विचार / ब्लग

२०३२ सालको एसएलसी र स्मृतिमा बुढाथोकी हेडसर

२०३२ सालको एसएलसी र स्मृतिमा बुढाथोकी हेडसर


शेयर गर्नुहोस:

675
Shares

  • change font
  • change font

–हरिप्रसाद बगाले

जीवन कहिलेकाहीँ प्रश्नपत्र होइन, परीक्षा नै बनेर उभिन्छ । त्यस्ता घडीमा अङ्क होइन, मानिस चाहिन्छ—जसले हात समातेर भन्छ, “नडराऊ, म छु ।” मेरो जीवनमा त्यो वाक्य बनेर आउनुहुने व्यक्तित्व हुनुहुन्थ्यो—श्री बुद्धिबहादुर बुढाथोकी, सबैका प्रिय हेडसर।

२०३२ सालमा म लमजुङ कुन्छाको श्री शान्ति हाइस्कुलबाट १० कक्षाको परीक्षा उत्तीर्ण गरी १६ वर्षको उमेरमा शिक्षाको प्रथम खुटकिलो एसएलसी दिने तयारीमा थिएँ। परीक्षा केन्द्र थियो—लमजुङकै विकट र कष्टकर ठाँउ, गाउँसहर, सूर्यपालस्थित मेरो घरबाट डेढ दिनको पैदल यात्रा।

Advertisement

डेराको खोजी, पुष–माघको चिसो, परीक्षामा कठिनाइँ र बुढाथोकी सरको प्रेरणाः

गाउँसहर न देखेको, न चिनेको। डेरा खोज्नु नै एउटा ठूलो युद्धजस्तै लाग्थ्यो। बुबा मेरो उमेर देखेर चिन्तित हुनुहुन्थ्यो। “तँ सानो छस्, म नै जान्छु,” भन्नुभयो। मेरो साथीसहित बुबा डेरा खोज्न गाउँसहर पुग्नुभयो। तर त्यो यात्रा सजिलो रहेन ।

परीक्षा केन्द्र नजिकका डेराहरू पहिल्यै बूकिङ्ग भैसकेका रहेछन्। नेवार हटियाका घरहरू खाली थिए, तर मान्छे थिएनन्। अन्ततः ४५ मिनेटको दुरीमा बानिया क्षेत्रीहरूको गाउँ पुग्दा एक जना अवकाशप्राप्त सैनिकसँग बुवाको भेट भएछ । उनले मीठा वाचा गरे, “सात दिनमै न्यानो कोठा बनाइदिन्छु, ढोका राखिदिन्छु, खाना पनि मेरी श्रीमतीले पकाइदिन्छिन्।” बुबा विश्वासमा पर्नुभयो। पेस्की दिनुभयो। आशा बोकेर घर फर्किनुभयो।

मङ्सिरको अन्त्यतिर म र मेरो साथी, भरियासँगै दुई दिन हिँडेर त्यो डेरामा पुग्यौँ । तर, वाचा खोक्रो रहेछ। न कोठा, न ढोका। खुला पिँढीमै सुत्नुपर्‍यो। पुष–माघको कठ्यांग्रिने जाडो। विश्वासघातको ताप जाडोभन्दा बढी चिसो थियो। झगडा गर्‍यौं, आग्रह गर्‍यौं—घरबेटी टारिरह्यो। अन्ततः सैनिक टाँटले बनाएको कोठा, झ्याल ढोकाविहीन अवस्थामा, किताब र लत्ता कपडा खुलै राखेर बस्न बाध्य भयौं। त्यही कठिन घडीमा संयोग नियतिले मलाई मेरो जीवनको मार्गदर्शकसँग जुराइदियो। छिमेकी शिक्षक नवीन बानियाको घरमा गाउँसहर स्कुलका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष बुढाथोकी हेडसर आउने खबर सुनेँ। उहाँको नास्ताका लागि तयार गरिएको कुखुरा उडेर भाग्यो। कसैले पनि समात्न सकेनन्। मैले समात्ने प्रयास गरेँ तर ओरालो र कान्ला परेको ठाउँ भएकाले कुखुरा उडिरह्यो। अन्ततः दाउराको झटारो हान्दा खुट्टा भाँचिएर ढल्यो। त्यसपछि समातेर हेडसरलाई दिएँ।

