विचार / ब्लग

सम्झना, एकान्त र जीवन-दर्शनको काव्ययात्रा

सम्झना, एकान्त र जीवन-दर्शनको काव्ययात्रा

‘द ब्यूटिफुल ग्रे हेयर’- विश्लेषण


साहित्य मानव अनुभूतिको दस्तावेज हो। जब कुनै कविले आफ्नो जीवनका सुख-दुःख, प्रेम-वियोग, स्मृति, एकान्त र समयका पदचापलाई शब्दमा उतार्छन्, ती शब्दहरू केवल कविता बनेर रहँदैनन्; ती जीवनका साक्षी बन्छन्। बैकुण्ठ राज आचार्यको चौथो कृति तथा दोस्रो अङ्ग्रेजी कविता सङ्ग्रह The Beautiful Grey Hair यस्तै अनुभूतिको दस्तावेज हो।

नेपाल भन्दा बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय आचार्य नेपाली साहित्यिक वृत्तमा परिचित नाम हो। हाइड्रोलिक इन्जिनियरिङ, समाजशास्त्र र सार्वजनिक प्रशासनजस्ता विषयमा उच्च शिक्षा हासिल गर्नुभएको उहाँ अध्ययन/पेशाले प्राविधिक भए पनि मनले संवेदनशील साहित्यकार हुनुहुन्छ।

Advertisement

उहाँको यसअघि प्रकाशित नेपाली कविता सङ्ग्रह न्यास्रो जन्मभूमिको (२०१८), आज फेरि (२०२०) तथा अङ्ग्रेजी कविता सङ्ग्रह The Lost Pebbles (२०२३) ले उहाँको साहित्यिक यात्रालाई स्थापित गरिसकेका छ। विशेषगरी The Lost Pebbles मा देखिएको आत्मअनुभूति, स्मृतिको सौन्दर्य र भावनात्मक गहिराइ The Beautiful Grey Hair मा अझ परिपक्व र जीवनदर्शी रूपमा प्रस्तुत भएको देखिन्छ।

यो सङ्ग्रहमा समेटिएका १५ वटा कविताहरू पढ्दा एउटा कुरा स्पष्ट रूपमा अनुभूत हुन्छ कि कवि बाहिरी संसार भन्दा आफ्नै अन्तर्मनसँग बढी संवाद गर्नुहुन्छ। उहाँका कविताहरूमा ठूलो राजनीतिक घोषणापत्र छैन, न त जटिल बौद्धिक प्रदर्शन नै। बरु यहाँ एउटा मानिसको मन छ, जसले प्रेम गरेको छ, गुमाएको छ, सम्झिएको छ, एक्लिएको छ, र जीवनलाई नजिकबाट हेरेको छ।

यस सङ्ग्रहको सबैभन्दा प्रभावशाली पक्ष प्रेम र स्मृतिको चित्रण हो। पुस्तकको शीर्षक कविता The Beautiful Grey Hair मा कविले समय र उमेरलाई चुनौती दिने प्रेमको सुन्दर अभिव्यक्ति दिनुभएको छ। सामाजिक सञ्जालमा धेरै वर्षपछि देखिएकी पहिलो प्रेमिकाको सेतो कपाल कविका लागि बुढ्यौलीको संकेत होइन; त्यो त समयले झन् परिष्कृत बनाएको सौन्दर्यको प्रतीक हो। कविताले प्रेमलाई शारीरिक आकर्षणभन्दा माथि उठाएर भावनात्मक अमरतासँग जोड्छ।

तर यो सङ्ग्रहको भावनात्मक केन्द्र केवल प्रेम होइन, वियोग पनि हो। The Sold Home र Six Years Without You जस्ता कविताहरूमा कविले दिवंगत जीवनसाथीको स्मृतिलाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेका छन्। एउटा घर बेचिनु सामान्य आर्थिक कारोबार हुन सक्छ, तर कविका लागि त्यो घरसँग जोडिएका स्मृति, सम्बन्ध र प्रेमको संसार गुम्नु हो। पत्नीको अनुपस्थितिमा बाँचेको समयलाई उहाँले केवल वर्षहरूको गणनाका रूपमा होइन, भावनात्मक संघर्षका रूपमा चित्रण गर्नुभएको छ। यिनै कविताहरू पढ्दा पाठकले कविको पीडा मात्र होइन, प्रेमको गहिराइ पनि महसुस गर्न सक्छ।

