कथा…
अमेरिका, बोस्टन। एक दिन जङ्गको राजा सिंह सिकार खाएर टन्न भएपछि खुल्ला चौरमा घाम ताप्दै सुतेर आराम गरिरहेको थियो। त्यही बाटो हुँदै एउटा सुङ्गुर आफूलाई सारै मन पर्ने मानिसको दिसा पिसाप भएको स्थानमा लडीबुडी गर्दै रमाइलो गरेर आफ्नो वासस्थान फर्कदै थियो।
यसैक्रममा, उसको भेट त्यही आराम गरिरहेको सिंहसंग भयो। दुबै आमनेसामने जम्काभेट भए। सिंहलाई देख्ने बित्तिकै अब मरिने भइयो भन्ने डरले सुङ्गुरको सातोपुत्लो उड्यो। जीवन रक्षाका लागि संघर्षको कुनै प्रयासै नगरी आफुलाई सिंह समक्ष आत्मसमर्पण गरिदियो। तर, सिंहले मुखमै आएको निरिह शिकार सुङ्गुरलाई आक्रमण गर्नुको सट्टा उल्टै उसलाई बाटो छोडिदिएर टाढियो। यस्तो विश्वास नै गर्न नसकिने दृश्य देखेर सुङ्गुर तीनछक पर्यो। र, मौका छोपेर हतार हतार गर्दै आफ्ना कदमहरुलाई अगाडि बढाउन थाल्यो।
जतिजति सुङ्गुरले आफ्ना कदमहरु अगाडि बढाउदै जान्थ्यो, उतिउति सिंह टाढिदै जान्थ्यो। यस्तो अवस्था देखेपछि सुङ्गुरलाई सिंह आफूदेखि डराएर भाग्यो भन्ने भान पर्यो। सिंह आफूदेखि साँच्चै डराएको हो कि हैन ? भन्ने कुराको थप यकिन गर्न सिंहतिरै अलि छिटो छिटो लम्किन थाल्यो। सुङ्गुरले आफ्नो कदमको चाल जति जति बढाउँथ्यो, उति उति सिंहले पनि आफ्नो कदमको चाल सुङ्गुरबाट टाढिनतिर बढाउथ्यो। यो घटनाले हौसिदै सुङ्गुरले जब सिंहलाई दपेट्न नै सुरु गर्यो, तब सिंह पनि त्यहाँबाट कुलेलाम ठोक्दै भाग्यो।
यो अवस्था देखेर सुङ्गुरले आफू अदभूत शक्तिशाली रहेकाले नै सिंह ज्यान जोगाउन कुलेलाम ठोकेर भागेको हो भन्ने अन्तिम निष्कर्ष पुग्यो। र, उसमा खुसीको सिमा नै रहेन। मनमनै त्यो जङ्गलको राजा अब सिंह नभएर आफू नै भएको ठान्न पुग्यो। त्यसपछि विलम्ब नगरी हतार हतार आफ्नो समुदायमा पुगेर अन्य समुदायहरुको पनि भेला गराइ सबिस्तार घटना सुनाउँदै आजदेखि त्यस जङ्गलको राजा सिंह नभएर आफू भएको दाबी गर्यो। तर, उसको कुरालाई भेलामा उपस्थित भएकाहरुले सहजै पत्याएनन्। इतिहासमै कहिल्यै हुन नसकेको र विश्वासै गर्न नसकिने ‘घटना’ सुनेको भरमा पत्याइहाल्ने कुरा पनि थिएन।
भेलाले नपत्याए पछि आफ्नो शक्ति देखाएर आफू राजा भएको प्रमाणित गर्न उसले भेलामा उपस्थित भएकाहरुलाई सिंह रहेको घटना स्थानतिर लिएर गयो। सिंह रहेको स्थान नजिकै पुगेपछि अरुलाई टाढै राखेर आफू मात्रै सिंह भएतिर लम्कियो। नभन्दै उसले भने झै सिंह सुङ्गुरबाट टाढिदै गयो। यसले थप उत्साहित हुँदै सुङ्गुरले सिंहलाई दपेट्न थाल्यो। र, सिंह पनि त्यहाँबाट साच्चै कुलेलाम ठोकेर भाग्यो।
यो दृष्य प्रत्यक्ष देखेपछि साक्षीहरु छक्क पर्दै उसको कुरा विश्वास गर्न बाध्य भए। र, उसलाई जङ्गलको नयाँ राजा बनाउने निस्कर्षमा पुगेर राजा घोषणा गर्ने कार्यक्रमको तयारीमा जुटे। आफ्नो समुदायको एक सदस्य राजा हुदै गरेकोमा गर्व गर्दै सुङ्गुर समुदायमा खुसीको सिमा रहेन। अन्य समुदाय पनि सिंह जस्तो हिंस्रक मांसाहारी राजा फालेर सुङ्गुर जस्तो अहिंस्रक शाकाहारी राजा पाँउदा स्वतन्त्र र सुरक्षित जीवन जीउन पाउने आशामा अत्यन्तै खुसी भए। राजा बन्ने निश्चित भएपछि गुलामी गर्ने र आसेपासे बन्ने रहर भएका लोभीपापीहरु तछाडमछाड गर्दै उक्त सुङ्गुरको सेवामा जुट्न थाले। जङ्गलबासीहरुलाई नयाँ राजा घोषणा सभामा उपस्थित हुन उर्दी जारी गर्दै आवश्यक तयारी थालियो। राजा बन्ने सुङ्गुरलाई पनि दाह्री, जुँगा, नंग्रा आदि काटेर नुहाइधुवाइ गराइ घोषणा सभामा लगेर जङ्गलको नयाँ राजा घोषणा गरियो।
