मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बीर अर्थात बिरालोसँग गाँसिएको आत्मियता

बीर अर्थात बिरालोसँग गाँसिएको आत्मियता

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भनिन्छ बिरालो मानिसको नजिक बस्न थालेको १० हजार बर्ष नाघ्यो । तर हाम्रो घरमा चाहि बिरालो कहिलेदेखि पाल्न थालियो भनेर मेरो स्मृतिमा पातलो सम्झना मात्र छ । नुवाकोटको पिपल्टारमा काचो इँट्टाको तीन तल्ले घर । सिरानको बुइगलमा धान, मकै, गेडागुडी थन्काइएको हुन्थ्यो । बीचको तल्ला र मटानमा सुत्ने बेड थियो । तल्लो तल्लामा भने भान्छा । पहाडीभेगका अधिकांशको बसाइ यस्तै घरमा हुन्थ्यो त्यतिखेर । भुकम्पको प्रहारपछि अहिले पक्की, सिमेन्ट र पाको इट्टाका घर बनेका छन् । त्यहि भएर कहिलेकाँही लाग्छ बन्नका लागि ठूलै ध्वँश हुन पो पर्ने रहेछ ।

भदौको आधाआधी बितेपछि मकै पाक्थ्यो बारीमा । त्यसलाई घोगा सहित भाँचेर बुइगलमा थन्काउने चलन थियो । अनि मंसिर लागेपछि त्यही बुइँगलमा बाँस र बेतको चोयाबाट बनेको भकारीमा राख्ने चलन थियो । ‘मंसिरमा मुसाले १० वटी स्वास्नी (मुसी) ल्याउँछ र पुस माघ लागेपछि जब बसिबसी खाने बेला हुन्छ त्यतिखेर निकाल्छ’ भन्नुहुन्थ्यो हजुरआमा । उहाँले पनि यो उहाँका आमा, हजुरआमाबाट सुन्दै आउनुभएको । प्रमाणित सत्य नभएपनि उहाँले हामीलाई त्यो कुरा ट्रान्सफर गर्नुभयो ।

तिनै मुसालाई तह लगाउनका निम्ति बिरालो अत्यावश्यक थियो । डेढ दशक अघि तालिमका लागि चीन जाँदा चिनिया प्रशिक्षकहरुले देङ्ग स्याओपिङ्ग भनाई भन्दै बारम्बार दोहोर्याउँथे -‘बिरालो कालो होस् कि सेतो होस् मुसा समात्ने हुनुपर्छ ।’ उनीहरुले चिनिया अर्थतन्त्रलाई उदारवादमा प्रवेश गराएर अमेरिकी, युरोपिएन, जापानी लगानीलाई खुल्ला गरेको श्रेय देंग स्याओ पिङ्गलाइ दिन्छन् । चीन विकासमा अघि बढ्नुको कारण उनकै नीति भएको स्विकार गर्छन् । त्यही भएर कालो वा सेतो बिरालोको सन्दर्भ उल्लेख गर्न छुटाउँदैनन् ।

हाम्रो घरमा चाँही ठूलो होस् या सानो बिरालोको गन्ध मात्र पाए भनेपनि मुसाको चाइँचुईँ हुन्थेन । नत्र भने चोटा, कोठा, बुइगल, मटानमा मुसाको नाच र आतंकले घरमा बसिसाध्य, सुतिसाध्य कहाँ हुनु ? बिरालोको गन्ध नआउने हो भने गुटुटुटु…. मुसा दौडिएर घरमा उनीहरुको शासन चल्थ्यो । तर बिरालोको गन्ध थाहा पाउनासाथ मुुसाहरु कहाँ पुग्थे कुन्नि चाँ..चुँ.. केही सुनिदैनथ्यो ।

‘बिरालोलाई पेटभरि खान दिने हैन नि । नत्र त मुसा समात्दैन । भोक लागेपछि मात्र जाँगर चलाएर मुसा समात्छ’ हजुरआमा बेलाबेलामा भन्नुहुन्थ्यो । तर हामी भात खान बस्दा दुधभात दिन्थ्यौ बिरालोलाई । भोकाएपछि त बिरालोले चोर्ने हो नि भन्ने सोचेर टन्न दुधभात दिनेगर्थ्याैँ । दाल तरकारीसँग बिरालोले भात त खान्थ्यो । तर मन पराएको मलाई जानकारी छैन । दाल तरकारीसँग भन्दा बरु सुक्खा भात नै खान्थ्यो बिरालोले ।

