जीवनमा दुख परेको बेला धेरै चोटि यस्तो लाग्छः यो चरम अवस्था हो, योभन्दा बढी दुख र मानसिक यातना मानव जीवनमा सम्भव छैन, त्यसैले अब हुने परिवर्तन भनेको सुखद हुनु मात्र सम्भव छ । कति चोटि त्यस्तो निष्कर्ष साँचो प्रमाणित हुन्छ भने धेरैचोटि चाहिं हुँदैन । अर्थात्, दुखमा हामी छिटै आत्तिन्छौं र आफ्नो चित्त बुझाउन अनेक तर्क गर्छौं । हामीले तर्क गर्दैमा त्यो सत्य हुँदैन ।
त्यस्तो तर्क महिनैपिच्छे फेल खाँदै गरेको अवस्थाको कुरा हो ।
अक्सर त्यस्तो अवस्थामा मानिसले जीवनका प्राथमिकता र उदात्त उद्देश्यलाई या त पूरै बिर्सिन्छ, या त तपसिलमा राख्छ अनि दुइटा कुरामा ध्यान केन्द्रित गर्छः पहिलो भौतिक शरीर बचाउने अनि दोस्रो मानसिक स्वास्थ्यलाई असामान्य हुन नदिने ।
त्यस्ता क्षणहरुमा व्यक्तिको दैनिक जीवन आफैंमा यातनापूर्ण हुन्छ अनि उन्नति र प्रगति तपशिलको कुनै दुर्गम कुनामा कैद भएर बस्छन् ।
अंग्रेजीमा भिसियस साइकल भनिने त्यस्तै चक्रव्यूहबाट गुज्रिरहेको बेला मलाई त्यसबाट निस्किनु सम्भव छ भन्ने विश्वासै थिएन किनकि त्यस्तो चक्रव्यूहभित्र दिग्भ्रमको एउटा बाक्लो न बाक्लो कुहिरो लागेको हुन्छ । त्यो कुहिरोभित्रको निसासिंदो वातावरणमा बाँचिरहन एउटा खास किसिमको मनस्थिति आवश्यक हुन्छ, पशुको जस्तोः न हिजोको पश्चात्ताप, न आजको हतारो, न भोलिको चिन्ता ।
त्यस्तो मनस्थितिमा पत्रपछि पत्र थपिंदै गएपछि मानिसले केमा हाँस्नुपर्ने र केमा रुनुपर्ने भनेर छुट्याउनसमेत छाड्न थाल्छ र सबै स्थितिहरुलाई समभावले हेर्न थाल्छ ।
झट्ट हेर्दा त्यस्तो अवस्था आकर्षकजस्तो लाग्छ तर हाम्रो समाजका लागि त्यो असामान्य अवस्था हो र असामान्यहरुका लागि हाम्रो समाजमा कुनै ठाउँ छैन । आफू वरपरको वातावरणसँग असामञ्जस्य हुने हो भने हामीलाई भौतिक रुपमा समेत टिकिरहन मुस्किल हुन्छ त्यसैले जो जसको वातावरणसँग सामञ्जस्य छैन, उनीहरुले चलाखीपूर्वक त्यस्तो सामञ्जस्यको नाटक गर्छन् ।
ुक्यष्तिगमभु दथ व्भबल(व्बअत्रगभक ज्भललभच
मैले पनि त्यसै गरें, तर त्यस्तो नाटक गरिरहनु कति पीडादायी हुन्छ, त्यो पर्नेहरुलाई मात्र थाहा हुन्छ ।
यी शब्दहरु एउटा पूरा गर्ने इच्छाशक्तिविना यसै थालिएको कुनै झुर कथाको शुरुवाती अंशजस्ता लाग्छन् ९मेरा आफ्नै त्यस्ता अपूरा कथाहरु कति छन्, त्यसको कुनै लेखाजोखा छैन०, तर कुरा त्यसो हैन । अहिले मलाई आख्यान लेख्ने न जाँगर छ, न लेख्न सक्छु भन्ने विश्वास । यो एउटा विशुद्ध संस्मरण हो, बेढंगी पाराले लेखिएको ।
