यसपालिको फीफा वर्ल्डकप उत्तर अमेरिकामा सुरू भैसकेको छ । मेक्सिको सिटीमा उद्घाटन समारोह चलिरहँदा मैले केही सेकेन्डको टिभी क्लिप राखेर सबै टोलीलाई शुभकामना दिँदै एउटा ट्वीट गरेको थिएँ। केही बेरमै एक्सले कपीराइट उल्लङ्घन भयो भन्दै पोस्ट हटाइदियो। संसारभरका अरबौँ मानिसले हेर्न पाउने दृश्यका केही सेकेन्ड साझा गर्दा पनि उल्लङ्घन ठहरिनु आधुनिक डिजिटल सभ्यताको एउटा रोचक परिदृश्य हो।
वर्ल्डकप हरेक चार वर्षमा आउने मानव जातिको सबैभन्दा ठूलो सांस्कृतिक उत्सव हो। यसको सुरुवातसँगै संसारको गति केही समयका लागि सुस्ताएझैँ लाग्छ। देश, भाषा र भूगोलका सीमाहरू केही हदसम्म पग्लिन्छन्। टेलिभिजनको अगाडि बस्दा होस् वा चोक, रेस्टुरेन्ट र सार्वजनिक स्थलमा जम्मा हुँदा, महसुस हुने त्यो सामूहिक ऊर्जा अनुपम हुन्छ।
टुर्नामेन्टभर एउटै टोलीको जर्सी लगाएका अपरिचित मानिसहरू अंकमाल गरिरहेका हुन्छन्। सहरका गल्लीहरू, रेस्टुरेन्टहरू र घरका बैठक कोठाहरू रंगीन बन्छन्। फरक–फरक संस्कृति, वर्ण र पृष्ठभूमिका खेलाडीहरू एउटै मैदानमा उभिएर एउटै नियम मान्छन्। विश्वले कम्तीमा केही साताका लागि भए पनि सहअस्तित्वको एउटा अभ्यास गर्छ।
गरिबी, युद्ध वा अभावबाट उठेर विश्वमञ्चमा चम्किएका खेलाडीहरूको कथाले करोडौँ युवाहरूलाई सपना देख्न सिकाउँछ। साना र विकासोन्मुख देशहरूले पनि आफ्नो पहिचान विश्वसामु प्रस्तुत गर्ने अवसर पाउँछन्। खेलले मानिसलाई केही समयका लागि भए पनि दैनिक जीवनका तनाव, चिन्ता र दुःख बिर्सने साझा चौतारी दिन्छ।
यो केवल प्रतिस्पर्धा, जित र हारको कथा होइन। यो सामूहिक भावना, हाँसो, आशा र उत्सवको अनुभव हो। एउटा गोल हुँदा संसारका लाखौँ मानिस एकैपटक उफ्रिन्छन्। त्यो क्षणमा उनीहरू एकअर्कालाई चिन्दैनन्, तर एउटै भावनाले बाँधिएका हुन्छन्। त्यो वातावरण साँच्चिकै जादुमयी हुन्छ।
कुनै दिन नेपाल विश्वकपमा पुगेछ भने मेरो प्रिय टोली नेपाल नै हुनेछ। नत्र विश्वकपमा सानैदेखि ब्राजिलको समर्थन गर्दै आइयो, एउटा भावनात्मक सम्बन्ध नै बनेको छ। अझ दुई वर्षअघि ब्राजिल पुगेर त्यहाँको फुटबल संस्कृतिलाई नजिकबाट हेर्ने अवसर मिल्यो। त्यहाँ फुटबल केवल खेल होइन, संगीत हो, धर्म हो, सामूहिक चेतना हो। त्यसपछि त माया झन् गाढा भयो।
यसपालि मोरक्कोसँगको पहिलो खेलमा भने ब्राजिलले निराश बनायो। खेल बराबरीमा टुङ्गिए पनि उसको खेलमा लय देखिएन। यसरी त कसरी हुन्छ? तर अन्ततः कप भने ब्राजिलले नै उठाओस् भन्ने मनोकामना यथावत् छ।
