मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको संक्षिप्त चर्चा

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको संक्षिप्त चर्चा


भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको संक्षिप्त चर्चा

माया, प्रेम, स्नेह, प्रणय, भक्ति, श्रध्दा, आदर, करुणा जस्ता चलनचल्तिका शब्दहरुकाबिच प्रतिनिधित्वका हिसाबले भिन्नता भएतापनि, विशेषताका हिसाबले भने एकरुपता भेटिन्छ। संसार मायामा अडिएको छ। माया बिनाको सार्थक जीवनको परिकल्पना, अपुरो, अधुरो र निरर्थक हुन्छ। सृष्टिकर्ताले नै संसारको सृष्टि गर्दा एक अर्काकाबिच अन्योन्याश्रित मायावी सम्बन्ध स्थापित गरिदिएका छन्। जसले सृष्टिलाई बचाउन, निरन्तरता दिन र सार्थक जीवन जिउन, एक अर्काको सह-अस्तित्वलाई स्विकार गरेर एक आपसमा सहकार्य गरी अघि बढ्न निर्देशित गर्दछ। यसै प्रसंगमा अब ‘प्रेम’का बारेमा केही संक्षिप्त चर्चा गरौं।

धार्मिक ग्रन्थहरुका अनुसार भगवानले प्राणी जगतप्रति माया र करुणा राखी शुभावनाले यस ब्रह्माण्डको सृष्टि गरेको र त्यही सृष्टिको एक महत्वपूर्ण हिस्सा ‘प्रेम’ भएको दर्साएको छ। विज्ञानले जैविक रुपमा जिवात्मामा हुने भोक या प्यासको गुण जस्तै प्रेम’ लाई पनि एक न्युरोलोजिकल केमेस्ट्रीको रुपमा चित्रण गरेको छ। विज्ञान भन्छ; प्रेम अस्थायी यौनइच्छा हो, जसमा केहि रसायन टेस्टोस्टेरोन र ओस्ट्रोजन हुन्छ। यसैगरी, मनोविज्ञानले प्रेमलाई प्राकृतिक शक्ति मानेको छ। उसका अनुसार प्रेम एक प्राकृतिक शक्ति हो। त्यसमा हाम्रो धेरै नियन्त्रण हुँदैन्। र, प्रेम प्रकृतिको बसमा हुने भएकाले, मानिसले प्रकृतिसंगै तालमेल मिलाएर अघि बढ्नु जरुरी छ।

प्रेम शब्द सुन्नेबितिकै हृदयमा एकखालको तरङ्ग पैदा हुन्छ। केही खुशी र आनन्दको अनुभूति हुन्छ। हुन त प्रेमलाई बुझ्ने र बिश्लेषण गर्ने हरेकका आआफ्नै कोण हुन सक्छन्। कतिले दु:खानुभूति गर्दछन् त, कति सुखानुभूति। जसका कारण यसको परिभाषामा पनि एक रुपता पाइदैन। कतिले प्रेमलाई प्रकृतिप्रदत यौन र यौनिकताका सबालमा एक आपसमा आकर्षित हुने र त्यसको प्राप्ती वा मिलनका लागि अग्रसर गराउने गुण वा बिषेश्ताका रुपमा ब्याख्या गरेका छन् भने, कतिले अरुको खुशीका लागि आफ्नो खुशीको बलिदानी दिनु वा आवश्यक त्याग वा समर्पण गर्नु नै प्रेम हो भनेर बुझ्ने र ब्याख्या गर्ने गरेको पाइन्छ। तुलनात्मक रुपमा दुइ आत्माको भावनात्मक मिलन नै सच्चा ‘प्रेम’ हो भन्ने, विश्लेषण गर्ने र मान्नेहरुको जमात भने विश्वमा अरुको भन्दा बढी नै छ। जे जे भनेर बुझे पनि र ब्याख्या गरे पनि मानव जीवनलाई सार्थक तुल्याउन यसको ठूलो अर्थ र भूमिका रहेको छ भन्नेमा भने सबै सहमत छन्। त्यसैले प्रेमबाट कोही पनि अछुतो छैन वा रहन सक्दैन भन्दा अतियुक्ति नहोला।

