संयुक्त राष्ट्रसंघ (न्यूयोर्क) । संयुक्त राष्ट्रसंघअन्तर्गतको महिला सम्बन्धी संस्था (युएन वुमन) ले गाजा क्षेत्रमा रहेका करिब १० लाख महिला र बालिकाहरू भोकमरी, हिंसा र अपमानजनक अवस्थाको चपेटामा परेको गम्भीर जानकारी सार्वजनिक गरेको छ । संस्था अनुसार गाजामा अहिले कुपोषण तीव्र रूपमा फैलिएको छ, आधारभूत सेवा सुविधा पूर्ण रूपमा ध्वस्त भइसकेको छ र महिलाहरू बाँच्नका लागि अत्यन्तै जोखिमपूर्ण उपायहरू अपनाउन बाध्य भएका छन् ।
युएन वुमनकी कार्यकारी निर्देशक सिमा बाहोसले उक्त विज्ञप्तिमा भने,“गाजाका महिला र बालिकाहरूको अगाडि अहिले दुई मात्रै विकल्प छन् : आश्रयस्थलमै भोकभोकै मर्नु वा खाना र पानीको खोजीमा बाहिर निस्कनु, जहाँ उनीहरू गोली लागेर मर्न सक्छन् । उनीहरूका आफ्नै सन्तान आमाको आँखाअगाडि भोकले तड्पिएर मर्दै छन्। यो अवस्था अत्यन्तै दर्दनाक, अमानवीय र अस्वीकार्य हो ।”
बाहोसले थप भने, “यो पीडादायक अवस्था तत्काल अन्त्य हुनुपर्छ । हामीलाई तत्काल, स्वतन्त्र र ठूलो मात्रामा राहत सहायता आवश्यक छ । साथै, स्थायी युद्धविराममार्फत दीगो शान्तिको प्रक्रिया अगाडि बढाइनुपर्छ ।”
गाजाभित्रका महिला नेतृत्व भएका संस्थाहरूले प्रत्यक्ष रूपमा दिएको विवरण अनुसार, त्यहाँका महिलाहरू फालिएको खाना उमालेर आफ्ना बालबालिकालाई खुवाइरहेका छन् । पानी र खाना खोज्न बाहिर निस्कँदा उनीहरूलाई गोली लाग्ने खतरा अत्यन्तै उच्च छ । उनीहरूका लागि अत्यावश्यक सरसफाइका सामग्री, औषधि, सुरक्षित आश्रय र मर्यादाको वातावरण समेत छैन ।
विज्ञप्तिमा हालसम्म गाजा क्षेत्रमा २८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भइसकेको उल्लेख गरिएको छ । तीमध्ये अधिकांश आमाहरू छन्, जसको मृत्युले उनीहरूका बच्चा र वृद्ध आफन्तहरूलाई बेसाहारा बनाएको छ । गर्भवती महिलाहरू खाना, पानी र उपचारबिना सुत्केरी भइरहेका छन्, जसले उनीहरूलाई ज्यानको जोखिममा पारेको छ ।
संस्थाले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूको आह्वानमा साथ दिँदै गाजामा राहत पु-याउने बाटोमा रहेका सबै अवरोधहरू हटाइनु पर्ने, सबै बन्धकहरूको रिहाइ गरिनुपर्ने र तत्काल युद्धविरामको व्यवस्था गरिनुपर्ने माग पुनः दोहो-याएको छ ।
युएन वुमनले अन्त्यमा भनिएको छ, “हामी आशा गर्छौं कि यसै हप्ता आयोजना भएको ‘फिलिस्तीनको समस्याको शान्तिपूर्ण समाधानका लागि उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन’ अब निर्णायक मोड बन्न सकोस्। यसबाट इजरायल र फिलिस्तीनले दुई स्वतन्त्र राष्ट्रको रूपमा शान्तिपूर्वक र सुरक्षासहित सँगसँगै बस्न सकून् ।” सिन्ह्वा












प्रतिक्रिया