संलग्न तलको तस्वीर हेर्नु होला। तपाईंलाई विचलित गर्न सक्छ। आमाहरुलाई अश्रु आउन सक्छ। आमा गुमाएकाहरुले त यो पीडादायक दृश्य हेर्ने हैन भोगिसकेका छन्। मलाई लाग्यो यो करुणायुक्त तस्वीर किन म देखाऊँ? तर लाग्यो मेरा बच्चाले माताको मुटुतुल्य ममता गुमाई सकेका छन् र आमा हुने बच्चाहरुको लागि ”आमा” के रहिछिन् भन्ने एक सन्देश दिन्छ। यो दृश्य र लेखले चाँडै विचलित हुनुहुन्छ या तपाईंलाई गाह्रो बनाउँछ भने मेरो यो लेख नहेर्नु होला। नपढ्नु होला।
भारतमा हालै भएको विमान दुर्घटनाले एक स्तब्ध र हृदयविदारक कठोर कथा बनेर गएको छ एउटा पीडादायक इतिहास। लण्डनका लागि गुजरातबाट उडेको यो विमान उड्नासाथ दुर्घटनाग्रस्त भयो। विमान चालक र सहयोगी सहित १४१ जनाको निधन भयो। एकजना भाग्यले बाँचे। यात्रु र चालक दललाई मात्र यो विपत्तिले चुँडेर लगेन, यो विमान धर्तिमा खस्दा एक शिक्षण अस्पतालको होस्टेलमा घुस्यो। होस्टेलको पनि डाक्टर र विद्यार्थीहरुले खाना खाने डाईनिङ्ग हलमा घुस्यो जहाँ कयौं डाक्टर, विद्यार्थीहरु खाना खाई रहेका थिए जसबाट दर्जनाै डाक्टरहरू र विद्यार्थीहरुको निधन भएको छ।
अहिले म यो विमान दुर्घट्नाबाट निस्केको आगोको लपेटाले जलेर एक १४ बर्षीय बच्चाको निधन भएको सत्य कथा उजागर गर्दैछु। हुनत जहाजको आगोले कयौं मान्छे जो जहाजमा थिएनन् उनीहरुकोको समेत ज्यान लिएको छ। आगोको मुस्लो हैन ज्वालामुखी झैं आगो दनदन बलिएरहेको थियो। लाखौँ लिटर ईन्धन जल्दा कस्तो होला यहाँहरु कल्पना गर्न सक्नुहुन्छ। मान्छेहरुको दौड, हल्लाखल्ला, चिच्याहट र रुवावासीमा एकजना महिला ”मेरो बच्चा बचाई देऊ, मेरो बेबीलाई खोजी देऊ भनेर सडकमा दौडिरहेकी हुन्छिन्। गुडिरहेको गाडीलाई रोक्न खोज्दै मेरो बच्चा आगोमा पर्यो होला हेरिदेउ भनेर हारगुहार गर्छिन्। त्यहाँ अरू दौडिरहेका मान्छेहरुलाई खुट्टा छुन खोज्दै, पाऊ पर्दै ”मेरो छोरोलाई आगोबाट निकाल्दिनू” भन्दै विन्ती गर्छिन्। रोकिरहेको एक अटो चालकलाई हात समाउँछिन् । दुई जना मानिसहरु एकअर्कामा गफ गर्दै हिंडिरहेका हुन्छन् रोकेर पीडा सुनाउँछिन् । सहयोग माग्छिन् तर…. अहँ कोही कसैले सुन्दैनन्, सहयोग गर्दैनन्। कतिले वेवास्ता गरे होलान् त कतिले नकारे होलान्।
हुनसक्छ, ती मध्ये कसैको परिवार पनि यो वज्रपातमा परेको हुनसक्छ र सहयोग गर्न असमर्थ हुन्छन् वा त्यो दनदनी बलेको आगोमा होमिन कसलाई आँट पनि हुन सक्छ।
कसैले आँट गरेनन् वा अस्वीकार गरे होला तर आमाको माया, कोख उजाडिरहेको आँखा अगाडिको दृष्य सहन गर्न सकिनन् । अनि सम्झिनुस, आमाको आँट र हिम्मत, छोरो खोज्न, निकाल्न आगोमा आफूलाई होमिन्। त्यो ज्वालोमा हामफालिन् बच्चालाई बचाउन। उनलाई थाहा छैन छोरो त्यो दनदनी बलेको आगोमा छ कि छैन भनेर। अझ, छोरो त्यो आगोमा लपेटिएर जलेर अघि नै….I
तर झन् बल्ने सारी लगाएकी ती निरीह, निसहाय आमाले आगोमा नौ महिना गर्भमा राखेर जन्माएको बच्चालाई भेटाएर ल्याउन— I हुर्काएर, बढाएर अनि त्यही नजिकको कलेजमा पढाई आरामदायी जीवन यापन गर्ने त्यो सपना गुमाउन चाहन्न थिईन्। परिवारको एक्लो सन्तान गुमाएर निसन्तान र कोख लुटाउने अहँ सोच्न सकिनन् ”मा शक्ति बनिन् र सिंगो सहर नै जले जस्तो देखिने ज्वालोमा छोरो खोजीमा आफूलाई समाहित गरिन्, केही बेरमा आगो निभ्यो, निभाईयो उनी आफैं पचास प्रतिशत भन्दा बढी जल्न पुगिन् तर दुर्भाग्य छोरो भेटिनन्। भविष्यको सपना चुंडेर लग्यो र यी अभागी आमा अस्पताल आफैं पुगिन्।

अस्पतालको बेडबाट होसमा होस् वा बेहोसमा ‘मेरो छोरो खोजिदेऊ’ भन्थिन्। नर्सलाई डाक्टरलाई ”मेरो छोरो भेटियो?” भनेर सोध्थिन् तर अहँ कसैले जवाफ।