उहाँले सोध्नुभयो, “ए भाइ, कहाँबाट आएको रु डेरा बस्न लायक छ रु” मेरो मुखबाट पीडाको कथा बग्यो। उहाँले बानिया सरलाई सोध्नुभयो—“तपाईंको दाजुभाइले किन यस्तो गरे ?” र मलाई भन्नुभयो, “नेवार हटियामा धेरै घर खाली छन्, स्कुल नजिकै पर्छ” त्यो सुझाव केवल सल्लाह थिएन—त्यो आशाको ढोका थियो।

हामी डेरा सर्यौं, जीवनले अलिकति सास फेर्‍यौ। तर नियतिले अझ ठूलो परीक्षा बाँकी राखेको थियो। पुसको कठ्यांग्रिने जाडोमा म गम्भीर बिरामी परेँ—खोकी, ज्वरो, कफमा रगत, चरम कमजोरी। न मेडिकल, न डाक्टर। बेसीसहर पुग्न दुई–तीन घण्टा उकालो–ओरालो हिँड्नुपर्थ्यो—तर म हिँड्न सक्ने अवस्थामा थिइन। परीक्षा सुरु हुन एक हप्ता मात्र बाँकी। घर टाढा, न यातायात न संचार, खबर गर्न असम्भव। मनले हार मानेको थियो। अन्तिम उपायको रूपमा मैले हेडसरलाई सम्झिएँ। खबर पाउनासाथ उहाँ मेरो डेरामा आइपुग्नुभयो। मेरो हालत हेरेर भन्नुभयो— “तिमीलाई निमोनियाले समातेछ।” मेरा आँखा बाट आँसु झरे “सर, परीक्षा त परै जाओस्, म बाँचुला कि नबाँचुला भन्ने डर छ।” उहाँले मेरो काँधमा हात राख्दै भन्नुभयो, “नआत्तिनु बाबु।” भोलिपल्टै बेसीसहर गई चिनजानका डाक्टरसँग परामर्श गरी,औषधी पठाइदिनुभयो। खाने तरिका पनि लेखेर, पर्सी भेट्ने वाचा गर्नुभयो र वाचा निभाउनुभयो। परीक्षा सुरु हुने अघिल्लो दिनसम्म उहाँ आइरहनुभयो।

“पहिलो अंग्रेजीमा १० नम्बर कटाए पुग्छ,” “दोस्रो अंग्रेजीमा ५० ल्यायौ भने पास हुन्छौ,” “अरू त नेपालीमै लेख्न पाइन्छ।” परिक्षा नछाड्नु, उहाँका शब्द औषधीभन्दा शक्तिशाली थिए। कमजोर शरीर, काँप्ने हात, चक्कर लाग्ने टाउको—यी सबैका बीच मैले परीक्षा दिएँ। बीच–बीचमा टाउको मेचमा राखेर सास फेर्दै लेखेँ। पहिलो दिन ६५ प्रतिशत प्रश्नका उत्तर मात्र लेख्न सकेँ। “औषधीले ज्वरो खोकी कम भएछ”, हेडसरले फेरि ढाढस दिनुभयो। दोस्रो अङ्ग्रेजी राम्रोसँग दिएँ। बाँकी परीक्षा सकेँ। घर फर्कँदा तीन दिन लाग्यो। तर मन हलुका थियो—किनकि म एक्लो थिइनँ। घरको न्यानोपन, ताजा पोषिला खाना र हेडसरको आशीर्वादले स्वास्थ्य चाँडै सुध्रियो। केही महिनापछि कुन्छामा भएको वीरेन्द्रशील्ड खेलकुद प्रतियोगितामा उहाँलाई भेट्दा उहाँले भन्नुभयो, “स्वास्थ्य सुधार भएछ, अब थप उपचार गर्न जानु पर्दैन” ।

