मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

प्रतिष्ठाको भारीले थिचिएर उठ्न नसकेका कृष्ण

प्रतिष्ठाको भारीले थिचिएर उठ्न नसकेका कृष्ण

जीवन विज्ञानमा लागेर बाँकी जीवन यस दुनियामा बाँच्ने तौरतरिका सिकाउने लामिछानेले आफैंले नै जीवन जिउन उपयुक्त ठानेनन्


ड्यालस (टेक्सस)- केहि दिनअघिसम्म फेसबुकका हरेक रमाइला र सूचनाप्रद स्टाटसमा ‘कुल’ लेख्दै कमेन्ट गर्ने कृष्ण लामिछानेको प्रोफाइल बुधबारदेखि बदलिएको छ । फेसबुकको ‘अल्गोरिदम’ले उनलाई ‘रिमेम्बरिङ कृष्ण लामिछाने’ अर्थात् ‘सम्झनामा कृष्ण लामिछाने’मा बदलिदिएको छ ।

भ्याएसम्म जन्मदिन परेकालाई श‍ुभकामना दिने, दुःख परेकालाई सहानभूति र समवेदना व्यक्त गर्ने उनको टाइमलाइन यतिखेर उनी आफैंलाई व्यक्त गरिएका श्रद्धाञ्जली ‘ट्याग’ भएर भरिएका छन् ।

जीवन विज्ञानमा लागेर बाँकी जीवन यस दुनियामा बाँच्ने तौरतरिका सिकाउने लामिछानेले आफैंले नै जीवन जिउन उपयुक्त ठानेनन्, फलस्वरुप यसको विपरीत मृत्युको बाटो रोज्न पुगे । उनले जुन भयङ्कर बाटो समाते, त्यसले जीवन विज्ञानप्रति नै दह्रो प्रश्न छाडेको छ । विगत केही महिनादेखि सार्वजनिक जीवनबाट गुमनाम भएर जुन प्रक्रियाबाट उनले जीवन त्यागे, त्यसले परिवार एवम् समाजप्रति अनुत्तरितप्रायः प्रश्न तेर्सिएको छ ।

ड्यालस डाउनटाउनदेखि केही माइलको दुरीमा ‘ह्युगिज फेमिली ट्रिब्युट सेन्टर’ छ । यो सेन्टर मानिसको निधनपछि अन्तिम संस्कार गर्ने थलो हो । यो विद्युतीय शवदाह गृह हो । यो विद्युतीय गृहले नेपाली समुदायका थुप्रै सदस्यलाई खरानी बनाइसकेको छ । अकालमा जीवन गुमाएका, उमेर पुगेर कालगतिले मृत्यु भएका, जीवनदेखि वाक्क भएर विकल्पमा मृत्यु रोजेका धेरै नेपालीलाई यो शवदाह गृहले आफूमा विलीन पारिसकेको छ ।

शनिबार यही शवदाह गृहले अमेरिकी नेपाली डायस्पोराका एकजना सर्वाधिक परिचित व्यक्तित्व लामिछानेलाई पनि विलीन गराएको छ । नेपाली समाज टेक्ससजस्तो लोकप्रिय संस्थाको अध्यक्ष भइसकेका, गैरआवासीय नेपाली संघ अमेरिकाको नेतृत्व तहमा पुगिसकेका चिरपरिचित सामाजिक व्यक्तित्व लामिछानेको पनि यही शवदाह गृह अन्तिम गन्तव्य बनेको छ ।

यसअघि ‘ह्युगिज फेमिली सेन्टर’मा जति पनि नेपालीका अन्तिम संस्कार भए, तिनमा लामिछाने नदेखिएको र उनको सक्रियता नभएको कुनै क्षण भएन । ‘मर्दा र पर्दाको’ उनको थेगोअनुसार उनी आफैंले सक्रियता लिएर विभिन्न दुर्घटनामा परी निधन भएका विद्यार्थीदेखि कोही पनि आफन्त नभएका धेरैको अभिभावक भएर अन्तिम संस्कारको तारतम्य मिलाउने गरे ।

