काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा आगामी बुधबारदेखि वर्षाको गतिविधि बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि भने देशका विभिन्न स्थानमा हुरीसहित ठूलो वर्षा हुने सम्भावना छ ।
महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ ।
यस्तै, मधेस तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ । यसको प्रभाव बुधबारदेखि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ । मौसम प्रणालीका कारण देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
ठूलो वर्षाको सम्भावनासँगै बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम समेत बढ्ने महाशाखाले जनाएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्भावित मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर तथा कृषि विज्ञको सुझावअनुसार काम गर्न आग्रह गरिएको छ ।
यसैगरी, हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ ।












प्रतिक्रिया