कुनै कुनै मात्र हो, नभए अधिकांश बिरालोले भोकाएपछि अगेनामा बसालेको दुधको कुँडेमै मुख चोपेर खाइदिन्थ्यो। त्यसरी लामो हात गरेर दुध खाने बिरालोेले चाँही टोलभरिनै ‘चोर बिरालो’ को परिचय पाउँथ्यो । वरिपरीका हरेक घरमा पुग्दा त्यस्तो बिरालोलाई सबैले दबेट्थे, लखेट्थे ।

बिरालो मात्र यस्तो घरपालुवा जनावर हो जसलाई भान्छा, चुलोचौका, चोटा कोठामा बस्न कुनै रोकतोक हुँदैन । कुकुर बिचरो अछुत जस्तै हुन्थ्यो । जो ढोकाको सँघारबाट भित्र छिर्न नपाउने । दहिलो रुँगेर बस्थ्यो कुकुर । बाख्राका पाठा मझेरी भन्दा माथि टेक्न नपाउने । तर बिरालो भने चुल्हो, चौकामा मान्छेसँगै बसेर भात खाउन पाउने भाग्यमानी जन्तु हो । जाडो समयका अधिकांश समय त बिरालो चुल्होमा खाना पकाउन बालेको आगो तापेर बस्थ्यो । आगो नबलेपनि खरानीको तातोमा भनेपनि बस्ने ।

बुइगलमा उक्लिएको बिरालोले १५ मिनेटदेखि आधा घण्टामा सानो होस् या ठूलो एउटा मुसा समातेर चिँ..चिँ.. पार्दै तल ल्याउँथ्यो । अनि पिँढी, आँगनमा खेलाउँदा खेलाउँदै मार्थ्यो । म चाँही मुसालाई तड्पाई तड्पाई मारेको दृश्य हेर्न नसकेर बिरालोलाई लखेट्थे । कतै कुना वा झाडीतिर लगेर खान्थ्यो अनि एकैछिनमा रगत लतपतिएको मुख लिएर बिरालो फर्किन्थ्यो ।

घामको पार बिरालोलाई साह्रै मन पर्ने । भैँसीको गोठ माथि वा घरको छानामाथि घाम तापेर दिनभरि सुत्नसक्ने जीव हो बिरालो । आफ्नै जिब्रोले जिउ चाट्दै घुरेर सुत्थ्यो । एक हिसाबले बिरालो साह्रै रमाइलो जीव हो ।

एकपटक बिहान ९ बजेतिर स्कुल जाँदैथिएँ । घरभन्दा आधा किलोमिटर माथि चोकमा पुग्ने ठाउँमा एकजना अधवैंशे सडकको कुनामा केही चिजमाथि ढुङ्गा बर्षाउँदैथिए । हातमा जे आउँछ त्यसैले कुनामा भएको चिजलाई हान्दैथिए । नजिकै पुगेपछि मैले देखेँ उनले एउटा बिरालोलाई कुट्दै रहेछन् । लठ्ठी, ढुंगाको प्रहारले बिरालो अशक्त भएर लडेको थियो । ती मान्छेको रिस असाध्यै आक्रामक र क्रुर थियो । त्यो दृश्य हेर्न सकिन मैले ।

‘किन कुट्नुभएको ठूलोबा यो बिरालोलाई ?’ मैले नम्र भएर सोधेँ । बा को आफ्नै दाई भने होइनन् ती बिरालो कुट्ने मानिस । टोलकै मानिस भएको र बाले दाई भनेर संवोधन गर्ने हुँदा मैले ठूलो बा भनेर संवोधन गर्थे तिनलाई । नम्र नभएदेखि मलाईनै कुट्लान भन्ने डर थियो मलाई । तिनको रिस मैले देखेको थिएँ ।

‘यो बीर छौंडाले हाम्रो घरका मानिसलाई बिरामी पार्यो । दुध चोरेर हैरान पारिसक्यो । यसलाई म आज नमारि छाड्दिन’ उनी यसो भन्दै निरन्तर बिरालोलाइ कुटिरहेका थिए ।

गाउँघरतिर बिरालोलाई छौँडा, बोक्सीका दूत, बीरका रुपमा लिन्थे । उनी पनि बिरालोलाई छौँडा, बोक्सीको दूत भन्दै आफ्नो घरमा मान्छे बिरामी पर्नुको दोष त्यो कमजोर जीवमाथि थोपर्दैथिए । अशक्त बिरालो माथि निरन्तर जाइ लागिरहे । उनी अफिस जान निस्किएका थिए, म स्कुल जान ।

