मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अझै ध्रुवीकरणमा अमेरिकी राजनीति, जेल गए पनि ट्रम्पको उमेदवारी कायम हुने

अझै ध्रुवीकरणमा अमेरिकी राजनीति, जेल गए पनि ट्रम्पको उमेदवारी कायम हुने

समाचार टिप्पणी


ड्यालस (टेक्सस) । अमेरिकाका ४५ औँ राष्ट्रपति डोनाल्ड जोन ट्रम्प बिहीबार फौजदारी अभियोगबाट दोषी ठहर भएका छन् । विगतमा खुल्ला जीवनमा छँदा पोर्नस्टारसँग यौन सम्पर्क राखेको र त्यसलाई बारम्बार ढाँटेको अभियोगमा उनी न्यूयोर्क राज्यको सर्वोच्च अदालतबाट दोषी प्रमाणित भएका छन् ।

आधुनिक अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपति यस खालको नैतिक पतन देखिने अभियोगबाट दोषी प्रमाणित हुुने उनी पहिलो व्यक्ति हुन् । सन् २०१६ मा चुनावी प्रचारको सिलसिलामा ट्रम्पले विगतमा यौनतृष्णा मेट्ने गरेकी पोर्नस्टार सार्वजनिक भइन् । जसलाई मुखबुजो लगाउन ट्रम्पले एकलाख ३० हजार डलर तिरे । तर, यो रकम उनले आफ्नो खल्तीबाट नभै चुनावी प्रचारप्रसारका लागि अमेरिकी जनताबाट संकलन गरेको रकमबाट तिरिएको थियो ।

ट्रम्पले सुरूमा त पोर्नस्टारसँग सम्पर्क राखेको कुरालाई इन्कार गरिरहे । कतिसम्म भने उनले ुचिन्दै नचिनेकोु भन्दै मिडिया, सर्वसाधारणलाई लगातार ढाँटे । झुठ बोलिरहे । मुखबुजो लगाउन एकलाख ३० हजार तिरेको कुरा त उनले सार्वजनिक गर्ने कुरै भएन ।

ट्रम्प राष्ट्रपति छउन्जेलसम्म पनि पोर्नस्टारले यो विषय उठाइरहिन् । मिडियामा पनि आइरहे । जुनजुन मिडियाले यो विषयमा समाचार, टिप्पणी लेख्थे ट्रम्पले ुफेक मिडियाु, फेक न्यूज भनिदिन्थे । ट्रम्प समर्थकहरु उनको भनाईलाई दायाँबाँया, तलमाथि केही नसोची अन्धाधुन्द समर्थन गर्दै विश्वास गर्थे ।

तर, लामो बहस, १२ जना जुरीहरुको राय पछि अदालतले ३४ वटा विषयमा डोनाल्ड ट्रम्पलाई दोषी ठहर गर्दै जेल सजाय तोेकेको छ । उनलाई कति दिनको या महिनाको या वर्षको जेल सजाय हुने भन्नेचाहिँ न्यायाधीशले तय गर्नेछन् । यद्यपि जेल सजायभन्दा पनि इतिहासमै पहिलोपटक अमेरिकी राष्ट्रपति फौजदारी अभियोग प्रमाणित भएर दोषी ठहरिनुले अमेरिकामा निकै चिन्ता र चासोका रुपमा यो फैसलालाई लिइएको छ ।

उनी जुलाई ११ तारिक अदालतमा हाजिर भएपछि मात्र कति दिन थुन्ने हो भन्ने बारेमा निधो हुने जनाइएको छ ।

ट्रम्प पूर्वराष्ट्रपति मात्र होइनन्, उनी यो वर्षको नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन पार्टीभित्रबाट सबैभन्दा बलिया उमेदवार पनि हुन् । रिपब्लिकन पार्टीभित्रको प्राइमरी इलेक्सनमा उनले आफ्ना सबै विपक्षीहरुलाई सोत्तर बनाउँदै जित्दै आएका छन् । तर, अदालतले फौजदारी अभियोगमा दोषी ठहर गरेको व्यक्ति अब उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा रिपब्लिकन पार्टीभित्र एक खालको तरङ्ग भने पैदा गरेको छ ।

ट्रम्प समर्थक रिपब्लिकन, जसलाई बोलीचालीको शब्दमा ‘मागा रिपब्लिकन’ भनिन्छ । ‘मागा रिपब्लिकन’हरुले विहीबारको अदालतको फैसलाविरुद्ध दिएको अभिव्यक्ति हेर्दा, सुन्दा र पढ्दा अमेरिकी राजनीति झनै ठूलो ध्रुबीकरणमा फँस्नले संकेत मिलेको छ । यद्यपि पहिले देखिनै ट्रम्पलाई पार्टीले उम्मेदवार बनाउनु हुँदैन भन्ने लाइनमा रहेका रिपब्लिकन नेताहरुलाई भने अदालतको फैसलाले बल पुगेको छ ।

एउटा स्मरणीय तथ्य के छ भने अमेरिकामा जेल सजाय पाएको व्यक्ति उमेदवार बन्न पाउँछ । उसले भोट हाल्न पाउँदैन, तर उम्मेदवार हुन पाउने कानुनी व्यबस्था छ । त्यसो हुँदा आउँदो चुनावमा ट्रम्प उम्मेदवार हुने लगभग निश्चित नै छ । तर, अदालतबाट दोषी प्रमाणित भैसकेका व्यक्तिलाई भोट दिन मागा रिपब्लिकन भन्दा अन्य पुरातनवादी रिपब्लिकनलाई चासो नहुने सम्भावना पनि बढ्दो छ ।

डोनाल्ड ट्रम्पविरुद्ध अन्य तीनवटा ठूला मुद्दाहरु अहिले पनि अदालतमा विचाराधिन छन् । सन् २०२० को चुनावमा पराजय पनि आफ्ना समर्थकहरु उचालेर अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण, महत्त्वपूर्ण सरकारी डकुमेन्टहरु लिएर गएकोलगायतका विषयमा फ्लोरिडा, वासिङ्गटन र जर्जियाका अदालतहरुमा मुद्धा चलिरहेका छन् ।

बिहीबारको फैसला माथि ट्रम्पले माथिल्लो अदालतमा पुनरावेदन गर्ने सम्भावना रहेको छ । उनी पुनरावेदनमा गएको खण्डमा आउँदो चुनाव अघि फैसलाको संभावना टर्नेछ ।

अमेरिकामा सार्वजनिक पदाधिकारीहरुको नैतिकता जाँचमा सत्य बोल्ने कुरालाई निकै महत्वपूर्ण रुपमा लिइन्छ । तर लगातार ढाँटिरहने, परस्त्रीगमन मात्र नभएर पोर्नस्टारसँग यौन सम्बन्ध राखेको र चुनावी प्रचारप्रसारको रकम तिरेर मुखबुजो लगाएको विषयलाई अमेरिकी जनताले कसरी लिन्छन् ? त्यसको लागि आउँदो नोभेम्बर ५ तारिकसम्म पर्खनुपर्नेछ । यद्यपी मागा रिपब्लिकन भित्र भने ट्रम्पलाई भगवान र जिससका रुपमा समेत लिने एउटा ठूलो वर्ग छ । जुन वर्ग ट्रम्पले जे जस्तो अनैतिक काम गरेपनि भगवानको आशिर्वाद र कृपामा भएको भन्दै ढाकछोप गरिरहेको देखिन्छ ।