अमेरिका, बोस्टन। नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२ साल शुभारम्भ भएको अवसर पारेर अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीको प्राङ्गणमा चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा फरफराइएको छ। समरभिल सिटीकी मेयर काटियाना ब्यालेन्टाइनले नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि नेपालको राष्ट्रिय झण्डा अमेरिकाको आकाशमा फरफराएको थियो।
कार्यक्रम नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गानबाट सुभारम्भ गरिएको थियो। मेयर ब्यालेन्टाइनले कार्यक्रममा सहभागिता जनाउन पाउदा आफू सम्मानित भएको महसुस गरेको प्रतिक्रिया दिएकी थिइन्। उनले आगामी वर्ष नेपाली समुदायका लागि आनन्ददायी र समृध्द वर्षका रुपमा प्रमाणित हुन सकोस् भनी शुभकामना व्यक्त गरिन्।

सम्बोधनका क्रममा, मेयर ब्यालेन्टाइनले नेपाली समुदाय समरभिल सिटीको एक महत्वपूर्ण भाग भएको जिकिर गरिन्। नेपाली समुदायको कडा परिश्रम, मूल्यमान्यता र समर्पणले समरभिल सिटिलाई सबैका लागि बलियो र स्वागतयोग्य ठाँउ बनाउन मद्दत गरिरहेको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले नेपालको राष्ट्रिय झण्डाप्रति सम्मान प्रकट गर्दै भनिन्, ‘फरफराएको नेपालको राष्ट्रिय झण्डा बहादुरी, शान्ति र समृद्धिको प्रतिकको रुपमा रहेको छ।’ सम्बोधनका क्रममा उनले सबैको हित गर्ने साझा क्रियाकलापहरुलाई निरन्तरता दिन आफू सधै तयार रहेको बताइन्।
कार्यक्रममा एनआरएनए, एनसिसि, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङले नेपाली समुदायको गर्विलो कार्यक्रम गर्न समरभिल सिटीले खेलेको अहम भूमिकाको प्रशंसा गर्दै संस्थाको तर्फबाट समरभिल सिटीकी मेयर र सिटी परिवारप्रति कृतज्ञता प्रकट गरे। मन्तव्यका क्रममा उनले नेपाली नयाँ वर्षको सबैलाई शुभकामना व्यक्त गरेका थिए।

यसैगरी, नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला सम्बन्धी कार्यालयकी निर्देशक मारिया टेरेसा नेगलले समरभिल सिटीका बासिन्दाहरुलाई जीवन्त, अद्वितीय र बलियो बनाउन नेपाली समुदायको महत्वपूर्ण योगदान रहेको टिप्पणी गरिन्। नेपाली सम्पदाप्रति गर्व गर्दै संस्कृति र उत्सवहरु सबैसंग आदानप्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले नेपाली समुदायको खुलेर प्रशंसा गरेकी थिइन्।
झण्डोत्तोलन कार्यक्रम आयोजक संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले नेपालीको एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा समरभिल सिटीको प्राङ्गणमा झण्डोत्तोन गर्न पाएकोमा निकै खुशी व्यक्त गरे। धन्यवाद मन्तव्यका क्रममा उनले अमेरिकाको म्यासाच्युसेट्स राज्यले सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियाका क्रममा लिइने परिक्षामा नेपाली भाषालाई पनि समावेश गर्न मेयर ब्यालेन्टाइनले पुर्याएको योगदानको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका थिए। उनले प्रवासी नेपालीहरुका लागि एक गर्बिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका थिए। अध्यक्ष श्रेष्ठले कार्यक्रम सफतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समरभिल सिटीकी मेयर ब्यालेन्टाइन एवम् सिटी परिवार, एनआरएनए परिवार, नेपाली समुदायका संघ संस्थाहरु, नेपाली समुदायलगायतलाई धन्यवाद दिएका थिए। मन्तव्यको क्रममा उनले नेपाली नयाँ वर्ष २०८२ को शुभकामनासमेत व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली समुदायको उत्थानका लागि अमूल्य योगलान गरेको ठहर गर्दै समरभिल सिटीकी मेयर काटियाना ब्यालेन्टाइन र आप्रवासी मामिला सम्बन्धी कार्यालयकी निर्देशक मारिया टेरेसा नेगललाई दोसल्ला ओडाएर सम्मान प्रकट गरिएको थियो। कार्यक्रमको दौरानमा सहभागीहरुले आपसमा शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रम गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टर र समरभिल सिटीले संयुत रुपमा आयोजना गरेको थियो। समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला विभागमा कार्यरत आप्रवासी सेवा संयोजक परशुराम फुयालले सञ्चालन गरेको कार्यक्रमका सहभागिहरुलाई एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरकी महिला संयोजक सुनिता केसीले अतिथि एवम् सहभागीहरुलाई आयोजकको तर्फबाट स्वागत् गरेकी थिइन्।
प्रतिक्रिया