मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   
विचार / ब्लग    
साहित्य/सिर्जना   

कथासङ्ग्रह ”कठै !” माथि पाठक टिप्पणी

कथासङ्ग्रह ”कठै !” माथि पाठक टिप्पणी


अमेरिका, बोस्टन। आजको दिनमा कथाकार श्यामप्रसाद श्रेष्ठसंगको मेरो परिचय निकै पुरानो र आपसी सामिप्यता पनि प्रगाढ र आत्मीय छ भन्नपाउदा मलाई गर्वको अनुभूति हुन्छ। हेटौंडा उपमहानगरपालिका-६ चौघडा बजारमा २०२२ देखि बस्दै आउनु भएका श्रेष्ठ पेशाले व्यापारी हुनुहुन्थ्यो। तर,  अहिले उहाँ व्यापार व्यवसायलाई पूर्ण विराम लगाएर पूर्ण रुपमा सामाजिक तथा साहित्यिक अभियानमा होमिनु भएको छ।

बाल्यकालदेखि नै मैले चिने जाने अनुसार उहाँ व्यापारी मात्र नभएर एक होनहार सामाजिक व्यक्ति पनि हो। २०४६ सालको जनआन्दोलन पश्चात् बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापनासंगै संघ संस्था स्थापना गरेर सामाजिक कार्य गर्ने उद्देश्यले चौघडा बजारमा जन्मिएको नव जीवन ज्योति क्लबमा हामी आबद्ध थियो। त्यही क्लबले नै हामीबीचको सामीप्यतालाई अझ आत्मीय, रसिलो र कसिलो बनाई सामाजिक स्वार्थ प्राप्तिका खातिर क्रियाशिल गरायो। सत्मार्गमा हिड्न सिकायो। र, आफ्नो सामाजिक परिचय बनाउने आधारशिला तयार गरिदियो। हेटौंडामा मात्र नभएर तत्कालिन अवस्थामा राष्ट्रिय स्तरमा उदाहरणीय काम गरेर जनसंख्या तथा वातावरण मन्त्रालयबाट राष्ट्रिय सम्मान पाउन सफल उक्त क्लब हाम्रो सामजिक जीवन यात्राको मूल आधार र सुत्रधार हो भन्ने ठान्दछु।

जहाँसम्म मेरो बुझाइमा क्लबमार्फत सामाजिक अभियानमा लाग्दादेखि नै कथाकार श्रेष्ठलाई साहित्यको गहिरो प्यास लागेको हो। नव जीवन ज्योति क्लबले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गर्ने विविध सांस्कृतिक कार्यक्रममा प्रदर्शन गर्नको लागि उहाँले छोटा हास्यव्यङ्ग तथा लामो नाटकहरु लेख्ने गर्नु हुन्थ्यो। जो उहाँको साहित्यिक अभियानको मजबुत जग थियो भन्ने मलाई लागेको छ। कथाकार श्रेष्ठको कथासंग्रह ”कठै !” मा समेटिएको कथा मध्य ‘बिदा’ कथा उहाँले हामीलाई २०५० सालतिर नै सामजिक अभियानमा लाग्दै गर्दा सुनाएको क्षण मानसपटलमा अझैं ताजै छ।