त्यही बेला मोटरसाइकलमा केही मानिस आइपुगे । मोटरसाइकल देखेपछि लाजले उनी भुतभुताउँदै आफ्नो बाटो लागे । बिरालो मर्नु न बाँच्नुको अवस्थामा सडकको कुनामा लडिरहेको थियो । बिरालो मुख आँ.. गरेर पानी मागिरहेको थियो । म निरुपाय बिरालोलाई हेरिरहेँ । बिरालोलाई दिने पानी पनि थिएन मसँग ।

स्कुलमा दिनभरि मेरो दिमाग त्यही बिरालोमा केन्द्रित भैरहयो ।
कस्तो पापी होलान् ती मान्छे ।
‘बिचरा चोरेकै भएपनि बिरालोले धनमाल त चोरेन नि । जाबो दुध त चोरेको होला नि ।’
‘त्यो बिरालोले कसरी तिनका घरमा मान्छेलाई बिरामी पार्न सक्छ ?’
‘धर्मतुमी पल्टिएर निधारमा ठाडोटीका लगाउने अनि बिहान भर शंख र घण्ट बजाएर कुन भगवानलाई तिनले पूजेका होलान् ?’

यस्तायस्ता र अनगिन्ती प्रश्नहरु मेरा दिमागमा घुमिरहे । स्कुलमा सरले पढाएको कुरा भन्दा त्यही कुराले मेरो दिमागमा अड्डा जमाइरह्यो । रिस उठ्यो । तर म पनि त कमजोर थिएँ । उनीसँग वदला लिनसक्ने क्षमता मेरो कहाँ थियो र ?
साँझ चार बजे स्कुल छुटेपछि सरासर त्यही बिरालो कुटिएको ठाउँमा आएर रोकिए । बिरालो त्यहीँ रहेछ । अशक्त रुपमा लडिरहेको थियो । मुखभरि र्याल थियो । झिंगा र भुसुनाले घेरेका थिए । यसो छुन खोजेको फेरि कुट्न आयो भन्ठान्यो कि के हो बिरालो आक्रामक भयो । डर लाग्यो ।

दौडीदौडी घर आइपुगे । बिरालोको सबै बेलीविस्तार हजुरआमालाई लगाएँ । उहाँ प्रणामी धर्म मान्नुहुन्थ्यो । हत्या, हिंशा, कसैमाथि कुटपिट मन नपराउने स्वभाव थियो हजुरआमाको ।

जुटको एउटा थोत्रो बोरा हातमा लिएर हजुरआमा अघिअघि लाग्नुभयो, म पछिपछि लागेँ । सानो गिलासमा मोही पनि बोक्नुभएको थियो उहाँले । बिरालो अझै त्यहीँ अचेत अवस्थामा थियो । हजुरआमाले मोहीको धारो बिरालोको मुखमा पार्नुभयो । जिब्रो चलाउँदै स्वाद लियो । अनि चलमलायो । उहाँले बिरालो कुट्नेको स्वभावलाई गाली गर्नुभयो । नामै लिएर त्यसका बुद्धि भन्दै भुतभुताउनुभयो ।

उहाँले बोरालाई गुटुमुटु पारेर बिरालोलाई समात्नुभयो । कुटाईबाट आतंकित बिरालो तर्सियो । अनि बलियोसँग समातेर काखीमा बोक्नुभयो । पिँढीमा ल्याएर राख्यौ हामीले बिरालोलाई । एक हप्तासम्म स्याँहार, सुसार गरेपछि अलिक तंग्रीयो । तर पुर्ण रुपमा निको भएको थिएन । कुटाईले शायद मेरुदण्ड भाँच्चिएको थियो । टाउकोमात्र उठाएर अगाडीका दुई खुट्टाका बलले शरिर घिसारेर हिँड्थ्यो ।

एक दिन बिहान उठेर हेर्दा बिरालो देखिएन । कहाँ गयो होला ? त्यही कुट्नेले त थाहा पाएर त लगेको होइन ? वल्लोघर, पल्लोघर सबैतिर खोज्यौँ, तर फेला परेन । कमसेकम बिरालोलाई बँचाएर एउटा प्राणीको उपकार गर्न सकेकोमा सन्तुष्ट भएको मन बिरालो हराएकोमा चिन्ता लागिरह्यो ।