ह्युगिजमा नेपालीको दाहसंस्कार हुँदा उनी सधैंभरि ‘फ्रन्टलाइन’मा हुन्थे । उनी आफ्नै दाहसंस्कारको लागि तयार हुँदासम्म पनि त्यहाँ उपस्थित धेरैको आँखाले उनलाई सदाझैं फ्रन्टलाइनमै खोजिरह्यो । हुन त शनिबार पनि उनी फ्रन्टलाइनमै थिए, तर कफिनको बाकसभित्र चिरनिद्रामा । सँगै रहेकी उनी कान्छी छोरी इच्छा लामिछाने सह्मालिन नसकेर रोएको देख्दा उपस्थित सयौंका आँखा रसाएका थिए ।

‘मेरो बाबालाई नछाड्ने । उठाइदिस्योस् न, मेरो बाबालाई । बाबालाई फर्काइदिस्योस् न, प्लिज भगवान्’ भनेर डाँको छाडेर इच्छा रोइरहँदा धेरैलाई सह्मालिन गाह्रो परेको थियो ।

छोरीहरुले दिए दागवत्ती

कृष्णकी पत्नी मालाले कफिनमा राखिएको कृष्णको शवमा टाँसिदै ‘अब पुरानो कुरा सबै बिर्सेर अघि बढ्ने भनेकै थिएँ । तिमीले किन यस्तो बाटो लियौ’ भनेर विलाैना गरिरहँदा आफन्त तथा उपस्थित महिलाहरुले सह्मालिरहेका थिए ।

जेठी छोरी कृतिमाले भक्कानिदै अमेरिकाको सपनादेखि लिएर बाल्यकालका प्रसंग सुनाइरहँदा धेरैका आँखा रसाए । लामिछानेको बिदाइका लागि अमेरिकाका विभिन्न ठाउँमा रहेका उनका निकटस्थ, शुभचिन्तकसमेत ड्यालस आइपुगेका थिए । सबैको मनले एउटै उत्तर खोजिरहेको थियो, ‘यो भयङ्कर बाटो नै किन रोजे, कृष्णले ? ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा बस्ने एक लाखको हाराहारीमा रहेको नेपाली समाजले किन मध्यस्थकर्ताको भूमिका खेल्न सकेन ? अमेरिकामा पारिवारिक विखण्डन बढिराख्नुको भित्री कारण के हो ?’

घटनाको सुरुवातः

लामिछानेको सुन्दर परिवार

लामिछानेको सुन्दर परिवार थियो । अर्भिङ सिटीको अब्बल मानिने ठाउँमा भव्य घर थियो । सुविधायुक्त मानिने लेक्सस, टेस्ला र फोर्डका गाडीहरू थिए । पति-पत्नीकै व्यवसाय थियो । त्योभन्दा मुख्य कुरा समाजमा ठूलो प्रतिष्ठा थियो । सबैले सम्मान गर्थे । अलि महत्वाकांक्षी र मनमा कुरा राखिरहने स्वभावका भनेर थोरैले टिप्पणी गरे पनि सारमा लामिछाने धेरैका लागि आदर्शपात्र थिए । उनले ड्यालस फोर्टवर्थको नेपाली समुदायका लागि मर्दा र पर्दा गर्ने सहयोग, देखाउने तत्परता सबैका लागि उदाहरणीय थियो ।

गोर्खाको दुर्गम नाम्जुङबाट अमेरिका आएर उनले समाजमा दिएको योगदान उल्लेखनीय थियो । उनका दुई छोरी कृतिमा र इच्छा नेपाली समुदायका बालबालिकाका लागि आदर्शपात्र थिए । ‘सन्तान हुनु त कृतिमा र इच्छाजस्तो’ धेरै अभिभावकका मुखबाट निस्कने वाक्य थियो, यो । ‘कृतिमा दिदीसँग सल्लाह गर है !’ आफ्ना छोराछोरीलाई बाबुआमाले दिने परामर्श थियो, यो ।

तर, एकाएक यो आदर्श परिवार अनि आदर्श चरित्र छिन्नभिन्न भएको छ । एउटै घटनालाई लिएर देवत्वकरण गर्ने दुनिया अहिले लामिछानेको अप्रिय कदमपछि परिवारमाथि दानवीकरण गर्न उद्यत छ ।

नजिकबाट उनको परिवारलाई जान्नेहरु भन्छन्, ‘पारिवारिक रुपमाचाहिँ केही समस्या थियो । एकअर्काप्रति अविश्वास, पछिल्लो समयमा व्यवसायमा आएको मन्दी, लामिछानेको फोकस घरपरिवार र व्यवसायमा भन्दा पनि बढी समाज, एनआरएनमा संलग्नता बढ्यो । त्यसले आर्थिक रुपमा पहिलेभन्दा कम आय हुन थाल्यो ।’

