आज राती पहिलो खेल हुदै, हाइटी र स्कटल्याण्ड आमनेसामने
अमेरिका, बोस्टन। यतिबेला विश्व खेल जगतको कुम्भमेला तथा फुटबल खेलको महासङ्ग्रामका रुपमा विश्व चर्चित विश्वकप फुटबलको २३औं संस्करण चलिरहेको छ, जसको भव्य उद्घाटन गत जुन ११ बिहिवार मेक्सिको सिटीको ”एस्टाडियो एज्टेका” रङ्गशालामा भव्य समारोहका साथ भएको थियो।
उत्तर अमेरिकाका तीन देश-अमेरिका, मेक्सिको र क्यानाडाका विभिन्न सहरहरुमा हुदैगरेको यस फिफा विश्वकप फुटबल प्रतियोगिताका कूल १०४ खेलहरु मध्य अमेरिकामा ७८ खेलहरु हुदैछन्। जस मध्य ७ खेलहरु म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ) हुदैछन् ।

सन् २०००२ बाट सञ्चालनमा आएको र फुटबल खेलका लागि झण्डै ६५ हजार दर्शक क्षमता रहेको यस स्टेडियममा, समूह चरणका ५ वटा खेलहरु र नकआउट चरणका २ वटा खेलहरू हुदैछन्। यसै क्रममा आज जुन १३,२०२६ शनिबार बेलुका ९ बजे (न्यू योर्क समय अुसार) समूह चरणको पहिलो खेल हुदैछ। जसका लागि मैदानमा ग्रुप सीमा रहेका हाइटी र स्कटल्याण्ड आमनेसामने हुदैछन्।
हाइटीले पहिलो पटक पश्चिम जर्मनीमा सन् १९७४ मा भएको विश्वकप फुटबलमा ऐतिहासिक सहभागिता जनाएको थियो। त्यस यता सहभागिता जनाउन सकेको थिएन्। ५२ वर्षपछि यस २३ औं संस्करणमा दोश्रो पटक सहभागिता जनाउदैछ।
तुलनात्मक रुपमा हाइटी भन्दा स्कटल्याण्डको फिफा विश्वकप फुटबल प्रतियोगिताको यात्रा निकै राम्रो छ। सन् १९५४ बाट विश्वकपको यात्रा शुभारम्भ गरेको स्कटल्याण्डले ९ वटा संस्करणमा सहभागिता जनाइसकेको छ। सन् १९९८ मा फ्रान्समा भएको विश्वकप पश्चात् स्कटल्याण्ड २८ वर्षपछि मैदानमा उत्रिदैछ। दुबै देशका लागि यो फिफा विश्वकप इतिहास रच्ने सुनौलो अवसर रहेको छ। फुटबल खेल प्रेमीहरु यस खेल हेरेर मनोरञ्जन लिन निकै उत्साहित र आतुर रहेकाछन्।
यसैगरी, म्यासाच्युसेट्सको बोस्टन स्टेडियम(जिलेट स्टेडियम)मा हुने अन्य खेलहरुको तालिका अनुसार जुन १६,मङ्गलबार साँझ ६ बजे इराक र नर्वे (ग्रुप आई), जुन १९ शुक्रबार साँझ ६ बजे स्कटल्याण्ड र मोरक्को(ग्रुप सी), जुन २३ मङ्गलबार दिउसो ४ बजे इङ्गल्याण्ड र घाना (ग्रुप एल), जुन २६ शुक्रबार दिउसो ३ बजे नर्वे र फ्रान्स (ग्रुप आई)को खेल हुदैछ।त्यसैगरी, नकआउट चरण अन्तर्गतका दुइ खेलहरु जुन २९ सोमबार दिउसो ४:३० मा राउण्ड अफ ३२ र जुलाई ९ बिहीबार दिउसो ४ बजे क्वाटरफाइनल खेल हुनेछ।
विश्वभरका कूल ४८ देशहरुले सहभागिता जनाइरहेको यस फिफा विश्वकपमा हुने कूल १०४ खेलहरु हुनेछ। जसमध्य मेक्सिकोमा र क्यानाडामा १३/१३ खेल र अमेरिकामा ७८ खेल हुदैछन्। फाइनल खेल भने आउदो जुलाई १९ आइतबारका दिन अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेभएको छ।












प्रतिक्रिया