सच्चा ‘प्रेम’को अर्थ र महत्वका बारेमा चर्चा परिचर्चा गर्दा शिव पार्वती, सिता राम, राधा कृष्ण, मुना मदन, रोमियो जुलियट, भ्यालेन्टाइन आदिलाई स्मरण गर्ने गरिन्छ। अंग्रेजी क्यालेण्डर अनुसार फेब्रुअरी १४ तारिख र आसपासका दिनहरुमा विशेष गरी सच्चा प्रेमका प्रतिक मानेर भ्यालेन्टाईनको संझना गर्दै प्रेमको विशेष चर्चा परिचर्चा गर्ने गरिन्छ। र, फेब्रुअरी १४ तारिखमा ‘भ्यालेन्टाईन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने चलन पनि छ। जसलाई नेपालीहरुले ‘प्रणय दिवस’ भनेर पनि सम्बोधन गर्ने गरेका छन्। केही बर्ष अघिसम्म पश्चिमेली संस्कृति र चाडका रुपमा मात्र पहिचान बनाएको यो दिवस, केही वर्ष यता विश्वब्यापीकरण हुन सफल भएको छ। यतिबेला यसको प्रभाव विश्वको जुनसुकै कुनामा धेरथोर परेकै छ। यसबाट पुर्वेली समाज पनि अछुतो रहन सकेको छैन। पछिल्ला बर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ। यो दिवसलाई अविवाहितहरुले आफूलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम सम्बन्धलाई अझ कसिलो, विश्वसनीय र परिपक्क बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दामपत्य जीवनमा परिणत गर्ने, दामपत्य जीवन बिताइ रहेकाले दामपत्य जीवनयात्रालाई अझ सुखमय, आनन्दमय र दिर्घायु बनाउने र विदुर विदुषीहरुले आफ्ना दिवङ्गत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको पाइन्छ।

प्रेम प्रस्ताव गर्न, प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन र दाम्पत्य जीवनलाई सुखमय, आनन्दमय र दिर्घायु बनाउन प्रार्थना गरिएको र आफू प्रेममा समर्पित भएको प्रमाणका रुपमा मनोभावना ब्यक्त गर्नका लागि मुख्य गरी प्रेम पत्र, उपहार, कार्ड र गुलाफको फूलको सहायता लिने गरिन्छ। हिजोआज यस्ता प्रेम रुपी मनोभावना ब्यक्त गर्न प्रभावकारी सञ्चार माध्यमहरुका रुपमा फोन तथा सामाजिक सञ्जालहरुको पनि भरपुर उययोग गर्ने गरेको पाइन्छ। हिजोआज यो दिवस सबै उमेर समुहले धेर थोर मनाउने गरेका भएतापनि, मुख्य गरी युवापुस्तामा बढी प्रथामिकाता र महत्व पाउदै गइरहेको छ। त्यसो त कोहीले यस दिवसको मर्मलाई बुझेर मनाउने गर्दछन् त कोहीले लही लही र देखासिकीमा। तुलनात्मक रुपमा मर्म अनुसार दिवस मनाउनेहरु भन्दा, मर्म नबुझी रमाईलोका लागि मनाउनेको जमात बढ्दो छ। यसले समाजमा निकै नकारात्मक प्रभाव पार्दै गइरहको यर्थाथलाई भने नकार्न सकिदैन। यद्यपि, यो दिवसले दिन प्रतिदिन निकै चर्चा र महत्वका साथ अफ्नो क्षेत्र बिस्तार गर्दै गइरहेको कुरा भने सत्य छ।

पश्चिमी समाजमा यस दिन प्रेमी–प्रेमिका एक–अर्कालाई भ्यालेन्टाइन कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्छन्। मुटुरुपी चित्र, परेवा, हातमा धनुष-वाण बोकेका पखेटासहितका क्युपिडलाई आधुनिक भ्यालेन्टाइन विम्बका रुपमा प्रयोग गरिन्छ। यति महत्व बढ्दै गइरहेको भ्यालेन्टाइन डे को इतिहास कतिलाई थाहा नहुन पनि सक्छ। त्यसैले यस अवसरमा यसका बारेमा जानकारी दिने उद्देश्यले विभिन्न स्रोतबाट संकलित केही तथ्यहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु।

