अन्तर्राष्ट्रिय उडान गर्दा ट्रान्जिटको निम्ति भिसा चाहिन्छ या चाहिदैन ? यो विषय अहिले पनि बेलाबखतमा चर्चा र विवादमा आइरहन्छ । छोटो रुटको अन्तर्राष्ट्रिय यात्रामा सामान्यतया ट्रान्जिट हुँदैन । तर जब लामो यात्रा हुन्छ या तुलनात्मक रुपमा सस्तो टिकट खोज्दा धेरै ट्रान्जिट पर्न जान्छ ।
संसारभरिका अन्तर्राष्ट्रिय विमानस्थललाई भूगोलले जुन देशमा पर्छ त्यो देशको भूमि मानेपनि व्यबहारिक हिसाब, अन्तर्राष्ट्रिय सन्धी, सम्झौताले गर्दा कुनै पनि देशको भूमिका रुपमा त्यसलाई लिइदैन । त्यसैले हवाई यात्राका क्रममा ट्रान्जिट यात्रुलाई विमानस्थल भएको देशको भिसा मागिदैन या आवश्यक ठानिदैन ।
यद्यपी केही अपवादहरु छन् । अर्थात देश हेरेर कानुन छन् । कुनै देशका नागरिकलाई ट्रान्जिट भिसा अनिवार्य हुन्छ, तर कुनै देशका नागरिकका निम्ति छुट हुन्छ । कतिपय देशमा अझैपनि यस्ता रेसिस्ट कानुनहरु लागु छन् । गरिब देशका लागि त्यो कानुन आकर्षित हुन्छन्, तर धनी देशलाई कानुनभन्दा माथि राखिएको छ ।
ट्रान्जिट भिसा कतिपय अवस्थामा अध्यागमन अधिकारीहरुको मुडमा भर रहेको हो कि भन्ने महसुस समेत बेलाबखतमा गराउँछ ।
यस आलेखमा म हङ्गकङ्गको ट्रान्जिट भिसा देखिएको त्यस्तै वेथितीको प्रसंग उठाउन गइरहेको छु ।
एक हप्ता अघिको घटना हो । मेरो गृहजिल्ला नुवाकोटकी दिदी बिन्दा ढुंगानाले ड्यालस फोर्टवर्थ इन्टरनेसनल एअरपोर्टबाट फोन गर्नुभयो । ‘रामचन्द्रजी, हामी यता आउँदा हङ्गकङ्गको ट्रान्जिट भिसा मागिएको थियो र ?’
दिदीको फोनको घण्टी बज्दा नै मेरो मनमा चिसो पसिसकेको थियो । केही घण्टा अघिमात्र फोनमै बिदाबादी भएर नेपाल पुगेपछि कल गर्छु भन्नुभएको थियो । तर जहाजमा पुगिसक्नुपर्ने समयमा उहाँको फोनले मेरो मनमा पक्कै केही समस्या पर्यो कि भन्ने लाग्यो ।
‘तपाईलाई ट्रान्जिट भिसा माग्यो कि के हो दिदी ? अस्ति आउँदा चाहिएको थिएन । न कसैले चाहिन्छ भन्यो, नत अध्यागमनलेनै खोज्यो ?’ मैले संक्षिप्त जवाफ दिएँ ।
‘त्यही त हेर्नुस् न यहाँ त हङ्गकङ्गको भिसा चाहिन्छ भनेर किचकिच गरिरहेका छन्’ उहाँले भन्नुभयो । हङ्गकङ्गमा एअरपोर्टबाट बाहिर निस्कने उहाँको प्लान थिएन । ट्रान्जिट पनि केही घण्टाको मात्र थियो । त्यसपछि सिधै काठमाडौं उँड्ने जहाजमा पुग्ने गरि टिकट थियो ।
‘एअरपोर्टबाट बाहिर निस्कने कुनै योजना नभएको र तीन हप्ता अघि आउँदा ट्रान्जिट भिसा नखोजिएको कुरा भन्नुस् त’ भनेर मैले सुझाव दिएँ । मेरो सुझावले पनि काम दिएन । दिदीका छोरीहरुले क्याथे प्यासिफिकको ग्राहक सेवा केन्द्रको फोनमा कल गरे, डिएफडब्लु एअरपोर्टकै टर्मिनल ‘डी’ मा रहेको क्याथेको काउण्टरमा पनि गएर समस्या बताए । तर दिदी र उहाँका छोरीहरुले जे उत्तर पाए त्यो चाँही अझै उदेकलाग्दो थियो–‘नेपालबाट आउँदाखेरि हङ्गकङ्गको ट्रान्जिट भिसा नभै तिमी कसरी अमेरिका आइपुग्यौ ?’
