मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक : यात्रुलाई अझै सास्ती

नारायणगढ–मुग्लिन सडक : यात्रुलाई अझै सास्ती


काठमाडौं र पोखरालाई देशको पूर्व–पश्चिम भागसँग जोड्ने ‘लाइफ लाइन’ का रुपमा परिचित नारायणगढ–मुग्लिन सडक निर्माणको गति सुस्त हुँदा अझै यात्रुले तीन महिनासम्म सास्ती पाउने भएका छन् ।
 
कुल ३२.२ किलोमिटर लम्वाईको उक्त सडकलाई आँपटारी–दासढुंगा, दासढुंगा–सिमलताल र सिमलताल–मुग्लिन गरी तीन खण्डमा बाँडेर सन् २०१७ को अप्रिलसम्म निर्माण कार्य सक्नेगरी नेपाल र भारतका ठेकेदारहरुलाई सडक विस्तारको ठेक्का दिइएको थियो । एसियाली मापदण्डअनुरुप दुई लेनको सडक निर्माण गर्ने गरी विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ ऋण सहयोगमा सडक निर्माणको काम थालिएको थियो ।
 
गत वैशाखमै काम सम्पन्न गर्ने गरी सडक विस्तार कार्य थालिए पनि पटकपटक म्याद थपिँदासमेत अझै २५ प्रतिशत काम सम्पन्न हुन बाँकी छ । आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार अन्तिमपटक थपिएको म्याद पूरा भएको छ । निर्माण कम्पनीहरुले समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः तीन महिना समय थप गरी सडक विस्तार कार्यलाई तीव्रता दिइने छ ।
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले सडक विस्तारको काम सम्पन्न हुन नसकिएपछि चौथोपटक म्याद थप्न लागिएको बताए । उनले भने, “ठेकेदार कम्पनीहरुले सडक विस्तारका लागि थप समय माग गरेका छन् । उनीहरुले काम पूरा हुन नसक्नुको स्पष्ट कारण खुलाएर म्याद थपका लागि माग गरेका छन् । अझै सडकको चौडाई बढाउनुपर्ने, केही स्थानमा पर्खाल लगाउनुपर्ने कारण देखाएर म्याद बढाउन आग्रह गरेपछि तीन महिना थप्ने तयारी गरेका छौं ।”
 
आयोजना प्रमुख यादवले ठेकेदारहरुको माग सम्बोधन गर्नेगरी तीन महिना म्याद थप गर्न सडक विभागमा पत्राचार गरिएको जानकारी दिए । हालसम्म भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म छुट्टाछुट्टै निर्माण कम्पनीले सडक विस्तारको काम गर्दै आएका छन् ।
 
आयोजना प्रमुख यादवका अनुसार सो सडकखण्डमा ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक निर्माणको कार्यलाई तीव्रता दिन रातिको समयमा पूर्ण रुपमा र दिउँसोको समयमा एकतर्फी गाडी बन्द गरेर अब थपिएको समयसीमाभित्रै निर्माण कार्य पूरा गरिने उनले बताए ।
 
नारायणगढ–मुग्लिन खण्डको एकदुई स्थानमा भित्ता काट्ने काम अझै सकिएको छैन । आयोजना सम्पन्न हुन ठेकेदार कम्पनीहरुले असारसम्म लाग्ने जनाउँदै आएका छन् ।
 
सडक विस्तारमा ढिलाइ भएपछि पुस १४ गते चितवन प्रशासन कार्यालयमा आयोजना प्रमुख, ठेकेदारहरु, प्रजिअ र प्रहरी प्रमुखहरुको बैठक बसेर सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । दिउँसो पनि आवश्यकताअनुसार सडक बन्द गरेर विस्तारको काम गरिने भनिए पनि अपेक्षाअनुसार काम हुन नसकेको हो ।
 
सो सडकमा दैनिक दस हजारभन्दा बढी गाडी गुड्छन् । तर, निर्माण कार्यलाई तीव्रता दिन नसक्दा हजारौँ यात्रुले सास्ती भोग्दै आएका छन् । यात्रुको दैनिक जीवन प्रभावित बन्नुका साथै पर्यटन व्यवसायलगायत सबै क्षेत्र अस्तव्यस्त बनेको छ ।