पढ्नु मेरो निमित्त मनोरंजन लिनु पनि हो। यो हप्ता मनोज सिग्देलको ‘Recalibrate: Human Rhythm in the Age of AI’ पुस्तक पढें। जे बुझेँ त्यही एक पाठकीय दृष्टि लेख्दैछु।
कहिलेकाहीँ एउटा सानो प्रश्न मान्छेका निमित्त यति शक्तिशाली पनि हुनसक्छ जसले जीवनभरका ठूला उत्तरहरूलाई हल्लाइदिन्छ।
दश वर्षको एउटा बालकले आफ्ना बुबालाई सोध्छ: “Are you happy?”
प्रश्नमा न दर्शन छ, न व्यवस्थापनको सिद्धान्त, न कृत्रिम बुद्धिमत्ताको जटिलता। केवल एउटा बालसुलभ जिज्ञासा छ।
लामो समयदेखि प्रविधिसंग रमाइरहेका पितासँग त्यसको तत्काल उत्तर हुँदैन। यही मौनताबाट मनोज सिग्देलको Recalibrate: Human Rhythm in the Age of AI सुरु हुन्छ।
वास्तवमा यो एआईबारे लेखिएको पुस्तक मात्र होइन। यो एआई मोडेल बनाउने मान्छेले आफैँलाई सोधेको प्रश्न हो,‘हामी यति छिटो कहाँ पुग्न खोजिरहेका छौँ?’ कतै गन्तव्य खोज्दा, बाटोमा आफैँ छुटिरहेका त छैनौं ?
आधुनिक जीवनलाई हेर्दा हामीले असाधारण गति हासिल गरेका छौँ। एउटा सानो मोबाइल फोन, आइप्याड वा ल्यापटप भित्र संसार अटेको छ। एउटा क्लिकमा सूचना समुद्रजस्तै बगेर आउँछ। कृत्रिम बुद्धिमत्ताले केही सेकेन्डमै त्यस्ता काम गर्न थालेको छ, जसका लागि मानिसले कहिलेकाहीँ घण्टौँ खर्च गर्नुपर्थ्यो।
हामीले समयको गति जित्यौँ। तर अर्को जटिल प्रश्न थपिएको छ: के हामीले जीवन पनि जित्यौँ?
यहीँ Recalibrate को शीर्षकले अर्थ पाउन थाल्छ। ‘Recalibrate’ प्राविधिक शब्द हो। लेखकले यही प्राविधिक शब्दलाई जीवनको रूपक बनाएका छन्। सायद सफलता नाप्ने कसीमा हामी गलत मापनमा आफूलाई नापिरहेका छौँ।
हाम्रो हातमा स्मार्टफोन छ। तर कहिलेकाहीँ प्रश्न गर्नुपर्ने हुन्छ, स्मार्टफोन हाम्रो हातमा छ कि हाम्रो ध्यान उसको हातमा? Recalibrate को सबैभन्दा सुन्दर पक्ष यसले प्रविधिलाई दोष दिँदैन।
एआईबारे लेखिएका धेरै पुस्तक दुई ध्रुवमा बाडिएका छन्। एकथरिमा एआईले संसार बदल्ने उत्साह छ। अर्कोथरि एआईले मानवतालाई संकटमा पार्ने डर।
Recalibrate ले भने यी दुईको बीचमा उभिन खोजेको देखिन्छ। यसले प्रविधिलाई रोक्न भन्दैन। जसरी हामीले कम्प्युटरमा भाइरस लागे फाल्दनौ, एन्टीभाइरस इन्स्टल गर्छौ वा प्रयोग गर्ने तरिका बदल्छौँ। त्यसरी नै प्रविधि प्रयोगमा बुद्दिमत्ताको निमित्त सचेत गराउछ। एआईलाई दोष दिएर भविष्य रोक्न सकिँदैन। हामीले मानव र एआईबीचको सम्बन्ध पुनः क्यालिब्रेट गर्नुपर्नेछ।
लेखकले आफ्नो लामो प्रविधि यात्राबाट सिकेका कुरा समाजसँग बाँड्न खोजेका छन्। पुस्तक कुनै प्रयोगशालामा बसेर लेखिएको एआई सिद्धान्तजस्तो होइन; जीवन र पेशाको बाटोमा भेटिएका प्रश्नहरूबाट निस्किएको आत्मसंवाद जस्तो देखिन्छ।
त्यसैले पुस्तकको प्रश्न लेखकको मात्र रहँदैन। पाठकको पनि बन्छ। सायद पढ्दै गर्दा हामी आफैँलाई सोध्न थाल्छौँ: म खुसी छु? म व्यस्त छु कि अर्थपूर्ण काम गरिरहेको छु? मेरो समय मेरो हो? मेरो ध्यान मेरो नियन्त्रणमा छ? म आफ्नो परिवारसँग उपस्थित छु कि केवल एउटै कोठामा छु? म प्रविधि प्रयोग गरिरहेको छु कि प्रविधिले मेरो जीवनको लय निर्धारण गरिरहेको छ?