दुर्भाग्य, उनको छोरोको निधन भईसकेको थियो। शरीर जलेर नचिनिने, पहिचान खुल्न नसकिने गरी शरीर जलेको थियो। बच्चाको निधन भईसकेको र आमालाई बचाउन डाक्टर र नर्सको पेशागत धर्म भएकोले उनीहरुले बच्चाको स्थितिबारे उनलाई केही बताएनन् । किनकि यदि मृत्यु भईसकेको खबर उनलाई सुनाउने हो भने आधा शरीर जलेकी ती आमाको जिन्दगी नै पूरै जल्ने थियो। त्यसैले उनीहरुले।
उनको नाम सीता हो, उनी त्यही होस्टेलको नजिकै चियाको पसल चलाएर जीवन गुजारा गर्थिन्। सीताको चिया दोकानमा ती डाक्टर र विद्यार्थीहरू चियाचमेना गर्न आउँथे। विमान दुर्घटना भएको दिन उनको छोरो ”आकाश” आमालाई घरबाट दिउँसोको खाना लिएर पसलमा आएको थियो। खाना खानु भन्दा पहिले उनले छोरोलाई ”एकछिन दोकानमा बस ल, म केही सामान लिएर आउँछु” भन्दै बाहिर निस्किन्। त्यसैबेला एअर इन्डियाको विमान दुर्घट्नाग्रस्त भई होस्टेलमा खस्यो, विमानमा लाखौँ लिटर ईन्धन भएकोले होस्टेल र आसपासको क्षेत्रमा पनि आगो फैलियो। अनि उनको पसल पनि आगोको भुङ्ग्रोमा पर्यो जलेर दोकान र छोराको जीवन खरानी भयो।
छोरोलाई भेटे नभेटेको खबर सीतालाई दिईएन । तर उनका पतिलाई खबर गरियो। तपाईंको बच्चा विमान दुर्घट्नाबाट निस्केको आगोमा जलेर तपाईंको छोरोको मृत्यु भयो I बच्चाको पहिचानको लागि डिएनए तपाईंको लिनुपर्ने भो भनेर । ”आकाश” को पिताको डीएनए लिएर गए। त्यही बेला उनको दोकान र श्रीमतीको अवस्था बारे पनि अवगत गराए। अहिले जीवन यापन गर्ने ”चिया पसल” र जीवनको उत्तरार्धमा जीवन गुजाराको सहारा छोरा उनीहरुबाट खोसियो। हामी कल्पना गरौँ ”एक आमा छोराको जीवन जोगाउनका लागि लड्दा आधा जलेर आफूलाई मृत्युशैय्यामा राखेकी छिन्। जीवन र मृत्युको दोसाँधमा छोरा खै, मेरो छोरोलाई भेटाईदेऊ अस्पतालको बेडबाट बिन्तिभाऊ गरिरहेकी छिन्। जब उनी संच भएर, निको भएर उनको छोरो ”आकाश” को मृत्यु भईसकेको खवर सुनाईन्छ त्यसबेला उनीमाथि आकाश खसेको महसुस हुनेछ। आकाश खसेको साँच्चै अनुभूति हुनेछ।

आकाशमा एअर इन्डियाको हवाईजहाज दुर्घट्ना भएपछि धेरैको जीवनको जहाज डुबेको छ। धेरै सपनाको आकाश खसेको छ। बसाई सरेर लण्डन जान लागेको एक सिंगो परिवारको जहाज दुई मिनेटमा कहिले नउठ्ने गरी सदाका लागि डुब्यो। प्लेन उड्न भन्दा केही क्षण अघि लिएको त्यो हँसमुख तस्वीरले सिंगो विश्वलाई स्तब्ध बनाएको छ।
जहाज खसेर जहाजभित्रका मान्छेको जीवनको जहाज मात्रै डुबेको छैन, जहाज दुर्घट्ना भई खसेको जहाजको ठूलो भागले अस्पतालको होस्टेललाई ध्वस्त बनायो, धेरै चिकित्सकहरुको, चिकित्सा पढ्ने विद्यार्थीहरुको जहाजलाई पनि दुर्घट्नाग्रस्त बनायो। जहाजभित्र २४१ जनाको ज्यान लिएको यो विपतले जमीनमा रहेका धेरै ज्यानहरुको जीवन पनि खोसेको छ। यो दुर्घट्नामा केही चमत्कार पनि भएको छ, एकजना जीवित नै उद्धार गरिएको छ। एक महिलालाई बाटोमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरिएकोले उनको उड्ने जहाज छुट्यो त्यसैको कारण उनको जीवनको जहाज बँच्यो। यो दुर्घटनामा एकजना पनि नेपाली नपर्नु पनि हाम्रो लागि चमत्कार नै नभए पनि अहोभाग्य भएको छ। एअर इन्डियाको गुजरात-लण्डन जहाजमा दुर्घट्नामा परी निधन भएका सम्पूर्ण यात्रु, चालक दलका सदस्य, होस्टेलका डाक्टर, विद्यार्थीहरु र आकाशमा हार्दिक श्रद्धान्जली प्रकट गर्दछु र, घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दै यो दुर्घटनामा परेका परिवारहरुप्रति हार्दिक समवेदना समर्पण गर्दछु।
प्रतिक्रिया