हराएको तीन दिनपछि जहाँनिर बिरालो कुटिएको थियो त्यसको नजिकै मृत अवस्थामा फेलापर्यो । कस्ले मार्यो केही पत्तो भएन । लामो समयसम्म बिरालो कुट्ने प्रति मनमा घृणा, आक्रोश जागिरह्यो । तिनले घरमा बजाएको शंख र घण्टीको आवाज सुन्दानै घीन लाग्न सुरु भयो ।

अब अर्को बिरालोको प्रसंग । हाम्रो घरमा गोरु पालिएको थियो । असारमा रोपाइका लागि गोरु गाउँकै मान्छेलाई दिनका लागि जाने क्रममा एउटा सानो छाउरो बिरालोलाई गाउँका भुराहरुले घिसार्दै, लतार्दै गरेको आमाले देख्नुभएछ । ती बच्चाहरुलाई गाली गरेर आमाले बिरालो घर लिएर आउनुभयो ।

बिरालो ल्याउँदा घरमा दुहुनो गाईभैँसी थिएन । साह्रै सानो भएकोले छिमेकीको घरमा गएर त्यही छाउराका लागि एक गिलास दुध मागेर ल्याउँथ्यौै हामी । बिरालो घरमा ल्याएको अर्को महिना बाले थानकोट गएर मुर्रा भैंसी ल्याउनुभयो । दिनको एक गिलास दुध र भातले बिरालो हलक्कै बढिहाल्यो ।

बिरालो साह्रै ज्ञानी थियो । जसरी खेलाउँदा, चलाउँदा पनि चुपचाप सहन्थ्यो । मेरो कान्छो भाई देवचन्द्र पाँच वर्षको मात्र थियो । उसले पिर्कामा चढाएर मोटर जसरी कुदाउँदा पनि बिरालो डेग नचली बस्थ्यो ।

हामी स्कुलबाट फर्किएर आएपछि काँधमा चढेर घुर्दै म्याउम्याउ र मुउमुउ गर्थ्यो । हामी उसको भाषा अनुमान लगाउँथ्यौ ‘यतिका दिनभरि कहाँ हराइस् ? कहाँ गएको भनेर सोधेको होला’ यसले ।

यो बिरालोले मुसा पनि समात्थ्यो । तर मुसा भन्दा धेरै चाहि चरा मारेर हैरान । वरिवरी कुनै चरा देख्नै नहुने । चरा देख्नासाथ दुम्किएर बस्ने र रुखमा होस् कि भुईमा लुक्दै गएर समातिहाल्ने । समात्दा समात्दै हामीले भेटिहाल्यौं भने बिरालोको पञ्जाबाट चरालाई मुक्त बनाउने प्रयास गथ्र्यौ । चराको मासु खाने भन्दा पनि मारेर मात्र छाड्ने स्वभाव थियो यो बिरालोको । घर वरिपरी अाउने ढुकुर, सारउ, चिबे, काग मारेर हैरान । एक पटक त सुगा पनि समातेर ल्यायो । हामीले देख्दा सुगा मरिसकेको थियो ।

बालाई यो बिरालोले साह्रै पछ्याउने । बा जहाँ बस्नुहुन्थ्यो बिरालो त्यही पुगेर उहाँको काखमा बस्ने । बाको काख पाएसम्म त्यही बस्ने, अन्त बस्न मनै नगर्ने । बाले पनि मायाँ गरेर ‘ओई छौडा, ओई बीर’ भनेर बोलाउनासाथ वल्लोघर, पल्लोघर जहाँ भएपनि दौडिएर आइपुग्थ्यो । हाम्रो तिर बिरालोलाई भुतप्रेतमा लिइने छौडा, बीरको अर्को रुप हो बिरालो पनि भन्थे । तर त्यो अन्धविश्वासले भन्दा पनि बाले मायाँ गरेर बोलाउँला त्यो बिरालोलाई छौडा भनेर बोलाउनुहुन्थ्यो ।