टुर्नामेन्टको सुरुवातमा यति सपना देख्न त पाइयो नि! संसारभरका मानिसहरूले आफूले माया गर्ने देशका लागि यस्तै सपना देखिरहेका हुन्छन्। आखिर सपना देख्न कर लाग्दैन। लाग्न थाल्यो भने कल्पनाशीलता नै संकटमा पर्नेछ। अनि यही कल्पनाशीलता त हो वर्ल्डकपको मजा।
अमेरिकाको खेल यसपालि निकै सुधारिएको देखिन्छ। अघिल्लो विश्वकपभर जम्मा तीन गोल गरेको अमेरिकाले यसपालि पहिलो खेलमै चार गोल गर्यो। आयोजक राष्ट्र भएकाले उसलाई घरेलु समर्थकको साथ पनि छ।
तर खेलको कुरा यतिमै सकिँदैन। खेल सतहमा खेल हो; गहिराइमा पुग्दा त्यो समाज, राजनीति र शक्ति संरचनाको ऐना पनि हो।
२०१८ मा रुसमा विश्वकप हुँदा पश्चिमी सञ्चारमाध्यमहरूले मानवअधिकार, एलजीबीटीक्यू समुदायको अवस्था, युद्ध र कूटनीतिक तनावबारे अथाह सामग्री उत्पादन गरे। सम्पादकीय, वृत्तचित्र र विश्लेषणहरूको बाढी नै आयो।
२०२२ को कतार विश्वकपमा त बीबीसीले उद्घाटन समारोह नै बहिष्कार गरेर आप्रवासी मजदुरमाथि भएको शोषण र मानवअधिकारका प्रश्नमाथि विशेष कार्यक्रम प्रसारण गर्यो। यसपालि भने पश्चिमी प्रेस असाधारण रूपमा शान्त देखिन्छ। आयोजक देशभित्रै नागरिक स्वतन्त्रता, आप्रवासी अधिकार र लोकतान्त्रिक मूल्यहरूसम्बन्धी बहसहरू भइरहे पनि तिनले विश्वकपको समाचारमा खासै स्थान पाएका छैनन्। युद्धहरू पनि रोकिएका छैनन्। शक्ति राजनीति पनि यथावत् छ। तर चासोको केन्द्र भने फेरिएको छ।
म आफुलाई दर्शन र राजनीतिलाई नजिकबाट नियाल्ने मध्ये एक ठान्छु। त्यसैले यस्तो असन्तुलन खड्किन्छ। संसारका हरेक प्रणालीहरू कसै न कसैको पक्षपोषण गर्न बनेका हुन्छन्—राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय। हामी तटस्थताबारे जे चर्चा गर्छौँ, त्यो प्रायः कुनै न कुनै शक्ति संरचनाप्रतिको प्रत्यक्ष वा अप्रत्यक्ष पृष्ठपोषण मात्र हुन्छ। अलिकति गहिरिएर हेर्ने हो भने त्यो स्पष्ट देखिन्छ।
अब फेरि खेलमै फर्कौँ।
यसपालि पहिलो पटक ४८ राष्ट्र प्रतिस्पर्धामा छन्। पहिला ३२ राष्ट्र हुँदा कहिलेकाहीँ विश्वकपभन्दा युरोपियन च्याम्पियनसिप जस्तो अनुभव हुन्थ्यो। युरोपियन फुटबल मलाई त्यसै पनि अत्यन्त प्राविधिक र क्लिनिकल लाग्छ। जाँच पास गराउन ट्युशन पढाउने सरले बीस अध्यायमध्ये “यी छ अध्याय यसरी पढ, पासमार्क ग्यारेन्टी” भनेर बनाइदिएको पाठ योजनाजस्तै।
अमेरिकाज, अफ्रिका र एसियाको फुटबल प्रायः छायाँमा परेको छ। तर फुटबलको सहजता, कवित्व, शास्त्रीयता र अप्रत्याशितता यिनै महादेशका खेलमा बढी भेटिन्छ जस्तो लाग्छ।
४८ राष्ट्र, १२ समूह र १०४ खेलमध्ये ७८ खेल अमेरिकामा हुँदैछन्। तीमध्ये ९ खेल त हामी बस्ने शहर ड्यालसमै हुँदैछन्। ती नौमध्ये केही खेल प्रत्यक्ष हेर्नैपर्छ भन्ने योजना छ। टिकटको मूल्य भने फीफाले यसपालि ढाडै भाँच्ने गरी राखेको छ।