–०–
तीन महिना अघिको बिन्दा दिदीकी जेठीछोरी निशाले मेसेज गरिन्–‘अंकल, तपाइ नेपालबाट फर्किने टिकटको विवरण पठाइदिनुस् न ममीलाई पनि तपाईसँगै झिकाउनुपर्यो ।’ निशा टेक्ससको ड्यालसमा रहेको युनिभर्सिटी अफ टेक्सस आर्लिंगटनबाट सिभिल इन्जिनियरिङ्गमा मास्टर्स सकेर एउटा कम्पनीमा काम सुरु गरेकी छिन् । मे तेस्रो साता हुन लागेको दीक्षान्त समारोहमा आमालाई बोलाउने योजनामा थिइन् उनी ।
उनले भने बमोजिम सबै पठाइदिएँ । यसपटक मेरो नेपाल यात्राको क्रममा जाँदा दोहा हुँदै कतार एअरवेज थियो भने फर्किदा चाहिँ क्याथे प्यासिफिक । दोहा हुँदै धेरै पटक यात्रा गरिसकेकोले फर्किदा चाँही हङ्गकङ्गको रुट रोजेको थिएँ । क्याथेले अप्रिल २४ देखि मात्र हङ्गकङ्गदेखि ड्यालसमा सिधा उडान गर्दैथियो ।
निशाले केही दिन पछि फोन गरेर म फर्किने जहाजमै ममीका लागि टिकट लिएको जानकारी दिइन् । त्यही दिन छनौट गर्दा महंगो परेको थियो उनलाई ।
म अप्रिल ७ तारिक नेपाल पुगेँ । घरमा भतिजको ब्रतवन्धदेखि लिएर साथीभाई, इष्टमित्रहरुको भेटघाटले चार हप्ता बितेको पत्तै भएन । त्यसमाथि अमेरिका यात्रा गर्नुभन्दा पाँच दिन अघि एउटा दुर्घटनामा परेर मेरो देब्रे खुट्टा फ्याक्चर भयो । जसले गर्दा टिकट सारेर नेपालमै बस्ने कि अमेरिका फर्किने दोधारमा पुगेँ । कामबाट बिदा मिलाउनुपर्ने र अर्को कुरा बिन्दा दिदीले यात्रामा सजिलो होला भनेर त्यही दिनको टिकट लिएको, नेपालमा बस्दा भन्दा खुट्टाको थप उपचार अमेरिकामा गर्न सहज हुने भएपछि निर्धारित मितिमै फर्किने निधो गरेँ । ट्राभल एजेन्ट, क्याथे प्यासफिकलाई मेरो अवस्था, खुट्टाको प्लास्टर, बैशाखी टेकिरहेको लगायतका विषयमा अपडेट गराएँ ।
मे २ तारिक साँझ आफन्तहरु र परिवारका सदस्यहरुको साथमा म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । राति ११ बजेको उडान थियो । तर मेरो अवस्थाले गर्दा ८ बज्नु पहिलेनै एअरपोर्ट पुगिसकेको थिएँ । मलाई पुर्याउन भाई हरिचन्द्र, बहिनी ओमकुमारी, साँढुभाई बलराम र माइलीसाली सुशीला थिए । ह्विलचेयरको सुविधा बिमानको बोर्डिंगपास काउण्टरबाट मात्र हुने भएकोले बलराम र सुशीलाले विमानस्थलमा चिनेका एकजना आफन्तको सहयोग खोन्न थाले । आफन्तले ह्विलचेयरमा काम गर्ने एकजना भाईलाई बाहिरै पठाइदिनुभयो ।
