टेक्सस

नासाको ३५औँ सम्मेलन ड्यालसमा भव्य रूपमा सम्पन्न

नासाको ३५औँ सम्मेलन ड्यालसमा भव्य रूपमा सम्पन्न


ड्यालस, अमेरिका- नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा)को ३५औँ सम्मेलन तथा साधारण सभा एक भव्य समारोहका बीच ड्यालसमा सम्पन्न भएको छ। नेपाली समाज, साहित्य, कला र कूटनीतिक क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अमेरिकामा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, साहित्यकार तथा स्थानीय अमेरिकी नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहका मुख्य अतिथि कार्यवाहक राजदूत शरदराज आरन रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नासियाकी अध्यक्ष विद्या गुरुङले गर्नुभएको थियो।

Advertisement

कार्यक्रममा अटलान्टाका लागि नेपालका पहिलो मानार्थ पर्यटन दूत, नासियाका प्रथम निर्वाचित अध्यक्ष तथा ‘हामी नेपाली ग्लोबल, उत्तर अमेरिका’का दूत राजा घले र नासियाका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र बराल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी, साहित्य र शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (इनेसास) का प्रथम निर्वाचित अध्यक्ष तथा साहित्यकार डा. ज्ञानेन्द्र गदाल, हार्भर्ड विश्वविद्यालयका पूर्व नेपाली प्राध्यापक एवं लेखक डा. शिव गौतम, विशिष्ट साहित्यकारहरू भारती गौतम र सीता पाण्डे, अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका अध्यक्ष डा. हरि उप्रेती तथा अनेसासका महासचिव एवं ट्रष्टी बोर्ड सदस्य प्रकाश नेपालको उपस्थिति रहेको थियो।

कार्यक्रममा समुदायका प्रमुख प्रतिनिधिहरू तथा विदेशी अतिथिहरूको समेत सहभागिता थियो। जसमा नेपलिज सोसाइटी अफ टेक्सासका अध्यक्ष विजय भुसाल, डेभलपमेन्ट फर पिस इन्टरनेसनलका दीपक खरेल, फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्सका सबिन थपा, एचडीएनपी इन्टरनेसनलका उपाध्यक्ष देवी डेभिड आचार्य, तामाङ सोसाइटी अफ टेक्सासका अध्यक्ष कुमार तामाङ, र प्रेम तथा सरिता फाउन्डेसनका संस्थापक अध्यक्ष हेम पाठक हुनुहुन्थ्यो।

यस्तै, अमेरिकी समुदायका तर्फबाट प्रोस्पेरिटी बैंकका अध्यक्ष ब्रेट डेल, नर्थ टेक्सास एसियन कम्युनिटी एसोसिएसनकी अध्यक्ष सुसान ओर्डानो, लेस्ली स्टार बरोज, र डल वर्थिङटन गार्डन्सकी मेयर लोरी बियान्कोको पनि उपस्थिति रहेको थियो।

साधारण सभा सम्पन्न भएपश्चात् आयोजना गरिएको भव्य सांस्कृतिक साँझमा नेपालका ख्यातिप्राप्त लोक गायक कुलेन्द्र विश्वकर्मा लगायत अन्य स्थानीय तथा सांगीतिक कलाकारहरूले आ-आफ्नो जोडदार प्रस्तुति दिएका थिए। कलाकारहरूको सांगीतिक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।