मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पुरोहितको वकपत्र

पुरोहितको वकपत्र

नेपाली रुपैँयासँग तुलना गरेर ज्याला दिने ती जजमान

हिमालय खबर

शेयर गर्नुहोस:

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पं. रघुनाथ कौण्डिन्य
दुई हप्ता अघि टेक्ससको डालसमा एकजना सहकारी पण्डित, पुरोहितमाथि पशुपतिनाथ मन्दिरले कारवाहीको डण्डा हानेछ । सहकारीशव्द सुनेर तपाई पाठकहरुको दिमागमा एउटा प्रश्न झट्ट उब्जियो होला पक्कै । म परेँ उहिल्यै बाल्मिकी क्याम्पसबाट शास्त्री पास गरेर लोकसेवामा नायव सुब्बामा नाम निकालेको पण्डित । मेरा हाकिमले आफू सरहको अर्को हाकिमलाई अफिसियल कुनै पत्र लेख्दा सहकारीज्यूभनेर सुरुमै संवोधन गर्थे । त्यही सिकोलाई अनुशरण गरेर मैले यहाँ आफू सरह पुरेत्याई गर्नेलाई सहकारी भन्दा पक्कै नेपालमा चर्चामा रहेको अर्को काण्डको अर्थ पाठकहरुले लगाउनु हुनेछैन ।

अँ, म सहकारी पण्डितमाथि मन्दिरले बर्षाएको कारवाहीको डण्डाको प्रसङ्ग उठाउँदै थिएँ । मैले उहाँलाई चिनेको पनि छैन । चिन्नु पो कसरी ? म अमेरिकाको एउटा कुनाको राज्यमा बस्ने, उहाँ टेक्ससको डालसमा बस्ने । कारवाहीमा पर्ने को हुनुहुँदो रहेछ ? के बिराउनुभएछ ? कारवाही के रहेछ त ? यी आदी विषयले मेरा मथिङ्गल दुई दिनसम्म घुम्यो । मन्दिरले पनि शायद असल मनसायले होला उहाँको नाम चाहि बाहिर सार्वजनिक नगरेको । तर समाचार बनाउने पत्रकारले चाहि नाम छिपाउनुपर्ने के वाध्यता आइलाग्यो ? मैले बुझ्न सकिन । मेरो यो वकपत्र समाचारमा नाम लुकाउने अनलाइनमै पठाउने सोच जाग्यो । थाहा छैन यो प्रकाशित हुन्छ कि हुँदैन ।

दुई दिनसम्म अनेकन स्रोत पहिल्याएर, धेरै चिनजान अनि थोरै मित्र आफन्तको उपयोग गरिसकेपछि चुरो जड कुरा भने मैले पत्ता लगाएँ । विषय रहेछ सहकारी पण्डितज्यूले व्रतबन्धको पुर्वान्ह गरिसकेपछि अर्को दिन भने जजमानलाई धोका दिनुभएछ । अघिल्लो दिन पुर्वान्हमा आएर सबै काम गरेपछि व्रतवन्धको दिन भने अन्तै मोटो दक्षिणा दिने जजमान कहाँ गएर उहाँले पुरानो जजमानलाई धोका दिनुभएको बुझियो । यो एकतर्फी कुरा मात्र पनि हुनसक्छ । मैले सहकारी पण्डितज्यूलाई सम्पर्क गर्न केही प्रयास गर्दा हुन सकेन । तर मन्दिरले दोहोरो बुझेरै कारवाही गरेको हुनुपर्छ भन्ने चाहि मेरो अनुमान छ । मैले बुझे अनुसार कारवाहीका रुपमा मन्दिरको पूजापाठमा उहाँलाई अर्को निर्णय नभएसम्मका लागि सहभागी नगराउने भन्ने रहेछ । अर्को निर्णय भनेको कहिलेसम्मलाई हो यसको छिनोफानो शायद मन्दिरकै दायरामा पर्ला ।