त्यस्तो अवस्थाबाट गुज्रिरहेको बेला अचानक काठमाडौं भन्ने खाल्डोमा जान एक महिनाको साइत जुर्यो । त्यो एक महिनाको कार्यसुचीमा सफल हुन सके कम्तीमा तीन वर्षका लागि खाल्डोको बसाइ सुनिश्चित हुन्थ्यो । वर्षौंपहिले केही महिना खाल्डोमा बसेको अनुभवले भन्थ्योः खाल्डोमा चुनौती र अवसर दुवै छन्, त्यसैले यसले दिने अवसरलाई एकचोटि आँकेर हेर्नैपर्छ ।
अँधेरी रातको बिहानीपख रात्रीबस चढेर नागढुंगा नाकाबाट खाल्डोमा प्रवेश गर्दागर्दै मैले भावुकतापूर्वक सामाजिक सञ्जालमा लेखेको थिएँः रहस्यहरुको शहर काठमाडौंले धेरैलाई धेरै कुरा दिएको छ, मेरो भागमा चाहिं के पर्छ, अब हेरिहालौं ।
त्यो थियो भावुकता, पानीको फोकाजस्तै, केही बेरमा फूट्यो अनि जीवन यथार्थको चिसो भुइँमा बजारियो । ठाउँ फेर्दैमा मानिसका दुखहरु फेरिने भए र खुशीहरु जन्मने भए शायद मानिसहरुले स्थायी बसोबासको शुरुवातै गर्दैनथे होला । विज्ञानले शरीरका अंग फेर्ने र अब त लिंगसमेत फेर्ने सुविधा सिर्जना गरेको छ तर दुखहरु फेरिंदैनन् । संकटहरु टर्दैनन्, अझै पनि भन्छन् नि, संकट बाजा बजाएर आउँदैन र आएपछि एक्लै पनि आउँदैन ।
खाल्डोको एक महिने बसाइ त्यस्तै रह्यो । फर्केर हेर्दा लाग्छ, एक खालको विक्षिप्तता थियो त्यो । त्यस्तो विक्षिप्ततालाई समाजबाट कति लुकाउन सकियो, कति सकिएन, त्यो बेग्लै कुरा हो ।
एउटा किसिमले त्यो विक्षिप्तता मेरा लागि घातक हुन सक्थ्योः त्यसले मेरो एकाग्रता र कार्य सम्पादनलाई असर पारेको भए । तर माथि भनेझैं पहिले विकसित भइसकेको पशुवत् मनस्थितिले मलाई त्यो डर लाग्दो सम्भावनाबाट बचायो । बधशालामा तरवारमुनि घाँटी पुर्याइसकेको पशु पनि जसरी व्यग्रतापूर्वक घाँस चपाइरहेको हुन्छ, त्यसरी नै मैले पनि मेरा कामहरु गर्दै रहें ।
परिणाम के भयो भने महिनाको अन्तमा भएको परीक्षामा मलाई खाल्डोमा तीन वर्ष बस्ने लाइसेन्स मिल्यो । वर्षौंको पशुवत् जीवनलाई पछि छाड्ने त्यो अवसर थियो । तर त्यसै हुन्छ भन्ने ग्यारेन्टी कतै कसैले लिएको थिएन ।
