मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

प्रवासी नेपाली मञ्चमा नयाँ नेतृत्व

प्रवासी नेपाली मञ्चमा नयाँ नेतृत्व

‘एनआरएन नागरिकता कागजी खोस्टोमात्र’


ड्यालस (अमेरिका) । प्रवासी नेपाली मञ्च (ओएनएफ) टेक्सस राज्य समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार टेक्ससको युलेसमा आयोजित अधिवेशनले राजु नेपालको नेतृत्वमा नयाँ कार्यसमितिको निर्विरोध रुपमा चयन गरेको हो । मञ्चको राज्य समितिको उपाध्यक्षद्वयमा मधुसुदन ज्ञवाली र लक्ष्मण थापा चयन भएका छन् । त्यस्तै सचिवमा मनिष थापा र सहसचिवमा साधना पन्त चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भीषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, विशाल मरासिनी, गगनदीप जिसी, अर्जुन त्रिपाठी, बिक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारी चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराएका थिए ।

गैर आवासीय नागरिकता प्रति गुनासोः

प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापा

मञ्चको बन्दशत्र अघि आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि लगायत वक्ताहरुले नेपाल सरकारले दिन सुरु गरेको गैर आवासीय नागरिकताका बारेमा गुनासो राखेका थिए । ‘हाम्रो लबिङ्ग भनेको पहिलेदेखि हामीसँग रहेको नेपाली नागरिकताको निरन्तरता हो, अधिकार बिनाको गैर आवासीय नागरिकता होइन’ प्रमुख अतिथि मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष सञ्जय थापाले भने ।

नेपाल सरकारले गैर आवासीय नेपालीहरुको लागि दिन सुरु गरेको नावरिकताको प्रयोग गरेर नेपालमा कुनै पनि सरकारी काम गर्न नसकिने उनले बताए । ‘त्यो नागरिकता देखाएर नत भिसा लिनु नपर्ने हुन्छ, नत बैंक खाता खोल्न पाइन्छ, न त सम्पत्ति किनबेच गर्नै मालपोतले चिन्छ । यो कागजी खोस्टोका विरुद्ध कट्टरै भएर तपाई हामी लाग्नुपर्ने अवस्था आएको छ’ उनले भने ।

वर्तमान गैर आवासीय नागरिकमा सुधार गरेर पहिलेकै नागरिकताको प्रावधान लागु नहुने हो भने नेपालमा गैर आवासीय नेपालीले लगानी गर्ने वातावरण नबन्ने समेत थापाले उल्लेख गरे ।

राजनीतिक सन्दर्भमा अध्यक्ष थापाले नेपालमा एमाले र माओवादी बीचको गठवन्धनका विषयमा समेत असन्तुष्टी देखाएका छन् । ‘एमाले र कांग्रेसले पालैपालो माओवादीलाई बोकेर हिँडेका छन् । यो अवस्था कहिलेसम्म ? यसले राजनीतिक रुपमा बदनामीमात्र आर्जन भएको छ । एमाले र कांग्रेसले यो तथ्यलाई कहिले बुझ्ने ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा ओएनयुएफका भीम कार्कीले पनि गैर आवासीय नागरिकता उपयुक्त नभएको टिप्पणी गरे । ‘यो नागरिकता भन्दा पावरफुल र व्यबहारिक त एनआरएन कार्ड नै थियो’ उनले भने । कार्कीले नेपालीहरुको सबैभन्दा बढी बसोबास रहेको राज्य टेक्ससमा स्थायी रुपमा बाणिज्य दूतावास खोल्न समेत नेपाल सरकारसँग आग्रह गरे ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अमेरिका संयोजक प्रभु थापाले अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि मञ्चले गरेका कार्यहरुको चर्चा गरे । ‘टिपिएसदेखि कोभिडको समयमा हामीले मातृभूमिका लागि, नेपाली समुदायका लागि थुप्रै कार्यहरु गर्दै आएका छौै’ उनले भने ।

त्यस अवसरमा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेलले समय, स्रोत हुने र परिवारलाई मिलाउन सक्नेले मात्र राजनीति, समाजीक क्षेत्रमा आउन सुझाव दिए । कार्यक्रममा ओएनएफका इश्वरी भट्ट, उपाध्यक्षद्वय गोपाल कँडेल र भीमप्रकाश ओली, जनक राना, जनसम्पर्क समितिका उपाध्यक्ष भगवान मैनाली, सुन्दर कर्माचार्य, प्रवासी नेपाली समाजका नारायण कँडेल, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएका कोषाध्यक्ष सरोज सिग्देल, नेजाका अध्यक्ष सुरज भण्डारी लगायतले अधिवेशन सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मञ्चका संस्थापक मणि भण्डारी र जनक रानालाई सम्मान गरिएको थियो ।