‘नयाँ’ मन नपर्ने को हुन्छ होला र? सानो छँदा दशैंमा कान्छा दाइको परिवार घर मै आएर सिलाई दिएको लुगा लगाउन पाउँदा कम्ता खुसी लाग्थेन। दशैंमा नयाँ लुगा लाउन नपाउन्जेल दशैं आए जस्तै नलाग्ने। अहिले परिस्थिति फेरिएको छ, नयाँ लुगा- जुत्ता लगाउन दशैं नै पर्खनु पर्दैन।
नयाँ लुगा, नयाँ गाडी, नयाँ घर, सबै राम्रा लाग्छन्। पुगेसम्म नयाँ किन्नु, प्रयोग गर्नु राम्रो हो। अहिले जमाना फेरिएको छ। अचेल लुगा-जुत्ता मात्र होइन राजनीतिक चेतना, मान्छे, राजनीतिक दल, नेता सबै नयाँ राम्रो लाग्ने अवस्था बन्दै गइरहेको छ। पुरानाहरुले चित्त बुझ्दो काम नगरेपछि नयाँतिर मन ढल्कनु जायज पनि हो। लोकतन्त्रमा नयाँ वा पुराना जसलाई पनि जनताले रोज्न पाउँछन्, र, त्यसरी रोज्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो।
लोकतन्त्र जननिर्वाचित प्रतिनिधिहरुले राष्ट्रिय हितका लागि जनचाहना अनुरुप काम गर्ने शासन प्रणाली हो। लोकतन्त्रमा शासन जनताद्वारा निर्वाचित प्रतिनिधिले गरेपनि खासमा त्यो शासनको सम्प्रभूता जनताको हातमा हुन्छ। लोकतन्त्र जनताको स्वतन्त्रता, समानता, र न्याय जस्ता मूल्यहरूले उच्च प्राथमिकता पाउने शासन व्यवस्था हो।
लोकतन्त्रिक प्रक्रिया अन्तर्गत हुने आवधिक निर्वाचनमा जनताले मन पराएका दलहरुले उठाएका उम्मेदवारले चुनाव जित्छन्, दलको नेताले सरकार वा राष्ट्र प्रमुखको हैसियतमा शासन व्यवस्थाको बागडोर सम्हाल्छन।
लोकन्त्रका पनि अनेक मोडल छन्। कतै जनताले प्रत्यक्ष निर्वाचित गरेका नेताले शासन गर्छन् कतै जनताले निर्वाचित गरेका प्रतिनिधिहरुले चुनेका नेताले। लोकतन्त्रको विशाल रुप जनताले मन पराएको दलबाट निर्वाचित भएकाहरुले जनताको नाममा शासन गर्ने नै हो। जनताबाट निर्वाचितहरुले जनचाहनाको काम गरेरन् भने कहिले कहीं जनतामा उनीहरुको लोकप्रियता घट्नु स्वभाविक हो।दलहरुप्रति नकारात्मक टिप्पणी हुनु पनि स्वभाविक नै हो। तर, तत्कालको निराशा वा दलका केही नेताका विरुद्ध देखिएको क्षणिक उन्मादले उछिट्टिएर केही व्यक्ति विशेषले चुनाव जित्नु अनौठो पनि होइन। तर त्यसरी कुनै एक व्यक्तिले चुनाव जित्नु भनेको दलीय व्यवस्था र दलहरुले दिने राजनीतिक र राजकीय नेतृत्व नै सखाप भएको होइन।
नेपाल लगायत लोकतन्त्रलाई राज्य व्यवस्थाको कडी मानिएका देशमा दल र दलका सदस्य नै लोकतन्त्रका लागि सबभन्दा मजबुत खम्बा हुन्। दल र दलको नेतृत्व सकिएको दिन नेपालमा लोकतन्त्र पनि सकिनेछ।
दल र तिनका सीमित नेताप्रतिको निराशा र आक्रोशले उन्नत लोक व्यवस्था र प्रणाली बनाउन सक्दैन। केन्द्रीय र प्रादेशिक शासन प्रणालीमा स्वतन्त्र हैसियतका व्यक्तिले राज्यको मुख्य शासनभार सम्हाल्ने अवसर हत्तपत्त पाउने अवस्थाको संवैधानिक व्यवस्था नेपालमा गरिएको छैन।
