मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको विकल्प : नयाँ शक्ति र विवेकशील साझा

जनताको विकल्प : नयाँ शक्ति र विवेकशील साझा


चितवन– नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले आफूहरु वैकल्पिक शक्ति भएको बताएका छन् । 
 
चितवनका मतदाताले ती दलका उम्मेदवारहरुलाई कसरी लिनेछन् भनेर परीक्षण गर्ने अवसर पनि भएको छ आउँदो मंसिर २१ गते हुन गइरहेको संघीय संसद् अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन । चितवनमा यी दुवै दलबाट उम्मेदवारी परेको छ ।
 
संविधान जारी भएलगत्तै डा बाबुराम भट्टराईले आफू संलग्न पार्टी नेकपा माओवादी केन्द्रमात्रै नभएर संसद् पद नै त्यागे । उनले केही समयपछि अब आर्थिक समृद्धिका लागि नयाँ पार्टी आवश्यक भएको भन्दै नयाँ शक्ति नेपाल नामको पार्टी गठन गरे । त्यस्तै बीबीसी नेपाली सेवाको सक्रिय पत्रकारिता जीवन छाडेर रवीन्द्र मिश्रले साझा पार्टी खोले ।
 
मिश्रले स्थानीय निर्वाचनपछि विवेशील दलसँग पार्टी एकीकरण गरेका थिए । त्यसपछि पार्टीको नाम विवेकशील साझा रहेको हो । विवेकशील साझाले चितवनका प्रतिनिधिसभाका सबै तीन सीटमा उम्मेदवारी दिएको छ । नयाँ शक्तिले दुई क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । यी दलहरुबाट प्रदेशसभाका लागि पनि उम्मेदवारी परेको छ । 
 
विवेकशील साझाले चितवन क्षेत्र नं १ मा निरज रेग्मी, २ मा भूपेन्द्रराज बस्नेत र ३ मा शरदराज पाठकलाई उम्मेदवार बनाएको छ ।
 
प्रदेशसभाका लागि सो पार्टीले क्षेत्र नं १ को (क)मा ईश्वर ढुंगना र (ख)मा विनय ढुंगानालाई उठाएको छ । त्यस्तै क्षेत्र नं २ को प्रदेश (क)मा जगदीश पन्त र (ख)मा रामचन्द्र तिमिल्सिनाले विवेकशील साझा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्दैछन् ।
 
सो पार्टीले प्रदेशसभातर्फ चितवन क्षेत्र नं ३ को (क)मा विष्णुप्रसाद पौडेल र (ख)मा दीर्घराज सापकोटालाई उठाएको छ । यसरी विवेकशील साझा पार्टीले चितवनका सबै प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारहरु उठाएको छ । 
 
नयाँ शक्तिले प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा उम्मेदवार उठाएको छैन । क्षेत्र नं १ मा जनार्दन दुवाडी र क्षेत्र नं २ मा विनोदकुमार गुरुङलाई उठाएको छ । नयाँ शक्तिले प्रदेशसभामा क्षेत्र नं १ को (क)मा भवानीदेवी घिमिरे र (ख)मा यदुकृष्ण भट्टलाई उठाएको छ । त्यस्तै २ को (क)मा अबुल कलाम र (ख)मा राजेश्वर रेग्मी उठेका छन् ।
 
क्षेत्र नं ३ को (क)मा मक्कुमाया गुरुङ र (ख)मा तुलाराम विश्वकर्मा उठेका छन् । नयाँ शक्ति नेपाल पार्टीको चुनाव चिन्ह देब्रे आँखा रहेको छ । त्यस्तै विवेकशील साझा पार्टीको चुनाव चिन्ह तराजु रहेको छ । नयाँ शक्ति नेपाल पार्टीले गत स्थानीय तह निर्वाचनमा देशभरमा एकाध स्थानमा मात्रै जितेको थियो । त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवारहरुले काठमाडौँमा राम्रो मत ल्याए पनि जित्न भने सकेका थिएनन् । 
 
स्थानीय चुनावमा नयाँ शक्तिले चितवनका स्थानीय तहमा पनि उम्मेदवारी दिएको थियो । त्यो बेलामा सो पार्टीको चुनाव चिन्ह हातमा लिएको मशाल रहेको थियो । संघीय समाजवादी फोरमको चुनाव चिन्ह पहिलो चरणमा नयाँ शक्ति नेपालको पनि चिन्ह थियो । विवेकशील साझा भने चितवनमा पहिलोपटक चुनावी मैदानमा छ । 
 
चितवनमा १६ गते उम्मेदवारी दर्ता भएपछि आइतबार दाबी विरोध उजुरीको कारबाही र उम्मेदवार स्वयंले फिर्ता लिने कार्यक्रम सकिएको छ । आइतबार नै उम्मेदवारको अन्तिम नामावली आउनुका साथै चुनाव चिन्हसमेत वितरण भएका छन् । सबै दलले चुनावी प्रचार सुरू गरेका छन् । मतदाताको रोजाइमा को पर्ने हुन् ? मंसिर २१ मा हुने मतदानपछिको परिणामबाट पुष्टि हुने नै छ