मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   

संवेदनाहिन शासकका नाममा

संवेदनाहिन शासकका नाममा


तस्बीरहरू: सामाजीक सञ्जाल

अमेरिका । शनिबार नेपालको लागि राष्ट्रिय विपत्तिको दिन थियो । सरकारले नै जारी गरेको विवरण अनुसार यो विपत्तिमा परेर एकसय ४८ जनाको निधन भैसकेको छ भने पाँच दर्जन अझै बेपत्ता छन् ।

राजधानी काठमाडौँलाई जोड्ने ‘लाईफ लाइन’ राजमार्गहरु अवरुद्ध छन् । हाइड्रोपावर प्लान्टहरु बन्द छन् । भारतबाट बिजुली आयात सुरु भएको छ । दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति प्रकृयामा व्यवधान आएको छ । अघिल्लो दिनसम्म घरमा सुतेका व्यक्तिहरु पहिरो र बाढीले हेर्दाहेदै गर्लाम्म ढालेर बगाएपछि मानिसहरु सुकुम्बासी बनेका छन् । मानिसहरुले परिवार गुमाएका छन्, सम्पत्ति गुमाएका छन्, सबथोक गुमाएका छन् । घोषित नभएपनि एक हिसाबले शनिबार नेपालको लागि राष्ट्रिय शोकको दिन बन्यो ।

तर मुलुकको कार्यकारी निकायको नेतृत्व गर्ने प्रधानमन्त्री भने शनिबार अमेरिकाको म्यासाचुसेट राज्यको बोस्टनमा राष्ट्रिय झण्डाको झण्डोत्तलमा संलग्न भए । संयुक्त राष्ट्र संघको ७९ आैँ महासभामा सहभागी हुन भनेर न्यूयोर्क आएका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट तीनसय ७० किलोमिटर टाढा रहेको बोस्टन पुगे । शनिबार नेपाल बाढी र पहिरोले आक्रान्त परिरहँदा प्रधानमन्त्री बोस्टनमा एउटा व्यक्तिको घरमा साइनबोर्डको अनावरण गर्न र परराष्ट्र मन्त्री आरजु देउवा अमेरिकाका कांग्रेस निकटहरुसँग लञ्च/डिनर, शपिङ्गमा व्यस्त भएको तस्विरहरु छरपष्ट भएका छन् ।

शुक्रबारदेखिनै बोस्टनमा रहेका प्रधानमन्त्री त्यस दिन हार्वडमा अन्तरकृयामा संलग्न भए । शनिबार अमेरिकामा तीन दशकदेखि बस्दै आएका प्रल्हाद केसीको घरमा अवैतनिक महाबाणिज्यदूत कार्यालयमा साइनबोर्ड अनावरण र नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलनमा संलग्न भए ।

तस्बीरहरू: सामाजीक सञ्जाल

पानी र हिउँले हरियो लेउ लागेर हरियो परेको काठको फेन्सले घेरिएको दुई तल्ले घरमा अवैतनिक महाबाणिज्य दूतावासको साइनबोर्ड ओलीले अनावरण गरे । ओलीबाट उदघाटन गरिएको भन्ने व्यहोरा चाहि कागजमा लेखिएको थियो । कागजमा लेखिएको व्यहोरालाई मखमली कपडा उघारेर ओलीले कार्यालय उद्घाटन गरे ।

यो कुनै स्थायी कार्यालय, कर्मचारीले भरिभराउ होइन । नत नेपाली अवैतनिक महाबाणिज्यदूतको ठूलै भूमिका र जिम्मेवारी हुन्छ । अमेरिकामा शहरै पिच्छे नेपाली अवैतनिक महाबाणिज्यदूत पर्यटनदूतका भीड छ । नेपालमा आफू निकट पार्टीको सरकार भएको बेलामा यताका पहुँचवालाहरुले पड्काउने अस्थायी पदमात्र हो यो । अघिल्लो सरकारमा नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको समयमा उनी खुशी भएर प्रल्हाद केसीलाई बक्स भएको पद हो अवैतनिक महाबाणिज्यदूत ।

पहिलो कुरा, प्रधानमन्त्री तहको व्यक्तिले एउटा सामान्य अवैतनिक बाणिज्यदूतको कार्यालयको उदघाटन गरेर हिड्नुनै शक्तिको दुरुपयोग हो । प्रमंको तहबाट उदघाटन हुनुपर्ने यो कुनै ठूलो उपलव्धी हुँदै होइन । जुन कुरालाई प्रधानमन्त्रीकै दल निकट प्रवासी मञ्चका कार्यकर्ताहरुले समेत पचाउन सकेका छैनन् ।

