मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

हरितालिका (तीज) : महिलाहरुको एक महान् चाड

हरितालिका (तीज) : महिलाहरुको एक महान् चाड


विश्व मानचित्रमा नेपाल एक सानो देश भए पनि प्राकृतिक सम्पदा, धार्मिक, सांस्कृतिक र पौराणिक हिसाबले यो गौरवशाली छ । सगरमाथाको देश, बुद्ध जन्मेको देश, सीता जन्मेको देश, देवभूमि, तपोभूमि, ऋषिमुनिहरुको देश, प्रकृतिले हराभरा देश आदि भनेर विश्वमा चिनिएको छ । विभिन्न जात–जाति, भाषा–भेषी, धर्म–संस्कृति आदिले ओतप्रोत जनताहरुले आबद्ध यस देशमा परम्परागत रीति–रिवाज, चाल–चलन, चाडपर्वहरु पनि अनेकानेक छन्, जसमध्ये हरितालिका (तीज) पनि एक हो । 
 
नेपालमा यो चाड भूमि हरियाली भएको मनसुन वायु हुने समयमा पर्ने भएको हुनाले यसलाई हरियालीबाट हरितालिका भन्ने गरिएको हो । यो पर्व नेपाली पात्रोअनुसार सधैँ भाद्र शुक्ल द्वितीया तिथिका दिन पर्दछ । यो पर्व विशेषगरी महिलाहरुको लागि मात्र हो भनेर भन्ने पनि गरिन्छ । यो दिन नेपाल, भारतका विभिन्न राज्यहरु, भुटान, सिक्किम, दार्जिलिङ, पाकिस्तान, बंगलादेश, आदि जस्ता हिन्दु एवम् बौद्ध धर्मावलम्बीहरुको बसोवास भएका विश्वका अरु धेरै देशका महिलाहरुले भगवती पार्वतीका नाउँमा व्रत–उपासना गरी गाउने–नाच्ने गरेर धुमधामका साथ मनाउने गर्दछन् ।
 
पहिलेको नेपाली समाजमा छोरी जातिको बिहेवारी अभिभावकको तजबिजले गर्ने गरिन्थ्यो । छोरीको उमेर ७ वर्ष पुगेपछि विवाहयोग्य मानिन्थ्यो । महिनावारी (रजस्वला) नहुँदै विवाह गरिदिएर छोरीलाई पराईको घरमा सुम्पिन्थ्यो । छोरी जातिलाई पढाइयो भने बिग्रन्छन् भन्ने त्यतिबेलाको सामाजिक धारणा भएको हुनाले यिनीहरुलाई पढाईंदैनथ्यो । 
 
टाढाटाढा सात डाँडा कटाएर विवाह गरेर दिने परम्परा हुनाले माइती र छोरीबीचको सम्पर्कको सम्भावना थिएन । बाबुले दिएको घरमा गएपछि दिएको खानी, दिएको लाउनी, अह्राएको काम गर्नी सिवाय बुहारीले कुनै प्रकारको टिप्पणी गर्न पाउने अवस्था थिएन । माइत जान तीजबाहेक अरु बेला विरलै पाइन्थ्यो । त्यतिबेलाका बुहारीहरुको जीवन ज्यादै कष्टकर थियो । तीजको समयमा कारणवश माइतीबाट लिन नगएमा चेलिबेटी भक्कानिएर रुने गर्दथे । 
 
छोरी जातिलाई तीजमा लिन नजाने माइती, माइती नै होइनन् भनेर भनिन्थ्यो । तथापि छोरी जाति एक बुहारी हुन पुगेपछि जस्तो परे पनि सहेर रहनु पर्दथ्यो । पुरुषप्रधान देश भएको हुनाले उनीहरुको लागि अधिक स्वतन्त्रता, महिलामाथि चरम दमन थियो । दुःख त यिनीहरुले मात्र गर्ने हो भन्ने महिलाप्रति पुरुषहरुको भावना हुन्थ्यो । इच्छाएको खान–लाउन, मनमा लागेको कुरा भन्न–बोल्न, महिलाहरुले बिल्कुल पाउँदैनथे । यिनको जीवन केबल दाउरा–घाँस, कुटो–कोदालो, ढिकी–जाँतो, खेतीपाती आदिको लागि मात्र हो भन्ने खालको सामाजिक धारणा थियो । 
 