गत वर्ष लामिछाने नेपाल गएर केही समय बस्दा र पछिल्लो समयमा नेपालमा बढी रकम पठाउन थालेपछि पारिवारिक रुपमा कलह उत्पन्न भएको निकटहरु बताउँछन् । पारिवारिक रुपमा सम्बन्ध नरहेका व्यक्तिलाई पैसा पठाइनुले विवाद बढ्दै गएपछि पत्नी माला र छोरीहरुले अनुसन्धान गर्न सुरु गरेका थिए । त्यसपछि लामिछाने सार्वजनिक स्थान, सामाजिक कार्यक्रम आदिमा देखिन छाडेका थिए । फोन सम्पर्क एवम् सामाजिक सञ्जालबाट विगत पाँच महिनादेखि पुरै अलग भएका थिए ।

घरमा द्वन्द्व बढेको र उनले परिवारबाट यातना पाइरहेको घटना बाहिरिएपछि समाजका स्थानीय लब्धप्रतिष्ठितहरु उनको घरमै पुगे । उनीहरुले दुईओटा उपाय सुझाए । पहिलो- मिलेर बस्ने । दोस्रो- सँगै बस्नै नसक्ने भएमा सम्बन्ध-विच्छेद गर्ने । त्यस क्रममा नेपालमा असम्बन्धितलाई पैसा पठाएका कारण अविश्वास पैदा भएको, धोका भएको जस्ता कुराहरु दुवै पक्षबाट आएका थिए ।

नेपाली समाजमा एउटा भनाइ छ- ‘लोग्ने-स्वास्नीको झगडा परालको आगो ।’ यसर्थ, यस्ता घरायसी मतभेदमा बाहिरी पक्षले हात हाल्नु उपयुक्त हुँदैन । त्यही सोचेर नेपाली समाजका सदस्यहरु कुनै बेला उनीहरु मिलिहाल्छन् नि । पहिले पनि त चर्कै विवादको कुरा बाहिर आएको थियो भन्ने सोचमा बसे । तर, उनी निरन्तर गोरखामा रहेका बा-आमा, काठमाडौंमा रहेका भाइ कपिल (जो नेपाल टेलिकममा कार्यरत छन्) सँग निरन्तर सम्पर्कमा थिए । अहिले जे-जति अडियो छताछुल्ल भएका छन् ती सबै कृष्णका भाइ कपिलले गत डिसेम्बरमा रेकर्ड गरेका हुन् । लामिछानेपत्नी मालाका अनुसार नेपालमा गिरोहको चंगुलमा परेका थिए । जसका कारण उनले झुक्याएर पटक-पटक पैसा पठाइरहेको उनको भनाइ छ ।

तर, मंगलबार उनले भयङ्कर बाटो समाते, जुन बाटो उनले लिनेछन् भनेर न परिवारले कल्पना गरेको थियो न त समाजमा वरिष्ठ भनिनेहरुले नै । अरुलाई बाँच्न प्रेरणा दिँदै हिँड्ने, जीवन-विज्ञान अभियानमा केही समयदेखि लागेका लामिछानेले अरु दर्जनौं विकल्प हुँदाहुँदै पनि यस्तो गलत बाटोलाई मात्र किन विकल्प देखे भन्ने विषयमा अहिले पनि परिवार, समाज निरुत्तर छ ।

उनले पत्नी मालाको नाममा लेखेको दुई पेजको नोट अहिले सार्वजनिक भएको छ । नोटमा आफूबाट परिवारलाई धोका भएको उल्लेख गर्दै जीवनप्रति नै वितृष्णा जागेको संकेत दिएका छन् । (हेर्नुस्-नोट )

स्व. लामिछानेले पत्नी मालाको नाममा लेखेको दुई पेजको नोट

 