शायद ठूलो समुदाय भएको ठाउँ, पुरोहित पण्डितहरु पनि धेरै भएकोले एकाधमाथि डण्डा बर्षाउँदा समुदायमा कर्मकाण्ड रोकिदैन, बाँकी अरु पण्डितलाई सजग हुनेछन् भनेर मन्दिरले कारवाही गरेको हुनुपर्छ । नभए थोरै पण्डितमात्र भएको ठाउँमा कारवाहीको कुनै प्रभावकारिता हुनेथिएन । खैर, जे होस् पण्डितले पनि धर्म छाड्नु चाहि हुँदैन । मोटो जजमान फेला परे भन्दैमा पहिले वचन दिइसकेको ठाउँलाई अलपत्र पारेर अनेक वहाना बनाउनु चाहि हिन्दू धर्म संस्कार विपरितको आचरण हो । यस्तै व्यबहार, लोभ, लालचले हाम्रो सनातन हिन्दु धर्म प्रति आक्रमण भैरहेको तथ्यलाई हामीले ढोकछोप गर्न जरुरी छैन । किनकी हिन्दू धर्मप्रति आस्था जगाउने दायित्व हामी पण्डित, पुरोहित, ज्योतिषीदेखि लिएर शंकराचार्यसम्मको हो ।

अब लागौं हामी प्रवासमा पुरेत्याई गर्नेका पीडाको पोको खोल्नतिर ।

अमेरिका आएको पनि ठ्याक्कै १५ वर्ष पुगेछ । सुरुमा अमेरिका आउँदा यसरी जजमानी गरेर पनि अमेरिकामा जीविका चल्छ भन्ने सोचेकै थिइएन । लोकसेवा पास गरेपछि पण्डित्याई काम लगभग छाडिएको थियो । काठमाडौंमा डेरा गरि बस्दा वरपरकालाई पण्डित भन्ने कसोकसो थाहा भैगएछ । तिथीश्राद्ध, रुद्री, घरपूजामा बोलाउँथे । पण्डित्याई काम गर्दिन भन्न पनि गाह्रो । फेरि म हिन्दु धर्मप्रति अगाध आस्था राख्ने र ब्राह्मण कुलमा जन्मिएको अनि हजुरबा र बाले गाउँमै कर्मकाण्ड गर्नुहुने कारणले उहाँहरुबाट सक्दिन, भ्याउँदिन, जान्न भनेर कहिल्यै नभन्नु भन्ने सिकेको थिएँ । दक्षिणा र पैसाको लागि भन्दा पनि हाम्रो संस्कार जोगाउनका लागि ब्राह्मण कुलमा जन्म लिएपछि सबैभन्दा ठूलो दायित्व हुन्छ भनेर हजुरबा पटक पटक भन्नुहुन्थ्यो । त्यही भएर सरकारी जागिरे भएर पनि कतिपय अवस्थामा अफिसका छुट्टी लिएर भएपनि बोलाएको ठाउँमा कर्मकाण्डमा सरिक हुन्थे ।

परिस्थितीले मलाई अमेरिका ल्याइपुर्यायो । लाग्यो अमेरिकासँगै मेरो कर्मकाण्ड र पुरेत्याई पेशामा पनि पूर्णविराम लाग्नेछ ।

