विचार / ब्लग

पर्वतदेखि मेरिल्याण्डको डेलिगेटसम्मको यात्रा र पुनः डेमोक्रेटिक पार्टीमा मेरो उम्मेदवारी

पर्वतदेखि मेरिल्याण्डको डेलिगेटसम्मको यात्रा र पुनः डेमोक्रेटिक पार्टीमा मेरो उम्मेदवारी


ज मैले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदका लागि दोस्रो कार्यकालका लागि औपचारिकरूपमा उम्मेदवारी दर्ता गरेँ । पश्चिम नेपालको पर्वत थापाथानामा जन्मेर सुरूवाती शिक्षा त्यही पूरा गरेको म आज यो विन्दुमा आइपुग्दा मेरो आँखाअगाडि त्यो लामो यात्राका अनेकौँ आरोहअवरोहरू सिनेमाको रिलझै घुमिरहेका छन् ।
 
अमेरिका आएपछि मेरो मनमा एउटै कुरा खेलिरहेको हुन्थ्यो कि हामीले हाम्रो समुदायलाई अमेरिकाको मूलधारसँग जोड्नुपर्छ र हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौँ र हाम्रा समस्याहरू समाधानको दिशामा अगाडि बढ्छन्। अमेरिका हामी र हाम्रा सन्ततिका लागि प्रचुर अवसर रहेको देशका रूपमा उपस्थित हुन्छ।
 
आज फर्केर हेदा हाम्रो साझा सपना केही मात्रामा भए पनि साकार हुने दिशामा अगाडि बढिरहेको छ। छोटो समयमा जुनसुकै क्षेत्रमा रहेर पनि हाम्रो समुदायले जुन उपलब्धि हासिल गरेको छ, त्यो आफैँमा एक मानकको रूपमा उभिएको छ।
 
प्रस्तुत पृष्ठभूमिमा विधायकका लागि उम्मेदवारी दिइरहेको बेला अमेरिकाकै सबैभन्दा पुरानो स्टेट क्यापिटल हलमा जारी ४४४औँ संससदीय सत्रमा म मेरो पहिलो कार्यकालको अन्तिम सत्रमा विधायिकी कार्यहरू सम्पन्न गरिरहेको छु । जहाँबाट जेफरसन र वासिङ्टनले आजको विशाल अमेरिका बनाउन देखेका सपनाहरूमा हामी र हाम्रा सन्ततिका सपनाहरू तरङ्गित भैरहेको अनुभव हुन्छ। 
 
त्यसबाट हासिल भएका अनुभव र आत्मबल हाम्रा समुदायका सार्वजनिक पूँजी हुन्। अहिले अमेरिकाभरि नै हाम्रो समुदायका होनहारहरू केही सार्वजिक पदमा रहेर र केही त्यसका लागि प्रयासरत रहेर नेपाली समुदायको सामाजिक आर्थिक स्थिति मजबुत बनाइरहनु भएको छ। म उहाँहरू सबैको सफलता र प्रयासको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु। र, सहकार्यका लागि सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछु।
 
राजनीति एउटा युगिन रिले यात्रा हो। यो १००मिटरको दौड वा केही माइलको म्याराथुनजस्तो आवधिक दौड हैन । चुनाव राजनीतिको एक अभिन्न अंग हो । हाम्रो समुदाय यसमा सहभागी हुनुपर्छ। हाम्रो सहभागिताले नै हाम्रो समुदायलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउँछ। र, यही प्रतिस्पर्पधाको दौड पार गरेपछि मात्र हामी नीति निर्माणको तहमा पुग्छौँ। अनिमात्र हाम्रो समुदायका समस्याहरू नीतिगत र संरचनागत रूपमा संवोधन हुने दिशामा अघि बढ्छन्।  
 
यही आशा र विश्वास नै मलाई पुनः उम्मेदवार बनाउने मूल आधार हो। मेरो उम्मेदवारी अहिलेका लागि डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवारी जित्ने आकांक्षाको लागि हो। जुन २८ मा हुने डेमोक्रेटिक प्राइमरीमा विजयी भएपछि मात्र नोभेम्बर ८ मा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेदवार हुने मेरो ढोका खुल्नेछ।
 
मलाई आशा एवं विश्वास छ, यसअघिझैँ यसपटक पनि यहाँहरूको आशीर्वाद, माया, साथ, सहयोग र सद्भाव प्राप्त हुने नै छ। म त्यसैको भुईंमा उभिएर चुनौतीको यो पहाडलाई अवसरको मैदानमा बदल्ने अभियानमा डट्नेछु । यो अभियान हामी र हाम्रो सन्तान दरसन्तानलाई एकीकृत गर्दै जन्मभूमिसँग जोड्ने साझा अभियान हो। यही पवित्र सोच र कोणबाट मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हुँ।
 
आशीर्वाद, साथ, सहयोग र सद्भावको हार्दिक अपेक्षासहित,
ह्यारी भण्डारी, पिएचडी