हाम्रा गल्ती, कमजोरीले घरमा केही टुटफुट भयो, केही बिग्रियो भने हामी बिरालोको टाउकोमा दोष थोपरिदिन्थ्यौ बा को गालीबाट बच्न । बिरालोलाई गाली गर्न पनि मिलेन, गाली गरेपनि त्यस्ले के बुझोस् र ? एक पटक आमाले धुपौरौ खसालेर फुटाउनुभयो । त्यो विशेषखालको धुपुरौ थियो । माटोको भएपनि काठमाडौंबाट बाले किनेर ल्याउनुभएको थियो । मही बनाएपछि घरमा देवदेउता, कुलदेउतालाई धुप हाल्ने चलन थियो । आमाले सानो गल्तीले त्यो धुपौरो उहाँको हातबाट खसेर फुट्यो । भोलीपल्टदेखि धूप हाल्ने साधन नहुने हुँदा बा को गाली सुन्नुपर्ने भएपछि आमाले ‘तपाईकै बीर उफ्रिएर खोपामा चढ्न खोज्दा धूपौरो खसाल्यो नि’ भनिदिनुभयो । बा चुपचाप ।
हामी बारीमा काम गर्न जाँदा त्यो बिरालो बारीमै पुग्थ्यो । केही बेर सँगै बसेर घर फर्किन्थ्यो । एक्लै घरमा भयो भने मान्छे खोज्दै बारीमै आइपुग्थ्यो ।

२०४४ सालको साउनमा यो बिरालो गायब भयो । हजुरआमा र म फुपुआमैलाई हेटौंडा गएकै दिनबाट बिरालो हराएछ । तर यो बिरालोका गुनहरु अझै स्मृतिमा ताजै छन् ।

घरमा प्रायः कुकुर बिरालो खाली हुन्थेन । घर भित्राउनु अघिको अन्न बाँदरबाट जोगाउन कुकुर पाल्नैपर्ने अवस्था थियो भने घर भित्राइसकेको अन्न मुसाबाट सुरक्षित राख्न बिरालो पाल्नैपर्थ्यो । कुकुरका सन्दर्भ अलग्गै प्रसंगमा लेख्नेछु ।
एक पटक गाउँकै एक घरमा बिरालोका न्याउरा टन्नै जन्मिए । दुई महिना जतिको भएपनि एउटा न्याउरो मागेर घर ल्यायौैँ । त्यसले चाँही बहिनीलाई असाध्यै पछ्याउने । वल्लोघर, पल्लोघर, बारी, पधेरो जहाँ गएपनि बहिनीलाई पछ्याउने । राति सुत्न पनि बहिनीको सिरकमाथि सुत्नुपर्ने स्वभावको थियो त्यो । यति लुरे थियो कि मुसा समात्नु त परको कुरा बुइगलका मुसाले घाइते बनाउला भन्ने डर । सानातिना मुसा त समात्यो, तर ठूला मुसा त्यसले समातेको रेकर्ड बनेन ।

दुई दिनको बिरामीले त्यो बिरालो मर्यो । बिरालो मर्दा बहिनीले रुवाबासी गरेको, शोकमा छाक छाडेको अझै सम्झनामा छ ।

त्यसपछि पनि घरमा प्रायः बिरालो खाली कहिल्यै भएनन् । कुकुर, बिरालो मन पराउन पनि एउटा विशेष स्वभाव चाहिने रहेछ । यो एउटा वंशाणुगत स्वभाव पनि हो कि जस्तो लाग्छ कहिलेकाँही । मेरी आमाले कुकुर मन पराएपनि बिरालो प्रति भने प्रायः सकारात्मक हुनुहुन्न । बिरालो पालेपछि भकारी नछोप्दा, मकै छोडाएर त्यत्तिकै राख्दा बिरालोले छिनभरमै उपद्रो गरिदिने स्वभावले धेरैले मन पराउँदैनन् । पुर्न मिल्ने अवस्था नभएसम्म बिरालोले जहाँ पायो त्यहाँ दिसा पिसाब गर्दैन । धान, मकै, गेडगुडीको रास फेला पारेपछि भने बिरालोलाई नआएको दिसा पिसाब पनि लाग्छ ।

काठमाडौंमा डेढ दशकसम्म बस्दा नत बिरालो पाल्नुपर्ने रहर जाग्यो, नत पाल्नैपर्ने अवस्था नै आइलाग्यो । शहरमा घरपालुवा जनावर अर्थात ‘पेट एनिमल’ पाल्नु एक प्रकारको वन्धनमा बाँधिनु हो । त्यसैले रहर नै गरिएन ।
अमेरिका आइसकेपछि भने बडो अनौठो ढंगले बिरालोको वन्धनमा परियो ।

सन् २०१५ को मे/जुन महिनाको समय । हामी अमेरिकाको मध्य-दक्षिणी राज्य ओक्लाहोमामा बस्थ्यौँ । दोस्रो तल्लामा हाम्रो डबल बेडरुमवाला अपार्टमेन्ट थियो । हाम्रोसँगै एउटा अश्वेत परिवारको अपार्टमेन्ट थियो । उनीहरुसँग एउटा सानो बिरालो थियो । प्रायः उनीहरु बाहिरबाट आउँदा त्यो बिरालो सँगै अपार्टमेन्टमा पस्थ्यो । अपार्टमेन्टमै हुन्थ्यो बिरालो ।