यस्तो जीवन गाथा बोकेका महिलाहरु आ–आफ्ना माइतमा तीजमा आएपछि मात्र पेटभरि खान, आराम गर्न, मनको वह गीतमार्फत पोख्न बल्ल मौका पाउँथे । तीजका चेलीबेटीहरुलाई कुशेऔँशी अघिदेखि नै प्रत्येकले आ–आफ्ना घरमा भित्र्याइसक्थे । तीजको अघिल्लो दिनलाई दरखाने भनिन्छ । यस दिन घरमा बनाएका विभिन्न मीठा–मीठा खानाका परिकारहरु जस्तै–घ्यू, दूध, दहीसहितको भात, दाल, तरकाली, अचार, चटनी, खीर आदि चेलीबेटीहरुलाई खुवाउने र खाने गरिन्छ । तीजको दिन निराहार भोकै बस्ने परम्परगत चलन भएको हुनाले दर खाँदाका दिन बिहान–दिउँसो–बेलुका गरी तीनपटक राति पनि एक पटक गरी चार पटकसम्म चेलीबेटीहरुलाई खाना खुवाउने गरिन्छ । 
 
तीजको दिन सबै नारी जातिहरु पानी पनि नखाएर निराहार बस्ने गर्दछन् । अविवाहित नारीहरुले योग्य वर पाउने अभिलाषा राख्छन् भने विवाहित नारीहरुले आ–आफ्ना पतिको अटल शौभाग्य र सन्ततिको फलिफलाउको अपेक्षा यस दिनको व्रतबाट राख्ने चलन छ । तीजको दिन सबै चेलीबेटीहरुले धक छाडेर समूहमा गाउने–नाच्ने गरी दिन बिताउँछन् । यस दिन उनीहरुले गाएको गीतले माइतीपट्टि बा–आमा, दाजु–भाइ, भाउजू–बुहारी र घरपट्टि सासु–ससुरा, देवर–जेठाजु, देउरानी–जेठानीसँग सम्बन्धित बानी–व्यवहारको प्रतिबिम्बित गरेको हुन्छ । महिलाहरुले स्वतन्त्र रुपले आ–आफ्नो मनको वह–व्यथा गीतको माध्यमबाट पोख्न पाउने अवसर यही तीज हो । 
 
यिनका गीतका टुक्काले देशका नेता, शासन व्यवस्था, सामाजिक मूल्य र मान्यताको उजागर गरेको हुन्छ । महिलाहरुले स्वतन्त्र रुपले गाउने–नाच्ने गरेर मनोरञ्जन गर्ने र आफ्नो जीवन गाथा–कथा पोख्न पाउने अर्को सामाजिक अवसर रत्यौली हो । यी दुई अवस्थाबाहेक त्यति बेलाका नारीहरुको जीवन दाम्लोमा बाँधेका गाईबस्तुसरह थियोभन्दा हुन्छ ।  तीजको दिन दिनभरि गाउने–नाच्ने गरेर दिन बिताएपछि प्रत्येक नारीहरुले बेलुका घरमा आएर धूप, दीप, आरती आदि गरिसकेपछि फलफूल, कन्दमूल खाने गर्दछन् । पञ्चमी तिथिका दिन बिहानै व्रह्म मुहूर्तमा उठेर नदी अथवा सागरमा गै अकमारो (डाँख्लै डाँख्ला भएको एक प्रकारको सामान्य वनस्पति)ले दाँत मञ्जन गरेर १०८ पल्ट पानीमा डुबुल्की मारी स्नान, जप, आदि गरेर जान–अञ्जानमा गरिएका पाप जति सबै पखालेर घरमा पुगेपछि पण्डितद्वारा विधिवत् ऋषि पञ्चमीको पूजा लगाई तीज बिसर्जन गर्ने गरिन्छ । 
 
