टेक्सस

बाढी प्रभावितहरूको स्मृतिमा टेक्ससमा दीप प्रज्वलन

बाढी प्रभावितहरूको स्मृतिमा टेक्ससमा दीप प्रज्वलन


युलेस, टेक्सस । नेपालमा हालै गएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा हराइरहेका व्यक्तिहरूको स्मृतिमा नेपाली समाज टेक्ससले सोमबार साँझ टेक्ससको युलेसमा मैनबत्ती प्रज्वलन (दीप प्रज्वलन) कार्यक्रम आयोजना गरेको छ।

मौनधारणबाट सुरु भएको उक्त कार्यक्रममा ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समाजका सदस्यहरूसँगै नेपाललाई माया गर्ने विभिन्न देशका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

Advertisement

नेपाल र चीनको सिमानामा हिमाल चर्किएर गएको पहिरोका कारण हिमताल फुट्न पुग्दा नेपालमा भीषण महाप्रलय आएको हो। बाढीका कारण अहिलेसम्म झन्डै १ हजार ५ सय जनाको शव फेला परिसकेको छ भने ५ हजारभन्दा बढी मानिसहरू अझै हराइरहेका छन्। बाढीले विशेष गरी रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरण अनुसार दुई दर्जनभन्दा बढी पक्की पुल, १२ वटा जलविद्युत् आयोजना (हाइड्रोपावर प्लान्ट), ५५ किलोमिटर सडक, विद्यालय, सरकारी भवन, निजी आवास र लाखौँ रोपनी खेतीयोग्य जमिन पूर्ण रूपमा नष्ट भएको छ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली समाज टेक्ससका पदाधिकारीहरूले यस विषम परिस्थितिमा बाढीप्रभावित क्षेत्रका बासिन्दाहरूसँग ऐक्यबद्धता जनाउँदै उनीहरूको दीर्घकालीन राहत, पुनर्स्थापना र सहयोगका लागि निरन्तर सहकार्य गर्न तयार रहेको बताएका छन्।