Recalibrate लाई केवल एउटा लेखकको व्यक्तिगत अनुभवका रूपमा पढ्दा यसको दायरा सानो हुन्छ। तर यसलाई हाम्रो समयको ऐनाका रूपमा पढ्दा यसको अर्थ फराकिलो हुन्छ। यो लेखकको एउटा पुस्तक भन्दा बढी, एउटा पुस्ताको ऐना हो।
हामी इतिहासको त्यस्तो मोडमा छौँ जहाँ मानिसले पहिलोपटक आफ्नो बौद्धिक क्षमताको केही अंश बाहिरी प्रणालीमा हस्तान्तरण गरिरहेको छ। कम्प्युटरले सूचना प्रशोधन लियो, इन्टरनेटले ज्ञानको पहुँच विस्तार गर्यो र एआईले अब सिर्जना र निर्णयका केही क्षेत्रमा समेत प्रवेश गरिरहेको छ। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ, जब हाम्रो बुद्धिले गर्ने काम मेसिनले गर्न थाल्छ, तब मानिसको वास्तविक मूल्य कहाँ रहन्छ?
मानिसको मूल्य केवल उसले कति काम गर्न सक्छ भन्नेमा छैन; उसले किन काम गर्छ, के रोज्छ, कसरी सम्बन्ध बनाउँछ र आफ्नो जीवनलाई कस्तो अर्थ दिन्छ भन्नेमा पनि छ।
पुस्तकको विषय अत्यन्त आकर्षक भए पनि यसलाई आलोचनात्मक दृष्टिले हेर्नु आवश्यक छ। Human Rhythm अर्थात् ‘मानवीय लय’ अत्यन्त सुन्दर अवधारणा हो। तर यसलाई केवल Work-life Balance भन्ने सामान्य सन्देशमा सीमित गरियो भने यसको दार्शनिक शक्ति कमजोर हुन सक्छ।
त्यस्तै, एआईको युगमा मानव जीवनबारे चर्चा गर्दा मनोविज्ञान, न्युरोसाइन्स, ध्यान, काम गर्ने संस्कृति, मानव र कम्प्युटर सम्बन्धका अनुसन्धानसँग अझ गहिरो संवाद भएको भए पुस्तकको बौद्धिक आयाम थप बलियो बन्न सक्छ।
समग्रमा यो पुस्तक अनुभवबाट जन्मिएको आत्मचिन्तन र नेतृत्व सम्बन्धी साहित्यका रूपमा पढ्दा यसको उद्देश्य स्पष्ट हुन्छ। यसको शक्ति तथ्यको थुप्रोमा भन्दा प्रश्नको गहिराइमा खोजिनुपर्छ। त्यसैले Recalibrate लाई मैले एआईको क्षमताको पुस्तकभन्दा बढी मानवीय विवेकको पुस्तकका रूपमा हेरेँ।
यो पुस्तक केवल आइटी प्रोफेशनलका लागि, एआई इन्जिनियरकाका लागि मात्र होइन। यो पुस्तक त्यो व्यक्तिका लागि हो, जो बाहिरबाट सफल देखिन्छ तर भित्र कतै आफूलाई खोजिरहेको छ।
यो पुस्तक त्यो आमाबुबाका लागि हो, जसले बच्चाका लागि समय निकाल्न खोज्दा खोज्दै समय बितेको थाहा पाएन। त्यो युवाका लागि हो, जसलाई लाग्छ, अझ केही हासिल गरेपछि मात्र सफल हुनेछु। यो पुस्तक त्यो प्रविधि पुस्ताका लागि हो, जसले संसारलाई २४ घण्टा अनलाइन बनायो तर आफ्नै मनलाई अफलाइन राख्न बिर्सियो।
एआईले संसारलाई तीव्र गतिमा बदल्दै गर्दा, हामीमध्ये प्रत्येकले कहिलेकाहीँ आफ्नै जीवनको Dashboard हेर्नुपर्नेछ। जसरी गाडी चलाउदा कुन इण्डीकेटर रातो छ? स्पीड लिमिट कति हो, ग्यास पर्याप्त छ कि छैन भनेर दैनिक हेरिन्छ त्यसरी नै हामीले आफ्नो जीवनको Calibration कहिले जाँच्यौँ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो भन्ने ज्ञान पुस्तकले दिन्छ।
मानिस एउटा लामो यात्रामा हिँडेको यात्री हो। प्रविधि उसको हातमा आएको शक्तिशाली सवारी हो। एआई त्यो सवारीको सबैभन्दा नयाँ र तीव्र इन्जिन हो। तर गाडी जति शक्तिशाली भए पनि Steering Wheel कसको हातमा छ भन्ने प्रश्न समाप्त हुँदैन।
हामीले एआईलाई अझ शक्तिशाली बनाउँदै जानेछौँ। सायद एक दिन यसले आज हामीले कल्पना गर्न नसकेका काम गर्नेछ। तर त्यस दिन पनि एउटा प्रश्न मानिसकै हुनेछ, “हामी कहाँ जान चाहन्छौँ?” त्यसैले Recalibrate को सबैभन्दा ठूलो सन्देश मलाई एआईसँग डराउनु होइन, एआईसँगै आफूलाई पुनः चिन्नु हो जस्तो लाग्छ।
र अन्ततः, त्यो दश वर्षको बालकले बुबालाई सोधेको प्रश्न हामी सबैको प्रश्न बन्न पुग्छ, “Are you happy?”
सायद Recalibrate पढिसकेपछि यसको उत्तर अरू कसैले दिनुपर्ने छैन।












प्रतिक्रिया