मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अन्टार्कटिका पुऱ्याउने कृति

अन्टार्कटिका पुऱ्याउने कृति


तीन दशक अघि सामान्य ज्ञान डाइजेष्ट पढ्दै गर्दा अन्टार्कटिका पुग्ने पहिलो नेपालीको नाम बारे जान्ने अवसर मिल्यो । भुवनसिंह विश्वकर्माको नाम पहिलो पटक त्यो ध्रुबीय महादेशमा पाइला टेक्ने नेपालीका रुपमा सूचिकृत भएको रहेछ । त्यस भन्दा अघिनै चार कक्षामा पढ्दै गर्दा यो महादेशको नाम पढेको थिएँ । हिउँनै हिउँले ढाकिएको र ६ महिना दिन अनि ६ महिना रात हुने भनेर मेरो दिमागमा यो महादेशले ठाउँ पनि लिएको थियो ।

अन्टार्कटिकाका बारेमा अझै थप ज्ञान कक्षा ८, ९ र १० मा पढ्ने क्रममा प्राप्त भयो । माध्यामिक तहका यी तीन वर्ष मैले ऐच्छिक रुपमा भूगोल छनौट गरेको थिएँ । भूगोलको अध्ययनले संसार बुझ्न निकै मद्धत पुगेको महसुस अहिले पनि हुन्छ । त्यसले संसारभरिका देशका राजधानी, मौसम, सागर महासागर, सामुद्रिक धारहरुका बारेमा निकैनै जानकारी मिल्यो ।
भूगोल बुझ्दा संसारका बारेमा आधा बुझिन्छ । यो कसैको भनाई होइन, मेरो आफ्नै अनुभव हो । अझै ती स्थानमा जाने हो भने त धेरै कुरा बुझ्न सकिन्छ, जान्न सकिन्छ ।

अन्टार्कटिका आफैंमा रहस्यपूर्ण महाद्विप हो । जति रहस्यपूर्ण छ त्यो भन्दा ज्यादा पुग्न चुनौतिपूर्ण र खर्चिलो पनि छ । मानववस्ती विहिन एउटै मात्र यो महादेशमा पुग्न समय भएर मात्र हुँदैन, खर्च पनि चाहिन्छ । खर्च मात्र भएर हुँदैन, दह्रो आँट र प्रतिवद्धताको पनि त्यत्तिकै जरुरी पर्छ ।

खर्च हुने, आँट हुनेहरुका लागि पानीजहाज (क्रुज) कम्पनीहरुले प्याकेज ल्याइरहेका हुन्छन् । त्यसलाई समयमै बुकिङ्ग गरेर अन्टार्कटिका पुग्न सकिन्छ । त्यहाँ अष्ट्रेलिया, अफ्रिका, भारत र दक्षिण अमेरिकाबाट पुग्न सकिन्छ । तर क्रुज कम्पनीहरुले सबैभन्दा नजिक पर्ने र कम चुनौतिपूर्ण रुटका रुपमा अर्जेन्टिनाको व्युनस आर्यस हुँदै पुग्ने रुटलाई लिइने रहेछ । जुन रुटका बारेमा मैले भरखरै पढिसिध्याएको नियात्रा लेखक जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ मा सविस्तार वर्णन गरिएको छ ।

विश्वकर्मा भन्दा पछि पनि धेरै नेपालीले अन्टार्कटिकामा पाइला राखिसकेका छन् । बेलाबेलामा छिटपुट रुपमा तिनले पत्रपत्रिकाहरुमा यात्रा विवरणका बारेमा लेखेको पनि भेटिन्छ । यात्रा विवरणका रुपमा ‘यसरी म गएँ, अन्टार्कटिका यस्तो रहेछ, जहाजको यात्रा यति अविस्मरणीय रह्यो, हिउँनै हिउँमा टेक्दा यस्तो महसुस भयो, त्यहाँका जीवजन्तुको अवस्था यस्तो रहेछ’ भन्ने खालका विवरणात्मक प्रस्तुति अन्टार्कटिका पुग्नेहरुले लेखेको पढ्न पाइन्छ ।

तर नियात्राकारका रुपमा केही वर्षयता अलग्गै परिचय बनाउन सफल लामिछानेको अक्षत अन्टार्कटिका भने त्यो रहस्यात्मक महाद्विपका बारेमा अलिक पृथक शैलीमा लेखिएको पुस्तक हो । लेखक लामिछानेको परिचय माथि भनिएझैँ नियात्राकारका रुपमा मात्र छैन, विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गोलवद्ध गर्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पूर्ब अध्यक्ष, सफल व्यबसायीको रुपमा पनि नेपाली समुदायमा पनि उत्तिकै चीर परिचित हुनुहुन्छ । व्यबसायका सिलसिलामा, एनआरएनए अभियानका क्रममा मात्र नभएर लामिछानेको सोख संसार घुम्ने, विश्वलाई बुझ्ने रहिआएको छ ।

