मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

काठमाण्डौंको अव्यवस्थित ट्राफिक : मेरो ड्राइभिङ्ग अनुभव

काठमाण्डौंको अव्यवस्थित ट्राफिक : मेरो ड्राइभिङ्ग अनुभव


अमेरिकाबाट फर्किदा सबैकुरा एडजस्ट गर्न सकिए पनि गाडी चलाउन सकुँला भनेर मैले अनुमान गरेकी थिइन ।

साँघुरो बाटो , सवारी साधनको चाप र ट्राफिक नियमको वेवास्ता । यी तीन कारण नै काफी थिए गाडी नकुदाउनलाई । झन जताबाट पनि छिराइदिने मोटरसाइकका हँकाइ देखेर जीउ नै सिरिङ्ग हुन्थ्यो ।

बाइसवर्ष अगाडि उपत्यकाका यी बाटोहरुमा सररर स्ट्रीट हिरो होण्डा कुदाएको स्मरणमा ताजै छ । बाटोहरु ठिकै भएपनि सवारी साधन कम थिए त्योबेला । त्यसैले ती बाटोहरु अहिले सम्झनामा ठूला फराकिला र खाली बाटोको रूपमा आउँछन् ।

बाइस वर्ष बाहिर बसाइको ग्यापपछि अहिले काठमाडौं उपत्यकामा हेर्दा लाग्छ सवारी साधनहरुको त बाढी नै आएको छ । उ बेला ट्राफिक जाम नै हुंँदैनथे , भए पनि निकै कम । गाडी नै कम थिए , ट्राफिक जाममा पर्ने भन्ने त कुरै भएन ।

महिला सवारीचालक पनि निकै कम हुन्थे त्यतिबेला । महिलाले बाइक र गाडी कुदाएर काम काजमा हिड्दा गौरवकै कुरा हुन्थ्यो । सबैले नियालेर हेर्ने ! अहिले त मान्छेपिछे बाइक हुने रहेछ, के महिला के पुरुष ! आजकल सडकमा महिला गाडी चालकहरु पनि प्रसस्तै भेटिन्छन् , देखिन्छन् ।

उपत्यकाका सडकले थेग्न नसक्ने भैसकेका छन् गाडीहरु । ट्राफिक नियम त छ तर यथेष्ट छैन । कडा नियम छैन । नियम भएपनि नियम अनुसार सबै सवारी चालकहरु चल्दैनन् । अझ प्राय मोटरसाइकल चालकहरुले त थोरै ग्याप भेट्यो भने दायाँबायाँ , अगाडिपछाडि जताबाट पनि गाडी छिराउँदा रहेछन् ।

बढी दुर्घटना निम्त्याउने सवारी साधनको रूपमा पनि बाइक नै रहेछ ।

ठूला सवारी साधन बस , मिनी र माइक्रो बसहरु यसरी घुइक्याउँछ्न लाग्छ बाटो उनीहरुको मात्र हो । साना गाडीलाई त पेलेरै गुड्ने । कोही पछाडि त हुनै नमान्ने , पेलौं र अघि बढौं भन्ने मात्र हुँदो रहेछ ।

कुनै गाडी मोड्दैछ , दायाँ र बायाँतर्फ लाग्दैछ , अप्ठ्यारोमा छ भने उसलाई पहिले जान दिउँ भन्ने सोच धेरै कम चालकमा देखें ।

लेन अलिकति खाली भेट्यो कि गलत लेनबाट जथाभावी गाडी हुंँइक्याउनेले सातो नै लिन्छन् । ठोक्किनबाट जोगिने र बालबाल बचिने त कति हो कति !
हे भगवान , धन्यवाद भगवान भन्दै गाडी कुदाउनु पर्छ । मुखबाट गाली निकाल्न , बेस्करी हर्न बजाउन बाध्य बनाउने मात्र होइन ठूला दुर्घटना निम्त्याउने यस्तै रफ चालकहरु हुन् ।

जताबाट पनि मोटरबाइकहरुले ओभरटेक गर्ने हुँदा यहाँ गाडी चलाउँदा अत्यन्त चनाखो हुनुपर्छ । शरीरका सबै इन्द्रियहरु खुला राख्दै सडकमा ध्यान केन्द्रित गर्नुपर्छ ।

