अमेरिका, बोस्टन। नेपाली राजनितिमा नयाँ दलका रुपमा उदाएको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। गत मङ्गलवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाइएको पार्टीको घोषणापत्र सार्वजनिक गरिएको हो। उक्त घोषणापत्रमा उल्लेख भए अनुसार पार्टीको मूख्य सिद्धान्त ‘हर्कवाद’ को मुख्य आधार: प्रकृति, प्रविधि, संस्कृति, श्रम र उत्पादनलाई मानेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ(राई)ले पार्टीको प्रारम्भिक घोषणापत्र सार्वजनिक गरेका थिए। सार्वजनिक गरिएको उक्त घोषणापत्रमा शासकीय स्वरूप, शिक्षा, स्वास्थ्य, श्रमदान, राष्ट्रियता, युवा, धर्म, सुशासन, परराष्ट्र निति, अर्थतन्त्र लगायत विषयहरुलाई विशेष प्राथमिकता दिएको छ।
घोषणापत्रमा समेटिएका प्रमुख विषयहरु यस प्रकार रहेका छन् :
१) राजनीतिक तथा शासकीय सुधार
• कार्यकारी प्रमुख: प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने। समावेशी व्यवस्था: राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने।
• मन्त्रीपरिषद्: विज्ञहरूको समावेशी मन्त्रीपरिषद् हुने।
• सांसदको भूमिका: सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने।
• न्यायपालिका र व्यवस्था: संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने। संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने।
• निर्वाचन प्रणाली: पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने।
• प्रतिनिधित्व: प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने।
२) राष्ट्रियता र परराष्ट्र नीति
• अखण्डता: भौगोलिक अखण्डता कायम राखिने।
• सीमा सुरक्षा: सीमा अतिक्रमणमा रोक लगाई नेपाली सेनालाई सीमामा खटाइने।
• वैदेशिक नीति: असंलग्न परराष्ट्र नीति लिइने।
• नागरिकता: नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी नागरिकले पाँच वर्ष बसेपछि र विदेशको नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता पाउने।
• आइएनजिओ: देशमा क्रियाशील सबै आइएनजिओ खारेज गरिने।
३) शिक्षा र युवा
• शैक्षिक ढाँचा: हप्तामा ३ दिन मात्र पढाइने र बाँकी ४ दिन उत्पादन र साहित्यमा लगाइने।
• जीवन उपयोगी शिक्षा: १२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने।
• अनिवार्य तालिम: १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम दिइने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने।
• शिक्षक राजनीति: शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन रोक लगाइने।
• युवा आयोग: जेनजी (Gen Z) को गुनासो सुन्न छुट्टै आयोग बनाइने।
४) आर्थिक नीति र श्रम
• कर प्रणाली: वैज्ञानिक कर लागु गरिने (धनीबाट बढी लिएर गरिबलाई छुट दिइने)।
• श्रमदान: सबै नागरिकलाई श्रमदानमा जोडिने।
• अर्थव्यवस्था: स्वदेशी उत्पादन र बजारलाई प्राथमिकता दिइने। ‘एक गाउँ एक उद्योग’ स्थापना गरिने।
• सार्वजनिक खर्च: सरकारी चालु खर्च कटौती गरिने र आर्थिक रूपमा मितव्ययी हुने।
• सामाजिक सुरक्षा: श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवा दिइने। गरिब जनताको पहिचान गरी गास, बास र कपासको व्यवस्था गरिने।
• स्वरोजगार: ‘एक घर एक स्वरोजगार’ नीति लागु गरिने।
• विदेशी लगानी: अन्तर्राष्ट्रिय लगानी (निसर्त) मात्र लिइने।
५) सुशासन र अन्य
• धर्मनिरपेक्षता: राज्यको कुनै धर्म हुने छैन र कसैलाई काख कसैलाई पाखा गरिने छैन। कसैको करकापमा धर्म परिवर्तन गर्ने नदिइने।
• प्रशासनिक सुधार: सरकारी कर्मचारीलाई गल्ती गरेमा सरुवा मात्रै होइन जागिरबाटै हटाइने।
• गैरराजनीतिकरण: पत्रकार, सरकारी कर्मचारी, र न्यायलयलाई गैरराजनीतिक बनाइने।
• पारदर्शिता: बैठकहरू लाइभ गरिने।
धरानका मेयर समेत रहेका साम्पाङ, जेनजी आन्दोलन पश्चात् देशमा उब्जिएको नयाँ परिस्थितिसंगै राष्ट्रिय राजनितिमा एक्कासी होमिएका थिए। उनले आफ्नो नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ गठन गरेर निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्। यससंगै, आउदो फागुन २१ मा हुने भनिएको संसदीय निर्वाचनलाई केन्द्रमा राखेर सफलता हात पार्ने लक्ष्यका साथ यतिबेला यो पार्टी देश व्यापी रुपमा जिल्ला संगठन बिस्तार तथा महाअभियान सञ्चालन गर्न अहोरात्र खटिरहेको छ। नेपाली राजनितिमा उदाउदो नयाँ शक्तिको छनक देखाइरहेको यस पार्टीको भविश्य के कस्तो हुने हो ? त्यो हेर्न भने केही समय प्रतिक्षा नै गर्नुपर्ने छ।












प्रतिक्रिया