मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के तपाईलाई ‘कंग्रेसमेन भण्डारी’ भन्न मन छ?

के तपाईलाई ‘कंग्रेसमेन भण्डारी’ भन्न मन छ?

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पर्वतको सानो गाउँको नेपाली मान्छे अहिले मेरिलण्डको राज्य संसदमा दोश्रो कार्यकालका लागि डेलिगेट छन्, यो हामी सबै नेपालीका लागि गर्वको विषय होइन? राज्यस्तर कै सही, अमेरिकाको संसदमा पुग्ने पहिलो नेपाली-अमेरिकन! कति गज्जब सुनिन्छ, कति रमाइलो अनुभूति हुन्छ। मलाई त अत्यन्त गर्व छ, अमेरिकी राज्य मेरिलण्डको डेलिगेट डा. ह्यारी भण्डारी भन्न पाउँदा। जननिर्वाचित सांसद पदमा पुग्ने पहिलो नेपाली-अमेरिकन! तपाईंहरु सबै नेपाली अमेरिकनहरुलाई पनि मलाई जत्तिकै गर्व छ भन्न पाउँदा झन् गज्जब सुनिन्छ।

हो, तिनै डेलिगेट भण्डारी अब अमेरिकी संसद (हाउस अफ रेप्रिजेण्टेटिभ्स) को सदस्यमा मेरिलण्ड राज्यको डिष्ट्रिक्ट-२ बाट चुनावी प्रतिस्पर्धामा छन्। आगामी मे १४ मा हुने प्राइमरीमा जिते भने डा. भण्डारी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार हुनेछन्। अहिलेसम्मको चुनावी माहौल र राज्य संसदको सदस्य हुँदा डा. भण्डारीले गरेका अब्बल कामहरुले उनी नै उम्मेदवार हुने पक्का जस्तै छ।

नेपालीको छोरो अमेरिकी संसदमा पुग्यो भने त्यो दिन एउटा अर्कों गर्विलो इतिहास रचिने छ। ‘कंग्रेसमेन भण्डारी’ भनेर हाउस स्पीकरले अमेरिकी क्यापिटलमा सम्बोधन गरेको सुन्दा कस्तो आनन्द आउला? एकछिन् सम्झनोस् त! अनि तपाईं हामीले आफ्नो मन मुटु जोडिएको नेपाली भाषामा कुरा गर्दै कंग्रेसमेन भण्डारी’ भन्न पाउँदा कति रमाइलो होला? एकछिन् कल्पना गर्नुस् त! वाह! क्या राम्रो सुनिंदो रहेछ-—कंग्रेसमेन भण्डारी’!

‘कंग्रेसमेन भण्डारी’ भनेर सम्बोधन गर्न पाउनका लागि सबभन्दा पहिलो शर्त हो— भण्डारीको आधिकारिक उम्मेदवार चयन। उनी उम्मेदवार चयन हुनका लागि उनको चुनावी क्याम्पेनमा सहयोग गर्नु जरुरी छ। एउटा अब्बल र विस्तारित चुनावी अभियानबाट मात्र उनको उम्मेदवारी तय हुन सक्छ। बृहत र व्यवस्थित चुनावी अभियानका लागि आर्थिक सहयोग पहिलो आवश्यकता हो।

२०२० को अमेरिकी जनगणना अनुसार दुई लाख पाँच हजार नेपालीहरु अमेरिकामा भएको तथ्याङ्क छ। यो तथ्याङ्कमा नसमेटिएका दुई लाख जति बढी नेपाली होलान्! करिब चारलाख नेपालीले एक डलरमात्र सहयोग गरे पनि भण्डारीको चुनावी अभियानले चारलाख डलर पाउँछ। सबैले सहयोग गर्न नसक्लान्, सहयोगको पहुँच नहोला पनि। अमेरिकामा भएका नेपाली मध्ये १० प्रतिशत अर्थात् ४० हजारले १० डलर सहयोग गरे भने पनि भण्डारीको अभियानले चारलाख डलर पाउँछ। ल १० प्रतिशतले गरेन रे, पाँच प्रतिशतले (२० हजार) मात्र सहयोग गरे र कम्तिमा २० डलर सहयोग गरे भनेपनि चारलाख डलर नै हुन्छ। अब भन्नुस्, के ह्यारी भण्डारीलाई कंग्रेसम्यान भण्डारी’ बनाउन हामी २० हजार नेपाली पनि तयार नहुने? हामी सक्छौं, र हामीले सक्नै पर्छ, हामी तयार हुनै पर्छ।

ह्यारी भण्डारीलाई ‘कंग्रेसमेन भण्डारी’ बनाउन अहिले हामी कस्सिने हो भने आउने केही संसदीय चुनाव पछि थप नेपाली अमेरिकन ‘कंग्रेसमेन’ हुन सक्नेछन्। तर यसका लागि नेपाली अमेरिकन समुदायको बलियो एकता, मजबुत उद्देश्य र आपसी सहयोग अपरिहार्य छ।

अबको दश बर्षमा पाँचजना ‘कंग्रेसमेन’ बनाउने महान अभियानमा लाग्ने हो भने हामीले नेपाली अमेरिकन कंग्रेसमेनहरुको लिष्टमा अटाउन सक्ने कैयन नामहरु पाउने छौं। ह्यारी भण्डारीले हिंडेको बाटो पछ्याउने हो भने कुनै दिन डा. बन्जाडे, बु्द्धि सुवेदी, डा. केशव पौडेल, सुनिल साह, गौरी जोशी, डा. यादव पण्डित, आनन्द विष्ट, संजय थापा, प्रभु थापा, रविना थापा, दिक्षा वस्नेत, विजय भट्टराई जस्ता कैयन नाम हामीले अमेरिकी संसद वा राज्यस्तरको संसदका सदस्यकारुपमा सुन्न पाउन असंभव छैन।

