अमेरिका, बोस्टन। आजको दिन मे २५ तारिख सोमवार, अमेरिकाको विशेष दिन ‘मेमोरियल डे’ हो। यस दिन अमेरिकी सेनामा सेवा गर्ने क्रममा आफ्नो ज्यान गुमाएका वीर सैनिकहरूलाई सम्झना गर्दै श्रध्दाञ्जली अर्पण गरेर उनीहरुप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ। यस दिन संघीय विदा हुने गर्दछ। यसै दिनदेखि गर्मी मौसम सुरु भएको मानिने भएकाले विभिन्न रमाइला कार्यक्रम/गतिविधिहरु गरेर गर्मी मौसमलाई स्वागत गर्ने चलन छ।

यसै सिलसिलामा अमेरिकाको म्यासाच्युसेट्स राज्यको नरउडस्थित बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीले प्रवासी नेपाली समुदायहरुका बीच जमघटको आयोजना गरेको थियो। कार्यक्रममा भएका विविध क्रियाकलापहरु मध्ये ‘चित्रकला’ महत्वपूर्ण, आकर्षक, अर्थपूर्ण र गहिरो सन्देश मूलक क्रियाकलाप थियो।

यस गतिविधिमा सहभागी बालबालिकाहरुले क्यानभासमा चित्रहरु कोर्दै नेपाल र नेपालीसंग जोडिने प्रयास गरेका थिए। आफ्नो चित्र कोर्ने कला मार्फत नेपाल र नेपालीप्रति आफ्नो मनमा रहेको भावना प्रदर्शन गर्ने क्रममा सहभागी बालबालिकाहरुले नेपालको झण्डा र भौगोलिक अवस्थाका चित्रणहरु कोरेर नेपाल र नेपालीप्रति श्रध्दा तथा मोह दर्शाउने प्रयास गरेका थिए।

यस गतिविधिमा ५ वर्षदेखि १६ वर्षसम्मका २२ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए। यस कार्यमा सहजिकरण गर्ने राजन खतिवडाले बालबालिकाहरुले छोटो समयमा नै आकर्षक र सन्देशमूलक चित्रहरु कोरेकोमा खुशी व्यक्त गरे। प्रवासी नेपाली बालबालिकाहरुलाई चित्रकला मार्फ नेपाल र नेपालीसंग जोडाउन चित्रकलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गर्दै खतिवडाले यस्ता गतिविधिहरुलाई आगामी दिनहरुमा प्राथमिकता दिइनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरुकाबीच रमाइल खेलहरु पनि खेलाइएको थियो। बोस्टन आसपासमा बसोबास गर्ने प्रवासी नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा, सहभागीहरुले नेपाली स्वादका विभिन्न परिकारहरु खादै, नाच्दै, गाउदै मनोरञ्जन गरेका थिए।

संस्थाका अध्यक्ष सुरेश ढकालले कार्यक्रम प्रभावकारी, मनोरञ्जनात्मक र उपलब्धिमूलक भएको बताए। उनले कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन, आपसी चिनजान गर्नु/गराउनुको साथै आत्मीय सम्बनधलाई थप बलियो बनाउनु रहेको र सो उद्देश्य पुरा भएको जिकिर गरे।

सन् २०१३ मा नरउड मेट्रोवेष्टका नामले जन्मिएको यस संस्था अहिले बोस्टन मेट्रोवेस्टका नामले चिरपरिचित छ। स्थापनादेखि नै नेपाली समुदायको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलाहरुमा सक्रिय रहदै आएको यस संस्थाले, सन् २०१४ देखि निरन्तर ‘मेमोरियल डे’ मा विषेश जमघट कार्यक्रम गर्दै आइरहेको छ।

















प्रतिक्रिया