मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
विचार / ब्लग    

नेपाल बन्दैछ…

नेपाल बन्दैछ…


गएको साता नेपालमा निकै ऐतिहासिक र रणनीतिक महत्वका दुई सफल उपलब्धिहरु सार्वजनिक भए। दैलेखमा चीनको सहयोगमा जारी उत्खनन् परियोजनाको प्रारम्भिक नतिजा अनुसार ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको भूमिगत कुवाको पहिचान भएको छ। जसको व्यवस्थित र व्यवसायिक उत्पादन भएमा नेपाललाई आगामी ५० वर्ष ग्याँसको आवश्यकता पूर्ति हुने बताइएको छ। यसैगरी नेपालको सडक सञ्जालमा पहिलो पटक ओभरपास सडक समेत थपिएको छ। गत शुक्रवारमात्र  प्रधानमन्त्रीबाट रिङ्गरोड खण्डको ग्वार्कोमा बनेको नेपालकै पहिलो ओभरपासको शुभारम्भ भएपछि यो उपलब्धि भएको हो। सामाजिक सञ्जालमा बाहेक कतै अस्तित्व नभएका भँडुवाहरु भर्खरै निर्माण सम्पन्न भएको ग्वार्को ओभरपासलाई समेत त्यति जाबो ओभरपास बनाउँदैमा के को उत्सव भन्दैछन्।

सरकारी वा नीजि क्षेत्रका तर्फबाट भइरहेको भौतिक विकासका अनगिन्ति राम्रा उदाहरणहरु छन्। पोखरा एअरपोर्ट संचालनमा गर्नुपर्ने गृहकार्यमा कमजोरी भएको होला तर एअरपोर्ट प्रवेश मार्गदेखि नै बनेका भौतिक संरचना हेर्दा युरोप-अमेरिका भन्दा केही कम देखिन्न। एअरपोर्टबाट निस्कँदा देखिने माछापुच्छ्रे लगायतको सुन्दर हिमश्रृङ्खला र रमणीय हरिया पहाडहरुले जो सुकैको मन लोभ्याउँछ। सरकार वा पर्यटन व्यवसायीले त्यही सुन्दरता बेच्ने हो, त्यसैको प्रचार गरेर पोखरा अन्तराष्ट्रिय एअरपोर्ट संचालन गर्न लाग्नुपर्ने हो।

पोखरा-हेम्जा सडक खण्ड होस् या आबुखैरेनी- पोखरा खण्ड, सडकको स्तर र बनोटले नेपालले विकासको गति समातेको अनुभूति मात्र दिन्छ। बुटवल भैरहवा खण्डको छ लेनको सडकको प्रचार केही वर्ष पहिल्यै भइसकेको छ। नेपालमा जहाँ गयो त्यहीं विकास देखिन्छ। देश बन्दै गरेको मात्र देखिन्छ।

तर सामाजिक सञ्जालका सर्वकालिक भँडुवा र निन्दकहरु नेपाल खत्तम भयो, सकियो मात्र भनेर स्याल हुईंयाँ मात्र गरिरहेको देखिन्छ। आफू सिन्को नभाँच्ने, तर भएको राम्रा कामप्रति पनि संधै धारे हात लाउने उच्छृंखलहरुको कब्जामा भएको सामाजिक सञ्जालमा नेपाल तन्नम भएको प्रचार भएपनि खासमा नेपालले उन्नति गरिरहेको प्रष्ट देखिन्छ।

देश सानो छ, विकास हुने क्रममा नै छ, त्यसैले स-साना उपलब्धिमा पनि खुसी हुनु जरुरी छ। खुसी हुन अमेरिका, चीन, जापान, युरोप, अरबमा जस्तो फराकिला र चिल्ला बाटो, बहुतल्ले फ्लाइ-ओभर बन्ने दिन पर्खने हो र? जहाँ जस्तो स्रोत-साधन र हैसियत छ, त्यस्तै बन्ने हो। जे उपलब्ध छ, जति देशको आर्थिक हैसियत छ, त्यसैमा खुसी हुन सिक्ने हो! नेपालको भौतिक विकास नेपाल कै विगतसंग दाँज्ने हो। छिमेक वा युरोप/अमेरिकासंग तुलना गरेपनि नेपालको आर्थिक र प्राविधिक हैसियत अनुसार १० वर्ष अघिको नेपालको सडक संरचना र सञ्जालसंग आजको सडक हेरौं त? निकै ठूलो परिवर्तन भएको छ। राजधानी उपत्यका भित्र बनिरहेका सबै भौतिक संरचना र पुनर्निर्माण वाह भन्ने खालकै छ।

