मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमफिर   
विचार / ब्लग    

जुम्ल्याहा टापुको देशमा ‘क्रिकेट भ्याकेसन’

जुम्ल्याहा टापुको देशमा ‘क्रिकेट भ्याकेसन’

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टी-२० विश्वकप क्रिकेटले जुराएको क्यारिबियन (वेष्ट इण्डिज) भ्रमणको अवसरमा हामीले ट्रिनिडाड एण्ड टोबेगोको छोटो भ्रमण गर्ने मौका गुमाएनौ। क्रिकेट सन्दर्भलाई जोड्ने हो भने विश्व क्रिकेटका एक महान खेलाडी ब्रायन लाराको देश भएकाले नेपालको खेल हुने अर्को क्यारिबियन देश ‘सेन्ट भिन्सेण्ट एण्ड द ग्रेनाडाइन्स’ जानु अघि क्यारिबियनमा एक जुम्ल्याहा टापुको देश भनेर चिनिने ट्रिनिडाड एण्ड टोबेगोमा दुई दिन बिताउने उद्देश्य राख्यौं।

‘ट्रिनिडाड एण्ड टोबेगो’

१८५० वर्ग माइल क्षेत्रफल र करिब १५ लाख ३८ हजार जनसंख्या रहेको क्यारिबियन टापु देश ‘ट्रिनिडाड एण्ड टोबेगो’ दुईवटा मुख्य टापु मिलेर बनेको छ। सन् १९६२ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको यो सानो मुलुक समृद्ध सांस्कृतिक सम्पदा, विविधतायुक्त जनसंख्या र विविध अवसरमा हुने कार्निवलहरु लगायतका जीवन्त चाडपर्व र उत्सवहरूका लागि परिचित छ।

समुद्रसंगै जोडिएका पहाडहरुले सामुद्रिक यात्रा पनि फरक अनुभव हुने रहेछ। हाम्रो रेण्टेड कारका ड्राइभर मित्र जुलियनले पहाडी घुमाउरा र साँघुरा बाटो हुँदै ‘मराकस बे’ लग्दा वरिपरिका भौगोलिक परिस्थितिका बारेमा समेत बताउँदै गए। बाटो छेउमा लटरम्म फलेका आँपले लोभ्याएकाले गाडी रोकेरै केही त केटाकेटीले टिपी हाले। हाम्रोतिर सुपाारे आँप भनिने खालको आँप खाँदा भने निकै मिठो लाग्यो। तर बाटोको घुम्तिहरुले ‘बाइरोड-त्रिभुवन राजपथ’को सात र बाह्र घुम्तिको झझल्को दिइनै रह्यो। घुमाउरो र साँघुरा बाटाो भएर होला वाकवाकी लाग्ला जस्तै भयो। ‘मराकस बे’मा चाखेको ‘बेक एण्ड शर्क’ झण्डै निस्केन।

‘ट्रिनिडाड एण्ड टोबेगो’ समुद्र तटहरू, मझ्यौला खालका झरनाहरु, रमणीय जंगल, थरी थरीका चराहरुका बासस्थानका कारण प्राकृतिक सौन्दर्यकालागि पनि प्रसिद्ध छ। मजबुत अर्थव्यवस्था (१६ हजार डलर भन्दा बढी प्रतिव्यक्ति आय) भएको सानो देशको मु्ख्य आयस्रोत खनिज तेल र प्राकृतिक ग्याँस लगायत सामुद्रिक खाद्य पदार्थ निर्यातबाट हुने गर्दछ। पर्यटन पनि यहाँको मुख्य राष्ट्रिय आम्दानीको स्रोत हो। अफ्रिकी, युरोपेली, भारतीय र क्यारिबियन प्रभावहरू स्पष्ट देखिने टापु देशको मुख्य भाषा अंग्रेज़ी नै हो—‘ट्रिनिडियन एण्ड ट्रोबोगियन ईंगलिश’। मिश्रित जनसंख्या भएकाले अफ्रिकन लवजको अंग्रेजी सामान्य बोलीचालीको भाषा भएता पनि स्पेनिश, हिन्दी लगायतका भाषा बोल्नेहरु पनि प्रशस्तै भेटिंदा रहेछन्।