अमेरिकामा घरपालुवा जनावरको विषय असाध्यै संवेदनशील हुने भएकोले हामीले उनीरुको बिरालोलाई खासै चासो दिने गरेका थिएनौ । तर मेरा छोराछोरी सानै भएकोले बिरालो भनेपछि भुतुक्कै हुन्थे । असाध्यै मन पराउँथे । शायद नुवाकोट घरमा सानैदेखि बिरालोसँग खेल्ने गरेका कारणले पनि हुनसक्छ ।

करिब दुई महिनापछि त्यो परिवार सर्यो । नत चिनजान, नत दोहोरो कुराकानी । त्यसैले चासो पनि भएन उनीहरु सरेकोमा ।

उनीहरु सरेको भोलीपल्ट बिरालो भने त्यही देखियो । लाग्यो बिरालो छुटेछ । अपार्टमेन्टको मेनेजरलाई गएर उनीहरुले बिरालो छोडेको सूचना दिएँ । उनीहरुले कुकुर बिरालो राख्नका लागि अपार्टमेन्टमा थप धरौटी राख्नुपर्नेमा राखेका रहेनछन् । अर्थात बिरालो वैधानिक प्रकृया पुरा नगरि उनीहरुले राखेका रहेछन् । अपार्टमेन्टकी मेनेजरले सुझाव दिइ ‘यदी तिमीहरुलाई बिरालोले कुनै अप्ठेरो पारेको छ भने एनिमल सेल्टरलाई फोन गरिदिन्छु । नभए बिरालो यत्तिकै डुल्छ छाडिदेउ ।’

बिरालोलाई हामीले कुनै हानी गरेको थिएन । त्यसैले म उसका सुझाव मानेर फर्किएँ । बाहिर असाध्यै गर्मी सुरु भैसकेको थियो । बिरालोलाई कस्ले खानेकुरा देला ? गर्मीमा पानी कस्ले दिन्छ होला अनि गर्मीमा कहाँ बस्ला जस्ता चिन्ता मेरा मनमा उब्जिा थाले ।

एकदिन काम गर्ने ग्याँस स्टेशनमा आएका एकजना सज्जन व्यक्तिसँग यो कुरा शेयर गरेँ । उनले सुझाव दिए एनिमल सेल्टर एउटा विकल्प त हुनसक्छ । तर लामो समयसम्म त्यहाँ राख्दा सिटीको खर्च बढ्ने भएर उनीहरुले भ्याक्सिन लगाएर वा अन्य तरिकाले मारिदिन्छन् । कित प्रयाप्त खानेकुरा नभएर पिँजडामा थुनिन्छन् । त्यसो हुँदा प्राकृतिक रुपमा त्यसलाई छाडिदेउ केही हुँदैन । मानिसहरुले दया गरेर खान दिन्छन् ।

स्टोरबाट साँझ घर जाँदा बिरालोको एक बट्टा खानेकुरा किनेर लैजान सुरु गरेँ । कतिसम्म भयो भने मेरो गाडी आएको देखेपछि खुरुरु दौडिएर नजिकै आइपुग्थ्यो । म भन्दा अघिअघि अपार्टमेन्टको ढोकामा पुग्थ्यो । खानेकुराको बट्टा खोलेर दिएपछि आधी सिध्याएर बाहिर निस्किन्थ्यो । भोलीपल्ट बिहानै फेरि ढोकामा आएर म्याउ गरेर बोलाउँथ्यो ।
बिहानभरि मेरो कम्प्युटर टेबल र कुर्सीमा बस्थ्यो । म काममा निस्कने बेलामा बाहिर निकाल्थेँ । साँझ मेरा छोराछोरी स्कुलबाट आएपछि फेरि भित्र पसेर लामो समयसम्म बस्थ्यो ।

ओक्लाहोमाबाट ड्यालस बसाई सर्ने निधोमा हाम्रो परिवार पुग्यो । चिन्ता बिरालोकै लाग्न थाल्यो । सँगै काम गर्ने गोरीलाई यो कुरा शेयर गरेँ । उसले बिरालो मलाई देउ भनेर मागि । मैले पनि खोजेको त्यस्तै थियो । एक सातापछि उ आएर बिरालो लिएर गइ ।

