मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा टेलिकमलाई सम्झदाको क्षण

अमेरिकामा टेलिकमलाई सम्झदाको क्षण

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एक दिउँसो कामबाट फर्कदै थिएँ । एनआरएनए अमेरिकाका पूर्ब महासचिव पशुपति पाण्डेको कल आयो । उहाँ अमेरिकाको उत्तर पश्चिमी राज्य वासिङ्गटनको सियाटलमा बस्नुहुन्छ । म भने दक्षिणी टेक्ससमा छु ।

‘भट्टजी, तपाई पनि दूर सञ्चारको पूर्ब कर्मचारी पो हुनुहुँदो रहेछ । हाम्रो यो सम्बन्ध त मलाई थाहै थिएन’ उहाँले एकै पटकमा आफ्नो कुरा भनिभ्याउनु भयो ।

मलाई आपत पर्यो । दूरसञ्चारको पूर्ब कर्मचारी थिएँ भनौ भने म होइन/थिइन । होइन भनौँ भने साथीहरुले मेसेन्जरमा बनाउनुभएको एउटा ग्रुपमा मलाई पनि जोड्नुभएको छ । त्यो मेसेन्जर ग्रुपमा दूरसञ्चारकै पूर्ब कर्मचारीहरुमात्रै छन् । जसमा अमेरिकामा रहेका पूर्ब कर्मचारीहरु छन् ।

म आफू पूर्ब कर्मचारी नभएको र लामो समय टेलिकम्युनिकेसन, सूचना प्रविधिको क्षेत्रमा रिपोर्टिङ्ग गरेका कारण यो क्षेत्रका सबैसँग राम्रो सम्बन्ध भएकोले साथीहरुले शुभेच्छुकका रुपमा ग्रुपमा जोडेका होलान् भनेर पाण्डेलाई प्रष्टीकरण दिएँ ।

ग्रुप बनेको केही दिनपछि छिमेकी कमल ओझाले कल गर्नुभयो । ‘कुलबहादुरजी आउँदै हुनुहुन्छ, सुनिल सर पनि यतै हुनुहुन्छ, टंकजी (टंकलाल श्रेष्ठ) पनि यतै हुनुहुन्छ । लसएन्जलसबाट सोमजी (सोम भट्टराई) पनि आउने निधो भैसकेको छ । सेप्टेम्बर ३० शनिबार साँझलाई समय मिलाइ राख्नुस् है’ उहाँले ग्रुप बनाउनुको रहस्य खोल्नुभयो ।कमल ओझालाई दुई दशक अघिदेखि चिन्दछु । उहाँ नेपाल दूरसञ्चार संस्थान (पछि कम्पनीमा परिणत भएर नेपाल टेलिकम) को युनियनको जुझारु नेता हुनुहुन्थ्यो । मलाई याद भएसम्म हाम्रो चिनजान हुँदा उहाँ युनियनको काठमाडौं क्षेत्रको अध्यक्ष हुनुहुन्थ्यो, कार्यालय चाहि चाबहिल एक्सचेञ्ज । केन्द्रिय अध्यक्षको लागि तयारी गरिरहँदा डिभी पर्यो । डिभीले तानेर यता आइसकेपछि पनि हामीबीच भेटघाट हुँदा टेलिकम, त्यहाँका अधिकृतहरुका कुरा हुन्छन् ।

केही दिनपछि यमुना दिदी (यमुना भट्टराई) ले फोन गर्नुभयो । ‘कुलबहादुर दाईले तपाईलाई पनि नछुटाउन भन्नुभएको छ । सुनिलजी, टंकजीले पनि तपाई पूर्ब कर्मचारी नभएपनि एकदमै नजिक हुनुभएका कारणले जसरी पनि बोलाउन भन्नुभएको छ’ दिदीले पनि आग्रह गर्नुभयो । दिदीले त मेरी जहानलाई समेत लिएर आउन धेरै कर गर्नुभएको थियो । छोराको परिवार भेट्न सियाटल आइपुग्नुभएका कुलबहादुर आचार्यले पनि उतैबाट सम्झिनुभयो ।

गृहजिल्ला नुवाकोटमा आधा दशक पत्रकारिता गरिसकेपछि २०५८ सालमा थप अध्ययनका लागि काठमाडौं छिरेको थिएँ म । त्यही क्रममा जिल्लाबाट पहिलेदेखिनै संवाददाता भएर काम गरिरहेको नेपाल समाचारपत्रमा पूर्णकालिन भएर पत्रकारिता सुरु गरियो । नेपाल समाचारपत्रका तत्कालिन सम्मादक कपिल काफ्लेले २०५९ को असारमा एउटा कार्यक्रमका जान असाइनमेन्ट दिनुभयो । नेपाल दूरसञ्चार संस्थानको बार्षिक उत्सव कार्यक्रम थियो त्यो ।