राजधानी शहर ‘पोर्ट अफ स्पेन आधुनिक र औपनिवेशिक वास्तुकलाको मिश्रणको एक चलायमान शहरको रुपमासमेत चिनिंदो रहेछ। रेड हाउस (संसद भवन), रोयल बोटानिक गार्डेन र प्रतिष्ठित ‘क्वीन्स पार्क सवाना जस्ता घुम्न लायक ठाउँहरु पोर्ट अफ स्पेनमा रहेछ। स्थानीयहरु अबेर रातीसम्म पार्टी र नाचगानमा रमाउन मन पराउने हुनाले त्यहाँको रात्रि जीवन निकै जीवन्त लाग्ने रहेछ। राती अबेरसम्म रेष्टुँराहरु र बारहरु खुल्दा रहेछन् जसले शहरी जीवन चलायमान र जीवन्त बनाउन सघाउँदा रहेछन्। मराकस बे, ‘लस क्यूभस बे’  लगायतका सामुद्रिक तटीय क्षेत्रहरु पनि ट्रिनिडाड एण्ड टोबेगोमा प्रमुख पर्यटकीय आकर्षण हुन्।

क्यारिबियनमा क्रिकेट भ्याकेसन

‘क्रिकेट भ्याकेसन’ भन्दा हुने हाम्रो यात्रा नेपालले साउथ अफ्रिका र ब्गलादेशसंग खेल्ने क्रिकेट म्याच हेर्ने उत्साहले निर्देशित थियो। क्रिकेट भ्याकेसनका लागि भाइ रोसन र मेरो परिवारका आधा-आधा सदस्य मात्र सम्मिलित भेनेजुएलाको तटस्थित जुम्ल्याहा टापु राष्ट्रको हाम्रो पहिलो भ्रमण भने निकै ‘हेक्टिक’ र थप खर्चिलो हुन पुग्यो।

भाषा, इमिग्रेसन, खाना अनि एअरपोर्ट पिकअप केहीको पीर नभएपनि नियोजित यात्रा पनि कहिले कहीं कठिन, खर्चिलो र ‘हेक्टिक’ हुने रहेछ। मायामी, फ्लोरिडाको खराब मौसमका कारण बुधवार जुन १२, २०२४ विहान हबी एअरपोर्ट, ह्युस्टनबाट फ्लोरिडा जाने साउथवेष्टको फ्लाइट उडेन। बिहान ८.३० को फ्लाइट करिब नौ घण्टा पछि ५.३३ मा मात्र हुने भएपछि विमानमा बसिसकेका सबै यात्रीलाई ‘डिप्लेन’ गरियो।

फरक एअरलाइन्सको टिकट भएकाले फ्लोरिडाबाट वेष्ट इण्डिज जाने क्यारिबियन एअरलाइन्सको हाम्रो फ्लाइट छुट्ने निश्चित भयो। अन्तिम गन्तव्यमा जान पक्डनु पर्ने फ्लाइट नै छुट्ने भएपछि त्यसले हाम्रो पोर्ट अफ स्पेनमा बुक गरिएको होटल, त्यहाँबाट १४ तारिक सेन्ट भिन्सेण्ट जाने फ्लाइट समेत खेर जाने भयो। एक्कासी आइपरेको यो यात्रा झण्झटले नेपालको बाँकी म्याच जसरी पनि हेर्न जाने रहर र हाम्रा छोरा-छोरीको ‘क्यारिबियन विच’मा रमाइलो गर्ने उत्हासले त्यसै हावा खाने परिस्थिति बन्यो। उड्न ठीक परेको प्लेनबाट झरेर पुरै यात्रा रद्द गर्नुपर्ने अवस्थाले केटाकेटी निकै निराश देखिए। उनीहरुको न्याउरो अनुहारले भाइ रोसन र मलाई समेत नरमाइलो बनायो। मेरो बाबु हामीसंग नजाने भएपनि एअरपोर्ट ड्रप- अफ र पिकअप’ सहित बैकल्पिक एअरलाइन्सबाट सिधै ‘ट्रिनिडाड एण्ड टोबेगो’ जाने संभावनाको खोजी गर्न सक्रिय भयो। एकछिन खोजी गरेपछि हामीले युनाइटेडबाट ‘पोर्ट अफ स्पेन’ (ट्रिनिडाड एण्ड टोबेगो’को राजधानी सहर) जाने टिकट पायौं। केही महँगो र योजना गरिएभन्दा ढिलो भएपनि हामी गन्तव्यमा पुगिने भैयो भन्ने थाहा पाएर अति आनन्द लाग्यो। बच्चाहरु निकै खुसी देखिए। हामी दाजुभाइलाई एउटा ऐतिहासिक अवसर ‘मिस’ गरिने हो कि भन्ने डर हरायो। अन्तिम अवस्थामा रद्द गर्न नमिलेका हवाई टिकट र होटलको खर्च प्रयोग नै नगरी खेर जाने भएन। त्यसले अर्को खुसी ल्यायो। प्रयोग नगरी करिब ३,५०० डलरको खर्च खेर जानु रमाइलो हुने कुरै थिएन।