सामाजिक संजालहरुमा देखिने अचाक्ली गाली, निरासा र अव्यवस्थाको वर्णन सुनेर/हेरेर हैरान भइरहेको बेला नेपाललाई प्रत्यक्ष देखेर/ घुमेर नेपालको प्रगति आँकलन गरिरहेको छु। हरेकपटक नेपाल आउँदा नेपालमा केही नयाँ भएको पाएको छु। नेपाल प्रगति र समृद्धिको दिशातिर नै गइरहेको छ भन्ने जानकारी प्राप्त भइरहेकै भएपनि यो पटक नेपालको प्रगति र नव निर्माणहरुलाई प्रत्यक्ष देख्ने अवसर झन् धेरै मिलेको छ।

जे देख्यो त्यही राम्रो पो लाग्यो मलाई। बुझ्ने भएपछि पहिलो पटक नेपाल आएकी मेरी ‘कान्छो’ पनि आफू जन्मेको पोखरा शहर, आमाको गृहजिल्ला काठमाण्डुको बैभव, आफ्नो बाबा जन्मे-हुर्केको गाउँ-पखेरा देखेर साह्रै रमाइन्। जहाँ गइयो त्यहाँ प्रगति नभएको केही छैन। आफ्नै हजुरबाले स्थापना गर्नुभएको र मैले आठ कक्षासम्म पढेको दुबै सुन्दरा माध्यमिक विद्यालयले पनि भौतिक र शैक्षिक प्रगतिमा छलाङ्ग नै मारेका रहेछन्।

आफूले छ कक्षा पढ्दा पहिलो पटक गाडी देखेको मान्छे, अहिले आफ्नै गाउँसम्म कालोपत्रे गरिएका ग्रामिण सडक सञ्चालनमा रहेछन्। घर-घरमा धारा छन्। प्राय सबै घरमा विद्युत र इन्टरनेट छन्। घरैपिच्छे केबल टिभी सेवा जडित छन्। यो सबै प्रजातान्त्रिक सरकारहरुकै कारण भएका प्रगति हुन्। अहिले सत्तामा भएका वा विपक्षमा भएकाहरुकै सक्रियतामा भएका हुन्।

साह्रै संकीर्ण सोच भएकाहरुको प्रतिक्रिया जहिल्यै ध्वंसात्मक र नकारात्मक देखिएको छ। जे गरेपनि, जसरी गरेपनि गाली मात्र गर्ने एकखाले जमात केही यता निकै सक्रिय देखिएका छन्। तिनीहरु विदेशमा हुन् कि नेपालमा, केही निर्दिष्ट व्यक्ति वा समुहद्वारा परिचालित लाग्छन्। तिनलाई विरोध गर्न न समय चाहिने न स्थान चाहिने! मेला होस् कि खेल उत्सव, कन्सर्ट होस् कि सार्वजनिक समारोह, एकदुईजनाले बिना प्रसङ्ग ** **देश छोड् भनिहाल्छन्। नेपाल भित्र बसेकाले ‘**देश छोड्’ नारा लगाउनु त्यति आपत्तिजनक नहोला तर अमेरिका, अष्ट्रेलिया वा युरोप बस्नेले त्यस्तो नारा लगाउनु जायज हो? आफैं देश छोडेर हिंडेकाहरुले नेपालको सरकार प्रमुख वा मुख्य दलका नेतालाई देश छोड् भनेर उफ्रनु हदैसम्मको निकम्मा काम हो। सरकारमा भएकालाई देश छोड् भन्न पहिले आफू देशभित्र हुनु पर्ला नि?

