मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सरकार, विनम्रताका साथ भन्छौं- महराले उन्मुक्ति नपाऊन्

सरकार, विनम्रताका साथ भन्छौं- महराले उन्मुक्ति नपाऊन्


कानूनका प्राध्यापक एवं ‘जोसेफ एण्ड इड्विन इन्स्टिच्यूट अफ इथिक्स’ भन्ने संस्थाका संस्थापक र नैतिकता सम्वन्धी मामिलाका प्रखर अमेरिकी कानूनविद माइकल जोसेप्सनको एउटा निकै घतलाग्दो भनाई छ- ‘हामी आफू र आफ्नो चरित्रलाई राम्रो भावनाका साथ आफ्नो अति राम्रा र विशिष्ट कामका आधारमा मुल्यांकन गर्ने गर्दछौं, तर अरुले भने हामीलाई हाम्रो सबभन्दा पछिल्लो नराम्रो कामका आधारमा मुल्यांकन गर्दछन्।’ उनको यो भनाई अहिले नेपाल लगाएत विश्व संचार माध्यममा आफ्ना खराब कर्मका कारण प्रचारित निवर्तमान सभामुख कृष्ण बहादुर महराका हकमा ठ्याक्कै मिले जस्तो भएको छ। 
 
संभवत महरा नेपालका त्यस्ता उच्च पदस्थ व्यक्ति हुन् जो आफ्नो खराब आचरणजन्य कर्मका कारण क्षणभर मै धरासायी भए। उनको सभामुख पद मात्र गएन नैतिक पतन देखिने बलात्कार जस्तो जघन्य कर्म र क्षणिक आवेगका कारण बर्षौं देखिको उनको सामाजिक छवि समेत ‘शुन्य’मा झरेको छ। आरोपको छानबिन हुॅदा उनलाई निर्दोष पनि ठहर्याइएला, तर उनको राजनीतिक पहिचान र मान अब कहिल्यै ‘सग्लो’ हुन संभव छैन। १७ हजार नेपालीको ज्यान जानेगरी भएको हिंसात्मक माओवादी बिद्रोहबाट आएका महरा खुल्ला राजनीतिमा आएपछि सत्ता राजनीतिमा धेरैपटक गन्हाइसकेका पात्र त छॅदै थिए, ताजा घटनाक्रमले उनलाई ‘ड्रम्पस्टर’ भित्रै पुय्राइदिएको छ। 
 
नेपालको इतिहास मै पहिलो पटक कुनै उच्च पदस्थ व्यक्ति माथि बलात्कार जस्तो जघन्य फौजदारी अपराध गरेको आरोप लागेको छ। घटनामा संलग्न भएको प्रमाणहरु संचार माध्यममा आएपछि उनलाई सभामुखमा निर्वाचित गराउने सत्तारुढ पार्टी नेकपाको सुझावका आधारमा महराले सभामुख पदबाट राजिनामा पनि दिइसकेका छन्। तर पार्टीको सुझाव अटेर गर्दै सांसद पदबाट भने अझसम्म राजिनामा दिएका छैनन्। 
 
घटनामा पीडित भनिएकी महिला रोशनीले (उनी आफैंले नाम सार्वजनिक गरेकाले नाम प्रयोग गरिएको) घटना लगत्तै आफू निवर्तमान सभामुख महराबाट बलात्कृत भएको भनेर न्यायका लागि प्रहरी लगाएत उपसभामुख र केही राजनीतिक पार्टीका महिला नेतृहरुलाई समेत सहयोग मागेको विवरणहरु समेटिएको भिडियो मिडियामा आइसकेका छन्। प्रहरीले घटनास्थलको निरीक्षण पश्चात आवश्यक प्रमाणहरु संकलन गरेको विवरण सार्वजनिक गरिसकेको छ। 
 
