अमेरिका — लामो समयपछि हास्य कलाकारिता क्षेत्रमा फर्किएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नयाँ कमेडी सिरियल ‘म त मर्छु कि क्या हो’ ले सुरुवाती चरणमै दर्शकको राम्रो साथ पाएको छ।
अमेरिकाको नर्थ क्यारोलिनास्थित राले क्षेत्रलाई आधार बनाएर निर्माण गरिएको सिरियलको पहिलो भाग गत शुक्रबार, २६ भदौमा सार्वजनिक गरिएको थियो। प्रवासमा रहेर नेपाली हास्य सामग्री निर्माण गर्दै कलाकारितामा पुनः सक्रिय भएका धुर्मुस–सुन्तलीको यो प्रयासलाई दर्शक तथा नेपाली समुदायका विभिन्न व्यक्तिहरूले सकारात्मक रूपमा लिएका छन्।
सिरियलको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको कलाकार सीताराम कट्टेलले बताएका छन्। लामो अन्तरालपछि नयाँ सिरियलमार्फत दर्शकमाझ फर्किँदा पहिलो एपिसोडले दिएको प्रतिक्रियाले थप काम गर्ने ऊर्जा मिलेको उनको भनाइ छ। विदेशमा बसेर सिरियल निर्माण गर्नु नेपालमा रहेर काम गर्नुभन्दा फरक चुनौतीपूर्ण भए पनि आगामी भागहरूलाई अझ राम्रो बनाउने प्रयास जारी राख्ने कट्टेलले बताएका छन्।
‘म त मर्छु कि क्या हो’ प्रत्येक शुक्रबार सार्वजनिक हुनेछ। सिरियल नेपाली समयअनुसार शुक्रबार साँझ ८ः१५ बजे र अमेरिकामा शुक्रबार बिहान १०ः३० बजे प्रसारण गर्ने समय तय गरिएको छ। सिरियल धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। राले क्षेत्रको नेपाली समुदाय र प्रवासी जीवनको परिवेशलाई केन्द्रमा राखिएको सिरियलमा शङ्करराज वाग्ले, संयम लामिछाने, दिनेश कार्की, मनिका चौलागाईं, चुडा धिमाल, सुभद्रा आचार्य लगायत कलाकारको अभिनय रहेको छ भने यसै सिरियलबाट सीताराम कट्टेलकी छोरी सुबिहानी कट्टेलले पनि बालकलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन्।
लामो समयपछि पर्दामा फर्किएको धुर्मुस–सुन्तली जोडीको यो नयाँ प्रयासले आगामी एपिसोडमा कस्तो प्रभाव पार्छ भन्ने चासो अहिले नेपाली दर्शकमाझ बढेको छ।












प्रतिक्रिया