हिजो डालासमा हाम्रा प्रिय कृष्ण दाइको अन्तिम बिदाई भयो। डालास र वरिपरिको ठूलो नेपाली समुदाय आफ्नो प्रिय मान्छेको अन्तिम दर्शनका लागि भेला भएका थिए। आफू त्यहाँ जान नपाएपनि प्रत्यक्ष प्रशारण हेरेर त्यहीं उपस्थित कृष्ण दाइको अन्तिम बिदाईमा सहभागी भएको महशुस गरियो।
कृष्ण दाइलाई पछिल्लो पटक गत वर्ष नेजाको सामुदायिक अन्तरक्रियाका बेला डालासमा भेटेर कुरा गरेको दृष्य झलझल्ती आँखा अघिल्तिर आइरह्यो। त्यसपटक कृष्णदाइलाई भेट्दा फेसबुकबाट एनआरएनए अमेरिकाको अध्यक्ष भएको घोषणा गरेर वैधानिक तबरबाट निर्वाचित एनआरएनएको खिलाफ किन जानु भयो भन्ने प्रश्न गरेको थिएँ। तारा दाइले पनि उनी फेसबुके अध्यक्ष भएकोमा बेखुसी प्रकट गर्नु भएको थियो। कसको उक्साहटमा लागेर उनले अबैधानिक अध्यक्ष हुने मोह राखे कहिल्यै थाहा हुन पाएन। हामी आयोजक रहेको कार्यक्रममा उनलाई एनआरएनको अध्यक्ष भनेर आसन गराउन सकिएन , मिलेन। सायद त्यतिबेला दाइलाई हामीले उचित सम्मान नगरे जस्तो लाग्यो होला। उहाँ कार्यक्रमको बिचमै निस्केर जानु भो। त्यसपछि उहाँसंग भेट भएन। अब चाहेर पनि भेट हुन सक्ने कुरै भएन।
कृष्ण दाइका लागि भनेर आएका हजारौं नेपालीहरु शोकमग्न त छँदै थिए, त्यहाँ बोल्ने प्रत्येक वक्ताले कृष्णदाइले आफ्नो जीवनकालमा डालासको नेपाली समुदायलाई दिएको योगदानको चर्चा गरेर दाइलाई सबैको मनमा झनै ताजा बनाइरहे।
कृष्णदाइ जुन परिस्थितिका कारण आफैंलाई सिध्याउने क्रुर निर्णय गर्न बाध्य भए, त्यो हामी सबैको अघि छताछुल्ल भइसकेको छ। परिवारको निरन्तरको शारीरिक एवं मानसिक यातना, घृणा र आफ्नो फराकिलो सामाजिक पहिचानको चेपुवामा परेर कृष्णदाइले आत्महत्या गरेका हुन् भन्ने जान्न अब कुनै थप अनुसन्धान गरिरहनु पर्दैन।
विगत केही महिनादेखि सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुन छोडेका कृष्णदाइले सहजै मृत्युको बाटो रोज्लान् भन्ने अनुमान सायद उनलाई घरायसी हिंसाको उपचारका लागि अस्पताल लाने ल्याउने निकटका साथीहरुले समेत भेउ पाए जस्तो लागेन। घारायसी हिंसाका बाबजुद जीवन बाँच्ने उपायका बारेमा उनीसंग बृहत छलफल र आवश्यक परामर्श दिन पाइएको भए उनी अहिले हाम्रो सामु जीवित नै पो हुन्थे कि भन्ने बिचार राख्नेहरु पनि सही नै होलान्।
तर हामी दोहोरो जीन्दगी बाँचिरहेकाहरुबाट यसरी जेलिएका छौं कि घरभित्र जीवन नर्क बनाउनेहरु समाजमा नामुद जीवन दर्शन प्रवर्द्धक भइरहेको देख्न/ सुन्न बाध्य छौं। समाज स्वर्ग बनाउन हिंडेका हाम्रा कृष्ण दाइ घर भित्र कस्तो जीन्दगी बाँच्न बाध्य थिए, हामी सबैलाई छर्लङ्ग भइसकेकै छ।
आज श्रद्धाञ्जली व्यक्त गर्नेहरु सबैको गला अबरुद्ध थियो। हामी प्रत्यक्ष प्रशारण हेरेर बस्नेहरुको आँखा त दुईघण्टासम्म रसाइ नै रहे। झन् उनको छोरीले बाबाको बारेमा रुँदै बाल्यकालदेखि उनीहरुलाई गर्ने स्नेहका बारेमा भनिरहँदा मन कटक्क भइरह्यो। उनले आफ्ना बाबाका बारेमा गरेको सबै कुरा सम्झँदा उनीसंगै म निकै बेर रोएँ। सायद श्रद्धाञ्जलीका लागि आएकाहरु सबैका आँखा पनि पक्कै रसाए।
कृष्ण दाइको छोरीको कुराले हरेक बाबुको मन रोयो होला। उनले बोलिरहँदा म मेरी छोरीलाई सम्झँदै आफू बाकस भित्र चीर निद्रामा परेको सोच्दै थिएँ। म पनि एकदिन पक्कै मर्छु, त्यो त निश्चित नै छ। मेरो मृ्त्यु संस्कारका बेला मेरी छोरी पनि त्यसैगरी रोलिन्, मलाई सम्झेलिन्। सानोमा काँधमा बोकेको, बाबाको ढाढमा घोडा चढे जसरी चढेर घर र पार्कतिर डुलेको सम्झलिन्। तर म यत्ति चाहन्छु कि मेरी छोरीले घर भित्र र बाहिर, अझ कफिन भित्र रहेको बाबा र समाजको अघि एउटै कुरा बोलुन्।मेरी छोरीले मलाई कफिन भित्र रहेको बेला बोलेको प्रत्येक शब्दहरु प्रति समाजले औंला नदेखाओस्। फरक प्रतिक्रिया नदेओस्।
जीवन त्याग्नु अघि जस्तो पीडा भोग्नु भएको भएपनि अब तपाईंको आत्माले शान्ति पाएकोछ। तपाईंको आमा बाबालाई छोरा गुमाएकोमा जति पीडा भएपनि तपाईंले व्यक्तिगत शान्ति रोज्नु भएकोमा मन बुझाउनु भएको छ भन्ने सुन्दा मन फेरि कटक्क भयो। हार्दिक श्रद्धाञ्जली कृष्ण दाइ।
प्रतिक्रिया