त्यस कार्यक्रममा गएर आएपछि मलाई के लाग्यो भने दूरसञ्चार क्षेत्र एउटा पठनीय, धेरै मानिसहरुसँग जोडिएको र राम्रो भविष्य भएको रिपोर्टिङ्गको क्षेत्र हुनसक्छ । त्यतिखेर दूरसञ्चारका समाचारहरुमा टेलिफोनको अभाव, टेलिफोन लाइन जोड्न मन्त्रीदेखि लिएर सचिव, दूरसञ्चारका प्रमुखहरु समेत घुसमा मुछिएको, गुणस्तर नभएका, सेवा अवरुद्ध भएका कुराहरुले बढ्ता स्थान लिइरहेको थियो । तत्कालिन श्री ५ को सरकारले छिमेकी मुलुक भारत लगायतका देशहरुको अनुभवबाट सिक्दै दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रलाई खुल्ला गर्ने नीति लिइसकेको थियो । दूरसञ्चारमात्र यस्तो थियो जस्ले बार्षिक अर्बौ रुपैयाँ नाफा गरेर सरकारलाई बढी कर तिर्दै आएको थियो ।

त्यतिखेर दूरसञ्चारको महाप्रवन्धक रघुबरलाल श्रेष्ठ हुनुहुन्थ्यो । बढी टेक्नोक्रयाट, तर खासै नखुल्ले, मिडियासँग नजिक हुन नचाहने स्वभाव थियो । उहाँ पछिका महाप्रवन्धक रत्नकाजी तुलाधर पनि त्यस्तै स्वभावका । यद्यपी सकेसम्म दैनिक दूरसञ्चार कार्यालयमा जाने, अझ बढी चाँही युनियनका अफिसकोठामा पसेर सूचनाहरु लिन थालेँ ।

त्यतिखेर कांग्रेस, एमाले र राप्रपा निकट युनियनहरु मात्र थिए । युनियनका पदाधिकारीहरुसँग दूरसञ्चारमा के भैराखेको छ भन्ने बारेमा धेरै सूचना र संकेतहरु मिल्थ्यो । त्यतिखेर एमाले निकट नेपाल दूरसञ्चार कर्मचारी संघको अध्यक्ष टंकलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

प्लानिङ्ग विभागको प्रमुख त्यतिखेर सुगतरत्न कंसाकार हुनुहुन्थ्यो । त्यतिखेर उहाँ उपमहाप्रवन्धक या त्यस्तै दोस्रो वरियताको उच्च अधिकारी हुनुहुन्थ्यो । असाध्यै सूचना राख्ने, बोल्न टाठो उहाँको स्वभाव । उहाँसँग भेट्न समय लिन निकै गाह्रो । तर समय पाइसकेपछि समाचारका लागि धेरै सूचनाहरु पाइन्थ्यो ।

मोबाइल सुरु भएको डेढ वर्ष जतिमात्र भएको थियो । प्रिपेड त आएकै थिएन । मोबाइल सेवा निर्देशनालय प्रमुख हुनुहुन्थ्यो मदनकाजी शाक्य । पत्रकारसँग असाध्यै तौलिएर बोल्ने, सितिमिती सूचना नझार्ने उहाँको स्वभाव । तर उहाँलाई समाचारमा विश्वास दिलाएपछि, गलत ‘कोट’ मा समाचार नलेखेपछि उहाँले निकै विश्वास गर्न थाल्नुभएको थियो ।

झण्डै ११ वर्षसम्म मैले आर्थिक पत्रकारिता गर्दाकै बीचमा संस्थानबाट कम्पनीमा परिणत भएर नेपाल टेलिकम नामाकरण भयो । नेपालमा दूरसञ्चार क्षेत्रको विकासका लागि बिक्रम सम्वत्को ६० को दशक सबैभन्दा स्वर्णिम काल भन्दा फरक पर्दैन । यही समयमा युटिएलले निजी क्षेत्रबाट सिडिएमए प्रविधिमा फिक्स फोन सुरु गर्यो, नेपाल टेलिकमले जिएसएम प्रिपेड २०६१ सालमा सुरु गर्यो । त्यसपछि स्पाइस नेपाल (मेरो मोबाइल) सुरु भयो । स्पाइस नेपालनै अहिलेको एनसेल हो ।

विश्व बैंकको सहयोगमा ग्रामिण दूरसञ्चार सेवा यही समयमा सुरु भयो । त्यसका लागि अमेरिकी कम्पनी एसटिएम टेलिकमले भिस्याट प्रविधिबाट पूबाञ्चलका ६ सय भन्दा बढी गाउँहरुमा टेलिफोन पुर्यायो । त्यस लगत्तै स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम लगायत धमाधम आए । यसले गर्दा एक लाइन टेलिफोनका लागि बर्षाै कुर्नुपर्ने, यात घुस ख्वाएर जडान गर्नुपर्ने अवस्थाबाट नेपाली जनतालाई मुक्ति दियो । प्रतिस्पर्धाले टेलिकम पनि बलियो र सवल हुँदै गयो । इन्टरनेटको बजारमा समेत नयाँनयाँ प्रविधि टेलिकमले भित्रायो ।

