तम लामिछाने र कृष्ण लोहनी हुनुहुन्थ्यो । चतुराले बेलासपुरका लोहनी र चोकदेका लामिछानेको खटाई र परिश्रम नभएको भए नुवाकोटेको भव्य र ऐतिहासिक जमघट हुन संभव थिएन । उहाँहरुको खटाईले पिकनिक भव्य र सभ्य हुन ठूलो मद्धत पुगेको थियो ।

नुवाकोटको पिकनिककै लागि भनेर दुईसय माइल टाढा अस्टिनबाट विनोद कुइकेल सपरिवार आउनुभएको थियो । शिखरबेसीका कुइकेल लामो समयदेखि अमेरिकामै हुनुहुन्छ ।

बच्चाहरुलाई गेम खेलाएर मनोरञ्जन दनेमा लामो समय शिक्षण पेशामा बिताएर केही महिना अघिमात्र अमेरिका आउनुभएकी सुस्मिता पाठक निकै सकृय हुनुहुन्थ्यो । उहाँँलाई लामो समय पत्रकारिता गरेर आउनुभएकी सन्तोषी अधिकारीले साथ दिनुभएको थियो ।

नुवाकोटेको पिकनिकको खबर सुनेर चितवनका एक जना पुर्ब शिक्षक आइपुग्नुभयो । नुवाकोटमा आफूले पढाएका केही विद्यार्थीहरु भेट्दा उहाँका आँखा रसाएका थिए । ‘निम्तो नभएपनि आफूले पढाएको जिल्लाबासीले पिकनिक गर्दैछन् भन्ने सुनेर आएको । पुराना शिक्षक साथीहरु र विद्यार्थी भेट्दा हर्षले गद्गद भएँ’ उहाँ भन्दै हुनुहन्थ्यो ।

२०५१ सालदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दा दुप्चेश्वर रामतीका शिव आचार्य सहकर्मी हुनुहुन्थ्यो । त्यतिखेर गंगटे पुर्ब नियमित यातायात छँदै थिएन । ढिकुरेसम्म कच्ची सडक थियो । तादीखोलामा पुल नभएको हुँदा बर्षायाममा ढिकुरे तरेर कुनै सवारी साधन जान सक्दैनथे । त्यस्तो अवस्थामा आचार्य हिँडेर विदुरको बैठक भ्याउन आइपुग्नुहुन्थ्यो ।

उहाँसँगको अप्रत्याशित भेटले ‘पृथ्बी गोलो छ, बाँचिरहे कुनै न कुनै कुनामा अवश्य भेट हुन्छ’ भन्ने कुरालाई प्रमाणित ग¥यो । २०५४/५५ देखि उहाँसँग भेट भएकै थिएन ।

नुवाकोटको पिकनिकमा झण्डै चारसय जनाको सहभागिता थियो । नेपालका ७७ वटै जिल्लाका नेपालीहरुको बसोबास रहेको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा यो संख्या भनेको उत्साहप्रद हो । पछि को को सहभागी हुन सकेनन् भनेर लेखाजोखा गर्दा अझै धेरै छुटेको महसुस भयो । मेसेन्जर ग्रुपमा एड गर्दै जाँदा दुईसय ५० भन्दा बढीलाई नमिल्ने रहेछ । त्यसले गर्दा पनि धेरेजना छुट्न पुगे । कति चाहि व्यबहारिक कारणले, नेपाल जानुपरेको हुँदा सहभागी हुन सकेनन् । एउटा जिल्लाले आयोजना गरेको, त्यसमाथि धेरै जनासम्म सूचना पुर्याउनै कठिन, जो जतिले जानकारी पाए सबैजना आउन सकेनन् ।

संकलित बजेट बढी भएर उब्रिएपछि कृष्ण लोहनीले उत्साहित हुँदै भन्नुभयो–‘अर्को पिकनिक गरिहाल्ने कि ?’ मैले सुझाव दिएँ–‘अब अर्को वर्ष अप्रिल पहिलो साता शनिबार कोही नछुट्ने गरि गर्नुपर्छ । त्यही पिकनिकका लागि यसपटक भएको वचत रकम राख्नुपर्छ ।’

नुवाकोटेको ड्यालस पिकनिकले यहाँको समाजमा छाप छोड्न सफल भएको छ । धेरैले चासो राख्ने पिकनिकको रुपमा चिनिएको छ ।

‘कस्तो भयो त पिकनिक ?’ यो प्रश्न दुई सातादेखि डिएफडब्लुका हरेक नुवाकोटेलाई आइरहेकै छ ।

म चाँही हाँसेर जवाफ दिन्छु–‘यस्तो पिकनिक नत विगतमा कसैले गरेका थिए । नत भविष्यमा हुनेनै छ ।’