अमेरिकामा चुनाव त भैरहन्छ । कहिले सिटीको मेयर, काउन्सिलम्यानको चुनाव हुन्छ त घरिघरि स्कुल डिस्ट्रिक्टको । दुई दुई वर्षमा अमेरिकी संसदको तल्लो सदन हाउस र स्टेटको हाउसको हुन्छ भने हरेक चार वर्षमा राष्ट्रपतिको हुन्छ ।
कतिपय त यस्तो पनि हुन्छ मतदान गर्ने बेलामा बल्ल स्क्रिनमा कुन कुन पदको चुनाव रहेछ भन्ने अवगत हुन्छ । यसपटक राष्ट्रपतिको चुनावी साइकलको वर्ष । हरेक चार वर्षमा हुने राष्ट्रपतिको चुनाव यस वर्ष टेक्ससको म बसेको सिटी काउण्टीमा झण्डै ३५ जनालाई मतदान गर्नुपर्ने अवस्था थियो । चर्चामा भने राष्ट्रपति, सिनेटर, कंग्रेसम्यान, स्टेट हाउसको सदस्यमात्र थिए ।
मतदान गर्न कम्प्युटरमा लगइन गरेपछि थाहा भयो न्यायाधीशदेखि लिएर काउन्टीका अनेकन पदका उम्मेदवार रहेछन् । चिन्दै नचिनेका व्यक्तिलाई भोट हाल्नुको बदला मैले डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई दिएँ । त्यसले गर्दा छिटो पनि भयो । मतदान गर्नका लागि केन्द्रमा प्रवेश गरेपछि बाहिर निस्कँदा बढीमा पाँच मिनेट मात्र लाग्यो होला ।
राष्ट्रपतिको चुनावी वर्ष भएकोले अरु बेला भन्दा यो साइकलमा बढी मत खस्छ । अर्थात धेरैलाई चासो हुने पदको चुनाव भएकोले भोट हाल्न इच्छुक धेरै हुन्छन् ।
अमेरिकी संसदको तल्लो सदन हाउस र स्टेटको तल्लो सदनको चुनाव अमेरिकामा निकै छिटोछिटो हुन्छ । हाउसका सदस्यहरुको पदावधि दुई वर्षको मात्र हुन्छ । स्टेट हाउसका सदस्यहरुको पदावधि अमेरिकाका ५० वटै राज्यमा फरक फरक हुन्छन् । तर अधिकांशमा भने दुई वर्षमात्र हुन्छ । यसले गर्दा दुई वर्ष वितेको पत्तै हुँदैन ।
चाँडाचाँडो चुनाव हुँदा उम्मेदवारहरुलाई भने तनावको अवस्था हुन्छ । अमेरिकामा चुनाव निकै खर्चिलो हुन्छ । यद्यपी उम्मेदवारहरुले चुनावको लागि भनेर जनता, पार्टी निकटहरुसँग चन्दा लिने परम्परा छ । एक पटक चन्दा दिएपछि त्यो नम्बर उनीहरुको रेकर्डमा रहन्छ । जसले गर्दा चुनावी खर्चका लागि चन्दा माग गर्दै दिनहुँ दर्जनौ टेक्स्ट मेसेजको ओइरो लाग्छ ।
उम्मेदवारहरु घरघर गएर चुनाव प्रचार प्रसार गर्नु, मत माग्नु संभव नहुने भएकोले पछिल्लो समयमा सामाजीक सञ्जालमा डलर तिरेर स्पोन्सर गर्ने, युटूब र स्थानीय टेलिभिजन च्यानलमा विज्ञापन गर्ने चलन बढेको छ । त्यस्तै पर्चा पम्पलेटको सट्टामा यार्ड साइन, चोकहरुमा फ्लेक्स राख्ने गरिन्छ ।
आपूmले मत दिने उम्मेदवारको यार्ड साइन घरको अघिल्तिर राख्ने चलन छ । त्यही साइन हेरेर कस्ले कस्लाई भोट दिने रहेछन् भन्ने पत्ता लगाउन सकिन्छ । तर अधिकांंशले भने यस्तो यार्ड साइन राख्नेतिर चासो राख्दैनन् ।
नेपालको चुनावी प्रकृयामा सहभागी भएर/देखेर आएकालाई अमेरिकामा अनौठो जस्तो लाग्ने केही तथ्यहरु यहाँ उल्लेख गर्दैछु ।
– नेपाल लगायत बेलायती मोडलको संसदीय प्रणाली भएका देशहरुमा संसदको सभामुखलाई निष्पक्ष पदका रुपमा स्विकार गरिन्छ । दलबाट निर्वाचित भएपनि सभामुख भएपछि संसदीय गतिविधिमा निष्पक्षता होस् भनेर पार्टीको पद र गतिविधिबाट सभामुख अलग हुने परम्परा छ ।