नेपाल अहिले नयाँ भौतिक संरचना निर्माण र पुराना संरचनाहरुको पुनर्निर्माण वा  सुदृढीकरणको चरणमा छ। हरेक वर्ष  हजारौं किमी बाटो बनिरहेको छ। कुनै बेला कल्पना पनि नगरिएका ठाउँमा बाटो पुगेको छ। ग्रामिण क्षेत्रमा बनेका बाटाहरुले गाउँमा बस्नेहरुको जीवन-यापन निकै सहज बनाइदिएको छ। काठमाण्डु, पोखरा, भरतपुर, वुटवल, भैरहवा, विराटनगर, झापा लगायतका सहरी क्षेत्रमा बनेका फराकिला र सुन्दर सडकहरुले नेपालको सडक यातायातमा आएको परिवर्तन स्पष्ट झल्किन्छ।

केही समय भित्रै नागढुङ्गा-नौविसे सुरुङ मार्ग संचालनमा आउने अवस्थामा छ। यो सुरुङ मार्ग पनि नेपालको सडक यातायातका लागि एउटा ऐतिहासिक र गर्व गर्न लायक प्रगति हो। नेपालका लागि त्यही सुरुङ मार्ग नै ठूलो कुरा हो। त्यति जाबो सुरुङ बनाउँदैमा *को फूर्ति बढेको छ भनेर लेख्ने-भन्ने सञ्जालका भँडुवाहरु, निन्दकहरु एकठ्ठा भएपनि नागढुङ्गा-नौविसे सुरुङ मार्ग नेपालको सडक सञ्जालका लागि कोशेढुङ्गा साबित हुनेछ। सिद्धार्थ राजमार्गको सिद्धबाबामा बन्दै गरेको सुरुङमार्गले पनि सडक सुरक्षामा अर्को आयाम ल्याउने निश्चित छ।

 

कुनै बेला काठमाण्डुबाट चितवन जाँदा देखिने तुईनहरु सबै विस्थापित भएर झोलुङ्गे पुल बनिसकेका छन्। पर्वतको पाङ गाउँ र बाग्लुङ जोड्ने नेपालकै सर्वाधिक लामो र अग्लो झोलुङ्गे पुलले स्थानीयहरुको दैनिकी र बाग्लुङसम्म पुग्न लाग्ने घण्टौंको समय १५-२० मिनेटमा ल्याइदिएको छ। त्यही पुल हेर्न पुग्ने हजारौं आन्तरिक र वाह्य पर्यटकले स्थानीयहरुको व्यापार बढाएको छ। आयस्रोत थपेको छ। नीजि क्षेत्रले नै बनाएको कुश्माको बन्जिजम्प, जीपलाइन लगायतका संरचनाहरुले साहसिक पर्यटन प्रवर्द्धन मात्र गरेको छैन, पोखरा, कुश्मा, बाग्लुङको होटल, यातायात र स्थानीयहरुको समग्र व्यापार-व्यवसाय र रोजगारी विस्तारमा समेत मद्दत गरेको छ।

हो, यस्तै स-साना भौतिक निर्माणले पनि जनताको मनमा खुसी ल्याइदिएको छ। गाउँसंग शहर जोडिने क्रम बढेसंगै शहरमा हुने अत्यधिक बसाई सराई पनि कम हुने छ।

विकासको गति अलि सुस्त छ, निर्माण कार्यमा ढिलासुस्ती छ, तर काम भइरहेका छन्। सरकारले केही ठग र कामचोर ठेकेदारहरुलाई तह लगाउने हो भने नेपालको विकासको गति अझै तिब्र हुने पक्का छ।

स-साना उपलब्धिहरुमा रमाउने र खुसी हुने नेपालीहरुलाई सबैतिर बेथिती मात्र छ, भताभुङ्ग छ भन्ने भ्रम छर्ने केही परिचालित सञ्जाल प्रयोगकर्ताहरुका कुरा सुन्न छोड्ने हो भने नेपाल बन्दै गरेको, प्रगति गरिरहेको दृश्य मात्र देखिन्छ।

IMG_2943

तस्बिरः सुजन पण्डित, रुटिन अफ नेपाल बन्द, जाइका नेपाल, देश नेपाल र सामाजिक सञ्जाल 

शेयर गर्नुहोस:

7.1k
Shares