एकै दिन, एउटै गन्तव्यका लागि दुई फरक एअरपोर्टमा सुरक्षा जाँच लगायतका यात्रा औपचारिकतामा घण्टौं बिते। घरबाट यात्रामा निस्किसकेको हामी प्लेन चढिसकेर पनि घर फर्किनु पर्दाको तत्कालीन पीडा बयान गर्न सकिन्न। आपतकालीन अवस्थामा नयाँ टिकट लिएर बुश इण्टरकन्टिनेण्टल एअरपोर्टबाट साँझ ५ बजेतिर उड्नु पर्ने भो। बाबुले हामीलाई ड्रप-अफ गरिदियो। बाबु हामीलाई छोडेर ‘जिप रुविकन’मा हुईंकिनै लागेको बेला रोसनले भन्यो—तिमी स्ट्याण्डबाइ नै बस है बाबु, फेरि हामीलाई लिन आइहाल्नु पर्ने पो हो कि? बिहान चढिसकेको प्लेनबाट झर्नु परेकाले रोसनले त्यसो भनेको थियो। यात्रा शुरु गर्दा देखिको ‘अनएक्सपेक्टेड’ घटनाहरुले गर्दा आज बाबु पनि हामीलाई छोड्दै र लिन आउँदै गर्दैमा व्यस्त भयो।

यो सबै यात्रा ‘ह्यासल’का बाबजुद हामी नेपालले दश वर्ष पछि खेल्न लागेको टि-२० विश्वकपको खेल प्रत्यक्ष हेर्ने अवसर गुमाउन चाहँदैनथ्यौं। त्यसैले अर्को एअरलाइन्सको फ्लाइट लिएर भएपनि राती अबेर ‘ट्रिनिडाड एण्ड टोबेगो’ आइ पुगेरै छोड्यौं। मेरियट ब्राण्डको पाँचतारे होटल ‘द बिक्स अटोग्राफ कलेक्सन होटल्स’को सटलले हामीलाई पोर्ट अफ स्पेन एअरपोर्टबाट करिब १७ माइल टाढाको होटलमा ३० मिनेटमा ल्याइपुऱ्यायो। बिहान देखिको यात्रा थकानले होला कान्छो, छोरा रिभर्सन, रोसन र म त्यत्तिकै ओछ्यानमा पल्टियौं। यात्रा पट्ट्यार लाग्ने खालकै भएपनि होटलको ‘लक्ज़री’ले त्यसलाई अलि सहज बनाइदियो।

हातमा भएको बोर्डिङ पासले उड्न पाइएन। फेरि अर्को २,२०० डलर तिरेर वेष्ट विण्डिजको यात्रामा हिंडेको हाम्रो टोलीको एउटै चाहना छ— नेपालले दुई मध्ये कम्तिमा एउटा म्याच जितेको क्षणको साक्षी बस्न पाइयोस्। खर्चिलो र झण्झटिलो यात्राको भरताल नेपालको जीतको खुसीबाट लिने कल्पना गर्दै ओछ्यानमा पल्टेको, कति बेला निदाइएछ थाहै भएन।

तस्बिरः सुजन पण्डित, सुजिना पण्डित र रोसन उपाध्याय