यस सङ्ग्रहको अर्को उल्लेखनीय पक्ष एकान्तको दर्शन हो। आधुनिक समाजमा एक्लोपनलाई प्रायः दुःखको रूपमा बुझिन्छ। तर My Friend, My Solitude कवितामा कविले एकान्तलाई आफ्नो मित्र बनाएका छन्। मानिसहरू टाढा गएपछि, सम्बन्धहरू बदलिँदै गएपछि, अन्ततः आफूभित्रको ‘म’ नै सबैभन्दा विश्वसनीय साथी बन्न पुग्छ। यो अनुभूति केवल व्यक्तिगत कथा होइन; आजको व्यस्त र सम्बन्धविहीन बन्दै गएको समाजको साझा यथार्थ पनि हो।

उमेर र जीवनको उत्तरार्धबारे कविको दृष्टिकोण पनि रोचक छ। The Golden Years मा कविले बुढ्यौलीलाई प्रचलित अर्थमा ‘सुनौलो समय’ मान्न अस्वीकार गर्नुभएको छ। जीवनका पछिल्ला वर्षहरूमा पनि संघर्ष, तनाव र भावनात्मक चुनौतीहरू रहिरहन्छन् भन्ने यथार्थ उनले निर्भीक रूपमा प्रस्तुत गर्नुभएको छ। त्यस्तै The Journey र One Morning जस्ता कविताहरूले जीवनलाई एउटा निरन्तर यात्राका रूपमा चित्रण गर्छन्, जहाँ अन्तिम गन्तव्य भन्दा यात्राकै अनुभव महत्त्वपूर्ण हुन्छ।

यद्यपि आचार्य मूलतः भावनाका कवि हुनुहुन्छ, उहाँ समाज र मानव व्यवहारप्रति पनि सचेत देखिनुहुन्छ। At Heaven’s Door, What Goes Around, Comes Around तथा Don’t Rely on the Hammer Only जस्ता कविताहरूले नैतिकता, नेतृत्व, अहंकार र मानव व्यवहारमाथि गम्भीर प्रश्न उठाउँछन्। मानिसले जीवनभर संकलन गरेको सम्पत्ति, शक्ति र प्रतिष्ठाभन्दा करुणा, इमानदारी र मानवता नै अन्ततः महत्वपूर्ण हुने सन्देश यी कविताहरूले दिन्छन्।

भाषिक दृष्टिले हेर्दा आचार्यको काव्य सरल, सहज र प्रत्यक्ष छ। उहाँ जटिल प्रतीक र दुरूह शैली भन्दा भावनाको स्वाभाविक अभिव्यक्तिमा विश्वास गर्नुहुन्छ। त्यसैले उहाँका कविताहरू विद्वान् समीक्षकका लागि मात्र होइन, सामान्य पाठकका लागि पनि उत्तिकै आत्मीय बन्न सफल छन्।

समग्रमा The Beautiful Grey Hair केवल कविता सङ्ग्रह होइन; यो स्मृति, प्रेम, वियोग, एकान्त र जीवनदर्शनको भावनात्मक यात्रा हो। सेतो कपाललाई सौन्दर्यको प्रतीक बनाउने यो पुस्तकले वास्तवमा जीवनका सबै अनुभूतिहरूलाई सम्मान गर्न सिकाउँछ। उमेर बढ्दै जाँदा शरीरमा परिवर्तन आउन सक्छ, तर प्रेम, सम्झना र संवेदनाको रंग कहिल्यै फिक्का हुँदैन भन्ने सत्यलाई यस सङ्ग्रहले अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ।

यस अर्थमा The Beautiful Grey Hair आधुनिक नेपाली डायस्पोरा साहित्यको एउटा संवेदनशील, आत्मीय र दीर्घकालसम्म सम्झिइरहने काव्यकृति हो।