मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिमालय खबरको गरिमामय १४ औँ पाइला

हिमालय खबरको गरिमामय १४ औँ पाइला


हिमालय खबर मिडिया १३ वर्ष पूरा गरी १४ औँ वर्ष प्रवेश गरेको छ । यी वर्षहरु हाम्रा लागि उतारचढावपूर्ण रहे । विश्वभर पत्रकारिता व्यवसायले चुनौतीहरु सामना गर्नुपरेको अवस्था हामीले पनि भोगिरहेका छौँ । सञ्चार माध्यम व्यावसायिक हुनका लागि चाहिने स्रोत साधन हामीसँग पनि अभाव रह्यो । यति हुँदाहुँदै पनि पत्रकारिताको मूल्य र मर्मसँग हामीले कहिले पनि सम्झौता गरेनौँ । कहिले निकै सक्रिय भएर हामीले नेपाली समुदायका मुद्दालाई उठायौँ, कहिले सीमित स्रोतले हामीलाई निष्क्रिय पनि बनायो । हाम्रो प्रयास नेपाली समुदायको हितमा सूचना र समाचार दिन सधैँ सक्रिय भइरहने हो । आउने दिनमा अझ सक्रिय हुनका लागि हामी प्रयासरत रहने छौँ । हामी अहिले विदेशमा बसेर नेपाली समुदायका लागि सरल र सुलभ सूचना तथा जानकारी दिइरहेका छौँ ।

हाम्रो योजना अंग्रेजी संस्करण पनि ल्याउने हो । यसका लागि हामी प्रयासरत छौँ । अहिले नेपाल बाहिर पनि ठूलो नेपाल छ । तर, विदेशमा बस्ने नेपालीले अहिले हेपिएको महसुस गरिरहेका छन् । विदेशमा बस्ने नेपालीले स्वदेशी सुविधा प्रयोग नगरी कमाएको पैसा पठाएर देशको अर्थतन्त्रलाई योगदान दिइरहका छन् । विदेशमा रहेका नेपालीले कमाएर स्वदेश र विदेशमा रमाएका छन्, देशमा बसेर भष्ट्राचार त गरेका छैनन्, कसैलाई ठगेका छैनन् । अहिले देशले किन्ने विदेशी समानका लागि चाहिने विदेशी मुद्राको स्रोत नै रेमिट्यान्स हो । रेमिट्यान्स मात्रले देशको आर्थिक विकास हुँदैन । तर, अहिले नेपालका लागि रेमिट्यान्सको विकल्प पनि छैन । नेपालको अर्थतन्त्र अहिले मन्दीको अवस्थामा छ । जति ठूला भाषणहरु गरे पनि विदेशमा बस्ने नेपालीले कमाएको स्रोत र साधन नेपाल नलग्दासम्म मन्दीबाट देशमुक्त हुन कठिन छ । देशले उदार भएर विदेशमा बस्ने नेपाली देशमा आउने वातावरण तयार नपारिकन मन्दी सकिने अवस्था छैन ।

नेपाली नागरिकताको निरन्तरता, सहासिलो आर्थिक सुधार, सुशासन हुने हो भने थुप्रै नेपाली थप स्रोत लिएर नेपाल जानसक्छन् । अब यसतर्फ उदार भएर सोच्नुपर्ने आवश्यकता छ । हिमालय खबर यी यस्ता विदेशमा बस्ने नेपालीका मुद्दा उठाउन कहिल्यै पछि पर्ने छैन । हामीले कयौँ सन्दर्भमा नेपाली समुदायको हितका मुद्दा उठाएका छौँ । हामीले उठाउनुपर्ने मुद्दामा हामी स्पष्ट पनि छौँ । हामीलाई बढीभन्दा बढी नेपाली समुदायको प्रोत्साहन आवश्यक छ । निडर भएर हाम्रो समुदायका मुद्दा उठाउन हामी पछि पर्ने छैनौँ । हामी समुदायका मुद्दामा इमान्दार छौँ र इमान्दार रहिरहने छौँ । यहाँहरुको हिमालय खबरप्रतिको माया र सद्भावका लागि हामी आभारी छौँ । हामी १३औँ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गर्दागर्दै स्वदेश र विदेशका आमपाठक, लेखक, पत्रकार, विज्ञापनदाता एवं सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छौँ ।