एकपटक चिथोरिएको अनुहार लिएर काममा आइ । बिरालोले चिथोरेको भन्दैथिइ । हामीलाई कहिल्यै नचिथोरेको बिरालोले उसलाई कसरी चिथोर्यो ? म रहस्यमा परेँ । पछि बिरालो घरबाट भाग्यो भन्दैथिइ । मलाई भने मनमा बिरालोको मायाँ लागिरह्यो । बरु यसलाई नदिएको भएपनि यतै वरिपरी त बसिरहन्थ्यो भन्ने मनमा पलाइरह्यो ।
टेक्ससको युलेस सरेपछि अपार्टमेन्टका वरिपरी माउ बिरालो, न्याउराहरु प्रशस्त देखिन्थे । तर ती कहिल्यै मानिसको नजिक नपर्ने । शायद मान्छेले दच्काएर, दपेटेर डरले गर्दा नजिक नपरेका हुनसक्छन् ।

२०१९ को अन्तिम ताका घर किनेर सरेपछि अनौठोसँग फेरि बिरालोसँग जोडिन पुगियो । अपार्टमेन्टबाट हल्का सामान दुईवटा गाडीमा राखेर सारिरहेका थियौँ । सामान लिएर बाबु र नानी घरभित्र पस्दै गर्दा एउटा बिरालोले मेरी छोरीलाई पछ्यायो । अरु बिरालो मानिसको नजिकै नपर्ने अवस्थामा त्यो बिरालो भने इसाराले बोलाउँदा नजिकै आएर लुटपुटियो । लाग्यो कसैको घरमा पालिएको बिरालो हुनुपर्छ । नत्र भने मानिसको नजिक किन पर्थ्यो र ?

त्यो बिरालो नियमित रुपमा देखिन थाल्यो । जाडो महिना सुरु भैसकेको थियो । प्रायः बाहिरै हुन्थ्यो । एकदिन छिमेकीलाई बिरालोको मालिकका बारेमा सोधेँ । उसले तल्लोघरलाई देखाउँदै भन्यो ‘उनीहरुको हो यो बिरालो । तर उनीहरुले बाहिरै छाडिएका छन् । साह्रै गुनिलो र मायालु छ यो लौकी । सबैले खानेकुरा दिन्छौ । त्यही भएर निर्धक्क टोलमा घुमेर बस्छ ।’

उसको भनाईले बिरालोको नाम ‘लौकी’ भन्ने पनि जानकारी भयो । उसले बिरालोको उमेर साढे चार वर्ष जति रहेको जानकारी दियो ।

बाहिरै बसेको देखेर बिरालोको धनीलाई एक दिन सोधिहाले । उनीहरुले भने ‘भित्र बस्नै मान्दैन । बाहिरै बस्न रमाउने भएर छाडिदिएका हौँ ।’

हाम्रो परिवारलाई पनि बिरालोले पछ्याउन थाल्यो । कतैबाट घरमा आउँदा दौडिएर भेट्न आइपुग्थ्यो । खानेकुरा किनेर दिन थाल्यौँ हामीले पनि । कतिसम्म भने राति कामबाट फर्किदा पनि बिरालो टाढैबाट आउन थाल्यो । बिरालोको खानेकुरामा पनि सस्तोमस्तो र जुन पायो त्यही नखाने बडो चुजी स्वभाव छ यसको । किनेर ल्याएको खानेकुरा मन नपराएर कतिपटक त मिल्काएर अर्को ल्याएका पनि छौँ ।

सन् २०२१ को फेब्रुवरीमा टेक्ससमा विशाल हिमपात सुरु भयो । बाहिरै छाड्यो भने त यो बिरालो कठ्याग्रिएर मर्छ । मर्न दिनु त भएन भन्न सोचेर घर भित्र ल्याएर राख्ने प्रयास गरेँ मैले । अमेजनबाट सामान किन्दा आएको कार्डबोर्डको ठूलो बक्समा पुराना लुगाकपडा राखेर त्यसैमा बस्ने ठाउँ बनाएर घरभित्र राख्न खोजेको कराएर हैरान पारेपछि १५ मिनेटमै बाहिर छाडिदियौँ हामीले । बक्सलाई पछाडीपटि वरण्डामा राखेँ । अनि त्यसलाई बक्स देखाइदिए ।
हिउँ परुन्जेलमात्र नभएर चिसो समय भरिनै राति बिरालो त्यही बक्समा आएर बस्न थाल्यो । एक हिसाबले राहतनै मिल्यो बिरालोलाई ।

