ड्यालस (अमेरिका) । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा नेपाली समुदायद्वारा स्थापित पशुपतिनाथ तथा बुद्ध मन्दिरका लागि एक अमेरिकी थोक बिक्रेता कम्पनीले एकलाख डलर प्रदान गरेको छ । इण्डिपेण्डेन्ट बायर कम्पनी (आईबीसी) ले आइतबार आयोजित विशेष समारोहमा एकलाख डलरको चेक मन्दिरका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।
आइबीसीका प्रमुख कार्यकारी अधिकृत रब नाइटले उक्त अवसरमा नेपाली समुदायलाई सहयोग गर्न पाउनु सुखद पक्ष रहेको उल्लेख गर्दै आपसी सहयोग र समझदारीमा आगामी दिनमा अझै बढी सहयोग गर्ने उल्लेख गरे । आइबीसीले यस अघि पनि दुई पटक मन्दिरलाई सहयोग प्रदान गरिसकेको छ । पहिलो पटक ६२ हजार र गत वर्ष दोस्रो पटक ६५ हजार डलर सहयोग गरिसकेको छ । यस पटक समेत गरि आइबीसीले दुईलाख २७ हजार ६ सय ७८ डलर सहयोग गरिसकेको छ । ड्यालस फोर्टवर्ट मेट्रोप्लेक्सको आर्लिंगटनमा मुख्यालय रहेको आइबीसीले स्टोर, ग्याँस स्टेशनहरुलाई थोकमूल्यमा सामानहरु बिक्री गर्दै आएको छ । ठूलो संख्यामा नेपाली समुदायले यहाँ ग्याँस स्टेशन, ग्रोसरी स्टोर सञ्चालन गरिरहेका छन् ।
नेपाली समुदायका व्यबसायीहरुले आइबीसीबाट थोकमूल्यमा सामान किनेर सहयोग गरेकोले मन्दिरलाई नियमित रुपमा सहयोग गर्दै आएको हो । ‘हामी आउँदा दिनमा मन्दिरलाई दिने सहयोग अझै बढाउछौँ । त्यसका लागि तपाईहरुले पनि हाम्रो व्यबसाय बढाउन सहयोग गर्नुभयो भने यस्तो सहयोग रकम निश्चित रुपमा बढ्छ’ प्रमुख कार्यकारी अधिकृत रबले त्यस अवसरमा भने ।
कार्यक्रममा मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले राम्रो उद्वेश्यका लागि आइबीसीबाट निरन्तर रुपमा प्राप्त सहयोग प्रति कृतज्ञता ज्ञापन गरे । त्यस अवसरमा बोर्ड अर्फ ट्रष्टीका उपाध्यक्ष भुवन आचार्यले आइबीसीले नेपाली समुदायले गर्दै आएका हरेक कार्यक्रममा खुलेर सहयोग गरेकोले नेपाली समुदायले पनि सहयोग गर्न आव्हान गरे ।
त्यस अवसरमा समाजसेवी बासु भण्डारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले आइबीसीको निरन्तर उल्लेख्य सहयोगले मन्दिर निर्माणको अभियानमा ठूलो सहयोग पुगेको उल्लेख गर्दैै आभार प्रकट गरेका थिए । युलेसमा निर्माणाधिन पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारका लागि एककरोड डलर खर्च लाग्ने अनुमान गरिएको छ । पहिलो चरणको निर्माण पुरा भएर अब पशुपतिनाथ मन्दिर बुद्ध बिहारको दोस्रो र तेस्रो चरण निर्माणको प्रकृया अघि बढेको छ ।
अर्को रोचक भिडियो सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस् – हिमालयखबरबाट
प्रतिक्रिया