**************
जिन्दगी सम्भावनाहरुमा अडेको हुन्छ भन्छन् । त्यही सम्भावनाको त्यान्द्रो समातेर काठमाडौं खाल्डोमा छिरेको म तीन वर्षपछि अर्को त्यस्तै त्यान्द्रो समातेर खाल्डोबाट बाहिरिएको छु । अहिले बर्खा चलिरहेको छ, झमझम पानी परिरहेको छ, धर्ती गलेर लतक्क भएको छ । खै किन हो आजकल गड्याङगुडुङ र चट्याङ पनि त्यति सुनिंदैन, बाल्यकालमा जस्तो । उनताका वर्षाको गर्जाइले सातो लिन्थ्यो, बिजुली चम्काइले भयानक चेतावनी दिन्थ्यो । पहिरोले घरैसहित बगाउँछ कि भनेर रातारात प्रचण्ड वर्षामा घर छाडेर एउटा सम्म ठाउँमा रहेको परित्यक्त र जीर्ण घरमा शरण लिएका दिनहरु हिजोजस्तै लाग्छन् ।
ुक्यष्तिगमभु दथ ँचभमभचष्अ ीभष्नजतयल
तर अहिलेको बर्खा त्यस्तो भयावह लाग्दैन, शायद अरु भयावह वस्तुहरुको भारले किचेर होला । अहिले त झमझम परेको पानी वर्षौंदेखि निचोरिएर र गुम्सिएर बसेको अनि रुनेसम्म स्वतन्त्रता नभएको मानिस एकान्तमा बसेर निर्धक्क आँशुको धारा फुटाउँदै अनि कोकोहोलो मच्चाउँदै रोएजस्तो लाग्छ मलाई । गड्गडाउँदै बग्ने नदीहरु वर्षौंदेखि कुण्ठित कविका धारा प्रवाह कविता फूटेजस्ता लाग्छन् । शायद मानिसलाई जस्तै प्रकृतिलाई पनि स्वस्थ रहन रुवाइ र गतिको उचित मात्रा चाहिन्छ क्यारे ।
हिउँद शान्त हुन्छ तर कठोर हुन्छ, वसन्त रोमान्टिक हुन्छ तर कता कता अलि रुखो हुन्छ, उर्वर र मुलायम केही हुन्छ भने त्यो बर्खायाम हुन्छ । दिनदहाडै तन्किने फर्सी र घिरौंलाका झालहरु अनि रातारात पसाउने मकैका घोगाहरु, क्षणभरमै पलाउने बाँसका तामाहरु अनि एकाध दिनमै जरा हाल्ने धानका गाबाहरु, यी सब बर्खा यामकै देन हुन् । सिमसिम परेको पानीसँगै आकाशबाट धर्तीमा झरेको कुहिरोले मुलायम कपासले झैं बिरुवाका भिजेका पातहरुलाई सुम्सुम्याइरहेको दृश्यले मनमा जुन सौन्दर्यबोध गराउँछ, त्यसको अरु कुनै घटनासित तुलना हुन सक्दैन । गड्गडाएर बग्ने खहरे र नदीको गतिशीलता अनि खोल्सा खोल्सामा फुट्ने पानीका मूलहरुको निर्मलता, बर्खा यामभर एकपछि अर्को जीवनदायी कामहरु भइरहन्छन् ।
हो, यस्तो बर्खामा म काठमाडौं खाल्डोलाई चटक्कै छाडेर बाहिरिंदैछु । कुनै बेला काठमाडौं नेपालीहरुका लागि सपनाको शहर हुने गथ्र्यो । राम्रो पढ्न सक्ने वा पदमा चिनारु हुनेहरु जीवन बदल्ने दाउमा त्यहाँ छिर्थे र धेरै जसोले बदल्थे पनि । तर बजारीकरणसँगै शिक्षाको महत्व घटेर पैसाको महत्व बढ्नु र भूमण्डलीकरणका कारण काठमाडौंमा टिक्नभन्दा दोहामा टिक्न सजिलो हुनुले अब बहुसंख्यक नेपालीहरुको सपनाको शहर क्वालालाम्पुर, दोहा, दुबई, हङकङ, टोकिया, मेलबर्न वा टोरन्टो हुने गरेको छ । काठमाडौंकै सपना देख्नेहरु पनि नभएका त हैनन् तर अब ती कम छन् ।
