ड्यालस – ड्यालस (अमेरिका) हालै चार्टर्ड भएका तीनवटा लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त सहभागितमा युलेसमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नवगठित ड्यालस हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष राजेश अधिकारी, ड्यालस एभरेस्ट विमेन्स लायन्स क्लबकी अध्यक्ष राधा पौडेल अधिकारी र ड्यालस हिमालयन लायन्स क्लबका अध्यक्ष गंगा बरालले यो पुण्यकार्यमा संयुक्त रूपमा हातेमालो गरेका थिए। बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा ४० जना सहभागी भएका थिए । जसमा ३२ पिन्ट रगत सङ्कलन गरिएको थियो। यसले ९६ जनासम्मको ज्यान बचाउन मद्दत गर्ने अनुमान गरिएको छ।
आजको रक्तदान कार्यक्रममा लायन राजेश अधिकारी, लायन विष्णु ढकाल, र लायन बलराम पौडेलले आर्थिक सहयोग र रगतदान गरेका थिए। ब्लड डोनर्सले यस पुण्यकार्यमा दिएको योगदानका लागि तिनीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
नेपाली डायस्पोरा समुदाय रक्तदान गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। हाल ब्लड डोनर्स सहकार्य गर्ने संस्थाहरू मार्फत हरेक महिना एक वा दुई रक्तदान कार्यक्रम आयोजना हुने गरेको छ।
ब्लड डोनर्स अफ अमेरिका, टेक्सस च्याप्टरका महासचिव बिकास भण्डारीले भने, “रक्तदान कार्यक्रम आयोजना गर्नुले स्थानीय बिरामीहरूलाई जीवनदायिनी रगत उपलब्ध गराउन मद्दत पुर्याउँछ। हामी जीवन बचाउन सहयोग गर्नुहुने दाताहरू, आयोजक टोली, र स्वयंसेवकहरूको निःस्वार्थ योगदानको लागि अत्यन्तै आभारी छौं।”
प्रतिक्रिया