पञ्चमीका भोलिपल्ट विवाहित चेलीबेटीहरु जति सबै अनिवार्य रुपले आ–आफ्ना घर–घरमा जानुपर्ने बाध्यता हुन्छ । तीजका विवाहित चेलीबेटीहरुको माइतको बसाइ ७ दिनसम्मको मात्र हुन्छ । त्यतिबेलाका नारीहरु माइतबाट घर जाँदा डाँको छोडेर रुने गर्थे, फुलाएर बाटा लाउन गाह्रो हुने गर्दथ्यो । उनीहरुले गाउने गीत यस्तो हुन्थ्यो–
 
डाकी डाकी ल्याउँछौ, कोची कोची ख्वाउँछौ 
पञ्चमीका भोलिपल्ट रुँदै धपाउँछौ ।
 
उनीहरुको यस्तो गीतले माइतीहरुको मन–मुटु छुन्थ्यो ।
 
आर्य संस्कृति र हिन्दु परम्परामा महिलाहरु नै बढी व्रत र उपासना गर्ने गर्दछन् । परापूर्वकालमा महादेवले कहिले हाँसको रुप धारण गरेर मानसरोवरमा विहार गर्ने, कहिले मृगको रुप धारण गरेर वन–जङ्गल विहार गर्ने, कहिले किराँती रुप धारण गरेर डुल्दै हिँड्ने आदि इत्यादि गर्नाले पार्वतीले आफ्ना पति–मरमेश्वरलाई साथमा नपाउँदा वाक्क दिक्क भईछन् । उनले अरु उपाय केही नदेखेर सरासर हिमालय पर्वतमा गई लुकेर तपस्या गर्न लागिछन् । महादेवले आफ्नो दिवयशक्तिले खोज्दै गर्दा पार्वतीलाई देखेछन् र भनेछन्– अब उप्रान्त म कहिल्यै पनि तिमीलाई एक्लै छोडी कतै जाने छैन । 
 
महादेवको यस्तो वचन सुनी पार्वती अति खुशी भएर महादेवसामु प्रकट भईछन् । मीठो मिलनपछि दुवैले सल्लाह गरेर मृग–मृगिणीको भेष धारण गरेर सँगसँगै विहार गर्न भनी त्यहाँबाट हिँडेछन् । हिमालय पर्वतमा महादेव–पार्वतीलाई नदेखेपछि व्रह्मा, विष्णु र अन्य देवताहरु उनीहरुको खोजीमा हिँड्दै गर्दा पशुपतिनाथको श्लेष्मान्तक जङ्गलमा मृग–मृगिणीरुपी महादेव–पावतीलाई देखेछन् । व्रह्माले मृगरुपी महादेवको सिङ्ग समात्दा दुवै सिङ्ग व्रह्माका हातमा आएछन् । ती सिङ्गलाई नेपालको कुनै एक ठाउँमा लगेर राखी त्यहाँ शिवलिङ्गको स्थापना गरिदिने भनी व्रह्मा र विष्णुलाई महादेवले भनेछन् । महादेवको यस्तो सल्लाहअनुसार ब्रह्माले ती सिङ्ग काठमाडौँको गोकर्णमा लगी शिवलिङ्गको रुपमा स्थापना गरिदिएछन् । 
 
गोकर्णमा गोकर्णेश्वर महादेवको स्थापना त्यसै समयमा भएछ । त्यही समयदेखि काठमाडौँ, गोकर्ण र पशुपतिनाथको श्लेष्मान्तक जङ्गलको धार्मिक महिमा हुँदै आएको हो भन्ने कुरा हाम्रा पुराणहरुबाट अवगत हुन्छ । तीजका दिन पार्वतीका नाउँमा उपासना गरी महादेवको पूजा गरियो भने आ–आफ्नो मनोकामना सिद्ध हुन्छ र सुखमय जीवन बिताउन पाइन्छ भन्ने कामनाका साथ महिलाहरु यस दिन यस पशुपतिनाथ क्षेत्र, गोकर्ण, धरानको पादुकास्थान, देवघाट, त्रिवेणीघाट, बराहक्षेत्र आदि जस्ता देशका अन्य विभिन्न ठाउँहरुमा पनि महिलाहरुले भरिभराउ भएर मेला लाग्छ । नेपालको हरेक गाउँ–टोलमा यो दिन तीजका गीतले गुञ्जायमान हुन्छ । नेपालीहरु भएका विश्वका सबै देशहरुमा नेपाली महिलाहरुद्वारा धूमधामका साथ तीज चाड मनाउने गरिन्छ । तीजको लहर श्रीकृष्ण जन्मेको दिन कृष्णाष्ठमीदेखि सुरू भएर ऋषि पञ्चमी पछि अन्त्य हुन्छ ।
 