त्यही सपनाको पुच्छर समातेर आठ वर्ष अघि पाँच महिना जतिका लागि काठमाडौं बस्दा रत्नपार्कको खुला पत्रिका पसलमा घण्टौं उभिएर नकिनी जनआस्थालगायतका पत्रिकाहरु पढेको अनि कपाल काट्ने पैसा नभएर हप्तौं झ्याप्ले कपाल पालेको हिजोजस्तै लाग्छ । उसबेलाको बसाइ सफल भएको थियो तर सम्भावनाको त्यान्द्रोले मलाई लतार्दै काठमाडौंबाट भैरहवा पुर्याएको थियो र त्यसपछिका छ वर्ष त्यो न्यानो ठाउँमा बिते । म धित मर्ने गरी काठमाडौं बस्नै पाइनँ, त्यसैले होला, भैरहवादेखि एउटा फिल्म फेस्टिवलकै लागि काठमाडौं पुगेको अनुभव पनि मसँग छ ।
आठ वर्षको अन्तरालपछि तीन वर्षका लागि फेरि काठमाडौंमा छिर्न पाउँदा म खुशी हुने अनेक कारणहरु थिए । आधुनिक औषधि विज्ञानले तरक्की गर्नुअघि मानिसहरु असाध्य रोग लाग्यो भने स्वास्थ्यलाभका लागि भनेर लामो यात्रा तय गर्थेः पिटर्सवर्गबाट क्रिमियासम्म अनि मस्कोदेखि सोचीसम्म । अझै पनि असाध्य रोगबाट तंग्रिंदै गरेका मानिसहरु त्यसो गर्छन्, हावापानी फेर्नका लागि भनेर लामो यात्रा तय गरेर । मेरा लागि एक हिसाबले त्यो स्थानान्तरण त्यस्तै थियो ।
लेख्नुपर्ने सबै कुरा लेख्दै गयो भने एउटा किताबै तयार होला भन्ने डर छ । सटिक रुपमा भन्दा काठमाडौंको पहिलो लामो बसाइले मेरा लागि बिस्तारै मल्हमको काम गर्दै गयो । त्यो मल्हमका धेरै रुप थिएः मानिसहरु, भुगोल र कला ।
मलाई विक्षिप्तताबाट बाहिर आउन मदत गर्ने मानिसहरुप्रति कृतज्ञता जनाउने बेला भएको छैन किनकि उनीहरुसित अहिले पनि निकटको सम्बन्ध कायम छ र त्यसो गर्ने उचित ठाउँ भनेको आत्मकथा अर्थात् अटोबायोग्राफी हो । त्यो लेखिन्छ भन्ने कुनै ग्यारेन्टी छैन तर लेखेको खण्डमा मैले ती सबै मानिसहरुलाई उचित शब्दमा कृतज्ञता टक्र्याउनेछु ।
**********
मानिसहरुले काठमाडौंमा धुलो, होहल्ला र प्रदुषण मात्र देख्छन् । दुराचार, भ्रष्टाचार र बल मिच्याइँ देख्छन् अनि धेरैले त्यसलाई कोस्छन् । जसले काठमाडौंको आलोचना गर्छन्, उनीहरुमध्ये कतिले काठमाडौंको डाह गर्छन् ।
उसो त काठमाडौं आलोचना र डाह नभएर प्रशंसा र कृतज्ञताको मात्र पात्र हो भन्ने मेरो आशय हैन । काठमाडौं स्वर्गको टुक्रा हैन, नर्क पनि हैन । खाली अरु ठूला शहरहरुजस्तै केही स्वर्गीय र केही नारकीय अनि धेरै सामान्य र लौकिक चीजहरुको मिलनबाट बनेको सामान्य शहर हो काठमाडौं । जब राती सबै सुतिसक्छन्, अनि सुत्छ काठमाडौं । मानिसहरुसँगै उठ्छ र उनीहरुको दैनिकीसँगै दौडन्छ । फाटफुट बटुवाले दिएको पाँच रुपैयाँको नोट समातेर मग्नतापूर्वक नमस्कार गरिरहेको मगन्तेसँगै मुस्कुराउँछ काठमाडौं, रात रातभर झगडा गर्ने दम्पतीहरु हेरेर सुस्केरा हाल्छ काठमाडौं, हरेक दुर्घटना, हत्या र बलात्कारसँगै चित्कार छाडेर रुन्छ काठमाडौं । शिशुहरुको अबोध मुस्कान हेरेर जस्तो दुख पनि भुल्छ काठमाडौं । जब सडकभर मानिसहरु उत्रेर दरबार ताक्छन्, तम्तमाएर गर्जिन्छ काठमाडौं, तिनै मानिसले चुनेर पठाएका मानिसले जब तिनकै ज्यानलाई दाउमा राखेर धनी बन्ने करतुत गर्छन्, लाजले शिर झुकाउँछ काठमाडौं ।
हो, काठमाडौं सामान्य शहर हो, अति सामान्य । ढलजस्तो फोहर नदी, धुलाम्मे बाटो, तीन तलामाथिबाट मध्य बाटोमा फोहरका थैला फाल्ने मानिसहरु, सलाइको बट्टाजस्ता गाडीहरु, तिनै गाडीमा छिरेर भीडमा चोरी गर्ने पाकेटमारहरु, सबै काठमाडौंका आफ्नै विशेषता हुन् ।
तर काठमाडौं त्यति मात्र हैन । जसले त्यति मात्र देख्यो, उसले असली काठमाडौं देखेन । शहरको केन्द्रबाट कुनै पनि दिशामा पैदल एक घण्टा वा गाडीमा पन्ध्र मिनेट यात्रा गर्यो भने काठमाडौंको फरक रुप देखिन्छ । अर्को एक घण्टा वा पन्ध्र मिनट यात्रा गर्यो भने बिल्कुलै फरक काठमाडौंमा पुगिन्छ । सुन्दरीजलबाट उकालो लाग्यो भने अहिले पनि त्यस्तै बाग्मती छ जस्तो सत्य युगमा थियो । बूढानीलकण्ठबाट तीन चार घण्टा उक्ल्यो भने शिवपुरीको चुचुरामा त्यस्तो शान्ति र एकान्त प्राप्त हुन्छ जुन हजारौं वर्ष पहिले हुन्थ्यो । कीर्तिपुरबाट दुई घण्टा उक्ल्यो भने चम्पादेवीको डाँडाको अपार एकाग्रता हेर्न पुगिन्छ । ती डाँडामा फल्ने ऐंसेलु, काफल र चुत्रो अहिले पनि त्यति नै जीवनदायी छन् जति हजारौं वर्ष पहिले हुने गर्थे । त्यसबाहेक चन्द्रागिरी र फुल्चोकीका डाँडाहरुमा त्यस्तो सौन्दर्य छ जुन प्राप्त गर्न सात समुद्र पारीदेखि मानिसहरु नेपाल आउने गर्छन् ।
सिमसिम पानी परेको बर्खाको दिनमा फूल्चोकीको टुप्पोमा बसेर फिरफिर गरेका पताकाहरुमुनि जसले जाडोले सुइसुइ गर्दै र कुहिरोमा रङमङिदै तातो चिया खाएन, उसले काठमाडौंमा बसें तर यसको सौन्दर्य भेटिनँ भन्नुजस्तो वाहियात कुरा अर्को कुनै हुन सक्दैन । त्यस्तै जो हिउँदको पहेंला घाम ओरालो लागेको देखेर दिउँसोभरको उकालो यात्राले लस्त शरीरलाई लतार्दै चन्द्रागिरीको टुप्पोबाट झरेन उसले भुँडी लाग्यो भनेर डाइटिङ गर्नु पनि एक किसिमको ढोंग हो । अनि जसले चखेल देउरालीमा चिसो सिरेटोसँगै भैंसीको सुकुटी र लोकल कुखुराको मासुसँग ढिंडो खाएन अनि नगरकोटको होटलमा काभ्रेतिर फर्केर मासुभात खाएन र भन्योः मैले काठमाडौंका सबै परिकार चाखें, त्यो एक किसिमको गफ मात्रै हो ।