सरकार बनाउने सन्दर्भमा दल र दलका नेताहरुबाट संभव नभएका बेला भने निर्वाचित सदस्यहरुको बहुमत समर्थन पाउन सक्ने व्यक्ति पनि सरकार प्रमुख हुनसक्ने प्रावधान नेपालमा छ। स्थानीय निकायहरुमा भने स्वतन्त्र हैसियतमा जितेकाहरुले पनि कार्यकारी भूमिका निर्वाह गर्न सक्ने प्रावधान छ। तर त्यस्तो स्थानीय प्रमुखले पनि राजनीतिक पार्टी स्वतन्त्र हैसियतमा जितेका कार्यपालिक सदस्यहरुकै सल्लाह/सहमतिमा स्थानीय निकाय संचालन गर्ने हो।
तर नेपालमा अचेल केही स्थानीय निकायहरुमा केही स्वतन्त्र हैसियतका नगर प्रमुखहरुको व्यवहार हेर्दा दलीय लोकतन्त्र शासन व्यवस्था मात्र होइन रहेछ त्यसले त उन्नत संस्कारको पनि अपेक्षा गर्दोरहेछ। काठमाण्डु र धरानमा गएको स्थानीय निकायको चुनावमा दुईजना स्वतन्त्र हैसियतका व्यक्ति बालेन्द्र साह र हर्क साम्पाङले चुनाव जिते।
धेरैलाई लाग्यो—अब काठमाण्डू र धरान स्वर्ग बन्ने भो। ति दुबै जादुगर नगर प्रमुखहरुले ‘छु मन्तर’ शैलीमा नगरका बासिन्दाको चाहना पुरा गर्नेछन्। फोहोर व्यवस्थापन, खानेपानी र खराब सडक लगायत भौतिक संरचना सुधारका क्षेत्रमा देखिएको चुनौतीको पहाड तिनीहरुले सहजै छिचोल्नेछन्।
तर भयो के? के धरान र काठमाण्डूमा कुनै दीर्घकालीन महत्वका योजना बने वा कार्यान्वयनमा आए? काठमाण्डूको फोहर व्यवस्थापनका लागि आधुनिक ल्याण्डफिल साइट र फोहरको पूनर्प्रयोग योजना बने? अहँ, आएनन्, बनेनन्। अनि गरियो चाहिं के त? फुटपाथमा व्यापार गरेर जीविकोपार्जन गर्नेहरुलाई धरपकड गर्ने, उनीहरुको जीवन बाँच्ने आधार खोस्ने थुप्रै योजना तत्काल बने र कार्यान्वयन भए। ठेलावालाको ठेला, साइकलवालाको साइकल, फुटपाथमा सामान बेच्नेको सामान थुप्रै कब्जामा लिइए। नष्ट गरिए। थुप्रै काम भए। अब बाँकी नदी/खोला किनाराका घर भत्काउन हो! जतिसुकै लागोस्, व्यक्तिका नीजि सम्पतिमा डोजर चलाउनै पर्छ।स्रोत होस् कि नहोस्, जनताले तिरेको करबाट भएपनि लहड पुरा गर्नै पर्छ। दल खुसी पार्नु छैन, स्थानीय जनता खुसी बनाउनु छैन, साइबर झुण्ड खुसी पारे पुगि हाल्यो। सामाजिक संजालमा ‘सेन्सेसन’ फैलायो, भै त गयो।
लोकतन्त्र शासन प्रणाली मात्र होइन, उन्नत र परिस्कृत संस्कार अपेक्षा गरिने व्यवस्था पनि हो। परिस्कृत संस्कार उन्नत लोकतान्त्रिक विचार र प्रवृत्तिको विकसित रुप पनि हो। लोकतन्त्रका अभ्यास र व्यवहारबाट संगठित नभएका र कसैप्रति जवाफदेहिता नभएका उच्छृंखल भीडले एकाएक नेतृत्वमा पुऱ्याएको व्यक्तिबाट लोकतान्त्रिक व्यवहार र संस्कार अपेक्षा गर्न सकिन्छ? अहँ सकिन्न। र, त्यस्तो अपेक्षा गर्नु पनि हुँदैन।
कार्यशैलीमा उच्छृंखलता, व्यवहार र कार्यसम्पादनमा उदण्डता! अहिले धरान र काठमाण्डुका मेयरमा देखिएको चरित्र हो। आफूले गरेको, बोलेको, लेखेको कुनै कुराप्रति जवाफदेहिता हुनु नपर्ने संस्कार र प्रवृत्तिका व्यक्तिहरुले गरिरहेको व्यवहार घातक हुने लक्षण देखिंदैछ।
नेपालमा अहिले जनता भड्काउने सबभन्दा सजिलो उपाय भनेको भ्रष्टाचारका कुरा लेख्नु र बिना प्रमाण सामाजिक संजालमा जसलाई पनि आरोप लगाइहाल्नु हो ।