‘भ्यालेन्टाइन डे’ सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। १९ औं शताब्दीदेखि यस दिन विभिन्न सन्देशले भरिपूर्ण ग्रीटिङ्स कार्ड आदानप्रदान गरिदै आएको छ। ग्रिटिङ्स कार्डको अत्यधिक उत्पादन सुरु भएको पनि यही समय हो। त्यतिखेर बेलायतमा भ्यालेन्टाइन कार्ड पठाउने फेसनै चलेको थियो। सन् १८४७ मा इस्थर हाउल्यान्डले बेलायती मोडल प्रयोग गरी ग्रिटिङ्स कार्ड उत्पादन गर्ने सफल व्यापारीका रुपमा आफूलाई स्थापित पनि गराएका थिए। कार्ड अत्यधिक रुपमा बिक्री भएपछि अमेरिकामा यस दिन सार्वजनिक विदा दिन थालियो। अहिले थुप्रै पश्चिमी देशमा भ्यालेन्टाइन डेमा सार्वजनिक विदा हुन्छ। ग्रिटिङ्स कार्ड एसोसिएसनका अनुसार यस दिन विश्वभर एक अर्बभन्दा बढी ग्रिटिङ्स कार्ड आदान प्रदान गरिन्छ। ग्रिटिङस कार्ड बढी बिक्री हुने क्रिसमस पछि भ्यालेन्टाइन डे नै हो। बिक्री हुने कुल कार्डमध्ये ८५ प्रतिशत महिलाले पाउने एसोसिएसनको दाबी छ। सन्त भ्यालेन्टाइन बारे अझै विश्वमा एकै धारणा बन्न सकेको छैन। कम्तीमा तीन भ्यालेन्टाइन थिए भन्ने किम्बदन्ती रहीआएको छ। तर, यि सबै भ्यालेन्टाइनबिच एउटा समानता छ। त्यो हो: उनीहरु तीनै जनाले आफ्ना प्रेमिकाका लागि फेब्रुअरी-१४ कै दिन प्राण त्यागेका थिए।

तीन भ्यालेन्टाइनमध्ये एक थिए, रोमका पूजारी। उनी २६९ एडीमा आफ्नी प्रेमिकाका लागी शहीद भएका थिए। उनलाई भाय्लामेनियामा गाडिएको थियो। टर्नीका भ्यालेन्टाइन भने १९७ एडीमा टर्नीमै व्यापार गर्थे। उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए। उनको लास पनि भाय्लामेनियामै गाडिएको थियो। तर, केही फरक ठाउँमा।

क्याथोलिक इन्साइक्लोपेडियाले अर्को सन्तको नाम पनि भ्यालेन्टाइन रहेको उल्लेख गरेको छ, जो अमेरिकाका कम्पनीमा आबद्ध थिए। यि सन्तबारे योभन्दा बढी उल्लेख गरिएको पाइँदैन। केही स्रोतले भ्यालेन्टाइन डेको सम्बन्ध रोमका भ्यालेन्टाइनसँग रहेको बताउँछन् भने, केहीले टर्नीका भ्यालेन्टाइनसँग। केही यस्ता श्रोत पनि छन् जो रोम र टर्नीका भ्यालेन्टाइन फरक नभइ एउटै हुन् भन्ने तर्क गर्छन् ।प्रारम्भमा यि तीनै सन्तको नामपछाडि कुनै रोमान्टिक कथा जोडिएको थिएन। १४ औं शताब्दीमा आएर मात्र सन्त भ्यालेन्टाइन र रोमान्सबीच सम्बन्ध स्थापित गरियो। अनि रोम र टर्नीबीचको विभेद पनि एकाएक अन्त्य भयो। सन् १९६९ मा रोमन क्याथोलिक क्यालेन्डर संशोधन गरियो। संशोधनले भ्यालेन्टाइन डेलाई सामान्य क्यालेन्डरबाट हटाएर राष्ट्रिय क्यालेन्डरमा समावेश गर्यो। यसलाई एउटा उत्सवको संज्ञा पनि दिइयो। राष्ट्रिय क्यालेन्डरमा उल्लेख गर्नुपछाडिको कारण यस्तो थियो : सन्त भ्यालेन्टाइनको सम्झना निकै पुरानो भइसकेको छ। अब क्यालेन्डरमा यसले स्थान पाउनुपर्छ ।