त्यस्तो लिष्टको लम्बाई बढ़्दै जाँदा डेलिगेट गिरीश पोखरेल, एसेम्वली मेम्वर आङछिरिंग शेर्पा, डेलिगेट गौतम दाहाल, रेप्रिजेण्टेटिभ भोला आचार्य, एसेम्वलीमेन सुदिप पन्त , रेप्रिजेण्टेटिभ विकास न्यौपाने, रेप्रिजेण्टेटिभ सुरज भण्डारी भनेर सुन्न धेरै वर्ष पर्खन नपर्ने पनि हुन सक्छ।

तसर्थ नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने एनआरएन होस् कि नेजा, जनसम्पर्क समिति होस् कि प्रवासी मंच, एएनए होस् कि जयनेपाल फाउण्डेसन, सबैको नेतृत्वमा भएकाहरुको पहिलो उद्देश्य आफ्नो सांगठनिक कामका अतिरिक्त अमेरिकी मुलधारको राजनीतिमा लाग्ने हुटहुटी सृजना गर्ने हुनुपर्दछ।

नेपाली अमेरिकन समुदायलाई विभिन्न ढंगले प्रतिनिधित्व गर्ने सबै राष्ट्रियस्तरका संस्थाको नेतृत्वमा पुगेर आफूलाई प्रमाणित गरिसकेका सबै आदरणीय नेपाली समुदायका अगुवाहरुले मनन् गर्नै पर्ने कुरा भनेको नेतृत्वबाट हटेपछि अमेरिकी मुलधारको राजनीति गर्ने वा सक्षम र संभावितहरुलाई सघाउने हो। नेतृत्वबाट हटेपछि फेरि त्यही संगठनको नेतृत्वको वरिपरि बसेर गुट सृजना गर्ने र आफ्नो स्थापित र प्रमाणित नेतृत्वको अवमूल्यन गर्ने काम गर्नु भन्दा सिटी काउन्सिलस्तरमै भएपनि अमेरिकी मुलधारमा समाहित हुने प्रयास गरौं। अबको दशवर्षमा हामीले एनआरएनको नेतृत्वमा पुगिसकेका, नेजाको नेतृत्वमा पुगेका, जनसम्पर्क समिति वा प्रवासी मंचको नेतृत्व सम्हालिसकेका, एएनए वा जय नेपाल फाउण्डेसनको नेतृत्वमा भएका वा नेतृत्व गरेकाहरुले राजनीतिमा लाग्ने सुर गरेकाछन् भने सिटी वा स्टेट लेभलबाट स्थानीय राजनीति गर्न शुरु गरिहाल्नु पर्छ।

ड्यालसको नेपाली समुदायले युलेस सिटी काउन्सिलमा टिका पौडेललाई जिताएको नतिजा र समुदायमा त्यसले पारेको सकारात्मक प्रभाव जान्न हामीले टिका पौडेलका बारेमा सुने पुग्छ । ह्यारी भण्डारीले मेरिलण्ड राज्य संसदमा चुनिएपछि गरेका र अमेरिका भरकै नेपाली समुदायले पाएको सहयोगको फेहरिस्त कति छ, कति? अमेरिकामा नै पहिलो पटक राज्य संसदबाट पारित कानूनमा दशैं पर्वलाई आधिकारिकता प्राप्त भएको छ। कोभिडका बेला अत्यावश्यक सेवा परिचालन, नेपाली समुदाय, भाषा र संस्कृतिक बृहत पहिचान ह्यारी भण्डारी राज्य स्तरमा सांसद भएर नेपाली समुदायले महशुस गरेको सकारात्मक परिवर्तन हो।

भण्डारी पछि सह्रना श्रेष्ठ न्यूयोर्क राज्य संसदको सदस्य भएकीछिन्। यो अर्कों खुसीको कुरा हो। भण्डारी र श्रेष्ठ जस्ता सांसद हुन योग्य सयौं नेपाली हामी सामु छन्।

भण्डारीको गन्तव्य पछ्याउन सबभन्दा पहिले उनलाई ‘कंग्रेसमेन भण्डारी’ बनाउन लागौं। नेपाली समुदायको अभुतपूर्व एकता देखाऔं। भण्डारीको चुनावी अभियानमा खुलामनले सहयोग गरौं। सकिन्छ अभियानमा उपस्थित भएर सहयोग गरौं। भोट दिन पाउनेले भोट दिएर सघाऔं, उनलाई भोट दिन नपाउनेले अभियानमा सकेको ‘नोट’ सहयोग गरौं। तबमात्र हामीले ‘कंग्रेसमेन भण्डारी’ भन्न र सुन्न पाउनेछौं। नोभम्वर ५ मा हुने चुनावमा ह्यारी भण्डारीले जितेको हेर्न, सुन्न मन छ भने उनको अभियानमा सघाऔं। के तपाईं साँच्चै अमेरिकी संसद भवनभित्र एउटा नेपाली-अमेरिकन डा. ह्यारी भण्डारीलाई ‘कंग्रेसमेन भण्डारी’को रुपमा देख्न चाहनु हुन्छ?

(भण्डारीको चुनावी अभियानलाई सघाउन चाहनुहुन्छ भने तलको लिंकमा जान सक्नुहुन्छ।)

http://hb4md.com/text?refcode=240430&t=VdzXbOhttps://harryformaryland.com/