अमेरिका आइसकेपछि पहिलो पुस्ताका आम नेपाली जस्तै मैले पनि एउटा सेभेन इलेभेन स्टोरबाट काम सुरु गरेँ । जसको स्पोन्सर गरेका थिए मेरो परिवारलाई उनलाई भने थाहा थियो मैले हल्काफुल्का पुरेत्याई पनि गर्छु भनेर । म बसेको सिटीमा पाँच सात सय नेपाली परिवार थिए । तर छरिएरका थिए । कोही त ५० माइल परसम्म पनि थिए । परिस्थिती कस्तो भयो भने म आएकै अर्को महिना एउटा नेपाली परिवारमा सुत्केरो पर्यो । अर्थात छोरा जन्मियो त्यो परिवारमा । अमेरिकामा छोरा जन्मिएको खुशीयाली भन्दा पनि त्यो जन्मसँगै न्वारन कसरी गर्ने भन्ने तनावको सुरुवात हुने रहेछ । मानिसहरु भन्थे पहिले स्काइपबाट नेपालमा रहेका पुरोहितसँग जोडिएर भिडियो कल गर्दै न्वारन पनि हुन्थ्यो रे । पण्डित, पुरोहित हुँदै नहुनुभन्दा पनि त्यो पनि एक प्रकारको प्रविधिले दिएको सुविधा थियो ।

सुत्केरो परेको ती परिवारका एक सदस्यबाट मलाई न्वारन गराइदिन अनुरोध आयो । हुँदैन, सक्दिन भन्न सकिएन । अमेरिका आएपछि त टपरे बाहुनका रुपमा हेयले हेरिने पहिचान अन्त्य होला भन्ठानेको भएन । सुरुवात त्यही न्वारनबाट भयो ।

प्रत्यक्ष रुपमा न्वारन गर्ने पुरोहित त्यो सिटीमा म नै पहिलो भएँ । मलाई देखेर त्यहाँ न्वारनमा आउने अरु नेपालीहरु खुशी भए ।

ओहो, अब त केही काम पर्यो भने तपाईलाई बोलाउँछौ, भ्याउँदिन भन्न पाउनुहुन्न नि है ?’

बा को तिथीमा श्राद्ध गर्न नपाएको सात वर्ष भयो । यसपटक बालाई आफ्नै हातले पिण्ड बटारेर दान गर्न पाइने भयो ।

घर किनेर बसेको तीन वर्ष भैसक्यो । रुद्री, होम होमादी गर्न अझै मिलेको थिएन । अब गुरु आउनुभएछ । गज्जब भयो ।

त्यहाँ आउने जति सबैले यस्तै यस्तै कुरा गरे । लाग्यो अमेरिकामा पुरेत्याई गर्नकै लागि भगवानले डिभी पारिदिएछन् कि क्या हो ।

सुत्केरो चोख्याई सकेर बिदा हुने बेलामा नवजात बालकका पिताले सोधे-गुरु दक्षिणाको रेट कति होला ?’

जिन्दगीमा पहिलो पटक दक्षिणाको रेटको सोधनी भयो । नेपालमा जजमानले जति दिन्छन् त्यो हातमा थापेर हिड्ने गरेको थिएँ । मेरा आदर्श हजुरबाले भन्नुहुन्थ्यो दक्षिणा धेरै पाउँदा कहिल्यै हर्षित पनि हुनु पर्दैन र कम हुँदा दुःखीत पनि कहिल्यै नहुनु । यो भगवानको सेवा हो, धर्मको सेवा हो ।

मैले भने-दक्षिणाको के रेट हुन्छ र ? तपाईको ब्रह्मले जानेर दिने कुरा हो ।

उनी भित्र पसेँ । न्वारन गर्ने ठाउँमा नवजात शिशु लिएर बसिरहेकी पत्नीलाई बोलाए । एउटा खाम हातमा राखेर मलाई बिदा गरे ।

गाडीको सिटमा बसिसकेपछि अघि जजमानले दिएको खाम खोलेर हेरेँ २५ डलर रहेछ । न्वारन गर्नका लागि झण्डै चार घण्टा लागेको थियो । यसो हिसाब गरेँ घण्टाको ६ डलर परेछ पुरेत्याईको पारिश्रमिक । स्टोरमा काम गर्दा घण्टाको ११ डलर हुन्थ्यो । हजुरबाको वचन सम्झिएँ । पैसा भन्दा अमेरिकामा हिन्दु धर्मको वचाउन योगदान गरेको भन्दै मनलाई सम्झाएँ । त्यतिखेर एक डलर बराबर ९५ रुपैयाँ थियो । जजमानले शायद चार घण्टाको लागि घण्टाको पाँचसय रुपैयाँका दरले हिसाब गरेर दक्षिणा दिएछन् ।