तर सँगै यात्रा गर्ने बिन्दा दिदी भने अझै एअरपोर्ट आइपुग्नुभएको थिएन । कल गर्दा भरखरै जयबागेश्वसरी आइपुगेको बताउनुभयो । ह्विलचेयरका भाई हतारमा देखिए । ‘म भित्र पस्दैगर्छु दिदी, माथि अध्यागमक कटेपछि जहाज कुर्ने ठाउँमा भेटौला । तपाई आउँदै गर्नुस्’ भन्दै म र भाई बोर्डिंगपासको लागि क्याथे प्यासिफिकको काउण्टरमा पुग्यौँ ।
काउण्टरका कर्मचारीले मेरो पासपोर्ट र अमेरिकाको ड्राइभिंग लाइसेन्स मागे । उनीहरुले टिकट समेत खोजेनन् । ‘आइडी कार्ड र पासपोर्ट भएपछि तपाईको सबै विवरण यही हुन्छ’ एउटी महिला कर्मचारीले भनिन् ।
मेरो अवस्थाले गर्दा उनीहरुसँग खुट्टा पसार्न मिल्ने इकोनमी क्लासकै अगाडीको सिटको लागि अनुरोध गरेँ । उनीहरुले ती सिटहरु गैसकेको बताए । अप्ठेरो अवस्थामा यात्रा गर्दाको अवस्थामा जति सहयोग हुनुपर्ने थियो त्यो उनीहरुबाट भएन ।
बोर्डिङ्गपास हातमा परिसकेपछि मैले अन्तिम अनुरोध उनीहरुसँग गरेँ–‘बिन्दा ढुंगाना नाम गरेकी दिदी आउँदै हुनुहुन्छ । सिटचाँही सकभर सँगै पारिदिनुहोला ।’ उनीहरुले ‘हुन्छ, कोशिष गर्छौैे’ भने ।
ह्विलचेयरमा भएकोले म १५ मिनेटभित्र माथि जहाजको प्रतिक्षालयमा पुगिसेकको थिएँ । त्यसको १५ मिनेट पछि दिदी पनि त्यही आइपुग्नुभयो । काठमाडौंदेखि हङ्गकङ्गको सिट चाँही सँगै पारिदिएछन्, हङ्गकङ्गदेखि अमेरिकाको सिट भने फरक फरक लाइनमा थियो । ‘उहीँ हङ्गकङ्गमा गएर सँगै मिलाउन कोशिष गर्नु । यहाँबाट सकिएन भने तिनीहरुले त’ दिदीले भन्नुभयो ।
हङ्गकङ्गमा ८ घण्टाको ट्रान्जिट थियो । तीन महिना अघि टिकट लिँदाखेरि केही घण्टा हङ्गकङ्ग घुम्ने, शहर हेर्ने गरि योजना बनाएको थिएँ । एकजना सहपाठी साथी त्यहाँ महाबाणिज्यदूत हुनुहुन्थ्यो ।
चिनेजानेका केही पत्रकारहरु पनि थिए । सानो शहर चार पाँच घण्टामा त घुमिहालिन्छ नि भन्ने योजना थियो । अमेरिकी राहदानीबाहकलाई हङ्गकङ्गले ‘अनअराइभल’ भिसा दिने जानकारी अनलाइन तिरबाट लिएँ ।
तर, टिकट लिएको केही हप्तापछि महाबाणिज्यदूत साथी कार्यकाल पुरा गरेर नेपाल फर्किए । गाउँको चोकको चियापसलमा उनीसँग भेट हुँदा एकजना साथीको नाम लिँदै घुम्न सहयोग गर्छ भनेका थिए ।
तर एकातिर खुट्टाको अवस्था, अर्कोतिर बिन्दा दिदीको नेपाली राहदानीलाई १५ दिन अघिनै आवेदन दिनुपर्ने र अनअराइभल भिसा नभएपछि त्यहाँ घुम्ने प्लानले हावा खाँदैथियो । त्यसमाथि राति ११ बजे उड्नुपर्ने क्याथे प्यासिफिक प्राविधिक समस्याले गर्दा दुईघण्टा ढिला उड्यो । हामी हङ्गकङ्गको समय अनुसार बिहान ६ बजे उत्रिनुपर्नेमा ८ बजिसकेको थियो । फाइदा चाँही के भयो भने हाम्रो ट्रान्जिट समय घट्यो ।