त्यस्तो नोट लेखेर यो बाटो लेलान् भन्ने संकेत मात्र पाएको भए सायद परिवारले घरबाट बाहिर समाजमा आउन पक्कै दिने थियो । समाजले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गरेर प्रहरीलाई खबर गर्ने वा अलग भएर जीवन बिताउन मध्यस्थकर्ताको भूमिका खेल्ने थियो । तर, कसैले अनुमानसमेत नगरेको बाटो लिएर उनले अहिले सबैलाई प्रायश्चितको भागिदार बनाएका छन् । परिवार पीडामा छ । तर, परिवारको पीडालाई नाटक भन्नेहरु पनि देखिएका छन्, समाजमा । समाज दुःखमा छ । दुःखमा भएको समाजलाई उल्टै किन समयमा उद्धार गरेन भनेर प्रश्न गर्नेहरु सलबलाएका छन् । अस्पताल पुर्याएर उपचार गर्नेहरुको मन रोएको छ । तर, मन रुनेहरुमाथि नै आरोप लगाउन थालिएको छ । परिवार, समाज, साथीभाइ, निकटहरुको परिभाषालाई नै अन्योलमा पार्दै लामिछानेले बिदा लिएका छन् ।

प्रतिष्ठाको भारीः

परिवारले नेपालमा कुनै महिलासँग कृष्णको उठबस रहेको र त्यसैलाई निरन्तर रकम पठाइरहेको आरोपबाट घटना सुरु भएको हो । ती महिलालाई चिन्नेहरु भन्छन्, ‘‘नेपाली कांग्रेसको भेला, सम्मेलनमा भेट भएको” हाल बाहिरिएको अडियोमा पनि यो तथ्यको संकेत पाइन्छ ।

त्यो घटनापछि परिवारले कृष्णलाई समाजसँग अलग बनायो । उनी आफैँ पनि समाजमा आउन गाह्रो मानेको देखिन्छ । एक निकट व्यक्तिका अनुसार कृष्णले बाहिर आफ्नो बारेमा नकारात्मक कुरा कति फैलियो होला है ? भन्दै चिन्ता गर्ने गरेका थिए । नेपाली समाज टेक्सस, जनसम्पर्क समिति, एनआरएनएलगायत संस्थामा रहेर सँगै काम गरेकाहरुले स्टोरबाट घर फर्कंदा कतै भेटौं भन्दा पनि उनले अस्वीकार गर्दै आएका थिए ।

फोनमा कुराकानी हुँदा समाजका व्यक्तिहरुले सम्बन्ध-विच्छेद गरेर अलग बस्न पनि सुझाएका कुरा बाहिरिएका छन् । तर, दुई छोरीको खुसीका लागि संसारका सबै कुरा त्याग्न सक्ने कृष्णले त्यो बाटोलाई स्वीकार गरेनन् ।

एउटा निश्चित उचाइ हासिल गरिसकेको व्यक्तिका निजी जीवन, पारिवारिक, आर्थिक, चरित्रका कुराहरु बाहिर आउँदा उनीहरुले हासिल गरेको इज्जत तत्काल धुलोमा मिसिन्छ । नेपाली समुदायमा यस्तो हुँदै आएको पनि छ । अमेरिकी जीवनमा विवाह, सम्बन्ध-विच्छेद, चरित्रका कुराहरु केही समय ताते पनि यसलाई व्यक्तिको ‘प्राइभेसी’ भनिन्छ । प्राइभेसीमा अरुले दखल पुर्याएको कसैले निको मान्दैनन् । कानुनले पनि ठीक मान्दैन । त्यही भएर अमेरिकी जीवनमा यसलाई सामान्य रुपमा लिइन्छ ।

केही दशकअघि तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र उनकी निजी सचिव मोनिका लेवेन्स्कीको सम्बन्ध निकै तात्यो । पछि मोनिकाले राष्ट्रपतिको कार्यालयमै यौनसम्पर्क गरेको तथ्यलाई बाहिर ल्याइन् । यो विषयले क्लिन्टनको पारिवारिक जीवनमै तहसनहस ल्याउने सम्भावना औंल्याइएको थियो । तर, हिलारी क्लिन्टनको समझदारीले यो केसले ठूलो आकार लिन सकेन ।

नेपाली समाजमा हिलारीजस्ता उदार महिला भेट्न मुस्किल पर्छ । जीवनका लागि आहार जस्तै यौन अपरिहार्य वस्तु हो भन्ने बुझ्न सक्ने र यसलाई व्यवहारतः लागु गर्न सक्ने हुन निकै समय लाग्छ, नेपाली समाजमा । ढोँगीहरु समाजमा भरिएका छन् । नेपालमा कृष्ण लामिछानेको कोही महिलासँग सम्बन्ध रहेकै भए पनि यसको भित्री कारण केलाउन जरुरी छ कि छैन ? यतातर्फ समाजले ध्यान दिनै पर्छ ।