लिजेन्डा औरियामा बेदीले सन्त भ्यालेन्टाइनको उल्लेख गरेका छन्। यसअनुसार सन्त भ्यालेन्टाइनले क्रिश्चियन धर्म र रोमन बादशाह क्लाउडियस द्वितीयको अपहेलना गरेको आरोप छ । क्लाउडियसले सन्त भ्यालेन्टाइनलाई रोमन आस्थामा ढाल्ने प्रयत्न गरे। भ्यालेन्टाइनले उनको प्रयास निरर्थक बनाएर उल्टो क्लाउडियस लाई नै परिवर्तन गर्ने प्रयास गरे। यसैकारण सन्त भ्यालेन्टाइनलाई झुण्ड्याइयो ।लिजेन्डा औरियामा योभन्दा बढी केही उल्लेख छैन। जुन ‘भ्यालेन्टाइनको प्रेमकथा अहिले हामी सुन्दै आएका छौं, त्यो भने यस्तो छ:

भ्यालेन्टाइन एक सन्त थिए। उनले रोमन बादशाह क्लाउडियस द्वितीयले लागू गरेको अव्यवहारिक कानून(युवाहरु एक्लै रहनुपर्छ भन्ने) पालन गर्न मानेनन्। क्लाउडियसले उक्त कानून आफ्नो सैन्य क्षमता मजबुत पार्न लागू गरेका थिए। विवाहित पुरुष कुशल सैनिक बन्न सक्दैन भन्ने उनको विश्वास थियो। भ्यालेन्टाइनले युवा अवस्थामै लुकिछिपी प्रेम गरे। क्लाउडियसले यो सब थाहा पाएपछि भ्यालेन्टाइनलाई पक्राउ गरी जेल पठाए। उनलाई फाँसी दिने निर्णय गरियो। झुण्ड्याइनु अघि भ्यालेन्टाइनले एक युवतीलाई पत्र लेखे, जो उनकी प्रेमिका थिइन्। यही पत्रमा एउटा लाइन कोरिएको थियो– फ्रम योर भ्यालेन्टाइन।

भ्यालेन्टाइन डे कहिलेदेखि मनाउन थालियो ? यो प्रश्नको ठोस जवाफ अझै भेटिएको छैन। भ्यालेन्टाइन र डे फरक दुइ शब्दलाई पहिलो पटक एकिकृत रुपमा प्रस्तुत गर्ने व्यक्ति थिए १४ औं शताब्दीका महान् कवि जियरी चौसर। चौसरले सन् १३८२ मा लेखेको पालिर्मेन्ट अफ फाउल्स शिर्षक कवितामा ‘भ्यालेन्टाइन डे’ समेटेका छन्। चौसरले लेखेका छन्;

”फर दिस वाज सेन्ट अन सेन्ट भ्यालेन्टाइन डे
ह्वेन एभ्री फउल कमेथ दियर टु चुज हिज मेट”

यो कविता चौसरले इङल्यान्डका राजा रिचार्ड र एन्नीबीच सम्पन्न विवाहको पहिलो वार्षिकोत्सवका अवसरमा लेखेका थिए। १३८१ मे २ मा विवाह भएको थियो। यसको ८ महिनापछि राजारानी दुवै चौध बर्षमा प्रवेश गरेका थिए।

यिनै संक्षिप्त जानकारीसहित भ्यालेन्टाइन अर्थात प्रेम दिवसको यो प्रेममय घडिमा, सबैको जीवनयात्रा साँचो अर्थमा प्रेममय भई आनन्दमय भएर अघि बढ्न सकोस् भन्ने कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।

जय ‘प्रेम’ !🙏❤️