यो रुट हुँदै जापान, अष्ट्रेलिया जानका लागि नेपालीहरुले प्रयोग गर्ने रहेछन् । ट्रान्जिट समय थोरै भएकाहरु भने विमान छुट्ने डरले उनीहरु हतार हतारमा थिए ।
हङ्गकङ्ग उत्रिसकेपछि ह्विलचेयरमा काम गर्ने एअरपोर्टका कर्मचारीहरु आइपुगे । म ह्विलचेयरमा र दिदी मलाई पछ्याउँदै झण्डै ५ मिनेटपछि यात्रुको सामान चेकजाँच गर्ने अध्यागमनमा पुग्यौँ ।
मेरो पासपोर्ट ह्विलचेयरवालाले लिएको थियो । दिदीको पासपोर्ट उहाँसँगै थियो । अध्यागमन कर्मचारीहरुले पासपोर्ट हेरे, हामी दुबैलाई केही नभनी जान दिए । झण्डै १५ मिनेटपछि लामो समयको अमेरिका ट्रान्जिटका यात्रु बस्ने ठाउँमा हामीलाई ल्याएर बसाईयो । त्यो भन्दा अघिनै हङ्गकङ्गको ६ घण्टा बसाईमा खानेकुराका लागि खर्च गर्न भनेर डलर सटही गर्नुपर्ने भयो ।
ह्विलचेयरवालाले विदेशीमुद्रा सटही काउण्टरमा पुग्न सहयोग गरे ।
सुविधासम्पन्न थियो विमानस्थल । त्यहाँ निकै मेहनत गरेर बनाइएको फुलबारी थियो । कर्मचारीहरु हरेक आधा घण्टामा पुछ्न आइरहन्थे । विमानस्थलका हरेक सोफा, कुर्सीहरुमा मोबाइलफोन, ट्याबलेट, ल्यापटप चार्ज गर्न चार्जिंगपोर्टहरु थिए । हाइस्पिडको वाइफाई सुविधा पनि थियो ।
‘तिमीहरु यहीँ बस्दै गर । तिमीहरुको बोर्डिंगपास सुरु भएपछि यहीँ लिन आउँछन्’ टुटेफुटेको अंग्रेजीमा ह्विलचेयरवालाले भन्यो । मेरो बोर्डिंगपास त्यही बस्ने एकजनालाई उसले दियो । त्यसलाई हेरेर केही नोट गर्यो उसले । अनि मलाई फिर्ता गर्यो ।
बोर्डिगपास सुरु हुन अझै ६ घण्टा बाँकी थियो । नजिकैको क्याफेमा गएर दिदी र मैले कफी अनि दुनोट खायौँ । दिदी त्यही बेञ्चमा निदाउनुभयो । म भने बैशाखी टेक्दै नजिकका दृश्य, थरिथरि साइजसाइजका विमानहरु, संसारभरिबाट आएका मानिसहरुको गतिविधि नियाल्न थालेँ ।
अपरान्ह तीन बजे क्याथे प्यासिफिकको उडान नम्बर सि.एक्स. ८७६ को बोर्डिग सुरु भयो । मैले गेट कर्मचारीलाई खुट्टाको अवस्था बताएर अन्तिम रिक्वेष्ट गरे । खुट्टा पसार्न मिल्ने सिट र बिन्दा दिदीको सिट सँगै राखिदिन फेरि अनुरोध गरेँ । उनीहरुले नसक्ने अवस्था देखाएर ‘सरी’ भने ।