दोस्रो कुरा, राजधानी काठमाडौंका अधिकांश घरमा बाढी पसेर तवाह तवाह बनाएको अवस्था । बाढीले बगाएर मानिसहरुको निधन भएको छ, गाडीमा यात्रा गर्दागर्दै पहिरोले गाडी पुरेर मानिसहरु वेपत्ता छन् । घरहरु देख्दा देख्दै खण्डहर भएर ढलेका छन् । पुल पुलेसाहरुलाई बाढीले निलेको छ । यस्तो समयमा प्रधानमन्त्री भने मुलुक पुरै शान्तमय रहेको छ भने जसरी देशाटनमा संलग्न व्यस्त हुनुले शासकहरुको संवेदना कुन तहसम्म छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

देशमा संकटको अवस्था आउनासाथ प्रधानमन्त्री शनिबार बिहानै नेपाल फर्किनुपर्थ्यो । मुख्य जुन प्रोग्रामका लागि आएको हो, त्यो सकिएपछि पनि अनावश्यक र औचित्यहिन ठाउँमा प्रधानमन्त्री बरालिएका छन् । लौ टिकट सार्न मिलेन । त्यो पनि सहमत हुन सकिन्छ । त्यो अवस्थामा प्रधानमन्त्री जस्तो मान्छे न्यूयोर्कको कन्सुलेट जनरलको अफिसमा बसेर नेपालमा मन्त्रीपरिषदको बैठक भर्चुअल रुपमा राख्न सकिन्थ्यो । यहीँबाट राहत, उद्धार, परिचालनको निर्देशन प्रधानमन्त्रीको तहबाट हुन सकेको भए जनआक्रोश साम्य पार्न एउटा बलियो औजार बन्न सक्थ्यो ।

तर प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई कुनै संवेदनाले छोएको, झण्डोत्तलन गर्दा शीर नुहेको महसुस कसैले गर्न पाएनन् ।

तस्बीरहरू: सामाजीक सञ्जाल

संसारका विवेकी शासकहरुमा एउटा स्वभाव हुन्छ । मुलुकलाई विपत्ति पर्दा जहाँ पुगेको भएपनि, जुन अवस्थामा रहेपनि उनीहरु पहिलो प्राथमिकता देशलाई दिएर तुरुन्त फर्किन्छन् । फर्किन नसकिने अवस्थामा अनेक विधि, प्रविधिको उपयोग गरेर जनतासँग निरन्तर जोडिइरहेका हुन्छन् ।

तर देशको लाइफलाइन अवरुद्ध छ प्रधानमन्त्री र परराष्ट्र मन्त्री मुख्य काम सकिएसकेर पनि अमेरिकामै अल्झिरहनुले जनआक्रोशलाई थप्न बल पुगेको छ । प्रधानमन्त्री भन्दा पनि परराष्ट्र मन्त्री देउवा चार दिन अघि अमेरिकी महादेश आइपुगेकी हुन् । देउवा क्यानडामा भएको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी भएर सेप्टेम्बर २० मा अमेरिका अाएकी हुन् ।

नेपालमा ठूला राजनीतिक दलप्रति आक्रोश बढ्दो छ । आक्रोश यत्तिकै बढेको होइन । आक्रोशलाई मलजल गर्ने पनि राजनीतिक नेतृत्व र बारम्बार पालैपालो सरकारमा पुगेकाहरुको व्यबहारनै हो । जनताले के भन्लान् ? बाँकी संसारले हामीलाई कसरी हेरिराखेको छ ? भन्ने कुरामा शासकहरुका, ठूला दल भनिनेहरुमा पटक्कै ध्यान पुगेको पाइदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ हजार भारतीयहरुलाई न्यूयोर्कमा संवोधन गरेर गए । तर नेपालका प्रमं ओलीको कार्यक्रमस्थल एकातिर उचित नहुनु र अर्कातिर कालोझण्डा देखाउने तयारीले कुनै औपचारिक कार्यक्रम भएनन् । प्रधामन्त्री ओली प्रवासी मञ्चका एकाधको घेरा भन्दा बाहिर निस्किन नसकेको र परराष्ट्र मन्त्री कांग्रेसका केही प्रवासी नेताहरुको घेरामै सिमित रहेको चर्चा न्यूयोर्क र बोस्टनमा छ ।

तस्बीरहरू: सामाजीक सञ्जाल