अमेरिका समाचार

नेपाली नयाँ वर्षको अवसरमा बोस्टनमा ”बैशाखी साँझ” कार्यक्रम सम्पन्न

नेपाली नयाँ वर्षको अवसरमा बोस्टनमा ”बैशाखी साँझ” कार्यक्रम सम्पन्न


अमेरिका, बोस्टन। नेपाली नयाँ वर्ष विक्रम संवत् २०८३ साल सुभारम्भको अवसरमा अमेरिकाको बोस्टनमा विशेष कार्यक्रम ‘बैशाखी साँझ” सम्पन्न भएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)को आयोजनामा गत अप्रिल १२,२०२६ आइतवार उक्त विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको हो।

नेपाली पात्रो अनुसार नयाँ वर्ष विक्रम संवत् २०८३ शुभारम्भ भएको अवसरमा आपसमा शुभकामना आदानप्रदान गर्दै खुशी साटासाट गर्ने, आपसी एकतालाई थप मजबुत बनाउने र नेपाली नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्ने कार्यक्रमको मुख्य उद्देश्यले रहेको थियो।

Advertisement

जिबिएनसिका उपाध्यक्ष सोनाम शेर्पा र सदस्य अस्मि पोखरेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा संस्थाका महासचिव अजय ढकालले स्वागत मनतव्य व्यक्त गरेका थिए। उनले कार्यक्रमका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्दै शुभकामनासहित सहभागीहरुलाई स्वागत गरेका थिए।

नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाउँदै साङ्गीतिक कार्यक्रम ‘वैशाखी साँझ”को पर्दा खोलिएको थियो ।

सांगीतिक कार्यक्रमको पहिलो कोसेली स्वरुप बाल कलाकार अल्बर्ट अल्फाले ‘यो मन त नेपाली हो’ गीत गाएका थिए। मातृभूमि नेपालप्रति श्रद्धा भाव प्रकट गर्ने यो गीत गाउने क्रममा सहभागीहरुले पनि साथ दिदै नेपाल र नेपालीसंगको आत्मीयता दर्शाएका थिए।

कार्यक्रममा दोश्रो साङ्गीतिक कोसेली लोक गायक अमित सुनारले प्रस्तुत गरेका थिए। उनले माली ‘गाइलाई बाटेको दाम्लो’ गीत गाउदा सहभागीहरुले पनि गाउदै नाच्दै साथ दिएका थिए। गायक द्वय शान्ता थापा र जितेन्द्र श्रेष्ठले मञ्च साझा गर्दै दुइ वटा नेपाली लोक गीत गाएका थिए। उनीहरुले ‘काफल गेडी कुट्टुकै’ र ‘न्याउली बनैमा’ गीत गाएर साङ्गीतिक माहोल तताएका थिए।

कार्यक्रमको मुख्य आकर्षणमा प्रवासी नेपाली कलाकारहरुको ब्याण्ड ‘बब्बाल ब्यान्ड’ रहेको थियो। चार भाइहरु सुद्धु(गायक), फुरी(गायक), बिराज(क्याजोन) र बिजय(गितार)को यस ब्याण्डले प्रस्तुत गरेका साङ्गीतिक प्रस्तुतिहरु विशेष गरी युवा पुस्ताकाबीच चर्चित गीत सङ्गीतहरु रहेका थिए।

ब्याण्डका कलाकारहरुले नेपालको हिमाल, पहाड र तराईकाबीच एकताको भाव बोकेको गीत ‘हिमाल बनेर हेर, पहाड बनेर हेर, तराईलाई पोल्दा छायाँ बनेर हेर’ पहिलो कसेली स्वरुप प्रस्तुत गरेका थिए। अमेरिकाको न्यू ह्येमसायर राज्यबाट आफ्नो प्रस्तुति पस्कन बोस्टन आएका यी कलाकारहरुले एकपछि अर्को आकर्षक गीतहरु प्रस्तुत गरेर सहभागीहरुलाई सक्दो मनोरञ्जन दिलाउने प्रयास गरेका थिए। प्रस्तुतिका क्रममा ब्याण्डले -यो जिन्दगानी, अब जाने भए जाउ, बाँजो खेतमा, धानकै बाला झुलाउला लगायत चर्चित गीतहरु गाएका थिए।

कार्यक्रमको अन्तमा जिबिएनसिकी वरिष्ठ उपाध्यक्ष सानुमैया अधिकारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेकी थिइन्।

प्रवासी नेपालीहरु आबद्ध यस संस्थाले आफ्नो स्थापना कालदेखि नै समुदायको उत्थानका लागि समुदाय केन्द्रीकृत विविध क्रियाकलापहरु गर्दै आइरहेको छ।