२०३३ साल असारको खेत रोपाइँको हिलोमा काम गर्दैगर्दै एसएलसी पास भएको खबर आयो। गाउँका प्रधानपञ्चले खेतकै हिलो माटोले लगाइदिनुभएको टीका मेरो जीवनकै पवित्र टीका थियो। त्यो क्षण मेरो मन हेडसर बुढाथोकी प्रति नतमस्तक भयो। पुनस् परिक्षा दिन कष्टकर स्थान गाउँसहर जानु परेन। हर्षले गदगद भए। त्यसपछि जीवन अघि बढ्यो—तनहुँमा शिक्षक सेवा, उच्च शिक्षा, कानुन अध्ययन, लोकसेवाको कानुन अधिकृत परिक्षा उत्तिर्ण, सरकारी वकिल, जिल्ला न्यायाधीश हुँदै उच्च अदालतको न्यायाधीशसम्म। २०७९ सालमा उमेरहदले सेवा निवृत्त भएँ। तर जहाँ पुगे पनि, जुन पदमा बसे पनि, २०३२ सालको त्यो कठिन मोड र बुढाथोकी हेडसरको करुणामय अनुहार, जीवनमा हरेस नखान दिनुभएको साहस मेरो हृदयमा सदैव उज्यालो बनेर बसिरह्यो। लामो सरकारी सेवा र नेपालबाट एम।ए।, बी।एल। तथा बेलायतबाट कानुनमा एल।एल।एम। शिक्षा हासिल गरे तापनि, एसएलसीका दिनमा गाउँशहरमा भोगेको कष्ट र त्यसबेला बुढाथोकी हेडसरबाट पाएको हौसला, उपचार र उदारताले उहाँलाई २०३२ सालपछि फेरि भेट्ने इच्छा सधैं मनमा रहिरह्यो।

उहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र हाल स्वास्थ अवस्था कस्तो होला भन्ने जिज्ञासा मनमा रहेकै थियो। २०४० सालतिर सुनेँ, उहाँले शिक्षण पेशा छाडी कञ्चनपुरको पुनर्वास कम्पनीको महाप्रवन्धक पदमा कार्यरत हुनुहुन्थ्यो। तैपनि भेट्ने अवसर मिलेन।

२०७२ सालमा, महेन्द्रनगर उच्च अदालतमा कार्यरत थिएँ। कञ्चनपुरको पुनर्वास हेर्न गएँ,उहाँको कार्य अवधी पुरा भई फर्कनु भएछ। गाउँघर र छिमेकबाट बसाइसरी आएका चिनजानका मानिस भेटेर एक रात बसियो। त्यहीँका बासिन्दाले भन्नुभयो, “बुढाथोकी सर अत्यन्त असल, सरल र सकारात्मक सोच भएका व्यक्ति हुनुहुन्थ्यो।”

हाम्रो समाजमा अब आदर, सद्भाव र सामूहिक भलाइको संस्कृति क्रमश कम हुँदै ब्यक्तिवादी प्रबृती बढ्दो छ। व्यक्तिगत स्वार्थ र शहरीकरणको प्रभावले एकले अर्कोलाई सहयोग, आदर तथा सम्मान दिने भावना कमजोर भएको महसुस हुदैछ। यस्तो परिवेशमा, कुनै चिनजान नभएको १६ वर्षको म जस्तो सामान्य परीक्षार्थीलाई २०३२ साल पौषमा केन्द्राध्यक्ष बुढाथोकी सरले गरेको उपचार, सहयोग र हौसला अझै मानसपटलमा घुमिरहन्छ।