टेलिकमको एमडी भएको समयमा एकपटक सुगतरत्न कंसाकारले भन्नुभएको थियो–‘मोबाइल फोनलाई नेपालको गाउँगाउँमा कार्पेटिङ्ग गरेपछि यो क्षेत्रमा ठूलो फड्को मार्छ ।’ तारवाला टेलिफोन त माग अनुसार दिन नसकेको टेलिकमले मोबाइल फोन कसरी विकट क्षेत्रमा दिनसक्ला ? मेरो मनमा हरदम यही जिज्ञासा हुन्थ्यो । तर सिडिएमए प्रविधि भित्राएर टेलिकमले यसरी आक्रामक रुपमा सेवा विस्तार ग¥यो कि पाँच वर्षको अवधिमा हरेक जिल्लामा मोबाइल टेलिफोन पुग्यो ।

सरकारको हस्तक्षेप नहुने हो भने टेलिकम नेपालमा अझै पनि यो क्षेत्रमा अग्रज कम्पनी रहिरहनेछ । तर पछिल्ला केही वर्ष यता संसारभरि भ्वाइसबाट हुने आम्दानी, इन्टरनेसनल गेटवे हुँदै इन्कमिङ्ग र आउटगोइङ्ग कलमा भइरहेको गिरावटलाई सामना गर्न ठूलै चुनौति छ । किनकी केही वर्ष अघि निकै चर्चामा रहेको थर्ड जेनेरेसन (थ्री–जी) प्रविधि आज पुरै फेसआउट भैसकेको छ । त्यसको ठाउँमा फोर–जी हुँदै फाइभ–जीमा आइसकेको छ ।

शनिबार टेक्ससको अर्भिङ्गमा जम्मा भएका टेलिकमका पूर्ब कर्मचारीहरुले आफुले विगतमा संस्थामा गरेका काम सुन्दा ती क्षमतायुक्तलाई किन संस्थाले राख्न सकेन ? सोम भट्टराईलाई २०६१/६२ ताका जावलाखेलको सूचना प्रविधि विभागमा भेटेर एउटा रिपोर्टिङ्ग गर्दा लाग्थ्यो–उहाँ कुनै दिन संस्था हाँक्ने पोजिसनमा पुग्नुहुन्छ । उहाँलाई संस्थाले टिकाउन सकेन ।

२३ वर्षकै उमेरमा भैरहवा क्षेत्रको निर्देशकको जिम्मेवारी पुरा गर्नुभएका कुमार मैनाली आजका दिनमा अमेरिकाको टेक्ससमा स्थापित मात्र नभएर सामाजीक क्षेत्रमा पनि त्यत्तिकै सकृय हुनुहुन्छ ।

डा. सुनिलकुमार पोखरेल सिभिल तर्फको इन्जिनियर भएर पनि टेलिकमलाई जरैदेखि बुझेको व्यबस्थापन, सूचना प्रविधिको जानकारलाई समेत संस्थाले न चिन्यो, नत क्षमता देखाउने अवसर दियो । नेपाल टेलिकम छाडेर अमेरिका पसेका इन्जिनियरहरु टी मोबाइल, भेराइजन, एटिएण्डटी देखि लिएर नोकियाका निकै सिनियर पदमा कार्यरत छन् ।

टेलिकममा ४० वर्ष बिताउनेदेखि लिएर तीन वर्ष काम गरेकाहरुको पनि संस्थाप्रति उत्तिकै माया थियो । उहाँहरुले परिचयको क्रममा संस्थाको प्रगतिको कामना गर्नुले पनि यो संकेत देखाएको छ ।

नेपाल छाडेको झण्डै १२ वर्षपछि टेलिकमकै कुरा सुन्न पाउँदा व्यक्तिगत रुपमा निकै खुशी लाग्यो । कुनै समय यस्तो थियो–टेलिकमले आयोजना गरेका पत्रकार सम्मेलनमा म अलिकति ढिला भएभने एमडी, डिएमडीदेखि लिएर उच्च पदस्थ अधिकारीहरु खोजी गर्थे । केही बेरका लागि भएपनि पत्रकार सम्मेलन पर सार्थे ।

६० को दशकमा दूरसञ्चार क्षेत्रको विकासमा लागि भएका हरेक गतिविधिमा साक्षी हुने अवसर मिल्यो । पत्रकारका हिसाबले विकासका लागि सकारात्मक समाचार प्रेसित गरेर गरेको सहयोग सम्झिँदा अहिले पनि सन्तोष र गर्वको महसुस हुन्छ । शनिबार ती सन्दर्भहरुलाई पूर्ब कर्मचारीहरुबीच बसेर याद गर्दा एक हिसाबले रमाइलो महसुस भयो ।