सामाजिक संजालमा लेखेपछि त्यसको जवाफदेहिता नखोजिने र भ्रम नै लेखे पनि सर्वसाधारणलाई तत्काल प्रभावित पार्न सकिने भएकाले पनि अचेल सामाजिक अराजकताका लागि होस् कि स्थापित दल र लोकतान्त्रिक पद्धतिलाई धारासायी बनाउन होस्, सामाजिक संजालमा अप्रमाणित र मनगढन्ते कुराहरु लेख्ने, फेक भिडियो श्यर गर्ने परिचालित भिड सक्रिय देखिन्छ।
सामाजिक संजाल मार्फत निश्चित व्यक्ति, दल र तिनका नेताप्रति द्वेष र दुर्भावना फैलाउन काठमाण्डुका मेयर बालेन्द्र साइबर ग्याङ्ग नै परिचालन गरेर लागिरहेकाछन्। यिनको काम अहिले सत्तामा भएका बेला होस् कि बाहिर, केही निश्चित नेता र दलहरुप्रति लक्षित देखिन्छ। जो शक्तिशाली छ त्यसैलाई कमजोर बनाएर आफू शक्तिमा पुग्न खोज्ने आम प्रवृत्ति त हुँदै हो तर आग्रह वा अप्रमाणित विषय उठान गर्नु र त्यसको लागि सामाजिक र राजनीतिक द्वेष बढाउने क्रियाकलाप गर्नु जायज हुन सक्दैन।
लोकतन्त्रमा दलहरुले नै शासन गर्ने हो, एकाध घटना विशेषका कारण सबै दल, सबै व्यक्ति/नेता खराब हुन् भन्ने भाष्यले अराजकता बाहेक केही दिंदैन। बङ्गलादेशमा हालसालै जे भयो त्यो सभ्यता, संस्कृति र धार्मिक सहिष्णुताका लागि अति घातक भएको छ। आर्थिक र सामाजिक रुपमा सायद बङ्गलादेश २० औं वर्ष पछि धकेलिन सक्छ।
केही मानिसहरु अमेरिका/युरोप बसेर नेपालमा बङ्गलादेशको जस्तै स्थिति हुनु पर्छ भन्ने शैलीका विचार समेत राखेको देख्दा उदेक लाग्छ। लोकतन्त्रको अब्बल मानक मानिने देशमा बसेर मात्र हुने रहेनछ। लोकतन्त्र त व्यवहार र संस्कार मै हुनु पर्दोरहेछ। लोकतन्त्रले उन्नतस्तरको संस्कारको अपेक्षा पनि गर्दछ।
भिडले शासन गर्ने र नेपालमा ‘लिन्चिङ्ग’को अवस्थाको कल्पना गर्ने विश्लेषक, राजनीतिक नेतृत्व वा काठमाण्डू र धरानका भड्काउ प्रवृत्तिका मेयरहरुले नेपाललाई फेरि अलोकतान्त्रिक पद्धति तिर धकेल्ने हुन् कि भन्ने जोखिम बढेको छ। बोलीमा लोकतन्त्र, व्यवहार र प्रवृत्ति भिडतन्त्रतिर अग्रसर ‘हुल्लडबाज’ जमातले लोकतन्त्रलाई नै कमजोर बनाउने हुन्। जनताका लागि जनताको शासन नै धराशायी बनाउने बनाउने हुन्।
कतिलाई लाग्दो बालेन र हर्क लोकतन्त्रका उन्नत नमूना हुन्। तर त्यस्तो होइन। र, घटनाक्रमहरुले त्यस्तो भन्दैन। हो, यिनीहरु दुबै नेपाली लोकतन्त्रका साह्रै खराब उदाहरण हुन्! केही पेड र परिचालित संजाल प्रयोगकर्ताहरुलाई प्रयोग गर्ने र नियोजितरुपमै दलीय संरचनाहरुप्रति पटक पटक प्रहार गरिरहने यिनीहरुका शैलीले धरान र काठमाण्डुलाई लहड र द्वेषले संचालन हुने अखाडा बनाइदिएको छ।
धरानमा सार्वजनिक रुपमा प्रश्न सोध्ने पत्रकारलाई सामाजिक संजाल मार्फत दुर्व्यवहार मात्र गरिएन, आफ्नै कार्यकक्षमा प्रहरी लगाएर ‘फिजिकल एसल्ट’ समेत गरे हर्कले। नगर विकासको ठोस योजना बिनानै लहडमा बन्ने उनीहरुको योजनाको विरोध गर्नेहरु सबै विकास विरोधी हुने परिभाषा काठमाण्डू र धरान दुबै शहरमा बनाइएको छ।