लमजुङको सदरमुकाम र एसएलसी केन्द्र परिवर्तनको ऐतिहासिक झलकः

लमजुङको सदरमुकाम कुन्छाबाट बेसिसहर लगिएको र एसएलसी परीक्षा केन्द्र कुन्छाबाट गाउँशहर सारिएको ऐतिहासिक पृष्ठभूमि रोचक छ। २०३२ सालमा परीक्षा दिँदा मेरो अपरिपक्व बालमनले यो यथार्थ न त बुझ्न सक्यो, न त चासो नै राख्न सक्यो। तर पछि उच्च शिक्षा हासिल गरी परिपक्व भएपछि यस विषयमा जिज्ञासा जाग्यो र बुझ्ने अवसर पाएँ।

२०३१ सालमा जिल्ला प्रशासन योजना लागू हुनुअघि कतिपय दुई – तीन जिल्लाका सदरमुकाम एउटै स्थानमा रहने व्यवस्था थियो। त्यसैअनुसार मनाङ र लमजुङ दुवै जिल्लाको सदरमुकाम कुन्छामा राखिएको रहेछ। २०२७ सालमा राजा महेन्द्र मनाङ भ्रमणमा गएको अवसरमा मनाङवासीहरूले “कुन्छा सदरमुकाम धेरै टाढा भयो, यसलाई बेसिसहर सारियोस्” भनी बिन्तीपत्र पेस गरेछन्। राजाको हुकुमी आदेशअनुसार सदरमुकाम कुन्छाबाट बेसिसहर सारियो। तर साबिकदेखि कुन्छाको शान्ति हाईस्कुलमा सञ्चालन हुँदै आएको एसएलसी परीक्षा केन्द्र भने कायमै राखियो।

२०३० सालको एसएलसी परीक्षामा विज्ञान विषयको प्रश्नपत्र कठिन आएको रहेछ। परीक्षा उत्तीर्ण गर्न नसकिने आँकलन गर्दै विद्यार्थीहरूले उत्तरपुस्तिका जलाउने योजना बनाएछन्। त्यसबखत कुन्छामा एक मात्र सरकारी कार्यालय, छोटी हुलाक थियो । एक मात्र सुरक्षाकर्मी प्रहरी हवल्दारले बिना हतियार लौरोको भरमा सुरक्षा दिएको उक्त हुलाक कार्यालयमा परिक्षाको उत्तरपुस्तिका राख्ने गरिएको रहेछ। विद्यार्थीहरूले उक्त हुलाक कार्यालयमा आक्रमण गरी प्रहरी हवल्दारलाई डोरीले बाधेर लडाई उत्तरपुस्तिका बाहिर लगेर जलाएछन्।

उक्त घटनाको सक्रिय नेतृत्व गर्ने केही विद्यार्थीमाथि मुद्दा चलाइ कानुन बमोजिम दण्डित गरिएछ। यही घटनाको परिणामस्वरूप कुन्छाको परीक्षा केन्द्र बन्द गरी विकट र चिसो स्थान गाउँसहरमा सारियो। यसरी अघिल्लो ब्याचका विद्यार्थीहरूको बदमासीको प्रतिफल पछिल्ला ब्याचका विद्यार्थीहरूले भोग्नुपर्‍यो। नियतिको यही कारण हामीलाई परीक्षा दिन कष्टकर ठाउँ गाउँसहर जान बाध्यता परेको रहेछ। जीवन र मरणको दोसादमा परिक्षा दिए। परिक्षाको घडीमा जे जस्ता कठिनाई भोगे पनि शिक्षाको फलामे ढोका गाउँसहरवाट पार गरे।

पाँच दशकपछि बुढाथोकी सरसँगको ऐतिहासिक भेटः

गत भाद्र २३ को जेन्जी आन्दोलन र २४ गतेको उक्त आन्दोलनमा अन्य विद्रोही समूहहरूको घुसपैठका कारण देशभर आगजानी र तोडफोड भयो। व्यवस्थापिका भवन, सिंहदरबार र सर्वोच्च अदालत भवन क्षतिग्रस्त भए। जनताको महत्त्वपूर्ण कागजात जलेर नष्ट भयो। करिब ४१ वर्ष कानून सेवा गरेको म राष्ट्रसेवक मर्माहित भए। सर्वोच्च अदालतको क्षतिग्रस्त भवनको अवस्था हेर्न उत्सुकता जाग्यो र केही समयपश्चात सर्वोच्च अदालतमा गए। अदालतका कागजपत्र भौतिक सामान जलेर खरानी भएको र भवन पुरै कालो भएको देख्दा भावविहोल भए।