जयजयकारको नारा लगाउदै जङ्गल परिक्रमा सुरु गरियो। नयाँ राजालाई स्वागत गर्न पाँउदा निकै खुसी हुँदै जङ्गलबासीले पनि स्वागतमा कुनै कसर बाँकी राखेनन्। स्वागत र्याली अघि बढ्दै जाँदा जयजयकारको कोलाहल आवाज, त्यहीँ सुङ्गुरले दपेटेको सिंहको कानमा पनि पर्यो। के रहेछ हल्लाखल्ला ? भनि बुझ्न सिंह ओडारबाट बाहिर निस्किएर हल्लाखल्ला आएतिर अघि बढ्यो। नजिकिदै जाँदा त जङ्गलमा रहेका आफ्ना अनेक खाले सिकारहरुको बथान नै देख्यो। लामो समयदेखि सिकार गरेर आहार खान नपाएको उक्त भोको सिंह विलम्ब नगरी सिकार गर्न उक्त सिकारको बथानमाथी जाइलाग्यो ।
बाटोमा एक्कासी जम्काभेट भएको सिंहले आक्रमण गरेपछि ज्यान जोगाउन स्वागत र्यालीमा सहभागी भएकाहरुको भागदौड नै मच्चियो। नयाँ राजाका आसेपासे अङ्गरक्षकहरुले पनि आपत बिपतका बेला राजाको रक्षा गर्नतिर लाग्नुको सट्टा आफ्नै ज्यान जोगाउन कुलेलाम ठोके। घोषित नयाँ राजा सुङ्गुर भने सिंहदेखि डराएर भागेन। उ बरु सिंहमाथि जाइलाग्न तयार भयो। उसलाई के विश्वास थियो भने, त्यो सिंह आफू नजिक आएर आफूलाई चिनेपछि डरले थर्कमान भएर ज्यान जोगाउन आफै कुलेलाम ढोक्ने छ। तर, यस पटक उसले सोचे जस्तो भएन। सिंहले सिकार गर्न विलम्ब नगरी नयाँ घोषित राजा सुङ्गुरमाथी जाइलाग्यो। सुङ्गुरलाई आत्मरक्षाको लागि हर्कत गर्ने कुनै मौका नै नदिइ क्षणभरमै सुङ्गुरलाई आफ्नो कब्जामा लियो। र, उसको जीवन समाप्त पार्दै आफ्नो भोक मेटायो ।
यहाँसम्मको घटना क्रम पढ्दा किन पहिलो र दोश्रो पटकको भेटमा सिंहले सुङ्गुरलाई आक्रमण गरेन ? उल्टै डराएर आफै कुलेलाम ठोकेर किन भाग्यो ? तर, तेश्रो पटक भेट्दा भने किन सिकार गर्यो ? भन्ने कौतुहलता यहाँहरुमा जन्मिएको हुनुपर्छ। कतिले त अनुमान लगाइसक्नु भयो होला। त्यो अनुमान कथासंग मिल्न पनि सक्छ नमिल्न पनि। कथा अनुसार त्यसको रहस्य भने यस्तो रहेको छ :
पहिलो पटक र दोश्रो पटक उक्त सुङ्गुरलाई भेट्दा, सिंह भर्खरै सिकार गरी अघाएर आराम गरिरहेको अवस्थामा थियो। त्यतिबेला सुङ्गुर मानिसको दिसा पिसापमा लडिबुढी गरेर एक कोष परसम्म ठसठसी दुर्गन्ध फैलाइरहेको अवस्थामा थियो। त्यसैले सुङ्गुरसंग डराएर नभइ सुङ्गरको शरिरबाट निस्किएको दुर्गन्धदेखि टाढिन सिंह भागेको थियो। यता सुङ्गुरलाई भने आफू अदभूत शक्तिशाली भएका कारण डराएर सिंह भागेको हो भन्ने भान पर्न गएको थियो। तर, अन्तिम पटक भेट्दाको अवस्थामा भने सिंह निकै भोको अवस्थामा थियो। साथै, सुङ्गुर नुहाइधुवाइ गरी दुर्गन्धरहित अवस्थामा थियो। त्यसैले, उसलाई सिंहले आक्रमण गरेर सिकार गर्यो।
” सिंहको शक्तिलाई नजर अन्दाज गर्नु, आफ्नो र आफ्नो सेनामेनाहरुको शक्ति, योग्यता, क्षमता र विशेषताहरुको सही मूल्यङ्कन गर्न नसक्नु, बस्तुगत परिस्थिति बुझ्न नसक्नु, पहिलो र दोश्रो भेटमा आफू शक्तिशाली रहेकाले सिंह डराएर भागेको हो भन्ने भ्रममा पर्नु र तेश्रो पटकको जम्का भेटमा त्यही भ्रमले जन्माएको अहङ्कारको आडभरोसामा परेका कारण सिंह पुन: आफूदेखि डराएर भाग्ने विश्वासमा परेर अटेर गरी ज्यान जोगाउन कुनै प्रयास नै नगर्नु” ले अन्ततः सुङ्गुरको अस्तित्व नै समाप्त हुनपुग्यो।
अस्तु :












प्रतिक्रिया