विचार / ब्लग

कृतिम बुद्धिमत्ता (एआई) को लहर र रोजगारीको बदलिँदो मार्गचित्र

कृतिम बुद्धिमत्ता (एआई) को लहर र रोजगारीको बदलिँदो मार्गचित्र

- भरत राज बराल


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

नेपालका हजारौं विद्यार्थीले हालै माध्यमिक शिक्षा परीक्षा (SEE) पूरा गरेका छन । यसपछि अब उनीहरू जीवनको अर्को महत्त्वपूर्ण मोडमा पुगेका छन। SEE को परीक्षा सकिएसँगै देशभरका अभिभावकहरूका दिमागमा एउटै प्रश्न घुमिरहेको छ “अब छोराछोरीलाई के पढाउने? कुन विषयले भविष्य सुरक्षित बनाउँछ?”

विगतमा एउटा अघोषित नियम नै थियो: उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूले विज्ञान (Science) रोज्ने, त्यसपछि इन्जिनियरिङ वा चिकित्सा क्षेत्रमा लाग्ने। अन्य विद्यार्थीहरू व्यवस्थापन, शिक्षा वा कला (Arts) तर्फ जाने। अनि अन्तिममा नेपालमै केही राम्रो पाए ठिकै छ, नत्र गन्तव्य अमेरिका, अस्ट्रेलिया, युरोप वा जापान, कोरिया । त्यो नि नभए खाडी।

Advertisement

तर अहिले विश्व बदलिएको छ। सन् २०२६ सम्ममा आइपुग्दा प्रविधिले यसरी फड्को मारेको छ कि कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स र अटोमेसनको तिव्र विकासले अभिभावक र विद्यार्थी दुवैमा नयाँ प्रकारको डर सिर्जना गरेको छ । “के पढ्दा भविष्य सुरक्षित हुन्छ?” विश्वभर एउटै त्रास छ आर्टिफिसियल इन्टेलिजेन्स (AI) र रोबोटिक्सको । के अब हाम्रा सन्तानले वर्षौ लगाएर पढेको डिग्रीलाई एउटा सफ्टवेयरले विस्थापित गरिदिने त होइन? विश्व आर्थिक मञ्चको हालैको प्रतिवेदनले भन्छ आगामी ५ वर्षभित्र संसारका झण्डै ४० प्रतिशत शीपहरू परिवर्तन हुनेछन्। यसको अर्थ, आज हाम्रा छोराछोरीले सिकेको कुरा उनीहरूले डिग्री पास गर्दासम्म पुरानो भइसकेको हुन सक्छ।

डरको शुरुवात: रोजगारीको स्वरूपमा परिवर्तन
हामीले सुन्दै आएका थियौँ कि मेसिनले त केवल शारीरिक श्रमलाई मात्र विस्थापन गर्छ। तर आजको वास्तविकता फरक छ। ए आइले अब ‘बौद्धिक’ मानिने कामहरूमा पनि हस्तक्षेप सुरु गरिसकेको छ। केही उदाहरणहरू यस्ता छन् जसले अभिभावकलाई सोच्न बाध्य बनाउँछ।

सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा अब सामान्य कोडिङ गर्न मान्छे नै चाहिने अवस्था छैन। एआइ टुलहरूले सेकेन्डमै जटिल सफ्टवेयरका कोडहरू लेख्न र सच्याउन सक्छन्। अमेरिकामा हजारौँ सफ्टवेयर इन्जिनियरहरूले कोडिङ एआइ टुलका कारण रोजगार गुमाएका छन्।

त्यसै गरी कानुनी क्षेत्रमा आइबीएम, गुगल,माइक्रोसफ्ट जस्ता कम्पनीका सफ्टवेयरले हजारौँ पृष्ठका नजिर र कानुनी दस्ताबेजहरू विश्लेषण, करार समीक्षा, केस–स्टडी तयारीजस्ता काम केही मिनेटमै गर्न सक्छन्, जुन काम गर्न पहिले वकिलहरूको ठुलो टोली र समय चाहिन्थ्यो। यसले कानुन पेशामा प्रवेश गर्ने युवाहरूलाई चुनौती दिन थालेको छ।

ग्राफिक डिजाइन र कलाको क्षेत्रमा Chat-GPT, Midjourney, DALL-E जस्ता टुलले ग्राफिक डिजाइन र लेखनका कामहरु आँखा झिम्काउनु अघि नै तयार पारिदिन्छन्।