कतै परिवारका साथ चाखपूर्ण ठाउँमा भ्याकेसन त, कतै समय मिलाएर एक्लै निस्कने बानी लामिछानेमा देखिन्छ । गएका ठाउँमा यसो विचरणमात्र होइन, ती स्थानका बारेमा सघन रुपमा जानकारी लिने, टूर गाइडको सूचनाबाट समेत तृप्त हुन नसकेर होटलका कोठामा पुगेर गुगल गर्दै ती स्थानका बारेमा अतिरिक्त सूचना लिने स्वभाव लामिछानेमा मैले लामो समयदेखि नियाल्दै आएको छु ।
आफू पुगेका स्थानका बारेमा सकेसम्म सोही साँझ, नभएपनि सोही हप्ताभित्रै सामाजीक सञ्जालमा लेखेर अरुलाई जानकारी दिने, पाठकहरुलाई पनि पुगिहालौं कि जस्तो हुटहुटी जगाउने शैली लेखक लामिछानेमा रहिआएको छ ।

अक्षत अन्टार्कटिका मेरो हातमा केही महिना अघिनै आइपुगेको थियो । लेखकको हस्ताक्षरमा आइपुगेको यो पुस्तक मैले एक महिना अघिनै पढि सिध्याएको थिएँ । तर त्यसैबीचमा मातृभूमिको भ्रमणमा रहेका कारण पुस्तकका बारेमा केही लेख्ने समय मिलेको थिएन ।

लेखक लामिछानेले १२ दिनसम्म गरेको अन्टार्कटिका भ्रमणका क्रममा सुरुको तयारी देखि लिएर फर्किसकेपछि त्यहाँका प्राकृतिक अवस्था, मानिसको व्यबहारले पारेको प्रभावका बारेमा वृस्तृत रुपमा लेखिएको कृति हो यो । यो पुस्तकमा लेखकले गरेको अन्टार्कटिकाको यात्राको वर्णनको थुप्रो मात्र छैन । त्यो ठाउँका बारेमा इतिहास, भूगोल, त्यसको प्रभावका बारेमा सकभर यात्राका टुर गाइडका रुपमा कार्यरतसँग जानकारी लिएर, त्यतिले पनि लेखक अतृप्त भएको अवस्थामा इन्टरनेटको संसार, संसारका अन्य लेखकहरुले लेखेका पुस्तकहरुबाट सूचना लिएर अक्षत अन्टार्कटिका पढ्ने पाठकहरुलाई भरपुर सूचना दिन प्रयास यो पुस्तकमा भएको छ ।

अक्षत अन्टार्कटिका पढ्दै जाँदा लेखकले त्यहाँ पुगेर लेखेको विषय पढिरहेको छु भन्दा पनि पाठकहरू आफैंले त्यहाँ पुगेको महसुस गर्न सक्छन् । घरि वर्णनात्मक शैली त घरि इन्टरभ्यू शैली, घरि इतिहास खोतलेर त घरि भविष्यको संभावित भयावहका बारेमा केलाएर अन्टार्कटिकाको दोहन गरिरहेको वर्गलाई सचेत बनाउन समेत लेखकले शव्द खर्चिनु भएको छ ।
अक्षत अन्टार्कटिका लेखकले गर्नुभएको यात्रा वर्णन मात्र पनि होइन, यो अन्टार्कटिकाका बारेमा नेपाली भाषामा लेखिएको त्यो ठाउँको एउटा सामान्य ज्ञान पनि हो । अन्टार्कटिकाको सबैभन्दा अग्लो स्थान चारहजार आठसय ९२ मिटर अग्लो स्थान भिन्सन रहेको देखि हिउँ भन्दा मुनि तलाउ समेत रहेको जानकारी पुस्तकमा उल्लेख छ । हिउँ मुनि कम्तिमा दुईसयवटा तालहरु रहेको नौलो जानकारी समेत उल्लेख भएको छ ।