काठमाडौंको जति कुरुपता छ, त्यसको स्रोत त्यहाँका अर्ध शिक्षित र अक्कलरहित मानिसहरु हुन् । पन्ध्र मिनट पशुझैं कोचिएर यात्रा गर्न बरु दुई घण्टा पर्खने तर आधा घण्टा सडकको पेटी पेटी हिंड्न गाह्रो मान्ने मानिस भएकैले होला शायद काठमाडौंमा गाडीवालहरु मानिसलाई भेडाबाख्राजस्तो व्यवहार गर्छन् ।
खयर, यो काठमाडौंलाई कुरुप बनाउने मानिसहरुको संस्मरण हैन, यो त मेरो संस्मरण हो । ती सबै मानिसहरु बाटोमा आकलझुकल देखिने त्यस्ता बटुवाहरुजस्ता हुन् जो बाटोमा कोलाहल मच्चाउँछन् र चाउचाउ र कुरकुरेका खोलको डंगुर लगाउँछन् ।
**********
लेख्दालेख्दै पानी थामिएको छ । कतै टाढा कोइलीको कोहो कोहो चलिरहेको छ भने पृष्ठभुमिमा डांग्रेलगायत करीब आधा दर्जन चराचुरुंगीको मिश्रित आवाज आइरहेको छ । बाटोबाट एउटा विक्रम टेम्पुको कर्कश आवाज भर्खरै आयो र गैहाल्यो । आकाशमा बादल फाट्दैछ र कतैकतै पूरै निलो आकाश देखिन थालेको छ । म अहिले चितवनमा छु र काठमाडौंका स्मृतिहरुलाई तौलँदै हेर्दै र केहीलाई शब्दमा उतार्दै छु । उदास हुनुपर्ने कारण कुनै छैन तर मनको कुनै कुनामा उदासीको एक पत्र छ कि जस्तो लाग्छ । मानिसको जातले वर्तमानमा खुशी हुन कहिल्यै सिकेन, त्यसैले होला खुशी हुन सकिने क्षणहरु पनि निधार खुम्च्याएर बिताउने अनि महिना दिन बितेपछि अहो, कस्तो खुशीका क्षण थिए ती भनेर सम्झने हामी सबैलाई बानी नै लागिसकेको छ ।
यदि काठमाडौं बसाइमा वर्तमानमै खुशी भएका कुनै क्षणहरु थिए भने ती या त हाइकिङका दिनहरुमा डाँडाकाँडामा बिताएका क्षणहरु थिए, नभए थिएटरहरुमा बिताएका नाटक, चलचित्र वा डकुमेन्ट्रीहरु हेर्दाका क्षणहरु थिए । गुरुकुलमा पहिलोपल्ट सेतो कपाल शीर्षक नाटक हेरेदेखि तीन वर्षमा झण्डै दुई दर्जन नाटकहरु र झण्डै त्यसको दुगुना डकुमेन्ट्रीहरु हेरियो शायद । कोर्ट मार्सल, डिग्री माइला र बाँकीपृष्ठजस्ता नाटकहरु त दोहोर्याएर पनि हेरियो । चलचित्रहरुमध्ये भागी भागी गएर सित्तैमा हेरिएका कोरा र कलर मी लभ शीर्षकका चिनियाँ फिल्म, द कटेकेनो रिबेलियन नामक स्पेनिश फिल्म, जी ओनी र नाम बिर्सिएको एउटा इजरायली फिल्म, आदि अहिले स्मरणमा छन् । डकुमेन्ट्रीहरुमध्ये नेरोज गेस्ट, इन सर्च अफ द रियाल,फायर इन द ब्लड, आइ वान्ट माइ फादर ब्याक, नो बुर्काज् बिहाइन्ड बार्स विशेष सम्झन योग्य रहेका छन् ।