झण्डै डेढ महिना पछि एक बिहान फोनको घण्टी बज्यो । अर्को एउटा परिवारमा पनि बच्चा जन्मिएको रहेछ । त्यहाँ पनि न्वारन गरिदिनुपर्ने भयो । नाम, ठेगाना सबै सोध्ने क्रममा थाहा लाग्यो त्यो परिवार दलीत रहेछन् । बडो धर्मसंकट भयो । आउँदिन भन्न पनि मिलेन, फेरि अमेरिकामा पनि जातभातलाई लिएर हेला गर्यो भन्ने सन्देश पुग्यो भने त्यो जति नराम्रो केही होइन । कसैले पनि थाहा नपाइदिए हुन्थ्यो त्यहाँ गएको भन्ने लाग्यो ।

बिहान सबेरै पुगेर तीन घण्टामै न्वारन सिध्याएँ । नवजात शिशुका माता पिता र हजुरआमाले चिया पिउन कम्ति कर गरेका होइनन् । म चियाकफी केही पिउँदिन भनेर उम्किएँ । फलफूल त खान हुन्छभन्दै हातमा थमाए । अर्को ठाउँमा पनि रुद्रीपूजाको लागि जानुपर्नेछ भन्दै त्यो स्याउको गेडोलाई खुसुक्क झोलामा राखेँ ।

दुबै दम्पत्ति पढेलेखेका रहेछन् । साह्रै मिजासिला र सभ्य संस्कारका रहेछन् । कुनै राम्रै कम्पनीमा काम गर्दा रहेछन् । उनीहरुले दक्षिणाको कुनै सोधपुछ गरेनन् । खाममा हालेर बिदाबादी गरे । अपार्टमेन्टमा आएर खाम खोल्दा डेढसय डलर रहेछ । तीनघण्टामा डेढसय डलर अर्थात घण्टाको ५० डलरको दरले उनीहरुले दक्षिणा दिएका रहेछन् । पुरेत्याई पनि प्रोफेसनल काम हो, बसेर गरेपनि लामो समय पलेँटी कसेर बस्नुपर्दा हुने सकसका बारेमा जानकार रहेछन् ।

हरेक दुई तीन हप्तामा एउटा न एउटा पुरेत्याईको काम आउन थाल्यो । बिहे, ब्रतवन्ध, न्वारान, पास्नी, मृत्यु संस्कार, घरपूजा, रुद्री, सत्यनारायणको पूजा एकपछि अर्को गर्दै आउन थाले । तर यी नियमित अर्थात दिनदिनै चाहि थिएनन् । सेभेन इलेभेनको काम भने छाडिन । किनकी मेरो परिवार पाल्ने मुख्य पेशा पुरेत्याई हुन सकेको थिएन । कहिले नेपालको रुपैयाँसँग तुलना गरेर ज्याला ठान्दै दिने जजमान फेला पर्थे भने कहिले पुरेत्याई काम पनि दुःख हुन्छ भन्दै जानेर समय अनुसार हिसाब गरेर राम्रै दक्षिणा दिने पनि भेटिन्थे । नगदको कारोवार हुने हुँदा कर कट्टी नहुने र शुद्ध क्यास हुने भएकोले एक हिसाबले मलाई सजिलो पनि थियो ।

एक पटक आफू बसेको सिटीबाट दुई घण्टा ड्राइभ गरेर जानुपर्ने अर्को ठाउँबाट बिहे गराइदिन निम्तो आयो । त्यति टाढासम्म, त्यसमाथि फ्रि-वे मा गाडी चलाउनुपर्ने । डर लाग्यो । जे त होला भनेर बिहान ५ बजेनै उठेर गएँ । एकाबिहानै भएकोले हाइवेमा गाडीको त्यति चाप थिएन । सबैभन्दा दाँयाको लेनबाट चलाएर त्यहाँ पुगेँ ।