देशकाल परिस्थितिले गर्दा यस्तो अवस्था पनि आउँदो रहेछ भन्ने सोचे। यसै क्रममा सहपाठी प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूलाई पनि भेटे। देशको दुस्खद घडी, न्यायलयको क्षती र अग्रगामि पहल बारे छलफल गरियो।

उहाँले सोध्नुभयो, “तपाईंको जिल्ला लमजुङमा धेरै बर्ष शिक्षक पेशा गरेका मेरा नातेदार धुर्व भन्ने बुढाथोकी दाइलाई चिन्नु हुन्छरु मैले जवाफ दिए “ध्रुव दाइ चिन्दिन, तर बुद्धि बुढाथोकी सरलाई चिन्छु। उहाँ गाउँशहर हाइस्कुलका हेडसर हुनुहुन्थ्यो।” उहाँ नै हो भन्ने एकिन गरि उहाँले फोन नम्बर दिनु भयो। उदार ब्यक्तिले पीडितलाई गरेको सहयोग र योगदान बिर्सन सक्दछ। तर भोक्ताले सहयोगीलाई कदापी भुल्न हुदैन भन्ने मान्यतालाई आत्मसाथ गरि उहाँलाई फोन गरेर भेट्ने अवसर मिलाएँ। ८५ वर्ष उमेर भएपनि उहाँको स्मरणशक्ति र बोलिचाली अझै सशक्त थियो। पहिले देखिकै एउटा कमजोर गोडा अझ कमजोर भएको रहेछ। तथापि पठन–पाठन र स्मरणशक्तिमा कमी आएको पाइन।

२०३२ सालको परिक्षा दिदाको स्मृति साझा गर्दा उहाँले अलिकति याद गर्नुभयो। लमजुङको गाउँसहरदेखि विभिन्न महत्वपूर्ण स्थान र व्यक्तिहरूको चर्चा भयो। उहाँले २० वर्ष शिक्षक भई सेवा गर्नु भएको, त्यसपछि २०३४ सालमा नेपाल सरकारको पुनर्वास कम्पनी कञ्चनपुरको महाप्रवन्धक पदमा १५ वर्ष काम गर्नु भएको रहेछ। २०७२ सालको भूकम्पपीडित ब्यबस्थापनको जिम्मेवारी पूरा गर्न धरानमा खटिनु भएछ र रौतहट प्रहरी स्कुलमा समेत अध्यापन गर्नु भएछ । अहिले उहाँ घरमा आराम गर्दै हुनुहुन्छ । उहाँसँगको त्यो अमूल्य भेटघाट र बर्तालाभ तीन घण्टा लामो रह्यो । बिदा हुने क्रममा “हजुरको मानवीय व्यवहार, उदार र सहयोगी भावनाप्रति ज्यादै आभारी छु, २०३२ सालपछि पुनः भेट्ने इच्छा आज पूरा भएकोमा धेरै खुसी भए।” भन्दै उहाँसँग बिदा मागे। उहाँले पनि एक दिन कोचिङ कक्षामा अङ्ग्रेजी पढाएको र परीक्षा दिने समयमा बिरामी हुँदा औषधि उपलब्ध गराइदिएको ५० बर्ष अधिका कुराहरू सम्झेर यति ठूलो सद्भाव राखी मलाई भेट्न आउनुभएकोमा आभारी छु भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँसँग सेल्फी खिचेर भेटको स्मरण सुरक्षित गरियो। यो स्मृति मेरो जीवनको ऐतिहासिक घटना हो।

(लेखकः उच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ ।)