आकाश फेरि धुम्मिएको छ । भर्खरै स्यार्र परेको पानी थामिइसकेको छ र म बसेको कोठाको पूर्वपट्टि केही सुकेका, केही पहेंलिएका र केही हरिया सिसौका रुखहरु हावाको मन्द झोंकासँगै भलाद्मी पारामा हल्लिरहेका छन् । अझै पर चौरमा पानी जम्मा भएको छ, जहाँ डेंगु फैलाउने लामखुट्टेहरु प्रजनन क्रियामा मग्न होलान् । हेर्दाहेर्दै नजानिंदो पारामा पानी फेरि पर्न थालेको छ । बाध्यताले रुझ्न नपर्नेहरु यस्तो पानीमा रुझ्न रहर गर्छन् । पानी परोस् वा नपरोस्, मलाई पशुवत् जीवनबाट उम्किन काठमाडौंले लगाएको गुनको सम्झनाले म अहिले निथ्रुक्क भिजेको छु ।
खै किन हो, समयले मलाई धेरै गनगन गर्ने बनाएको छ । ममा बोल्ने कला छैन, शायद त्यसैले हो कि अलि बढी लेख्छु । मेरो त्यही गनगन तीन सयभन्दा बढी लेखको रुपमा मेरो ब्लगमा विराजमान भएको छ । ती तीन सयमध्ये काठमाडौं जानुअघि लेखिएका सबै जसो लेखको पाठक म एक्लै थिएँ भने काठमाडौंले त्यसमा पनि बदलाव ल्याइदियो र दशौंको संख्यामा मानिसहरु अहिले त्यता विचरण गर्छन् । यो गनगन आफैंमा धेरै लामो हुन थालेकाले मैले काठमाडौंमा छँदा लेखेका केही पंक्तिहरुका साथ यसलाई अन्त गर्छुः
बाल्यकालमा हामी हठी र स्वार्थी हुन्छौं । उनै बाबुआमा हामीले भनेको पुर्याइदिंदा भगवान् लाग्छन् भने त्यसो नगर्दा वैरी । हाम्रा इच्छा र आकांक्षाहरु सामान्य हुन्छन् र तिनलाई पुर्ति गर्न दुई चिम्टी समझदारी र दुई पैसा कमाइ भएका बाबुआमा छन् भने त्यति गाह्रो पर्दैन । बिस्तारै खाने र खेल्ने कुराप्रति हाम्रो लगाव कम हुँदै जान्छ र संसार देख्दै गएपछि सन्तुष्टि र असन्तुष्टिमा बाँडिएको हाम्रो भावलाई दर्जनभन्दा बढी फरक फरक भावहरुको जटिल अन्तक्रियाले विस्थापित गर्छ । हामी संसारमा भएका राम्रा र नराम्रा, सुन्दर र कुरुप, सबल र निर्वल, सरल र जटिल चीजहरुको भेद छुट्याउन सक्ने हुन्छौं । हाम्रा इच्छा, आकांक्षाहरु झांगिंदै जान्छन् । अरुलाई हेर्दाहेर्दै हामीहरु आफूलाई पनि हेर्न सिक्छौं, अरुको जिन्दगी हेरेर आफ्नो भविष्यबारे कल्पना गर्छौं । जीवनको एउटा लक्ष्य बनाउँछौं र एउटा संकल्प गर्छौं ।