तर विश्वकप आफ्नै शहरमा बारम्बार आउँदैन। त्यसैले केही खेलको अनुभव गरौँ, ऋण तिर्दै गरौँला भन्ने सोच छ। हुन त न्यूयोर्कका मेयर पदका उम्मेदवार जोहरान मामदानीले टिकट मूल्यबारे छानबिनको कुरा गरेका छन् भन्ने सुनिएको छ। त्यो सबै खेलमा लागू हुन्छ कि स्थानीय खेलमा मात्र, स्पष्ट छैन। तर छानबिनले टिकट सस्तो बनाउने आशा भने खासै छैन।
अति–व्यवसायीकरणले आधुनिक फुटबललाई परिवर्तन गरिरहेको छ। खेलाडी र खेलको भावनाभन्दा कर्पोरेट प्रायोजन, विज्ञापन र अर्बौँ डलरको व्यापार बढी प्रभावशाली बन्न थालेका छन्। खेलमा विस्तारै ‘व्यवसाय’ बढी र ‘भावना’ कम हुँदै गएको अनुभूति हुन्छ।
अर्कोतर्फ, रंगशाला र पूर्वाधार निर्माणका क्रममा आप्रवासी मजदुरहरूले भोग्नुपरेका पीडाहरू, सामाजिक सञ्जालमा देखिने नश्लवाद, खेलाडीहरूमाथिको गालीगलौज र समर्थकहरूबीचका हिंसात्मक झडपहरूले खेलको सुन्दर अनुहारमा दाग पनि लगाएका छन्।
विश्वकप कहिल्यै राजनीतिबाट अछुतो रहेन। इतिहासदेखि नै महाशक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा, प्रतिबन्ध र कूटनीतिक प्रतिष्ठाको अदृश्य मैदान हुने गरेको छ। आयोजक राष्ट्रहरूले खेलमार्फत ‘सफ्ट पावर’ प्रयोग गरेर आफ्नो छवि निर्माण गर्न र प्रभाव प्रदर्शन गर्न खोज्छन्।
जब इरान र अमेरिका वा अर्जेन्टिना र इङ्गल्याण्ड आमनेसामने हुन्छन्, खेल केवल प्राविधिक श्रेष्ठताको लडाइँ रहँदैन। त्यससँग इतिहास जोडिन्छ, राष्ट्रिय गौरव जोडिन्छ, पुराना घाउहरू जोडिन्छन्।
विश्वकपमा खेलभन्दा फराकिलो अर्थ राख्ने प्रतिस्पर्धाहरू पनि भएका छन्। १९३८ को फ्रान्स विश्वकपमा मुसोलिनीको फासीवादी इटालीसँग जोडिएका राजनीतिक विवाद, १९७४ मा पूर्वी र पश्चिमी जर्मनीबीचको शीतयुद्धकालीन प्रतिस्पर्धा, र १९८६ मा फकल्याण्ड युद्धको छायामा खेलिएको इङ्गल्याण्ड र अर्जेन्टिनाबीचको ऐतिहासिक खेल त्यसका उदाहरण हुन्।
फुटबलले जीवनको गहिरो दर्शन पनि प्रतिबिम्बित गर्छ। डेढ घन्टाको खेलमा परिस्थितिअनुसार पटक–पटक रणनीति बदल्नुपर्छ। अन्तिम सेकेन्डसम्म आशा मार्न हुँदैन। जतिसुकै बलियो टोली भए पनि एउटा सानो गल्तीले पराजय भोग्न सक्छ। जीवन पनि यस्तै हो। फुटबलको सबैभन्दा ठूलो दार्शनिक शिक्षा शायद यो हो कि जबसम्म रेफ्रीले अन्तिम सिठ्ठी फुक्दैनन्, तबसम्म खेल सकिएको हुँदैन। आशा जीवित रहन्छ।
तपाइहरुले चिताएको टिमले जितुन्, शुभकामना ।
(लेखक कार्की ड्यालसमा कार्यरत सिपिए हुन् ।)












प्रतिक्रिया