कृष्ण लामिछानेले आफू पीडामा परेको, पारिवारिक रुपमा अविश्वास सिर्जना भएको कुरा बाहिर ल्याउन चाहेनन् । कारण थियो, उनले समाजमा आर्जन गरेको प्रतिष्ठा र ख्याति । सामाजिक रुपमा आर्जन गरेको ख्याति एउटै घटनाले धुलोमा मिल्ने डर उनमा पलायो । जसले गर्दा उनले जीवन जिउने अन्य उपाय हुँदाहुँदै पनि आत्महत्याको बाटो रोजे ।

समाजमा अन्य गण्यमान्यहरुले पनि कृष्णको पीडालाई बाहिर समाजमा ल्याउन चाहेनन् । कृष्णले नै यो विषयलाई सार्वजनिक गर्ने, प्रहरी बोलाउनेतर्फ पटक्कै नचाहेको कुरा उनीनिकट एकले हिमालय खबरलाई बताए ।

प्रतिष्ठाको बोझले थिचिएपछि त्यसलाई मिल्काएर हल्का हुन निकै कठिन पर्ने रहेछ भन्ने पाठ उनले समाजलाई सिकाएर गए । कृष्णले अमेरिका आएर शून्यबाट जीवन सुरु गरेर आफ्नो परिवार, इज्जत प्रतिष्ठालाई उचाइमा त पुर्याए, तर हिन्दीको एउटा भनाइ ‘खोदा पहाड, निकला चुहा’सँग ठ्याक्कै मिलेको । रातदिन नभनेर व्यवसायबाट पैसा आर्जन पनि गरे, रातदिन नभनी समाजलाई दिएको योगदानले उनको प्रतिष्ठाले सगरमाथाको उचाइ ग्रहण पनि गर्यो, तर जीवनको पछिल्ला दिनहरुमा त्यसबाट उनको जीवन पीडादायी हुन पुग्यो । उनलाई एकातिर नेपालको ‘हनी ट्रयाप’ गिरोहले बेइज्जती गरिदेला भन्ने डर, अर्कोतिर पारिवारिक कुरा बाहिर आउला भन्ने चिन्ता । यही चिन्तालाई मनबाट हटाउन नसक्दा उनी यो गलत बाटो छान्न पुगेका हुन् ।

परिवार भनेको सम्झौताको एउटा दस्तावेज पनि हो । हरेकले हरेक पाइलामा सम्झौता गर्न नसक्ने हो भने परिवार होइन, युद्धभूमि बन्छ । लोग्नेले भनेका कुरा पनि परिवारमा सतप्रतिशत लाग्दैन, पत्नीले भनेका पनि लागु हुँदैनन् । न त छोराछोरीले भनेकै सतप्रतिशत लागु हुन्छ । सबै सदस्यले सम्झौता गर्न जान्ने हो भने मात्र परिवार चल्छ । सम्झौताहीन जीवनको अन्तिम गन्तव्य दुर्घटनाग्रस्त नै हो ।

जीवन जोगिने सम्भावना थियो ?

यदि, कृष्ण लामिछानेलाई समयमै डिप्रेसनको अवस्थाबाट उद्धार गर्न सकिएको भए उनको जीवन जोगिने सम्भावना थियो ? हामीले यो जिज्ञासा उनीसँग असाध्यै निकटसँग राख्यौँ । उनले भने, ‘यो बडो गाह्रो थियो । उनी आफ्नो पारिवारिक कुराहरु बाहिर ल्याउने पक्षमै थिएनन् । बरु पीडा सहेर बस्ने, परिवारका कुरा बाहिर नल्याउने पक्षमा थिए । त्यही भएर हामीले पुलिसलाई खबर गर्ने आँट पनि गरेनौं । छोरीहरुको दिमाग, पढाइमा अलिकति पनि असर नपरोस् भन्ने उनी चाहन्थे ।’

उपचारका लागि अस्पताल जाँदा शरीरमा चोटपटक देखेर डाक्टरले नै प्रहरी बोलाउने प्रयास गरेका थिए । तर, उनले बिन्ती गर्दै पारिवारिक घटना आफूहरुले नै मिलाउने भनेका थिए ।