विक्रम संवत् २०५२ सालमा नव जीवन ज्योति क्लबले कृष्ण अष्टमीको अवसर पारेर एचआइभि/एड्स तथा यौन रोगका सम्बन्धमा जनचेतनामूलक नाटक ‘होसियार’ प्रदर्शन गरेको थियो। जसलाई लेख्ने महत्वपूर्ण भूमिका कथाकार श्रेष्ठले नै गर्नु भएको थियो। जसलाई पछि सडक नाटकका रुपमा विभिन्न जिल्लामा प्रदर्शन पनि गरियो। यसले कथाकार श्रेष्ठलाई नाटककारका रुपमा पनि परिचित गराउन आधारहरु खडा गरिदियो। र, विक्रम संवत् २०५५ सालमा वातावरणसंग सम्बन्धित जनचेतनामूलक नाटक ‘अभियान’ लेख्नु भयो। जो मकवानपुर जिल्लासहित अन्य जिल्लाहरुमा पनि प्राथमिकताका साथ प्रदर्शन भए। यि दुइ नाटक ‘होसियार’ र ‘अभियान’ लाई नै श्रेष्ठले आफ्नो पहिलो साहित्यिक कृति मान्नुभएको छ। यसैगरी, ‘नेपाल आमा’ र ‘एकादेशको कथा’ नाटक पनि उहाँको साहित्यिक यात्राको अमूल्य कृतिहरु हुन्। कथाकार श्रेष्ठको साहित्यको अर्को विधा ‘लघुकथा’ लेखन पनि हो। चेतनामूलक तथा कसिलो व्यङ्गात्मक प्रहार गरिएको लघुकथाहरु समेटेर सार्वजनिक गरिएको कृति ”व्यथाभित्रको कथा” ले पाठक, श्रोता र साहित्यिक क्षेत्रका व्यक्तित्वहरुको मन जित्न सफल भएको छ।

लामो साहित्यिक यात्राको पछिल्लो कृतिका रुपमा कथाकार श्रेष्ठले गत वर्ष २०८१ साल फागुन महिनामा आफ्नो चौथो कृति ”कठै !” सार्वजनिक गर्नु भएको थियो। जसमा विभिन्न विषयहरुमा केन्द्रीत भएर लेखिएका १३ वटा कथाहरु त्यो रात, विलीन जीवन, बिदा, आत्मबल, आत्मा निवास, झरेको कोपिला, वेदनाको अन्त्य, राजनेता, म बाँच्न चाहन्छु, शुभकामना, दह्रो खाम, सपना र मुक्तिको सपना समेटिएका छन्।

”कठै !” कथासङ्ग्रहको मूल सन्देश बुझ्न नाम नै काफी छ। ”कठै !” विशेषण शब्द नेपाली भाषामा कसैप्रति करुणा, दया, सहानुभूति आदि भावना प्रकट गर्दा प्रयोग गर्ने गरिन्छ। त्यही शष्दलाई नै चयन गरेर कथाकार श्रेष्ठले आफ्नो कथासङ्ग्रहको न्वारन गर्नुभएको छ। सार्वजनिक भएको कथासङ्ग्रहमा समेटिएका कथाहरु त्यही शब्द ”कठै !” को मूल भावमा केन्द्रीकृत रहेका छन्। कथाहरु मूलत: वियोगान्त छन्। हालसम्म पूर्वीय कथा लेखनमा सुखान्त धारलाई पछ्याइएको पाइन्छ। तर, पश्चिमा साहित्यमा भने दु:खान्त धारलाई पनि स्विकार गरिएको पाइन्छ। कथाकार श्रेष्ठले पनि सुखान्त धारलाई भन्दा दु:खान्त धारलाई आफ्नो कथासङ्ग्रह ”कठै !” मा प्राथमिकता दिएर कथा लेख्ने प्रयास गर्नु भएको छ।

म साहित्यमा पोख्त व्यक्ति त हैन। तर, साहित्यका हरेक विधामा रुचि राख्ने एक साहित्य प्यासी भने अवश्य हुँ। त्यसैले, साहित्य लेखनमा भन्दा साहित्य पठनमा मेरो बढि रुचि छ। अर्को महत्वपूर्ण कुरा के हो भने, म ”कठै !” कथासङ्ग्रहका कथाकार श्रेष्ठको शुभेच्छुक तथा शुभचिन्तक पनि हुँ। त्यसैले, एक पाठक, शुभचिन्तक र शुभेच्छुकको नाताले ”कठै !” कथासङ्ग्रह पढिसकेपछि कथासङ्ग्रहप्रति मेरो मनमा बनेको धारणा सुनियतका साथ यहाँ संक्षिप्त टिप्पणीका रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छु। यि मेरा टिप्पणीहरुले भावी दिनमा कथाकार श्रेष्ठको साहित्यिक यात्रालाई थप आकर्षक, रोमाञ्चक, परिष्कृत र उपलब्धिमूलक बनाउन केही न केही सहयोगी सिद्ध हुनसक्नेछ भन्ने विश्वास लिएको छु।