केटी पक्षबाट निम्तो थियो । त्यहाँ पुग्दा त तयारी भुत्लो भाङ्ग केही छैन । चाहिने सामानको सूचि दिएपछि किन्न दौडधूप सुरु भयो । धन्न नजिकै इण्डियन ग्रोसरी स्टोर रहेछ । बिहेका लागि चाहिने सबै सरदाम कहाँ मिल्नु ? नपाएको सामानमा यथाह यथाह भन्दै काम चलाइयो । बिहान ८ बजे पुगेको थिएँ म । बिहे सम्पन्न गराएर त्यहाँबाट निस्किदा रातिको ८ बज्यो । घर आएर दक्षिणाको खाम खोलेको सय सय डलरका दुईवटा नोट रहेछन् । मन अमिलो चाहि भयो । बिहेको यज्ञमा राखिएका एक एक डलरका अरु २५/३० डलर खुद्रा हुँदाहुन् । १२ घण्टा पुरेत्याई गरेको दुईसय डलर । हरे भगवान । बरु सेभेन इलेभेनमै १२ घण्टा हानेको भए डेढसय डलर हुन्थ्यो । दिनभरि यस्तो सकस पनि त पर्ने थिएन । त्यही बेलामा बुढी आएर सोध्छिन् –बुढा आजको दक्षिणाले मलाई आइफोन किनि दिनुस् है ।झनन…. रिस उठ्यो । मनलाई सम्हालेँ । अनि हजुरबाका वचन फेरि सम्झिएँ ।

अर्को पटक एकजनाको किरिया गराउनुपर्ने भयो । नेपालमा मान्छे बितेछन् । जेठो छोरा यही रहेछन् । तर तिनको ग्रीनकार्ड नबनिसकेकोले नेपाल जान नसक्ने अवस्था रहेछ ।

१३ दिनसम्म हरेक दिन बिहान त्यहाँ पुगेर काजकिरिया गराउनुपर्ने भयो । त्यही बीचमा अर्को ठाउँबाट रुद्रीका लागि निम्तो आयो । अलिक टाढा भएकोले हवाईजहाजको टिकट पनि दिने र एक दिनका लागि ६ सय डलर दिन्छु भने । तर म भने वचनको पक्का । त्यसमाथि जुठो परेको ठाउँमा काम गरिरहेकोले पवित्र र चोखो काम गर्न नमिल्ने जानकारी गराएँ । अहिले सुन्दैछु बिहान जुठो परेको ठाउँमा काम सिध्याएर पुरोहित पण्डितहरु दिउँसो सत्यनारायणको पूजा, लाखबत्ति बाल्ने र घरपूजामा समेत सहभागी भइरहेका छन् । यो भन्दा पण्डित गिर्ने ठाउँ कतै बाँकी छैन । तर आफूले चाँही त्यस्तो कुकर्म गर्न नपरोस् भन्नेमा सदा सचेत छु । मनमा कहिलेकाँही गलत कुराले ठाउँ लिएछ भने हजुरबालाई सम्झिन्छु ।

एकपटक ब्रतवन्धको निम्तो आयो अर्को सिटीबाट ।

गुरु, फलानो दिन ब्रतवन्धको साइत छ कि छैन ?’ उताबाट सोधनी भयो ।

मैले भने-त्यो दिन त साइत छैन । नेपालमा पनि छैन र यहाँ पनि साइत छैन । बरु अघिल्लो दिन चाँहि छ ।

मलाई ब्रतबन्ध गराइदिन अनुरोध भयो । ब्रतवन्धको दिन त्यहाँ पुग्दा त कोही पण्डितले पछिल्लो दिनका लागि हुँदै नभएको साइत निकालेर गर्न खोजेका रहेछन् । मलाई फोन गरेपछि उनीहरुले ती पण्डितलाई क्यान्सिल गरेर साइतकै दिन गर्न मलाई निम्तो गरेको रहस्य पत्ता लाग्यो ।