मेयर त पश्चिम धनगढीका हमाल पनि स्वतन्त्रै हुन्, तर उनी दल र जनतासंग पौंठेजोरी नखेली काम गरि नै रहेकैछन्! खोइ त उनीसंग दलका मान्छेले पाखुरा सुर्केका छैनन्। त्यहाँ खुरुखुरु जनताका काम भइरहेकै छन्। कुनै विवादमा पनि छैनन्! तर काठमाण्डु र धरानका मैमत्त मेयरहरुलाई हेरौं त! कति छाडा, उदण्ड! यिनले सामाजिक संजालमा लेख्ने, बोल्ने शैली, भाषा र उठान गर्ने विषय यसो हेरौं त? मेयरको काम नगरका लागि दीर्घकालीन योजना बनाउन नीतिगत नेतृत्व लिने र जनतालाई प्रत्यक्ष फाइदा हुने काम गर्ने हो। दुई छाक टार्न ठेला र साइकलमा व्यापार गर्नेहरुलाई लछार-पछार पार्दै दुर्व्यवहार गर्ने होइन।
नागरिकका नीजि सम्पति माथि दागाधर्ने र नगर कार्यपालिकाको सामुहिक निर्णय बेगर हचुवा निर्णय गरेर राज्यस्रोतबाट कहिल्यै तिर्न नसकिने खर्बौंको व्ययभार थप्न खोज्ने पनि होइन। वर्षौं अघि नक्शापास गराएर घर बनाएका नागरिकलाई कसैको लहडको भरमा उठिबास लगाउन मिल्छ? काठमाण्डूको खोला/नदि किनाराका घर व्यवसाय हटाउन काठमाण्डू महानगरले झण्डै नेपालको एकवर्ष बराबरको बजेट रकम खर्च गर्न संभव छ? नागरिकको नीजि सम्पति मुआब्जा नदिई हटाउन पाइएन।
मुआब्जा दिने स्रोत कहाँ छ? यस्तो हचुवा निर्णय अदालतको गलत फैसलाको हवाला दिएर मेयर एक्लैले गर्न मिल्छ? नगर कार्यपालिका बैठकमा उपमेयर सुनिता डङ्गोलको प्रस्तुतिले संस्कार र जरोको कुरा सान्दर्भिक छन् भन्ने प्रमाणित भएको छ। जरो नभएको, टुसुक्क पलाएकोलाई के मतलब? लोकतन्त्रमा खराब काम र प्रवृत्तिको पनि लोकतान्त्रिक तरिकाले नै विरोध वा प्रतिक्रिया दिनु पर्छ। त्यो नै सही अर्थमा लोकतान्त्रिक संस्कार हो। उन्नत लोकतन्त्र हो।
स्थापित राजनीतिक दल र त्यसको नेतृत्वमा भएकाहरुले पुङ न पुच्छरकाहरुसंग मुख मुखै लाग्ने, उनीहरुका केही उच्छृङ्खल गतिविधिलाई टिप्पणी गर्ने, अनावशयक धरपकड गर्ने र परिस्थितिलाई थप जटिल बनाउनेतिर लाग्नु पनि बुद्धिमानी होइन। त्यसले छिमेकतिर भएका केही नकारात्मक घटनाको उदाहरण दिएर नेपालमा समेत अराजकता भड्काउन सकिएला कि भनेर चलखेलमा लागेकाहरुलाई नै बल पुग्ने हो।
काठमाण्डु/धरानका ‘हुल्लडबाज’ मेयर र भर्खर सत्ता छोड्नु परेको पीडामा छटपटिएकाहरु समेत यही मेसोमा स्थापित राजनीतिक प्रणाली र नेतृत्वमाथि धावा बोल्ने यही बेला हो भनेर लागिरहेका देखिन्छन्। यो बेला आफूलाई लोकतन्त्रका पहरेदार सम्झनेहरुले त झन् बढी लोकतान्त्रिक व्यवहार र संस्कार देखाउनु जरुरी छ।
सार्वजनिक कार्यक्रममा नकारात्मक टिप्पणी गर्ने, विपक्षीहरुप्रति छुद्रता देखाउनेतिर होइन कि जनचाहनाका काम फटाफट गर्ने तर्फ राज्य संयन्त्र चलाएर बस्नेहरुको ध्यान जानु पर्दछ। जनताका काम भनसुन र घुस नदिइ हुने अवस्था बनाउन सकेको दिन दल र दलका नेतृत्वको विकल्प खोज्नेहरु सबै दुलो भित्र हुनेछन्। मुसालाई दुलोभित्र नै रहन दिने कि चोटा-कोठा र भकारीसम्म पहुँच दिने जिम्मा लोकतान्त्रिक दल र नेतृत्वमा रहेकाहरुको नै हो।
जनतालाई प्रताडित गरेर, हुल्लडबाज शैलीमा स्थानीय निकाय संचालन गर्न खोज्ने प्रवृत्ति असल काम र अब्बल राजनीतिक संस्कार सहितको लोकतन्त्रले नै कमजोर र विस्थापित हुने हो।
प्रतिक्रिया