बिरालोका लागि प्लास्टिकको कचौरामा खानेकुरा र पानी कहिल्यै टुटाएनौ हामीले । कुनै समय विश्व खाद्य कार्यक्रमको नेपाल अफिसमा सूचना अधिकृत रहेर काम गरेकी एउटी साथी छिन् । उनी भर्जिनियामा छिन् । उनी बिरालोको साह्रै प्रेमी । मैले पनि यताको बिरालाको चर्तिकला, फोटोहरु, भिडियो समय समयमा अपलोड गरेको देखेर उनी बिरालोलाई कसरी टेक केयर गर्नुपर्छ भनेर सुझाव दिन्छिन् । आफ्नो बिरालो नभएपनि यसलाई आफ्नै जसरी मायाँ गरिरहेका छौँ ।

गत वर्षसम्म ढोकाभित्र छिर्न समेत नमान्ने बिरालो यो वर्ष नोभेम्बरको चिसोबाट घरभित्र पस्न थाल्यो । कसैलाई डिस्टर्ब समेत नहुने गरि कुर्सीमा गएर दिनभरि बस्ने, दिसा पिसाब लाग्यो भने ढोकातिर लगेर खोलिदे भनेर इसारा गर्न थाल्यो ।

मेरी पत्नी पनि कुकुर बिरालो मन नपराउने वर्गकी हुन् । पोहोर परार ढोकामा समेत नहेर्ने बिरालो यसपटक भित्र बस्न चाहेको देखेर उनी समेत दयालु भएकी छिन् । उनी भन्छिन् ‘यसलाई बुढ्यौली लागेको हुँदा धेरै जाडो भएर यस्तो गरेको हो । नत्र पाँच वर्षसम्म ढोकामा समेत नआउनेले यस्तो गर्नु नपर्ने ।’

अमेरिकामा कुकुर, बिराला जस्ता घरपालुवा जनावर पाल्न कानुन, नियम पुरा गर्नुपर्छ । तिनका नियमित स्वास्थजाँच, खानपान, अरूलाइ हानी नोक्सानी नहुनेगरि, डिस्टर्ब नपुग्नेगरि पाल्नुपर्ने हुन्छ । तर घरबाट फुत्किएर स्वतन्त्र जीवन बिताउने बिरालाहरू पनि टोलमा यत्रतत्र देखिन्छन् । कुकुरहरू बरू देखिदैनन्, बिरालाहरू भने भित्री बाटो, घरका छेउछाउमा टन्नै भेटिन्छन् । तिनलाइ पनि दयालुले खानेकुराहरू दिन्छन् र त बाँचिरहेका छन् ।

हामी मानव संसारमा सबैभन्दा बुद्धि विवेक भएको प्राणी हौँ । हामीलाई प्रकृतिमाताले सबै प्राणी, यो व्रह्माण्डको माया अनि संरक्षण गर्नको लागि क्षमता पनि दिनुभएको छ । हामी मान्छेकै कारण निर्वाध जीवन बिताइरहेका जंगलका जनावरहरु अतिक्रमणमा परेका छन् । उनीहरुको जीवनचक्रमै असर परेको छ ।

एकाबिहानै काममा जाँदा कयौं पटक देख्छु जंगली जनावरहरु हाइवेमा किचिएका छन्, गाडीले ठक्कर दिएर सडकको छेउमा पुगेर मरेका छन्, उनीहरुले खानेकुरा मानिसका कारण नासिएको छ । सडक नबनाइएको भए, उनीहरुको वस्ती भएको ठाउँमा मान्छेले आफ्नो वस्ती नबसाएको भए उनीहरु जिउन पाउँथे । मानिसकै कारण अरु जनावरहरु चपेटामा परेका छन् ।

मानिसहरु सोध्छन् ‘अर्काको बिरालोलाई किन मायाँ गरिरहेको ?’ तर म यस्ता प्रश्न र सुझावको जवाफ दिन जरुरी ठान्दिन । मैले मायाँ गरेर, मानवता देखाएको भनेर जवाफ दिँदा धेरैलाई हाँसोको, मजाकको, बेतुकको लाग्नसक्छ । म र मेरो परिवार के कुरामा ढुक्क छौँ भने हामीले प्राणीलाई दया गरेर मानवता देखाएका छौँ । यसले दिने आत्मसन्तुष्टी र खुशीको स्केल धेरै माथि हुन्छ ।