१३ घण्टापछि हामी ड्यालसमा उत्रिदा मेरो खुट्टा सुन्निएर डमडम्ती भैसकेको थियो । डाक्टरले लामो समयसम्म खुट्टा झुण्डाएर बस्दा सुनिने कुरा पहिलेनै बताइसकेका थिए । पछिल्लो समयमा अध्यागमन कडा गरिएको र अझै खानेकुरामा विशेष रुपमा चेकजाँच भैरहेको थियो । त्यही भएर किनिसकिएका, घरकै उत्पादन, साथीभाई आफन्तहरुले पठाएका खानेकुरा सबै काठमाडौंमै निकालिसकेको थिएँ । ह्विलचेयरमा भएकोले ड्यालसको अध्यागमन पार गर्न १५ मिनेट पनि लागेन । बरु व्यागेज क्लेमको क्यारासोलमा चाँही आधा घण्टा लाग्यो व्यागेज आइपुग्न । हुनतः व्यागेज आइसकेको रहेछ । धेरै समय क्यारासोल घुमिरहेका कारण त्यहीका कर्मचारीले निकालेर छेउमा राखिदिएका रहेछन् ।
बिन्दा दिदीको व्यागेज पनि आइसकेको थियो । ह्विलचेयर सहयोगका लागि एकजना र व्यागेज ट्रलीको लागि पनि अर्को गरि दुई अफगानीहरु आइपुगे । बाहिर हामीलाई लिनका लागि मेरी पत्नी, छोराछोरी आरोग्य र आकृति अनि दिदीका दुईछोरीहरु आइसकेका थिए । दिदीकी माइली छोरी पनि अष्ट्रेलियाबाट आउँदै गरेको र उनी आएको फिजी एअरको जहाज पनि अवतरण गरिसकेको थियो । उहाँ माइली छोरीलाई कुरेर सँगै लिएर जान त्यही कुरेर बस्नुभयो, हामी भने निस्कियौँ ।
–०–
काठमाडौंदेखि ड्यालससम्म यात्रा गरेर आउँदा २९ घण्टा बितिसकेको थियो । हङ्गकङ्गमा मात्र हामीले पुरै ८ घण्टा बितायौँ । जहाजबाट उत्रिएर त्यहाँको अध्यागमन न कुनै प्रश्न, न कुनै अवरोध । सहजै पार गर्यौँ ।
काठमाडौंमा समेत कुनै प्रश्न भएन हाम्रो पासपोर्ट र भिसा प्रति । नत दिदीलाई हङ्गकङ्गको ट्रान्जिट भिसाको आवश्यकता पर्छ भनेर भनियो । कतिपय अवस्थामा ट्राभल एजेन्सी, अनलाइनहरुमा पहिलेनै भिसाको सोधीखोजी हुन्छ । तर केही भएन । भिसा चाहिने भए क्याथेले काठमाडौंमा बोर्डिंग पास लिने समयमै भन्थे, भिसा नहुँदा यात्रा गर्नै अनुमतिनै दिनेथिएनन् ।
तर जुन रुटबाट आएको हो, त्यही रुटबाट नेपाल फर्किन लाग्दा ट्रान्जिट भिसाको आवश्यकता औंल्याएर यात्रा गर्नबाट रोकियो । यो जति उदेकलाग्दो नीति संसारमा कतै हुन्छ र ? ट्रान्जिट समय पहिलेभन्दा बढी पनि होइन, हंगकंगमा एअरपोर्ट बाहिर निस्किएर घुम्ने योजना पनि होइन । तरपनि ट्रान्जिट भिसाको आवश्यकता औंल्याइयो, जरुरी रहेको बताइयो । आश्चर्यजनक विषय यो भयो कि क्याथेका कर्मचारीहरु ‘अमेरिका आउँदा हङ्गकङ्गको ट्रान्जिट भिसा नभै कसरी आइपुग्यौ ?’ भनेर प्रश्न गरे ।