पहिलेको तुलनामा नेपालको अहिलेको सामाजिक अवस्था धेरै फरक छ, आमूल परिवर्तन भएको छ । विहेबारीको अवस्था र प्रक्रिया दुवै फरक छ । अभिभावकको राय–सल्लाहबिना पनि केटा–केटीबीच विवाह हुने गर्दछ । पुरुष र महिलाका हकअधिकारहरु समान हुँदै आएका छन् । महिला स्वतन्त्रता बढ्दै गएको छ । अहिलेको पारिवारिक अवस्थामा पनि त्यस्तै परिवर्तन भएको छ । पहिलेकी सासू र अहिलेकी बुहारी उस्तै–उस्तै छन् भन्दा फरक नहोला । परिवारभित्रको चलन–वर्तन बुहारीमुखी छ । अहिलेकी सासू पहिलेकी बुहारी जस्तै भएर चल्नुपर्ने अवस्था छ । अहिलेका नारीहरुले गाएको तीजका गीतमा नारी जातिको अन्तर्हृदयको मर्म, व्यथा, कथाभन्दा माया–पिरतीको वास्ना छिरलिएको हुन्छ । 
 
तीजका गीत महिला–पुरुष दुवैले सँगसँगै गाउन थालेका छन् । यिनले गाएका गीतले तीजको मर्म र सांस्कृतिक परम्परालाई सम्बोधन गर्न नसकेको भान हुन्छ । अहिलेका तीजका गीतहरु र लोकदोहोरी गीतहरुमा खासै फरक जस्तो पाईंदैन । परम्परागत मर्म र वेदना हट्दै जानु, युगल गीतमा जीउ–ढालको प्रदर्शन हाबी हुनु, शिष्टता र सहिष्णुताको ठाउँमा उछृङ्खलता देखिनु पक्कै पनि विडम्बना हो । रातो रङ्ग मायाको प्रतीक भएको हुनाले यस चाडमा राता–राता रङ्गी–बिरङ्गी कपडा प्रायः सबै जसो नारीहरुले पोसाकको रुपमा लगाउने गर्दछन् । महिला–पुरुष भएर तीजका गीत गाउँदा परम्परागत मान्यतामा ठेस लाग्न सक्छ । यसकारण तीजको गीत गायनमा पुरुषको सहभागिता नहुनु नै वेश होला । 
 
महिलाको मात्र जीवन गाथा र मर्म बोकेको यस चाडमा पुरुषबाट हस्तक्षेपरुपी व्यवहार हुँदै गर्दा कालान्तरमा सिङ्गो चाडकै गरिमा गुम्न जाने त होइन, विश्लेषकहरु यस्तो तर्क पनि गर्दछन् । महिला पुरुष भएर तीजका गीत गाउँदा परम्परागत मान्यतामा ठेश लाग्न सक्छ । यसकारण तीजको गीत गायनमा पुरुषको सहभागिता नहुनु नै वेश होला । अन्त्यमा जेहोस्, मनोरञ्जन र रङ्ग जे जस्तो ढङ्गले गर्ने गरेता पनि हरितालिका (तीज) को परम्परागत वास्तविकता र मर्मलाई कुनै तवरबाट पनि खति नपुग्ने गरी काम गर्नु प्रत्येक नेपालीहरुको परम कर्तव्य हुन्छ भन्नुमा कुनै अतिशयोक्ति नहोला । अस्तु !