मेरो विचारमा जीवनको स्वर्णीम समय भनेको किशोरकालको त्यो समय हो जब हामी बरु आफ्नो जीवन बलिदान गरेर भए पनि संसारलाई सुन्दर बनाउने सपना देख्छौं । अहिलेको जीवन पद्धति, शिक्षा, समाज र बजारले अहिलेका किशोरकिशोरीहरुको त्यस्तो सपनाको हत्या गरेको छ भने त्यसमा मलाई खेद छ तर हामी किशोर हुँदाको समयले हामीलाई सपनासम्म देख्नबाट वञ्चित गरेको थिएन ।
बिस्तारै यौवनावस्थाले गाँज्दै ल्याउँछ । अरु पशुहरुमाजस्तै मानिसमा पनि हर्मोनजन्य शारीरिक र मानसिक परिवर्तनहरु आउँछन्, सिकाइको प्रक्रिया त अनवरत चलि नै रहन्छ । संसार जति नजिकबाट हेर्यो, त्यति कुरुप लाग्छ, किशोरकालमा फलामे खुट्टा भएजस्तो लाग्ने आदर्श व्यक्तिहरु धुलौटे माटोको खुट्टा भएजस्ता लाग्छन् । पहिले कालो र सेतो भनेर हेर्ने गरेका वस्तुहरु अब खैरा खैरा लाग्न थाल्छन् ।
आकांक्षाहरु धमिलिएजस्तो, सपनाहरु बिर्सिएजस्तो, विश्व र समाजका लागि भनेर बनेका आदर्शहरु बिस्तारै बिस्तारै घर परिवारको स्तरमा ओर्लिन्छन्, हामी आफ्नै सानो घेरा बनाउँछौं र त्यसको कैदी बनेर बस्छौं । कहिलेकाहीं यस्तो बन्दी जीवनबाट विरक्त लाग्छ र उन्मुक्त बनेर हिंड्न मन लाग्छ । गृहस्थीले टनटनी बाँधेको हुन्छ, त्यही बन्धनभित्र स्वतन्त्रता खोज्छौं हामी, निद्रा नलागी पल्टेको बेला सपना देख्ने कोशिस गर्छौं हामी । सफलता हात लाग्दैन, चुरोटको धुवाँमा सुन्दर आकृति खोज्छौं र रक्सीको नसामा उदात्त स्वतन्त्रता खोज्छौं ।
रात जान्छ, दिन आउँछ । शिशिर जान्छ, वसन्त आउँछ । आरु फूल्छ, फल लाग्छ, पाक्छ, झर्छ, पात झर्छन्, रुख उजाडिन्छ र फेरि पालुवा लाग्छ । फेरि आरु फूलेको हेर्दै गर्दा हामीलाई समय चक्रमा चलेजस्तो लाग्छ, हामी कहिले नयाँ वर्ष भनेर चिच्याउँछौं त कहिले जन्म दिन भनेर । तर समय त एउटा स्पाइरल आकारमा चलिरहेको हुन्छ, हरेक वर्ष उहीं पुगेजस्तो लाग्छ तर हामी समयको अर्कै बिन्दुमा पुगिसकेका हुन्छौं ।
संसार बदलिइसकेको हुन्छ, उमेर घर्किसकेको हुन्छ र आयु छोट्टिइसकेको । सपनाहरु स्मृतिमा थप धमिलिंदै जान्छन् र किशोरकालको संकल्पमा खियाको अर्को पत्र लागेसँगै त्यो संकल्पलाई हामी संकल्प भनेर चिन्न पनि छाड्छौं र भन्छौंः दुई दिनको जिन्दगी खानैलाई त हो, आखिर मरेरै त जानुछ । खानुबाट शुरु भएको जिन्दगी खानामै गएर टुंगिन्छ । बच्यो भने पहिलेको संकल्पको ठाउँमा केही कुण्ठा, केही तिक्तता र केही लघुताभास बाँकी रहन्छ, हैन भने के न के !
प्रतिक्रिया