साइतकै दिन चाँही ती पण्डित अर्कै ब्रतवन्धमा बुकिङ्ग भएकोले भोलीपल्टलाई आफ्नो अनुकुलतामा साइत निकालेका रहेछन् । प्रवासमा पण्डितबाट यस्ता कुकर्म अनेक सुनिन्छ । विशेषगरि यो पेशामा लागेपछि लोभलालचमा नपर्नुपर्ने हो । तर लोभले गर्दा हामी पण्डित, पुरोहितले हाम्रो संस्कार प्रतिनै वितृष्णा जगाइरहेका त छैनौ भन्ने गंभीर सवाल खडा भएको छ । 

बढी दक्षिणा दिने जजमान भेटिए भने पहिले बुकिङ्ग भैसकेको ठाउँमा वहाना बनाएर रद्ध गर्ने पुरोहितहरु एक पछि अर्को गर्दै निस्किरहेको गुनासो जजमानहरुको समुदायबाट आउन थालेको छ । नभएको दिन साइत छ भन्दै आफ्नो अनुकुलतामा गराउन खोज्नेहरु पनि बढ्दै गएको छ ।

अमेरिकाका न्यूयोर्क, डालस, सिकागो, सानफ्रान्सिस्को, लसएन्जलस, डिसी मेट्रो क्षेत्रमा जहाँ नेपाली र भारतीय हिन्दू समुदायको ठूलो बसोबास छ । यी ठाउँमा पण्डित, पुरोहितहरुले अन्य पेशा, रोजगारी नगरेपनि राम्रैसँग जीवन धान्नसक्ने अवस्था रहेको बिभिन्न तथ्यहरुले देखाएका छन् । तर, कहिलेकाँही जजमानको लहडमा, आफ्नो अनुकुलतामा धार्मिक, सांस्कृतिक गतिविधिलाई निर्देशित गर्न थाल्यौ भने त्यसको शिकार हामी र हाम्रो पण्डित्याई पेशा माथि पर्छ भन्ने तथ्यलाई सबैले हृदयंगम गर्न जरुरी छ ।

मैले माथिनै उल्लेख गरिसके कि जजमानहरुमा पण्डित, पुरोहित पेशा प्रोफेसनल पेशा हो भन्ने भावना प्रवासमा समेत छैन । उही नेपालकै जस्तो टपरे बाहुन, दक्षिणा जति दिएपनि हुन्छ, अरु केही पढ्न नसकेर पुरोहित भएका भन्ने छाप अमेरिकामा समेत देख्दा कहिलेकाँही दुःख लाग्छ ।

यद्यपी समस्या हामी पण्डित, पुरोहितहरुमा पनि नभएको भने होइन । कर्मकाण्ड गर्ने हो भने त्यसका विधि, प्रकृयालाई पालना गर्नैपर्छ । दक्षिणाको लोभमा जति पनि ठाउँमा आउन सक्छु भनेर वचन दिने अनि पछि खेताला पण्डित, पुरोहित खोजेर पठाउने चलन अमेरिकाका कतिपय राज्यहरुमा देखिन थालेको सुनिन्छ । यसले हाम्रो पेशा, हाम्रो धर्म संस्कार र संस्कृति प्रति नराम्रो छाप समेत छाडेको छ । विगतमा यस्तो गर्नेले सच्चिनुको विकल्प छैन । अनि जजमानहरुले पनि नेपालको मुद्रासँग हिसाब गरेर यति डलर दक्षिणा दिँदा त यति हजार, उति हजार नेपाली रुपैयाँ हुन्छ भनेर हिसाब गर्नु श्रमको महत्व, परिश्रमको मूल्य नबुझ्नु हो ।