१) कथासङ्ग्रहका सवल पक्षहरु

क) जीवन्त विषयवस्तु छनोट।

ख) सबै कथाहरुलाई समेट्न

सक्ने कथासंग्रहको मनछुने नाम(कठै !)।

ग) भाषा र प्रस्तुति शैलीमा सरलता।

घ) कथासङ्ग्रहको नामलाई पुष्टि गर्ने आकर्षक आवरण पृष्ठको चित्र।

ङ) छरितो आकार।

च) कथामा हुनु पर्ने सात तत्वहरु थिम, पात्र छनोट, कथानक, संवाद , परिवेश, वर्णन र भाषाशैलीलाई सक्दो ध्यान दिने प्रयास गरिएको।

छ) कथालाई जीवन्त बनाउन महत्व पूर्ण बनाउने कथाको सहायक  तत्व ‘द्वन्द्व’ लाई आकर्षक ढङ्गले प्रयोग गर्ने प्रयास।

ज) उत्सुकता र कौतुहलतापूर्ण प्रस्तुति।

झ) कथाको उचित लम्बाइ।

ञ) विषयवस्तु सुहाउदो पात्र, परिवेश, भेषभूषा, स्थान, समय आदिको छनोट गर्ने प्रयास।

ट) पात्रहरुबीच प्रभावकारी संवाद।

ठ) भूमिका, उठान, वर्णन र समापनबीच तारतम्यता मिलाउने प्रयास।

ड) सन्देश मूलक।

२) कमजोर पक्षहरु

क)  सम्पादन पक्ष।

ख) वाक्य तथा अनुच्छेदहरुबीचको तारतम्यता।

ग) अनुच्छेद परिवर्तन।

घ) कथाको प्रस्थान र अन्त्यकाबीचको तारतम्यता।

ङ) केही कथाहरुको ‘शिर्षक’ छनोट।

च) पाठकलाई आशा, उत्प्रेरणा, उर्जा र मार्गदर्शन दिलाउने जीवन उपयोगी सुखान्त कथाहरु भन्दा दु:खान्त कथाहरुको बाहुल्यता ।

अन्तमा, कथाकार श्रेष्ठले दु:खान्त धारलाई पछ्याएर कथा लेख्न गरेको प्रयास स्वागत योग्य छ। व्यक्तिगत, पारिवारिक, समाजिक तथा समग्र जगतमा घटेका घटनाहरुलाई आधार बनाएर मानिसको जीवनमा हुने दु:ख, सुख, आरोह अवरोह, उत्प्रेरणा, आशा, भरोसा, उत्साह, उमङ्ग, प्रेम, रिस, प्रकृति, द्वन्द्व आदिले कथालाई शृङ्गार्न गरेको प्रयास प्रशंसनीय छ। विषयवस्तु छनोट र त्यसले दिन खोजेको मूल सन्देश पठनयोग्य र मननयोग्य छन्। पाठकले कथासङ्ग्रहमाथि गरेको लगानी(खासगरी समय र अर्थ) खेर जादैन। यस कथासङ्ग्रहले साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा कुनै शङ्का छैन। यति हुँदाहुदै पनि, पाठकको कित्तामा रहेर कथासङ्ग्रहलाई प्रभावकारी कथा लेखनको आधार तथा सीपहरुको कसीमा राखेर हेर्दा, सुधारका केही पक्षहरु देखिएका छन्। आगामी दिनमा ति सुधारका पक्षहरुलाई विशेष ध्यान दिइनेछ। र, पाठकहरुले अझैं दमदार, प्रभावकारी र सन्देशमूलक कथाहरु पढ्न पाउने नै छन् भन्ने आशा व्यक्त गर्दछु। र, कथाकारको मेहनतको उच्च कदर स्वरुप ”कठै !” कथासङ्ग्रहलाई एक पटक वा ! भन्दै बधाई ज्ञापन गर्दछु। साथै, उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु।

शेयर गर्नुहोस:

2k
Shares