उनी डिप्रेसनमा पुगिसकेको जानकारी पाएर समाजका केही व्यक्तित्वहरुले पटक-पटक ‘रेस्क्यू’ गर्ने प्रयास गरे । तर, उनी रेस्क्यू त छाडौं घटना नै बाहिर नआइदेओस्, कसैले थाहा नपाइदिऊन् भन्नेमा उनी ध्याउन्न बने । यस विषयमा उनले न केही भन्न चाहे न त निकटहरुले दिएको विकल्पलाई नै स्वीकारे ।

ती निकटका अनुसार उनीहरुले दुईवटा विकल्प दिएका थिए । पहिलो- विकल्प घरबाट केही समय बाहिर साथीहरुकोमा बस्ने थियो । दोस्रो- पत्नीसँग सम्बन्ध-विच्छेद गर्ने थियो । तर, उनले यी दुवै विकल्प स्वीकार गरेनन् । उनलाई उद्धार गर्न चाहने साथीहरुसमेत कुनै विकल्प पनि उनले नमान्ने भएपछि घरायसी मामिला भएकाले कुनै समय मिलिहाल्छन् भन्ने विश्वासमा ढुक्क थिए ।

उनलाई परिवारका सदस्यहरुमध्ये एकजनाले छाड्दैनथे । पछिल्ला केही महिना कान्छी छोरी इच्छासँग बिहान इनिस सिटीमा रहेको स्टोर पुग्ने र साँझ सँगै फर्कने दिनचर्या थियो । उनकी पत्नी माला एक महिना नेपाल बसेर गत साता मात्र फर्किएकी हुन् । पत्नी माला फर्किएपछि आइतबार छोरी इच्छाको जन्मदिन सँगै मनाएका थिए । भोलिपल्ट सोमबार जेठीछोरी कृतिमा, जो न्युयोर्कमा बस्छिन् । उनीसँगै घुम्नका लागि इच्छा त्यता गइन् । पत्नी माला आफ्नो पार्लर व्यवसाय सह्माल्नतिर लागिन् । त्यही क्रममा उनी मंगलबार चाँडै घर आएर कोही नभएको मौका छोपेर आत्महत्याको जघन्य बाटो रोज्न पुगे ।

लामिछानेले आत्महत्याकै बाटो रोज्नु पर्नाको मुख्य कारण नेपालमा पठाइएको रकम, परस्त्रीसँगको सम्बन्ध र त्यसले पारिवारिक रुपमा ल्याएको खटपट नै हो । पछिल्लो समयमा त्यो विवाद परिवारमा मत्थर हुँदै गएको थियो । तर, समाजमा आर्जित इज्जतको डरले उनले यस्तो गलत मार्ग रोजेका हुन् ।

यहाँ अहिले स्व. लामिछानेका परिवार शोकमा छन्, प्रियजन गुमाउँदाको पीडामा छन् । परिवारको मियोले अप्रत्याशित बाटो समातेका कारण त्यसको पीडामा छन् । यही समयमा परिवारमाथि अनेक टीका-टिप्पणी भइरहेका छन् । अनेक कोणबाट आरोप लगाउनेहरु सलबलाइरहेका छन् । मनलाग्दी आरोप लगाउँदा त्यसले पीडामा रहेका परिवारलाई अर्को पीडा थप्ने काम भइरहेको छ । कथंकदाचित यस्ता आरोपले मानसिक पीडा सहन नसकेर परिवारको जीवन तलमाथि भयो भने त्यसको जिम्मा लिइदिने कसले ?

प्रतिष्ठा गिर्ने भयले कुनै कुरा बाहिर ल्याउन लामिछानेले नचाहेका तथ्य सबैले छर्लंगसँग बुझिसकेका छन् । यस्तो अवस्थामा परिवारलाई दोषारोपण गर्नु सर्वथा उचित होइन । त्यसमाथि आरोप लगाउने, अनुसन्धान गर्ने, तहकिकात गर्ने काम दुनियाको होइन ।

बाबुको शव अघिल्तिर बसेर सारा नेपाली समुदायप्रति धन्यवाद दिइरहेकी र बाबुको पदचाप समातेर नेपाली समुदायको सेवामा लाग्छु भनेकी कृतिमालाई साथ दिनु, हौसला दिनु समाजको कर्तव्य हो ।

यो पनि पद्नु होला 

कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न

कृष्णदाइको कफिन भित्र आफूलाई सम्झँदा

लामिछानेको मृत्‍यु प्रकरण, अर्भिङ पुलिस छानबिन गर्दै