पुस्तकमा अन्टार्कटिकामा पाइला राख्नेले अवलम्वन गर्नुपर्ने नियमहरुका बारेको जानकारीदेखि लिएर जहाजबाट उत्रिएपछि अन्टार्कटिकाको भूमि (बरफ)मा दिशा पिशाव गर्न पूर्ण रुपमा बर्जित रहेकोदेखि लिएर आफूखुशी हिँडडूल गर्न, त्यहाँ रहेका पशुपन्छीलाई खानेकुरा दिन, समात्न समेत नपाइने जस्ता महत्वपूर्ण जानकारी समेत दिइएको छ । मानिसले ल्याएका कुनै पनि फोहोर समेत यो भूमिमा मिल्काउन नमिल्ने जानकारी लेखकले बारम्बार विज्ञहरुबाट बारम्बार पुस्तकमा बोल्न लगाउनुभएको छ ।

अक्षत अन्टार्कटिकाको अर्को चाखलाग्दो पक्ष के छ भने विगतमा यो महाद्विपमा पुग्नका लागि भएका प्रयासहरुका बारेमा वृस्तृतमा उल्लेख भएको छ । यो स्थानमा पुग्नका लागि विगतमा मानिसहरुबाट भएको प्रयास मात्र नभएर त्यस क्रममा भएका भयंकर दुर्घटनाहरुका बारेमा समेत लेखकले वर्णन गर्नुभएकत्र छ। सबैभन्दा आश्चर्यजक तथा डरलाग्दो तथ्य चाहि अन्टार्कटिकाभित्र रहेको ताजा पानीको सतह पग्लियो भने समुद्रको सतह ६० मिटर बढ्ने कुरा उल्लेख छ । समुद्रको ६० मिटर बढ्नु भनेको विश्वका कैयौ सहरहरु पानीको गर्भभित्र पुग्नु हो ।

विगतमा ह्वेल र शीलको शिकारको नाममा मानवबाट भएको अन्त्याचारको बारेमा लेखकले निकै मार्मिक रुपमा वर्णन गर्नुभएको छ । मानवीयता हराएका ती शताव्दीहरुमा आफ्नो स्वार्थका लागि मान्छेले गरेका उपद्रो र अत्याचारबाट अहिलेको पुस्ताले पछुताइरहेको सन्दर्भहरु पनि पुस्तकमा रहेका छन् ।

पछिल्लो समयमा यो महादेशलाई संसारका शक्तिशाली देशहरुले प्रयोगशाला बनाइरहेको र यसले पृथ्वीमै समस्या पार्न सक्ने यो पुस्तक पढ्दै गर्दा अनुमान लगाउन गाह्रो पर्दैन । यहाँ अहिले ७० वटा शोध केन्द्रहरु संसारका विभिन्न मुलुकहरुले सञ्चालनमा ल्याएका छन् । देशै पिच्छेका अनुसन्धान केन्द्रहरु आवश्यकता भन्दा पनि शक्तिको होडवाजीमात्र रहेको बुझ्न गाह्रो छैन । उत्तरी ध्रुबमा यस्ता अनुसन्धान केन्द्र बनाउन होडवाजी नहुने, तर दक्षिणी ध्रुबमा रहेको अन्टार्कटिकमा मात्र यस्तो देखिनुले यो महादेशलाई कव्जा गर्ने दाउमात्र रहेको बुझ्न सकिन्छ ।

लेखक लामिछानेले यस अघिनै ‘सर्सती संसार’ र ‘देश देशावर’ प्रकाशित गरिसक्नुभएको छ । यी दुबै नियात्रा संग्रह हुन् । उहाँले आफूले घुमेका देश र त्यहाँको महत्वपूर्ण ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल पुग्दाको अनुभवलाई वर्णन गर्नुभएको छ । तर अक्षत अन्टार्कटिकाको लेखनशैली अलिक भिन्न खालको छ । नियात्रामात्र नभएर अन्टार्कटिकाको इतिहासदेखि वर्तमानसम्मै केलाउने प्रयास लेखकबाट भएको छ ।

भरखरै मात्र यो कृतिले ‘उत्तम शान्ति पुरस्कार’ पनि प्राप्त गरेको छ । फाइन प्रिन्टले प्रकाशित गरेको यो पुस्तक संसारका बारेमा बुझ्न चाहने, नियात्रा लेखनीमा रुची राख्ने र विशेषगरि अन्टार्कटिकाका बारेमा जान्न चाहनेका लागि एउटा झ्याल हो । अन्टार्कटिका जान चाहने र योजना बनाइरहेकालाई बाटो देखाउने नेभिगेसन सिस्टम हो भने जान नसक्नेका लागि त्यहीँ पुगेजस्तो महसुस गराउने कृति हो ।

शेयर गर्नुहोस:

3.1k
Shares