एकाउन्टिङ र फाइनान्समा अडिटिङ र कर व्यवस्थापनका कामहरू अब पूर्णतया स्वचालित हुन थालेका छन्, जसले गर्दा सामान्य लेखापालहरूको माग घट्दो छ। बैंकिङ क्षेत्रमा AI आधारित Loan Approval, Fraud Detection, Customer Service ले बिस्तारै मानवलाई प्रतिस्थापन गर्दैछन्।

अनुवाद र भाषा सेवामा पनि Google Translate र अन्य AI मोडलहरूले गर्दा दोभाषेहरूको व्यावसायिक भविष्य संकटमा पर्दै गएको छ।

ड्राइभर बिनाका गाडीहरुले Uber र Lyft चालकहरूको आय घटाइसकेका छन्। जापान र कोरियामा रोबोट–वेटर, रोबोट–कुक, रोबोट–क्यासियर सामान्य बन्दैछन्। सिंगापुर र चीन मा रोबोट–सर्जनले केही प्रकारका सर्जरी मानवभन्दा बढी कुशलतापूर्वक गरिरहेका छन्। यी सबैखाले प्रविधिहरुले केवल अमेरिका वा युरोपमा मात्र होइन, ढिलोचाँडो नेपालमा पनि प्रभाव पार्ने निश्चित छ।

अभिभावकहरुको डर: के साँच्चै रोजगारीहरु खतरामा छन् वा सकिने नै हुन् त?
होइन। अभिभावकहरू डराउनु स्वाभाविक हो, तर World Economic Forum को Future of Jobs प्रतिवेदनले आशाका किरणहरु पनि देखाएको छ।

प्रतिवेदनका अनुसार अहिलेका कामहरुको विस्थापन र नयाँको सिर्जना सँगसँगै हुनेछ। सन् २०३० सम्ममा विश्वभर झन्डै ९ करोड रोजगारहरु AI का कारण हराउन सक्छन्। तर, त्यसको सट्टामा १७ करोड नयाँ प्रकारका रोजगारहरु सिर्जना हुनेछन्। समस्या रोजगारको सम्भावना नहुनुमा होइन, नयाँ रोजगारका लागि चाहिने सीप नहुनुमा हुनेछ।

प्रतिवेदनले नयाँ सिर्जना भएका कामहरुको लागि केही प्रमुख सीपहरूलाइ अपरिहार्य मानेको छ। अबको बजारमा प्राविधिक ज्ञान मात्र पर्याप्त हुनेछैन। प्रतिवेदनले तल उल्लेख गरिएका पाँच किसिमका सीपहरुलाई सबैभन्दा महत्वपूर्ण मानेको छ।

विश्लेषणात्मक सोच (Analytical Thinking and Complex Problem-Solving): जटिल समस्यालाई टुक्राएर बुझ्ने र तथ्यमा आधारित निर्णय लिन सक्ने क्षमता। यो अहिले पनि रोजगारदाताहरुको पहिलो रोजाइमा पर्छ।

सिर्जनात्मक सोच (Creative Thinking): मेसिनले वा AI ले सोच्न नसक्ने नयाँ र मौलिक उपायहरु सोच्न सक्ने क्षमता।

एआई र बिग डेटा साक्षरता (AI and Big Data Literacy): AI सहितको प्रविधिलाई आफ्नो काममा प्रयोग गर्न सक्ने दक्षता।

नेतृत्व र सामाजिक प्रभाव (Leadership and Social Influence): अरु मानिसहरूसँग मिलेर काम गर्न सक्ने र उनीहरूलाई सकारात्मक रुपमा प्रभाव पार्ने क्षमता।

जिज्ञासा र निरन्तर सिकाई (Curiosity and Lifelong Learning): नयाँ कुरा सिक्न सधैँ तत्पर रहने बानी।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने AI ले रोजगारको संख्या भन्दा पनि ‘काम गर्ने शैली’ परिवर्तन गर्दैछ। इतिहास हेर्ने हो भने प्रविधिले कामहरु हराएको भन्दा बढी नयाँ कामहरु सिर्जना गरेको देखिन्छ। जब कम्प्युटर आयो, टाइपिस्टको काम घट्यो र मानिसहरूलाई लाग्थ्यो कि अब कसैले जागिर पाउँदैनन्। तर कम्प्युटरले लाखौँ नयाँ अवसरहरू सिर्जना गर्‍यो र IT एउटा उद्योग नै बन्यो। इन्टरनेटको विकासले परम्परागत व्यवसायलाई चुनौती दियो, तर डिजिटल मार्केटिङ, युट्युब, ई-कमर्स जस्ता नयाँ क्षेत्र खुले। मोबाइलले फोटो स्टुडियोको काम त घटायो, तर कन्टेन्ट क्रिएटर र सोशल मिडिया विशेषज्ञ बढायो । AI पनि त्यस्तै एउटा ‘टुल’ हो जसले केही अवसरहरु घटाउँछ, तर अझ धेरै नयाँ अवसरहरु ल्याउँछ। अबको बजारमा ती मानिसहरू बेरोजगार हुनेछन् जसले AI चलाउन जान्दैनन्, तर ती मानिसहरूको माग बढ्नेछ जसले AI लाई आफ्नो सहयोगी बनाएर काम गर्न सक्छन्।

