काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि बाह्य दबाब र आक्रमण भइरहेको अवस्थामा पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरेको बताएका छन्।
सोमबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई सार्वजनिक रूपमा उठाएर विपक्षीलाई फाइदा पुग्ने गतिविधि गर्न नहुने धारणा राखे ।
उनले पार्टीका आन्तरिक विषयमा छलफल गर्न पार्टीका सम्बन्धित समितिलाई प्रयोग गर्नुपर्ने बताए। पार्टीभित्रै छलफल गर्नुपर्ने विषय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दा संगठनको प्रतिष्ठामा असर पुग्ने र विपक्षीको मनोबल बढ्ने उनको भनाइ थियो ।
‘हामीमाथि बाहिरबाट हमला भइरहेको बेला एकजुट भएर त्यसको सामना गर्नुपर्ने थियो। तर पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न लागिपरे,’ ओलीले भने ।
उनले पार्टी अध्यक्ष हटाउनुपर्ने, नेतृत्व असान्दर्भिक भइसकेको लगायतका अभिव्यक्ति सार्वजनिक रूपमा दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।
‘पार्टीमा हुनुहुन्छ भने पार्टीमै छलफल गर्नुस् । बाहिर गएर पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई खुसी बनाउने खालका गतिविधि हुनु हुँदैन,’ उनले भने ।
ओलीले पार्टीभित्र देखिएको अराजकता नियन्त्रण गर्दै संगठनलाई थप अनुशासित र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनका अनुसार पछिल्लो परिस्थितिमा पार्टीलाई अनुशासित ढंगले सञ्चालन गर्नु र आन्तरिक समस्या पार्टीको विधि तथा संरचनाभित्रै समाधान गर्नु आवश्यक छ ।












प्रतिक्रिया