मानिस हो, चरा उडेर आएको होइन । हङ्गकङ्गको अध्यागमन, अमेरिकाको उडान भएकोले भित्रै पनि चेकजाँच भएर पसेका हौं ।
ट्रान्जिट भिसा नभएको कारण देखाएर उहाँलाई फर्किन दिइएन । तत्कालै दिदीका छोरीहरुले त्यहीबाट कतार एअरको टिकट लिए । त्यसको तीन घण्टापछि उहाँ कतार एअरवेजबाट दोहा हुँदै नेपाल फर्किनुभयो ।
सबैको क्षमता तत्कालै टिकट किनेर फर्किनसक्ने पनि हुँदैन । किनकी तत्काल टिकट किन्दा अतिनै महंगो पर्छ ।
हङ्गकङ्गको ट्रान्जिटमा बस्दैगर्दा अमेरिका आउने अन्य नेपाली यात्रुहरु पनि थुप्रै थिए । परिवारका सदस्य भेट्नका लागि, छोराछोरीकै ग्राजुएसनका लागि जान लागेका थुप्रै नेपाली बा –आमाहरु थिए त्यहाँ । शायद उहाँहरुको पनि ट्रान्जिट भिसा थिएन ।
अब उहाँहरु नेपाल फर्किदा ट्रान्जिट भिसा मागियो भने तत्काल कहाँबाट ल्याउने भिसा ? भिसा आवश्यक पर्ने कुरालाई क्याथे प्यासिफिकले आफ्ना यात्रुहरुलाई पहिलनेनै सूचना दिनुपर्छ कि पर्दैन ?
मानिसहरु एउटा योजना बनाएर यो समयमा यहाँ पुग्छु, यो मितिमा यो गर्छु भनेर हिँडेका हुन्छन् । आउँदाखेरि नचाहिने र फर्किदाखेरि भने मागिने ट्रान्जिट भिसाले गर्दा भविष्यमा नेपालीहरुले दुःख, सास्ती खेप्नुपर्ने संकेत देखिएको छ ।
यो घटना लामो समय हङ्गकङ्गमा बसेका एकजना मित्रसँग शेयर गरेँ । उनका थुप्रै आफन्त र चिनजानमा व्यक्तिहरुले पनि हङ्गकङ्गप्रशासनको यो ज्यादती भोगेका रहेछन् । चीनबाट हङ्गकङ्ग हुँदै आउन लागेका उनका एकजना मित्रलाई पनि चीनको विमानस्थलबाट प्रवेश दिइएनछ । तत्कालै आयोजकले अर्को चिनिया जहाजबाट काठमाडौंको टिकट किनेर उडाएछन् ।
कुनै पनि देशले अर्को देशको नागरिकलाई आफ्नो भूमिभित्र आउन दिने या नदिने भन्ने विषय उसैको पूर्ण अधिकारको विषय हो । जसरी हाम्रो घरभित्र अरु कोहीकसैलाई पस्न दिने या नदिने अधिकार घरका मानिसहरुमा निहित हुन्छ देशको पनि त्यस्तै हो । तर भिसा जस्तो कुरालाई पहिलेनै जानकारी नदिइ यात्राका लागि निस्किसकेकालाई पीडा दिने काम हङ्गकङ्ग सरकार र क्याथे प्यासिफिकले रोक्नुपर्छ । उसले नरोक्दा अरु केही नभएपनि नेपालीयात्रु भने क्रमशः गुमाउँदै जानेछ ।
कोही कसैका आफन्त, अभिभावकहरु क्याथे प्यासिफिकबाट नेपाल फर्किने टिकटमा हुनुहुन्छ भने एकपटक ट्राभल एजेन्ट, क्याथे प्यासिफिकलाई सम्पर्क गर्नुहोला । ताकी सास्ती भोग्नु नपरोस् र पहिलेनै जानकारी पाएर सहज यात्रा गर्न सकियोस् ।
प्रतिक्रिया