भविष्यमा कस्ता रोजगारीहरू सुरक्षित र बढ्दो मागमा छन् त?
“सुरक्षित” भन्नाले कहिल्यै नबदलिने भन्ने होइन तर परिवर्तनसँगै टिक्न सक्ने प्रकारका कामहरू सुरक्षित नै रहनेछन्। AI ले मानवको भावना, सहानुभूति, नेतृत्व, सृजनशीलता र निर्णय क्षमतालाइ पूर्ण रुपमा प्रतिस्थापन गर्न सक्दैन। त्यसैले, तल उल्लेखित निम्न प्रकारका क्षेत्रहरुमा अझ धेरै माग बढ्न सक्छ।

मानविय संवेदना आवश्यक पर्ने क्षेत्र: नर्सिङ, काउन्सिलिङ, थेरापी, मनोविज्ञान, शिक्षण र हेरचाहको क्षेत्रमा मेसिनले मानिसको स्थान लिन सक्दैन। प्रविधिको बढ्दो प्रयोगसँगै मानसिक स्वास्थ्यको समस्याले ठुलो जनसंख्यालाइ प्रभाव पार्ने देखिन्छ। टिकटक र रिलहरुका छोटा भिडियोहरुले मानिसहरुको मस्तिष्कलाइ एउटा सवालमा केन्द्रीत हुन नसक्ने बनाइरहेका छन । त्यसैले अझ परिश्कृत मनोविमर्श सेवाका आवश्कताहरु बढ्ने देखिन्छ।

सृजनात्मक र सोच्ने क्षमता चाहिने क्षेत्र: नीति निर्माण, रणनीतिक व्यवस्थापन, उद्यमशीलता र नयाँ आविष्कार गर्ने क्षेत्रमा मानव मस्तिष्ककै आवश्यकता बढ्नेछ।

दक्ष प्राविधिक चाहिने क्षेत्र: प्लम्बिङ, इलेक्ट्रीसियन लगायत निर्माण क्षेत्रका जटिल र अनपेक्षित समस्या समाधान गर्न मानवकै आवश्यकता पर्नेछ।

प्रविधिको क्षेत्र: AI, डाटा एनालिटिक्स, साइबर सुरक्षा, रोबोटिक्स, क्लाउड कम्प्युटिङ जस्ता प्रविधिका क्षेत्रमा AI ले केही काम घटाउँछ, तर AI बनाउन र चलाउन झन् धेरै मानिस चाहिनेछन्।

स्वास्थ्य र फिटनेसका क्षेत्र: फिजियोथेरापी, योग, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रको अझ धेरै माग हुनेछ ।

नेपालमा रहेका सम्भावनाका क्षेत्र: भूगोल, संस्कृति, हावापानी र प्राकृतिक सुन्दरताका कारण नेपालमा केही क्षेत्रहरु विषेश रुपमा रहेका छन्। नेपालको पर्यटन र आतिथ्य (Hospitality) क्षेत्रमा भएको जस्तो अतिथीदेवो भव भन्ने मान्यता सहितको आत्मीय आतिथ्यता नेपाल बाहिर विरलै देख्न पाइन्छ। AI ले कहिल्यै खोस्न नसक्ने यो मौलिकतासँग सम्वन्धित सिपको महत्व अझै बढ्नेछ। त्यस्तै, कृषिमा पनि आधुनिकिकरण सहितको उत्पादनमा वृद्दी र संलग्नताको सम्भावना छ।

जलविद्धुत र नविकरणीय ऊर्जाको क्षेत्रले थप मानविय स्रोतको आवश्कतालाइ देखाइरहेको छ। निर्माण र पूर्वाधारको क्षेत्रमा धेरै कामहरु बाँकी नै रहेकोले यसको महत्व रोजगार प्रवर्दनमा बाँकी नै छ।