अमेरिका , युरोप अष्ट्रेलियाबाट नेपाल घुम्न आउने केही साथीहरु भन्छन् – ” गाडी चलाउनु नेपालमा फलामको चिउरा चपाए जस्तै लाग्छ। ”

सायद अमेरिकामा लामो समयसम्म गाडी चलाएकोले पनि मलाई यता असहज लागेको हो । उता ठूलाठूला पक्की पिच बाटोहरु र कडा ट्राफिक नियमले गर्दा गाडी चलाउन सहज हुन्छ ।

ट्राफिकको आँखा छलौं र नियम मिचौं भन्ने हुँदैन । प्रायस सबैतिर क्यामरा हुन्छ त्यता । नियम उलंघन भयो कि त जरिवाना तिर्नुपर्छ , कि त अदालत जान तयार हुनुपर्छ ।

हुन त २२ वर्ष पहिले काठमाडौँ उपत्यकाको सडकमा करिब ६/७ वर्ष मोटरबाइक चलाएको अनुभव सम्झनलायक थियो । त्यतिबेला अहिले जस्तो सवारी चलाउन कठिन थिएन । अहिले साँच्चै नै कठिन लाग्छ । सकेसम्म चलाउन नपरे हुन्थ्यो भन्ने लाग्छ ।

बिस्तारै दुइचार वर्षमा यहीँको नियम र चलनहरुमा सायद अभ्यस्त भइन्छ होला , बानी पर्दै जाला ।

सुरुदेखि यहीँ गाडी चलाउनेहरुलाई गाह्रो नलागेको हुन सक्छ तर उता बानी परेकालाई यता भने केही समय कठिन लाग्दो रहेछ ।

गाडी चलाउन सहयोग गर्ने सवारी चालक हाएर गरे पनि आपद विपदमा वा चौबीसै घण्टा तैनाथ नहुने हुँदा आफूले चलाउदिन भनेर सुख नपाइदो रहेछ ।

एक वर्ष पहिले उपत्यकाका रिङ्गरोड र भित्री मुख्य सडकहरुमा ड्राइभर छेउमा राखेर दुई राउन्ड लगाएपछि मात्र अब काठमाडौंको सडकमा आफै चलाउन सक्छु भन्ने आँट पलाएको थियो । अमेरिका जानु अघि यहाँका रोडमा भएको ड्राइभिङ अनुभवले पनि मेरो विश्वासलाइ बढाएको हो ।

खासमा उठाउन खोजेको कुरा ड्राइभिङ गर्न सक्नु , नसक्नु भन्दा पनि ड्राइभिङ्ग चेत हुनु र नहुनुको हो । अत्यन्त गम्भीर कुरा के हो भने उपत्यकाका अधिकांश सवारी चालकहरुमा सचेतता छँदै छैन , पटक्कै छैन ।

जसरी पनि पेलौं र उछिनौं भन्ने नीति जुन सवारी चालकमा छ , त्यो अत्यन्त घातक छ ।

व्यस्त बाटोमा ट्राफिक प्रहरीलाई छेको पारी , आँखा छलेर र जबर्जस्ति नियम मिच्ने बाइकहरु छ्याप छ्याप्ती छ्न् ।

एकतर्फी जाने लेन जाम छ र आउने लेन खाली देखेभने गलत रूपमा त्यही लेनबाट घुसाएर झन बिकराल ट्राफिक समस्या खडा गरिदिने गर्दा रहेछन् । एकचोटी लगनखेलबाट सातदोबाटो निस्कदा यस्तै समस्याले गर्दा दुइ मिनेटको बाटोमा एक घण्टा जाम परिएको थियो । कतिलाई समात्नु , कतिलाई कार्वाही गर्नु ! ट्राफिक प्रहरीलाई नै सम्हाल्न मुश्किल परेको थियो ।

जथाभावी बाटो काट्ने पैदल यात्रुले गर्दा सडकहरु झन गन्जागोल देखिएको छ । सवारी चालकलाई घ्याच्च घ्याच्च गाडी रोक्दा ब्यालेन्स बिग्रीएर दुर्घटना हुन्छ । यस्ता गम्भीर विषयहरु नजर अन्दाज गरिएको छ । किन सवारी नियमहरु बलियो नभएका हुन् ? किन कार्वाहीका पक्षहरु फितलो भएका हुन् ?

