मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाँदर आतंकले देवघाटवासी र भक्तजनहरू हैरान

बाँदर आतंकले देवघाटवासी र भक्तजनहरू हैरान


हिमालय खबर संवाददाता–
देवघाटधाम, तनहुँ – पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतंकका कारण स्थानीयवासी हैरान भएका छन् । 
 
बाँदरले मानिसलाई आक्रमण गर्ने र टोक्ने समस्या बढ्दै जाँदा यहाँका स्थानीयका साथै तीर्थालु भक्तजनहरू त्रसित बनेका हुन् । यहाँका विभिन्न आश्रममा बस्दै आएका वृद्धवृद्धा त बाँदरको आतंकबाट आजित नै भइसकेका छन् । 
 
वृद्धवृद्धालाई बाँदरले पनि नटेर्ने र उनीहरूले पनि केही गर्न नसक्ने हुँदा उनीहरू सबैभन्दा बढी समस्यामा परेका हुन् ।‘हातमा लौरो लिएर हिँड्दा पनि टेर्दैन । उल्टै झम्टिन आउँछ,’ पोखरा घर भई विगत २३ वर्षदेखि गलेश्वर आश्रममा बस्दै आएकी ७० वर्षीया मनमाया कँडेलले भनिन्, ‘बाँदरले हैरानै पारेको छ । अब पनि देवघाटधाममा भएका बाँदरको व्यवस्थापन नगरे यस्ता घटना नदोहोरिएला भन्न सकिन्न ।’ 
 
त्यसो त ११ दिनअघि आश्रमबाट धारामा पानी लिन जाँदा उनलाई बाँदरले धारामै झम्ट्यो । बाँदरले दुवै हातमा टोक्यो । दायाँ हातको पाखुराको घाउ ओभाए पनि बायाँ हातमा भने अझै पनि पट्टी खोलेको छैन । अहिले उनी पट्टी लगाएको बायाँ हात घाँटीमा झण्ड्याएर हिँडिरहेकी छिन् । 
 
‘नजिकै आएर बस्छ । लखेट्न पनि सकिँदैन,’ हातमा घाउ देखाउँदै उनले थपिन्, ‘जनावर मार्दा कारबाही गर्ने सरकारले मान्छेलाई आक्रमण गर्ने जनावरको व्यवस्थापन पनि गर्न सक्नुपर्छ ।’ ११ दिनको समयमा उनले तीनपटक सुई लगाइसकिन् । ‘भरतपुर पुग्न पनि मुस्किल छ । अहिलेसम्म जसोतसो अस्पतालसम्म पुगेर सुई लगाएकी छु,’ उनले भनिन्, ‘अब फेरि चेकजाँचको लागि डाक्टरले १२ गते बोलाउनुभएको छ ।’ 
 
देवघाटकै झविलाल खनालले पनि बाँदरको त्रास बढ्दै गएकोले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँछन् । ‘हामी यहीँ बस्ने मान्छेलाई त यस्तो समस्या छ भने बाहिरबाट तीर्थ गर्न आउनेहरूलाई त जानकारी नै हुँदैन,’ उनले भने, ‘त्यसैले देवघाट आउने तीर्थालुहरूको ज्यान जोगाउनका लागि पनि यस क्षेत्रमा भएका बाँदरको व्यवस्थापन गर्नु जरूरी छ ।’ 
 
बढी मात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेको स्थानीयको भनाइ छ । ‘बुढाबुढी र केटाकेटीको हातमा केही देख्नै हुन्न झम्टिहाल्छ,’ गलेश्वर आश्रममै बस्दै आएकी धनकला काफ्लेले भनिन्, ‘खानेकुरा खाँदा पनि लुकेर खानुपर्ने स्थिति छ ।’ यतिमात्रै होइन, यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन् । त्यसैले पनि देवघाटका स्थानीय तथा देवघाट आउने तीर्थालुहरू क्षेत्र विकास समितिले ध्यान दिनुपर्ने बताउँछन् । 
 
देवघाट क्षेत्र विकास समितिले भने विगत केही वर्षदेखि बाँदर व्यवस्थापनको पहल भइरहेको जनाएको छ । क्षेत्र विकास समितिका नायव सुब्बा ढकराज कोइरालाका अनुसार एक÷डेढ वर्षअघि नै यहाँको बाँदरलाई अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । समितिले चितवन राष्ट्रिय निकुञ्जसँग अनुरोध गर्दा देवघाटका बाँदर रोगी हुन्छन्, भनेर नमानेकोले यो समस्या ज्यूँका त्यूँ रहेको उनले बताए ।