अभिभावकहरूलाइ सुझाव
आधुनिक प्रविधिको विकासले संसारभरी पारेको प्रभाव र यसको बढ्दो उपयोगसँग अव डर र वैरीभाव होइन स्वीकार र आत्मसात गर्नु नै अभिभावकहरुको पहिलो जिम्मेवारी हो। सन्तानले SEE पछि जुनसुकै विषय पढे पनि खासै फरक पर्ने छैन यदि बदलिँदो वातावरणमा भिज्न सक्ने भए भने। उनीहरुको उच्च शिक्षाको छनौटसँगै अभिभावकहरुले निम्न कुराहरूमा ध्यान दिनुपर्छ।

विज्ञान पढ्दा मात्र भविष्य सुरक्षित हुँदैन: पहिले विज्ञान पढ्नु नै सुरक्षित भविष्य भन्ने धारणा थियो। तर आज इन्जिनियरिङमा विश्वभरि प्रतिस्पर्धा अत्यधिक छ, AI ले धेरै काम स्वचालित बनाइदिएको छ अनि मेडिकल क्षेत्र पनि रोबोटिक्स र AI बाट प्रभावित हुँदैछ। तर विज्ञान अप्रासंगिक भएको भने होइन। विज्ञान पढ्ने विद्यार्थीले AI, Biotech, Data Science, Health Tech जस्ता नयाँ क्षेत्रहरुसँग जोडिनै पर्दछ।

म्यानेजमेन्ट अब औसत विद्यार्थीको मात्र विकल्प होइन: आजको विश्वमा डिजिटल मार्केटिङ, बिजनेस एनालिटिक्स, सप्लाई चेन, फाइनान्स टेक, उद्यमशीलता आदि क्षेत्रहरु सबै म्यानेजमेन्टसँग जोडिएका छन् र तीव्र गतिमा बढिरहेका छन्।

आर्ट्स/एजुकेशन/सोसल साइन्सको मूल्य अव सस्तो छैन: वर्तमान AI को युगमा मनोविज्ञान, काउन्सेलिङ, समाजशास्त्र, भाषा र संचार, शिक्षा प्रविधि जस्ता क्षेत्रको माग बढ्दैछ।

बिषयभन्दा सीपमा जोड: चाहे छोराछोरीले म्यानेजमेन्ट पढुन् वा साइन्स, उनीहरूलाई प्रविधिसँग डराउने होइन, प्रविधिलाई प्रयोग गर्ने बनाउनुपर्छ। उनीहरूलाई Learning to Learn (कसरी सिक्ने भन्ने कला) सिकाउनु आवश्यक छ।

Soft Skills को विकास: संवाद कला (Communication), नेतृत्व क्षमता (Leadership), र भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence) अबको युगका सबैभन्दा महँगा सीप हुन्।

बहुआयामिक सोच (Interdisciplinary Learning): केवल एउटै विषयमा मात्र सीमित नभई, प्रविधि र व्यवस्थापन वा कला र विज्ञानलाई जोडेर हेर्न सिकाउनुपर्छ।

छोराछोरीको रुचि बुझ्नुहोस्, आफ्नो सपना मात्र नथोपर्नुहोस्: रुचिविनाको अध्ययन केवल समयको बर्बादीमात्रै हुन्छ।

डर होइन जानकारीमा आधारित निर्णय गर्नुहोस्: अफवाह र सामाजिक सञ्जालको हल्लामा नपर्नुहोस्।

लचिलोपन सिकाउनुहोस्: भविष्यमा एकै व्यक्तिले जीवनमा पटक पटक पेशा परिवर्तन गर्ने अवस्था आउन सक्छ।

विदेश जाने होडबाजी मात्र समाधान होइन: अहिले नेपालमै बसेर विश्व बजारका लागि ‘रिमोट वर्क’ (Remote Work) गर्ने अवसरहरू प्रशस्त छन्। त्यसका लागि ग्लोबल प्रतिस्पर्धामा खरो उत्रन सक्ने क्षमता आवश्यक पर्दछ।

निष्कर्षमा, एआइ एउटा निश्चित प्राय आँधी हो, यसबाट भाग्न सकिँदैन। बरु यो आँधीको शक्तिलाई प्रयोग गरेर आफ्नो डुङ्गा अगाडि बढाउन सिकाउनु नै आजको समयमा अभिभावकको वास्तविक दायित्व हो। आफ्ना सन्तानलाई “के बन्ने?” भन्दा पनि “कस्तो समस्या समाधान गर्ने?” भनेर सोच्न प्रेरित गर्नुपर्दछ। भविष्य डिग्रीमा होइन, बदलिँदो संसारसँग अनुकूल हुन सक्ने क्षमतामा छ।