अमेरिका, बोस्टन। अमेरिकाको न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर आयोजना गर्ने भएको छ। आफ्ना सेवाग्राहीहरुलाई घर दैलोमै पुगेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती शिविर आयोजना गर्न लागिएको महावाणिज्यदूतावास न्यू योर्कले जनाएको छ।
शिविर यही मे २३, २०२६ शनिवारका दिन 594 Washington Street, Braintree स्थित प्रवासी नेपालीहरुको सामुदायिक भवनमा गर्ने गरी आवश्यक तयारी गरिएको नेपाली महावाणिज्यदूत ददिराम भण्डारीले जानकारी दिए। उनले दिएको जानकारी अनुसार विगमा झैं यस पटक पनि उक्त कन्सुलर सेवा घुम्ती शिविरबाट सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैरआवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी सेवाहरु, परामर्श लगायत सेवाहरु प्रदान गरिने छ।
महावाणिज्यदूत भण्डारीले उक्त घुम्ती शिविरबाट सेवा लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध समेत गरेका छन्।
महावाणिज्यदूतावासले अवैतनिक नेपाली वाणिज्यदूतावास बोस्टन र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए, एनसिसि), अमेरिका, म्यासाच्युसेट्स च्याप्टरसंगको सहकार्य एवम् ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि) र पशुपतिनाथ बुद्ध फाउण्डेसन (प्याब्फोन)संगको समन्वयमा उक्त शिविर गर्न लागेको हो।
म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उक्त कन्सुलर सेवा घुम्ती शिविरको उद्देश्य रहेको छ।
यस सम्बन्धमा महावाणिज्यदूतावास न्यू योर्कले सूचनासमेत जारी गर्दै उक्त घुम्ती शिविरबाट सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारी प्राप्त गर्न महावाणिज्यदूतावास, न्यू योर्कको आधिकारिक वेबसाइडमा हेर्न वा महावाणिज्यदूततावास न्यू योर्क वा स्थानीय सहयोगी संघ संस्थाहरुसंग सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
यस सम्बन्धमा एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले उक्त शिविरलाई प्रभावकारी तथा उपलब्धिमूलक बनाउन आवश्यक तयारी भैरहेको बताए। उनले यस क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सुविधाका लागि महावाणिज्यदूतावासले बेला बेलामा घुम्ती शिविरको आयोजना गर्दै आएकोमा धन्यवाद दिदै शिविरबाट आवश्यक सेवाहरु प्राप्त गरी लाभान्वित हुन सम्बन्धित सेवाग्राहीहरुलाई अनुरोध गरेका छन्।
महावाणिज्यदूतावासले केही वर्षदेखि बेला बेलामा बोस्टनमा यस प्रकारको कन्सुलर सेवा घुम्ती शिविर प्राथमिकताका साथ आयोजना गर्दै आइरहेको छ। यसै सिलसिलामा ८ महिना अघि गत सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना गरिएको घुम्ती शिविरबाट २०४ जना सेवाग्राहीहरुले सेवा प्राप्त गरेका थिए।












प्रतिक्रिया