तर अमेरिकामा भने सभामुख खुल्ला रुपमा पार्टीका उम्मेदवारलाई जिताउन लागेको देखिन्छ । जस्तै वर्तमान सभामुख माइक जोन्सन, डोनाल्ड ट्रम्पलाई जिताउनका लागि ठाउँठाउँमा भाषण गर्दै हिँडेका थिए । सामाजीक सञ्जालमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार भएकी कमला ह्यारिसको विरुद्ध गाली, अशिष्टतायुक्त शव्द प्रयोग गरेको धेरै देखियो । यो दृश्य र गतिविधि असहज मात्र नभै निष्पक्षतामा प्रश्न खडा गर्ने सन्दर्भ पनि हो भन्ने लाग्छ ।
– अमेरिकामा अर्को असाध्यै असहज लाग्ने दृश्य भनेको दुई दलका उम्मेदवारबीच असाध्यै कटुतापुर्ण सम्बन्ध हो । एउटै पदमा खडा भएका दुई वा बढी उम्मेदवारबीच नीति, कार्यक्रम भन्दा पनि व्यक्तिगत गाली, आरोप प्रत्यारोप असाध्यै तल्लो स्तरमा उत्रिएर गरेको भेटिन्छ ।
नेपालका नेताहरूमा जतिसुकै प्रतिस्पर्धा भएपनि भेट हुँदा हार्दिकता, बैठकमा सहभागिता हुने गरेकाे देखिन्छ । तर अमेरिकामा यो पटक्कै देखिदैन । असाध्यै कटुतापुर्ण सम्बन्ध देखिन्छ अमेरिकामा ।
राष्ट्रपतिका उम्मेदवारहरुबीच कतिपय अवस्थामा सामान्य हार्दिकता पनि भेटिन छाडेको छ । विशेषगरि सन् २०१६ देखि जब डोनाल्ड ट्रम्प रिपब्लिक उम्मेदवार भएर प्रवेश गरे विपक्षी उम्मेदवारसँग ह्याण्डसेक गरेको दृश्य समेत विरलै देखिन्छ । पछिल्लो पटक गत सेप्टेम्बर १० मा भएको टेलिभिजन वहशमा कमला ह्यारिस आफैं अगाडी सरेर ट्रम्पसँग हात मिलाएकी थिइन् ।
त्यस अघि जुनमा जो बाइडेन र ट्रम्पबीचको वहशमा हात मिलाउनु त परको कुरा एकले अर्कालाई कटुतापुर्ण शव्दनै प्रयोग गरेका थिए ।
सिनेटर, कंग्रेसम्यानको चुनावमा पनि त्यस्तै देखिन्छ ।
– आफ्नो चुनावी प्रचारका क्रममा मलाई भोट दिनुस् । म यो यो काम गरेर देखाउँछु भन्ने भन्दा पनि विशेषगरि टिभी विज्ञापन, बिलबोर्डमा विपक्षी उम्मेदवारलाई गाली गर्नमा खर्च गरेको देखिन्छ ।
– अमेरिकामा रेडस्टेट भनिने रिपब्लिकन वाहुल्य र ब्लु स्टेट भनिने डेमोक्रेटिक पार्टीको वाहुल्यता रहेको राज्यहरुबीच निकै ध्रुवीकरण देखिन्छ । एकले अर्काका नीतिलाई लिएर उछितो काढ्ने, खिस्याउने प्रवृत्ति असाध्यै मौलाएको छ । टेक्ससले क्यालिफोर्निया, क्यालिफोर्नियाले टेक्सस, फ्लोरिडाले न्यूयोर्क, न्यूयोर्कले फ्लोरिडालाई खिस्याउने र सम्बन्ध समेत राम्रो नभएको संकेत देखाउँदै आएको छ ।
टेक्सस र न्यूयोर्कका बीचमा पनि निकै चिसो सम्बन्ध छ । दक्षिणी सिमानाबाट प्रवेश गरेका आप्रवासीहरुलाई टेक्सस गभर्नरले बस चढाएर न्यूयोर्कमा पठाएपछि सम्बन्ध राम्रो छैन । यो विरुद्ध न्यूयोर्क सिटीले टेक्सस विरुद्ध मुद्धा पनि हालेको थियो । तर अदालतले आप्रवासीहरु अमेरिकाका ५० वटै राज्यमा जहाँ मन लाग्छ त्यही जान पाउने अधिकार रहेको फैसला गरेको छ ।
– नेपालमा जस्तो चुनावको दुई महिना अघिदेखि लावा लस्कर लागेर आमसभा, भोट माग्ने घरदैलो अभियान अमेरिकामा संभव हुँदैन । केही स्वयमसेवकका साथमा उम्मेदवारहरु घरदैलो त गर्छन्, तर सबै ठाउँमा संभव हुँदैन । आफ्नो पर्चालाई उम्मेदवारहरुले हुलाक मार्फत आफ्नो निर्वाचन क्षेत्रका घरघरमा पुर्याउने गर्छन् ।
नेपालमा चुनावको दिन सार्वजनिक बिदा नै हुन्छ । सरकारी कार्यालयहरु एक साता अघिदेखि ठप्प हुन्छन् । किनकी कर्मचारीहरु चुनावमा खटिने कारणले कार्यालयको काम हुँदैन । तर अमेरिकामा ठाउँ हेरेर, राज्य अनुसार दुई हप्ता पहिलेदेखिनै चुनावको मतदान हुन्छ । मानिसहरु आफूलाई पायक पर्ने ठाउँमा गएर भोट दिन पाउँछन् । तर यति सुविधा हुँदा पनि मतदान हुने प्रतिशत निकै कम देखिन्छ ।
प्रतिक्रिया