मुख्य सडकहरु अति व्यस्त हुँदा पनि ट्राफिक र ट्राफिक लाइट छ भने गाडी हाँक्दा ढुक्क लाग्छ । तर शनिबार वा अरु विदा र ट्राफिक प्रहरी नभएको बेला भने हम्मेहम्मे पर्छ , किनकि नियम मिच्ने चालकहरुले रोडमा रजाइँ गर्छन् । गाडी लिएर निस्किएपछि घर नपुग्दा सम्म ज्यान जोखिममा हुन्छ , दिमाग भारी भैरहन्छ ।

मुख्य सडकहरु बाहेकका भित्री सडकहरु अत्यन्त साँघुरो , पार्किङको अभाव , विना सूचना बाटो निर्माण भइरहनु मोटर ,कार सवारी चालकको लागि टड्कारो समस्याको रूपमा देखिएको छ ।

देशको व्यवस्था र सडकको व्यवस्था तुलना गर्ने हो भने दुबै लथालिङ्ग छ्न् । दुःखका साथ भन्नुपर्छ यदि राज्य व्यवस्था सप्रेको भए सबै कुरा सप्रिन्थ्यो । बाटोहरु नबनाइएका होइनन् । पहिले भन्दा फराकिलो र सुकिला बाटोहरु पनि छ्न् तर धेरै कम छ्न् । जता हेर्यो भत्केको र बिग्रेको बाटो छ । गत वर्ष पीच गरेका कतिपय चिल्ला बाटोहरु यसपाली मेलम्ची र खाने पानीको निउमा खनेर कुरुप बनाइएको छ । पानी पर्ने र हिलो हुने असार महिनामा उदेक लाग्नेगरी सडक निर्माणका कार्यहरु भैरहेको हुन्छ । बिपी राजमार्ग , पृथ्वी राजमार्ग र नारायणगढदेखि बुटवल सम्मको पूर्व पश्चिम राजमार्ग कहिले बन्छ कुनै पत्तो छैन । उपत्यकाकै रिङ्गरोडहरु पनि अस्तव्यस्त छन् ।

संसारभर नेपालीहरुको गुणगानको चर्चा देखेकी र सुनेकी छु । मर्दापर्दा सहयोग गर्ने भावना भरपुर छ । बाटोमा कतै दुर्घटना हुँदा जुटेर सहयोग गर्ने हामी नेपाली सवारी चलाउँदा किन अटेरी भएको होला ? किन धैर्य र संयम नभइ दिएको होला ?

सानो गल्तीले आफ्नो र अरुको ज्यान जान सक्छ , किन हेक्का नराखेको होला ?

” ढिलो गए अवश्य पुगिन्छ , छिटो गए भन्न सकिन्न ” भन्ने नारालाई प्रत्येक चालकले मनन गरेको खोइ ? राज्यले गर्न सकेन भनेर हामी नागरिकले नियमको खिल्ली उडाउनु जायज हो ? सक्ने ठाउँमा हामी आफैले गर्नु पर्दैन ? हामी सचेत हुनु पर्दैन ?

देशको अर्थिक विकासको मेरुदण्ड भनेकै बाटोघाटोको चौतर्फी विकास हो । विकसित देशहरु यूरोप , अमेरिकाको सडक हेर्दा दङ्ग परिन्छ !
मैले नेपालसँग दाँज्न खोजेको होइन । टेक्सास राज्यको म बसेको ह्युस्टन शहरको फ्लाईओभरहरु हेर्दा , त्यहाँ गाडी कुदाएको अनुभवलाई सम्झदा व्यवस्थित भनेको त त्यस्तो पो हो भन्ने मनमा आउँदो रहेछ ।

अबस्था औंल्याएकी हुँ । बिकराल समस्यालाई मात्र औंल्याएर हुँदैन , हाम्रै सचेतनाले त्यसको न्यूनीकरण गर्न सकिन्छ भने सामेल हुनुपर्छ । , राज्यलाई सहयोग गरौं । राज्यले पनि बलियो नियम , कानून कार्यान्वयन र सचेतना तालीमहरु प्रदान गरोस् ।

देश सुन्दर बनोस् , काठमाडौं सभ्य बनोस् भन्ने प्रत्येक नेपालीको कामना र चाहना यही होइन र ? तर लाग्छ – काठमाण्डौंको ट्राफिक व्यवस्थापन कहिल्यै सुध्रिदैन !

तस्बिर: सामाजिक संजाल

शेयर गर्नुहोस:

3.1k
Shares