मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
साहित्य/सिर्जना   

बोस्टनमा नेपाली कथानक नाटक ‘घुङ्ग्रिएको कपाल’ प्रदर्शन

बोस्टनमा नेपाली कथानक नाटक ‘घुङ्ग्रिएको कपाल’ प्रदर्शन


अमेरिका, बोस्टन। अमेरिकाको बोस्टनमा नेपाली कथानक नाटक ‘घुङ्ग्रिएको कपाल’ प्रदर्शन भएको छ। नाटककार राजन मुकारुङद्वारा लिखित र नाट्यकर्मी राजन खतिवडाद्वारा निर्देशित उक्त नाटक गत जुलाई २७, २०२५ आइतवार बोस्टन स्थित नेपाली सामुदायिक भवनमा प्रदर्शन गरिएको हो।

बालबालीकालाई केन्द्रमा राखेर नेपाली परिवेश, सामाजिक अवस्था, भाषा, भेषभुषा, बोलीचाली, रहनसहन आदिलाई नाटकमा सक्दो समेटेर चित्रण गर्ने प्रयास गरिएको थियो। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन), ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि) र मण्डेला थिएटर, नेपालसंगको सहकार्यमा अर्हत् थिएटर, बोस्टनले उक्त नाटक मञ्चन गरेको थियो।

नाटकमा कला निर्देशक र सुत्रधारको भूमिका मणिराम पोखरेले निर्वाह गरेका थिए भने, नाट्यकर्मीहरु राजन खतिवडा, अरुणा कार्की, मणिराम पोखरेल, अश्मी पोखरेल, सोनाम शेर्पा र जेनिश कर्माचार्यले अभिनय गरेका थिए। यस अघि पहिलो पटक बोस्टनमा २५६९औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जीवन, ज्ञान र दर्शनलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘जीवनदेखि जीवनसम्म’ मञ्चन गरिएको थियो।

प्रदर्शित नाटक सन्देशमूलक र मनोरञ्जनात्मक रहेको दर्शकहरुको प्रतिक्रिया रहेको थियो। नाटक मञ्चन पश्चात दर्शक सुरेन्द्र नापितले नाटक सन्देशमूलक रहेको बताए। कलाकारहरुको अभिनयलाई खुलेर तारिफ गर्दै उनले नाट्य अभिनय प्रशिक्षण लिएको छोटो समयमा नै नाटकमा अभिनय गरेका कलाकारहरुको अभिनय बेजोड लागेको बताए। नापितले खारिएका नाट्यकर्मीहरु र भर्खरै सिक्दै गरेका नाट्यकर्मीहरुबीचको उचित संयोजनले नाटक जीवन्त बनेको जिकिर गरे।

नाटक प्रदर्शन पश्चात् प्रतिक्रिया दिदै नाटक निर्देशक तथा नाट्यकर्मी राजन खतिवडाले नेपाली समुदायले नाटकलाई गरेको माया प्रशंसनीय र कदरयोग्य रहेको बताए। उनले न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संघ संस्थाहरु र नेपाली समुदायले दिएको साथ, सहयोग र मायाले नाट्यकर्मीहरु निकै उत्साहित र उत्प्रेरित भएको बताए। खतिवडाले ‘घुङ्ग्रिएको कपाल’ नाटक आगामी जुलाई ३१ देखि अगष्ट १०, २०२५ सम्म मिनिसोडामा हुनगइरहेको ‘फ्रिन्ज नाटक फेस्टिभल’ मा प्रदर्शन गर्ने तयारी भैरहेको जानकारी दिदै त्यसैको तयारी स्वरुप बोस्टनमा मञ्चन गरिएको बताए।

करिब एक घण्टाको नाटक ‘घुङ्ग्रिएको कपाल’ हेर्नका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो। नाटक हेर्न डेढ सय नाटक प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

 

 

शेयर गर्नुहोस:

5k
Shares