तत्कालीन सभामुख महरासंग भएका भनिएका सन्देश आदान-प्रदान लगाएतका विषयहरु समेत सार्वजनिक भैसकेपछि एकाएक पीडित भनिएकी महिलाले महराले आफूलाई बलात्कार नगरेको र आफ्नो कोठामा समेत नआएको भन्दै आफूले यस अघि मिडियालाई दिएको बयानमा सत्यता नरहेको भन्ने ढंगलले अर्को भिडियो सार्वजनिक हुनु आफैंमा अनौठो र संकास्पद घटनाक्रम हुन्। 
 
तत्कालीन सभामुख महरा पीडित महिलाकोमा गएको अकाट्य प्रमाणहरु ‘सर्भिलेन्स भिडियो फुटेज’हरुबाट प्रहरी र प्रधानमन्त्रीलाई समेत थाहा भैसकेको अवस्थामा रोशनीको पछिल्लो बिवादास्द बयानका आधारमा महरा माथिको कानूनी अनुसन्धान गर्ने कि नगर्ने भनेर प्रहरीलाई रुमल्लिनु पर्ने अवस्था आउनु भनेको नेपालको लोकतन्त्र र कानूनी शासन माथि नै प्रश्न चिन्ह लाग्नु हो।
 
बलात्कारको घटनामा पीडित महिलाले नै बोलाएर घटनास्थल पुगेको प्रहरीको पहिलो काम तत्काल उपलव्ध प्रमाणहरुको संरक्षण गर्ने र पीडित महिलाको उपचार तथा आवश्यक स्वास्थ्य परीक्षण गराउने हो। तर नेपाल प्रहरीले त्यो सब गर्नुको साटो उच्चपदस्थ व्यक्ति जोडिएको घटनामा माथिल्लो निकायलाई जानकारी गराएर आदेशको प्रतिक्षा गरिरहेको मात्र देखियो। घटनाको किटानी जाहेरी होइन, महराको संलग्नता नभएको भन्दै उनीमाथि कुनै कार्बाही हुनु जरुरी नभएको आशयको लिखित पत्र पो दर्ता गरेको छ- नेपाल प्रहरीले रोशनीको तर्फबाट। 
 
लोकतन्त्रको सुन्दर पक्ष भनेकै कानूनी शासन हो र त्यो सबैका लागि बराबर लागू हुनुपर्दछ। तर महराका सन्दर्भमा मिडिया, नागरिक समाज, महिला तथा अधिकारवादीहरु र उनी सम्बद्ध दलका केही नेता समेत छिटफुट रुपमा बिभाजित मनस्थितिमा देखिएका छन्। सानो र दबिएको आवाज यो पनि सुनिएको छ कि पीडित भनिएकी महिलाले नै महराको कुनै दोष छैन भनिसकेपछि के को अनुसन्धान, के को कार्बाही? 
 
तर आशालाग्दो कुरा यो छ कि-मुलधारका सबै मिडिया र सामाजिक संजालमा अभिव्यक्त मतहरु महराका बिरुद्द कानूनी कार्बाही चलाउन पर्छ भन्ने मै केन्द्रित देखिन्छ। मिडिया र आम नागरिकको भद्र अनुरोधलाई वेवास्ता गर्दै महराका सम्वन्धमा कुनै अनुसंन्धान अगाडि बढेन भने सरकारले गिर्दो छवि सुधार गर्ने राम्रो मौका त गुमाउॅछ नै, नेपाल प्रहरी समेत निकम्मा र राजनीतिक पार्टीको आदेश पालक मात्र हो भन्ने प्रमाणित हुनेछ। 
 
तसर्थ, हामी नेपाल सरकारलाई बिनम्रताका साथ भन्छौं-बलात्कार जस्तो जघन्य अपराधको घटनामा आरोपित महराले पदीय र राजनीतिक हैसियतका कारण उन्मुक्ति नपाऊन्। तस्बिर: सामाजिक संजाल